कठै जनताको जीवन

Share:
  
काठमाडौंमा सत्ता र सुविधा बढाउने होड चलिरहँदा सुदूरपश्चिम पहाडवासीको जीवन उपचार र खाद्यान्नको खोजीमा सकिइरहेको छ।

प्रकाश सिंह
मार्तडी कोल्टी सडक खण्ड अवरोध भएपछि बिरामीलाई बोकेरै सदरमुकाम मार्तडी लगिंदै ।
दुई साताअघि हिमाली गाउँपालिका–६ पाँडी गाउँबाट सुत्केरी हुन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र आएकी १६ वर्षीया सिद्धा विकको उपचार नपाएरै १६ घन्टापछि मृत्यु भयो । केन्द्रका प्रमुख डा. विजय शाह मार्तडी–कोल्टी सडक खुलेको भए सिद्धा बाँच्न सक्ने बताउँछन् । उनका अनुसार पेटमा बच्चा मरेको भए पनि अप्रेशन गरेर आमालाई बचाउन सकिन्थ्यो, जुन सुविधा मार्तडीको अस्पतालमा मात्र थियो । “उनलाई बोकेर मार्तडी लैजाँदा डेढ दिन लाग्थ्यो भने गाडीमा तीन घण्टा” डा. शाह भन्छन्, “तर, कोल्टी–मार्तडी सडक चार महीनायता ठप्प छ ।”

२०५६ सालबाट निर्माण शुरू भएको ४३ किलोमिटरको यो सडकमा रु.३३ करोडभन्दा बढी खर्च भइसकेको छ । २०६० सालसम्म कोल्टीमा गाडी पु¥याउने लक्ष्यका साथ शुरू भएको यो सडक १८ वर्षमा हिउँदमा ट्याक्टरसम्म चल्ने भएको छ । सडक निर्माणमा कामका लागि खाद्यान्न कार्यक्रमबाट रु.२७ करोड ४० लाख, जिविस बाजुराबाट रु.८ लाख, ‘कर्णाली वरिपरि कार्यक्रम’ बाट रु.३६ लाख, उत्तरी बाजुराका गाविसहरूबाट रु.२१ लाख र सडक विभागबाट रु.५ करोड गरी रु.३३ करोड ५४ लाख खर्च भएको छ ।

महँगीमा दशैं–तिहार

सडक सञ्चालनमा नआउँदा उत्तरी बाजुरा, हुम्ला र मुगुको तल्लो भेगका जनताले सास्ती बेहोर्नु परेको छ । बर्खा लागेसँगै सडक बन्द हुँदा ती भेगका जनता दैनिक उपभोग्य सामानको अभावमा छन् । मानिस र घोडा–खच्चडले बोकेका सामान पाइए पनि अति महँगो छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल एक केजी मोटो चामललाई रु.१२० र एक केजी नूनलाई रु.५० हालेर दशैं मनाउनु परेको बताउँछन् । उनी भन्छन्, “सबै चिजको भाउ ५० प्रतिशत बढेको छ ।”

अघिल्लो दशैंमा यो सडक चलेको थियो । जनप्रतिनिधि आएको यो वर्ष भने कसैले वास्ता नगरेको कोल्टीका नारायण पाध्याले बताए । बूढीनन्दा नगरपालिका उपमेयर सृष्टि रेग्मी सडक सुचारु गर्ने पहल भइरहेको बताउँछिन् । पोहोर दशैं–तिहारमा मार्तडीदेखि कोल्टीसम्म ट्याक्टरले प्रतिकेजी रु.५ भाडामा सामान ढुवानी गरेको थियो । यो पटक भरिया र खच्चडलाई प्रतिकेजी रु.३० तिर्नुपरेको व्यापारी बताउँछन् । अहिले कोल्टीमा महँगो नै भए पनि पुग्दो खाद्यान्न छैन । उत्तरी बाजुराका रुगिन र बिच्छ्याँ क्षेत्रमा पनि खाद्यान्न अभाव चर्किएको छ । कवाडी बजारका व्यापारी कृष्ण बुडथापाले रु.१२० मा मोटो चामल पनि भने जति नपाइने बताए । उत्तरी बाजुरा, हुम्ला र मुगुको तल्लो भेगका बासिन्दा आयोडिन विनाको ढिकेनुनलाई किलोको रु.५० हाल्न बाध्य छन् ।

