बेखबर बिर्तावार त्र्यम्बक तिमसिना

Share:
  
- ज्ञानमणि नेपाल
महीपति सेनबाट भोजपुरमा बिर्ता पाएका त्र्यम्बक तिमसिना कता लागे, उनी हिंडेको गोरेटेको भेउ अझसम्म पाउन सकिएको छैन ।

राजा महीपति सेनले दिएको बिर्ताको स्याहामोहर सक्कल प्रति मेरा पिताजीको पुराना कागजको पोकोमा सङ्गृहीत थियो । त्यो स्याहामोहर पाउने त्र्यम्बक उपाध्यायको बिर्ताको घडेरी, खर्क, खेतको परिचय पाइयो, परन्तु विर्ता पाउने त्र्यम्बकको चाहिं अत्तोपत्तो केही पाइएन । मैले सक्कल स्याहामोहर देखाएर हामी बसेकै बिर्ताको बिर्तावार वृद्धतम् भवानीशङ्कर साङ्लुपाध्या (सं. १९४४–२०३३) लाई सोधें– “मावली बा, यस बिर्तामा उल्लिखित जग्गा, घरघडेरी, खर्क, खेत सबै चिनिए, तर बिर्तावारको चाहिं परिचय पाउन सकिएन । उनका शाखासन्तानले यो बिर्ता भोग गरेको पनि देखिएन, अन्येत्रीले नै जग्गा उपभोग गरिरहेका छन् । को हुन्त्र्यम्बक उपाध्याय ? कहाँ गए ती ?”

उनले उहिले यो बिर्ता तिमसिनाको भएको बताए, तर तिनी कहाँ गए, भन्न सकेनन् । अरू कसैलाई पनि त्योभन्दा बढी थाहा भएन ।

यो स्याहामोहरको बेहोरा अनुसार त्र्यम्बक उपाध्यायलाई बिर्ता दिने महीपति सेन मकवानपुरका राजा शुभ सेनका छोरा हुन् । शुभ सेनका दुई छोरामध्ये जेठा माणिक सेन मकवानपुरको मूल गद्दीमा बस्ने भए । अर्का छोरा महीपति सेन राज्य छुट्याएर कमलापूर्वको सिरहा–सप्तरीदेखि मोरङसम्मको तराई, माझ्किरात र लिम्बुवान समेतको भागको विजयपुर गद्दीमा बसी शासन गर्न लागेका थिए । त्र्यम्बक तिमसिनालाई दिएको स्याहामोहर वि.सं. १७६६ को हो ।

त्यसपछि वि.सं. १७८५ मा कोशी किनारामा बसी तुलादान गर्दा नारायण उपाध्याय कोइरालालाई दिएको बिर्ताको वितलप घडेरीको साँध जोडिएको छ । यो स्याहामोहर तुलादान दिएको हुनाले सिक्तेल खोलाखेतको मात्र नाम उल्लेख छ । एक घडेरी, एक खर्क लेखिएको छ, नाम चाहिं छैन । त्यसको विवरण दिंदा हाम्रा प्रपितामह बलभद्रले आफ्नो कुशबिर्ताको थोरै जग्गा घडेरी छाडी भोजपुर पोखरे बसाइँ गएका र पितामह कान्छा वैयाकरण र जन्तरे यदुनाथ दुईभाइ पोखरेको घरबाट छुट्टीभिन्न हुँदा यही मावली कोइरालाको बिर्ताको घडेरी खर्कमा लामो सोती परेका चार डाँडामध्ये दुई वटाका पाखामा विरौटा ठेकी चारदाम दानदातव्य र किनेर पनि पाएका जग्गामा आवाद गरी बसेका हुन् । त्यसैमा अर्थात् वितलप पुराना गाउँमा अहिलेसम्म हामी बसेकै छौं । यसमुनि बुढी लोहसे घडेरी त्र्यम्बक तिमसिनालाई दिएको रहेछ । हाम्रो वितलपको र बूढी लोहसेको दक्षिण सीमाना चाहिं तेर्सो गल्ली छ ।

तिमसिनाको पूर्व अभिजन नेपालको पश्चिम अछाम जिल्लाको तिमल्सैन गाउँ हो । त्यहाँ तिमिला देवीथान पनि छ । त्यहाँबाट पूर्व लागेका यी ब्राह्मण बन्धुहरूको थर त्यही गाउँको नाउँबाट बन्यो । अरू कसैको थरमा एक–दुई विकल्प देखिन्छन् । अचार्जको आचार्य, गोतामेको गौतम थरमा संस्कृतीकरण गरिएको छ । परन्तु यी तिमसिनाको थरको लेखाइ र बोलीचालीमा गरेर अनेकौं विकल्प देखिन्छन्– जस्तो, तिमसिना, तिंसिनु, तिमिसिनु, तिमीसेना, तिमिसेना, तिमल्सिना, तिमल्सेना आदि । करीब तीन सय वर्ष पहिले यो बिर्ता पाउने त्र्यम्बकको थर स्याहामोहरमा लेखिदिएको भए त्यस बेला यस्तो लेखिन्थ्यो भन्ने बुझ्न्थ्यिो । तर, अघि ब्राह्मणहरू थर लेख्नुभन्दा उपाध्याय लेख्नमै गौरव ठान्दथे ।

ब्राह्मणहरू बिर्ता पाएर सिक्तेल आउँदा बूढीलोहसेमा बसेकी किरातिनी बूढी साँध सीमाना छुट्याइदिन्थिन् भन्ने अनुश्रुति छ, तर समय यकिन हुँदैन । कुनै जमानामा किरातिनी बूढीले लोहोसे फाडेर गोठ बसेकी होलिन् । परन्तु यो जग्गा चाहिं रैकरै हुँदा तिमसिनाको बिर्ताको घडेरी र अलि माथिको कात्तिके खर्क दिएको देखिन्छ । पछि के कसरी हो तिमसिनाले छाडेपछि रैकर भएको छ । अहिले बूढीलोहसे दुई भागमा बाँडिएको छ– माथितिरको पाखो भागमा भुर्तेल र फुयेल जैसी बाहुनहरूको बस्ती छ । कात्तिके खर्क यिनै उपयोग गर्छन् । तलतिरको टार चाहिं खेत बिराएको छ । यो पनि तिनैको थियो ।

बिर्ताको खेत चाहिं चारखला छ– सहेले मुरी ६०, आँगे मुरी १०, वान्द्रे मुरी १० र असकै मुरी ६० । खेत सबै अब्बल छन् । असकै खेत कुन हो, अहिले चिनिंदैन । आँगे खेत कटुवाल छेत्री, वान्द्रे कटुवाल र खतिवडा जैसीहरूले खाँदैछन् । ४५ मुरीको सहेले नेपालहरूको बिर्ता भयो । त्र्यम्बकको बिर्ताको सहेले खेत चाहिं ६० मुरी छ । अघि बिर्ता दिंदा यो ६० मुरी नै थियो होला । रैकर भए पछि गोपाल नेपाललाई दिंदा खोलाले काटेर ४५ मुरी भएको हुनुपर्छ । यसको सक्कल स्याहामोहर हाम्रै घरमा रहेको हुनाले सहेले खेत उही भन्न सकिन्छ । मुकाम चौदण्डकोट लेखिएको छ । त्यसवेला त्यो राजधानी थिएन, सामान्य किल्ला थियो । अलि वर्षपछि विजयपुर राज्य पनि छुट्टीभिन्न हुँदा पहाडमा माझ्किरात र तराईमा कमला–कोशीबीचको भूभाग मिली राज्य बन्दा पहाड–तराईको माझ्मा पर्ने, पहाड–तराई छर्लङ्ग देखिने चौदण्डकोट वा चौदण्डीगढी अर्कै राजधानी बन्यो ।

यस त्र्यम्बकको बिर्तामा रुजु देखिएका सुखदेव राई वि.सं. १७८५ को नारायण कोइरालाको बिर्ताको स्याहामोहरमा परवानगी चौतरिया भएका देखिन्छन् ।


सं. १७६६ को महीपति सेनको स्याहामोहर

राम

श्रीश्रीलक्ष्मीनारायणजीव श्रीवाराहजीव

(बाटुलो छापको ६ कोठामा लेखिएका ६ अक्षर)

महीपतिसेन

स्वस्ति रुपनारायणेत्यादिविविध (विरुदावली) विराजमानमानोन्नत महाराजाधिराज हिन्दुपति राजराजेश्वर महीपति सेन राजराजेन्द्रदेवानां सदा समरविजयिनाम् तीरंवक उपाध्याके कुशविर्ता दिहल सीकतेलमधे सीहेल्या खेत मोरी साठी ६० क औ आघ्य खेत दसमुराक १० औ वाद¥या खेत दश मुराक १० असकै खेत मुरा असीक ८० औ बुढीलोहस्या घराडी औ कातीक्या खरक एक १ आपन कुस वीर्ती बदि वसथु वसावथु अमल करथु दस वीर्तीयाक लेख खिजमति करथु.

इति सम्बत् १७६६ साल माह फागुन वदि ८ रोज मोकाम चौदंड कोट थुम.

हुकुम हजुर रुजु सुखदेव राए

(यहाँको भाषा क्रियापद संस्कृतको नजीकको थु छ, भने १७८५ को मोहरमा थुका ठाउँमा हु भएको देखिन्छ ।)

comments powered by Disqus

रमझम