१-७ असोज २०७४ | 17-23 September 2017

सिक्दै सिकाउँदै

Share:
  
- सविता श्रेष्ठ
'इन्टिग्रिटी फेलोशिप' मार्फत देशका विभिन्न सरकारी कार्यालयका क्रियाकलाप नियालेका युवामा राज्यप्रतिको गुनासो भन्दा आशा देखिएको छ।

सरकारी कार्यालय सम्झिने वित्तिकै अधिकांशको दिमागमा धमिलो तस्वीर बन्छ। जहाँ कामकाज हुँदैन, ढिलासुस्ती हुन्छ, अनियमितता हुन्छ, नियमले काम हुँदैन, मनोमानी चल्छ। अझ ढिला आउने र चाँडै फर्किने कर्मचारीको हुलहुज्जत सम्झिइन्छ। तर धनकुटादेखि बर्दियासम्मका सरकारी कार्यालय र कार्यालय प्रमुखसँग १५/१५ दिन विताएका आठ युवाको अनुभव भने फरक छ।

तस्वीरहरु सौजन्यः एकाउन्टबिलिटी ल्याब नेपाल
इन्टिग्रिटी फेलोशिपमा सहभागी भएका युवा र इन्टिग्रिटी आइडलहरु एकाउन्टबिलिटी ल्याब नेपालका प्रतिनिधिसँग।

ललितपुरका रुजिना महर्जन (२२) र रदिप तण्डुकार (२२), लमजुङकी कुसुम केसी (२१), नवलपरासीका राजन बस्याल (२३), मकवानपुरकी पुनम घिमिरे (२२), नुवाकोटकी कल्पना डंगोल (२५), काठमाडौंकी सृष्टि जोशी (२७) र कञ्चनपुरका धीरेन्द्र नाथ (२१) गत असार–साउनमा सरकारी कार्यालय र कर्मचारीबारे बुझ्न निस्किएका थिए। रुजिना र धीरेन्द्रले सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, कुसुमले धनकुटाको मौनाबुधुक स्वास्थ्य चौकी प्रमुख तारा सुवेदी, राजनले गुल्मीको सिद्धबाबा उच्च माविका प्रधानाध्यापक डोरविक्रम श्रीष, पुनमले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापासँग १५ दिन बताइन् भने यही अवधिमा कल्पनाले काठमाडौंस्थित सहयोगी उच्च मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति रामनारायण साह, सृष्टिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिव भीष्म भुषाल र रदिपले खोटाङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसँग अनुभव आदानप्रदान गरे।

यी युवालाई यो चाँजोपाँजो एकाउन्टबिलिटी ल्याब संस्थाले मिलाएको थियो र कार्यक्रमको नाम थियो, इन्टिग्रिटी फेलोशिप। युवाले भ्रमण गरेका सबै सरकारी कर्मचारी ल्याबको 'इन्टिग्रिटी आइडल नेपाल' मा छनोटमा परेका कर्मचारी हुन्। ल्याबले प्रत्येक वर्ष उत्कृष्ट पाँच सरकारी कर्मचारीलाई यो अवार्ड प्रदान गर्दै आएको छ।

सरकारी अनुभव

सरकारी कर्मचारीसँग कार्यालयका गतिविधि नियालेका युवाले नयाँ अनुभवसँगै सरकारी सेवाका छिद्र पनि देखे। अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत राजन छिद्रसँगै त्यसलाई समाधान गर्ने उपाय पनि भेटेको बताउँछन्। धनकुटा पुगेकी कुसुम सरकारी सेवाप्रतिको आफ्नो धारणा नै परिवर्तन भएको बताउँछिन्। चुनौती भए पनि सरकारी सेवामा प्रवेश गरेर राम्रोसँग काम गर्न सकिने आत्मविश्वास बढेको बताउँदै उनी भन्छिन्, “पहिले सरकारी जागिर नि गर्ने र भन्ने सोच्थें। अहिले रुचि बढेको छ।”

धनकुटामा तारा सुवेदीसँग कुसुम।

वन विज्ञानमा स्नातक पुनम आफूले पढेको विषयलाई व्यावहारिक रुपमा बुझ्न पाएको बताउँछिन् भने अर्थशास्त्र र कानूनकी विद्यार्थी सृष्टिले भ्रमणबाट परिवर्तनको लागि एक जनाको लगाव मात्रै पनि महत्वपूर्ण हुने रहेछ भन्ने थाहा पाएकी छिन्। “सरकारी सेवामा पारदर्शिता र सुशासनको प्रमुख भूमिका रहने थाहा पाएकी छु”, उनी भन्छिन्। रुजिना समयको व्यवस्थापन गर्न नसकिएकै कारण सरकारी कार्यालयमा ढिलासुस्ती हुने गरेको पाएको बताउँछिन्। बिजनेस स्टडिजमा स्नातक रुजिना भन्छिन्, “राम्रो नियतले काम गर्ने सरकारी कर्मचारीको काम र समयको सीमा नै नहुँदो रहेछ।”

युवा बुझ्ने अवसर

युवाहरुसँग १५ दिन बिताएका कर्मचारीहरु पनि सरकारी सेवाका कमजोरी देख्ने र तिनलाई सुधार्ने मौका पाएको बताउँछन्। काठमाडौंस्थित सहयोगी उच्च मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति रामनारायण साह भन्छन्, “आफूलाई कसैले पछ्याइरहेको छ भन्ने महसूस हुँदा मात्र पनि लगनशीलता बढ्दोरहेछ।”

युवालाई सिकाउँदा सिकाउँदै आफूले पनि नयाँ कुरा सिकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिव भीष्म भुषाल बताउँछन्। युवासँगको अरुलाई प्रभाव पार्न सक्ने शक्तिलाई सरकारी कामकाजमा पनि उपयोग गर्नुपर्ने उनको सुझाव छ। गुल्मीको सिद्धबाबा उच्च माविका प्रधानाध्यापक डोरविक्रम श्रीष पनि सरकारले केही गरेन भन्ने युवामा पनि सरकारप्रति आशावान रहेको पाएको बताउँछन्। “युवा गुनासो र आशालाई ऊर्जामा बदल्नुपर्ने देखिन्छ”, उनी भन्छन्। युवासँगको सामीप्यताले कामगराइमा नयाँ–नयाँ तौरतरिका सिकेको उनको अनुभव छ।

सिद्धबाबा उच्च माविका प्रधानाध्यापक डोरविक्रम श्रीषसँग राजन बस्याल।
खोटाङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल युवासँगको संगतले कमजोरी औंल्याउने मौका मिलेको बताउँछन्। जति धेरै महत्वाकांक्षा भयो, त्यति धेरै सिकाइ बढ्ने अनुभव गरेको बताउँदै उनी भन्छन्, “गल्ती आफ्नो र राम्रो अरुको हेर्नुपर्ने रहेछ।”

सरकारी कामकाजमा प्रत्यक्ष संलग्न भएर अनुभव लिन युवालाई 'फेलोशिप' को अवसर दिइएको एकाउन्टबिलिटी ल्याबका नेपाल प्रतिनिधि नारायण अधिकारी बताउँछन्। 'आइडल' कर्मचारी र युवालाई जोड्ने ध्येयले कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनी भन्छन्, “उनीहरु सरकारी सेवा सिकेर र सिकाएर आएका छन्।” युवाले दैनिक अनुभव गरेका कुरालाई सामाजिक सञ्जालमा 'अपडेट' गर्ने व्यवस्था पनि गरिएको थियो। नमूनाका रुपमा सञ्चालन गरिएको पहिलो 'इन्टिग्रिटी फेलोशिप' कार्यक्रमलाई अब नियमित गर्ने ल्याबको योजना छ।

comments powered by Disqus

रमझम