हुम्लामा खाद्य संकट

सडक यातायातले नछोएको हुम्लावासीको खाद्यान्न बजार बाजुराको कोल्टी हो । कोल्टीमै मूल्य आकाशिएको मार हुम्लावासीलाई परेको छ । हुम्लाका तीन स्थानमा रहेका नेपाल खाद्य संस्थानका गोदाम दशैंअघि नै रित्ता थिए । श्रीनगर डिपो कर्मचारी हिंडेकै दुई महीना भइसक्यो । डिपो प्रमुख खेमराज काफ्लेले ‘दशैंलाई चामल नभएपछि जनताको खप्की सहन नसकेर हिंडेको’ बताए । कोल्टीमा रु.४ हजार पर्ने चामल हुम्ला पु¥याउँदा रु.११ हजार पुग्ने व्यापारीहरू बताउँछन् । “जिल्लामै चामल छैन” अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती रावल भन्छिन्, “सिडिओलाई जोडबल गर्न सिमकोट पुगें, तर खाद्यका कर्मचारी नै रहेनछन् ।”

हुम्लाका बासिन्दा पुस्तौंदेखि खाद्यान्न ओसार्न बाजुरा झ्र्छन् । अहिले पनि कवाडीदेखि कोल्टीसम्म चामल ओसार्ने बालकदेखि वृद्धसम्मको ओहोरदोहोर छ । अवस्था कति दुःखद् भने, फूलपातीको दिन चामल लिएर आइपुग्ने भनेर कोल्टी हिंडेका अदानचुली गाउँपालिका–२ श्रीनगरका ३५ वर्षीय तेजबहादुर बुढा असोज ८ गते बाजुराको रागेभीरको पहिरोमा परेर बिते । काठमाडौंमा उच्च पदस्थहरू आफ्ना लागि सुविधा बढाएको बढायै छन्, यता सुदूरपश्चिम पहाडवासीको जीवन यसरी नै सकिइरहेको छ ।

प्रकाश सिंह, बाजुरा


छैन पोलियो विरुद्धको खोप

पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन गत साउनमा झपाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएका ६१ शिशुलाई खोप नलगाई फर्काउनुप¥यो । “माथिबाटै खोप आएको छैन, कहिले आउँछ पनि थाहा छैन”, केन्द्रकी अनमी गीता मगराती भन्छिन् ।

धेरैलाई थाहा नहुन सक्छ, तर झपामा गत साउन मात्र होइन, एक वर्षदेखि नै यो खोप आएको छैन । झपामा मात्र होइन, पूरै देशभर नै आईपीभी खोप छैन । तर, स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई खोप अभावको कुनै जानकारी दिएको छैन । शिशु नौ महीना पुगेपछि दिइने यो आईपीभी अन्तिम खोप मानिन्छ ।

जनस्वास्थ्य कार्यालय झपाका अनुसार, राष्ट्रिय खोप तालिकाअन्तर्गतको यो खोप नआइपुगेका कारण आर्थिक वर्ष २०७३÷७४ मा १९ हजार ८०८ जना शिशु खोपबाट वञ्चित भए । “मन्त्रालयबाटै खोप आएको छैन”, जनस्वास्थ्य कार्यालयका खोप सुपरीवेक्षक बालकृष्ण भण्डारी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी भने, विश्वकै धनाढ्यमध्येका माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सको स्वामित्वको ग्लोबल भ्याक्सिन अलायन्स (जीभीए) ले अनुदानमार्फत दिंदै आएको आईपीभीलगायतका खोपको आपूर्ति रोकेको बताउँछन् । विश्वका धेरैजसो मुलुकबाट उन्मूलन भइसके पनि नेपालमा सन् २०१० मा पछिल्लोपटक पोलियो देखिएको थियो । त्यसपछि सरकारले राष्ट्रिय खोप तालिकामा खोप र थोपा खुवाउने कार्यलाई निरन्तरता दिंदै खोप दिवस नै मनाउन थालेको थियो । तर, मन्त्रालयको खोप महाशाखाको तथ्यांक अनुसार, गत आवमा देशभरका ६ लाख ५० हजार शिशुले आईपीभी लगाउन पाएनन् ।

मन्त्रालयको खोप महाशाखाका अधिकृत जगन्नाथ दंगाल जीभीएले अनुदान रोकेपछि विकल्पमा फ्य्राक्सनल इनएक्टिभेटेड पोलियोभाइरस भ्याक्सिन (एफआईपीभी) सञ्चालनको तयारी भइरहेको बताउँछन् । यसका लागि मन्त्रालय र जीभीएबीच २०१७—२०२१ सम्मका लागि ३८ करोड अमेरिकी डलरको सहयोग सम्झैता हुने प्रक्रियामा छ । “सम्झैतापछि खोपले निरन्तरता पाउनेमा आशावादी छौं”, दंगाल भन्छन् ।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम