रैथाने बालीलाई पुनर्जन्म

Share:
  
कृषि अनुसन्धानमा केन्द्रित जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले लोप हुने अवस्थामा पुगेका १५ जातका रैथाने खाद्य बालीलाई पुनर्जन्म दिएको छ।

रीता गुरुङ
घनपोखरा, लमजुङमा लिबर्डले अनुसन्धान गरिरहेको उवाको अवलोकन गर्दै किसान ।
पोखरा र आसपासका किसानको रोजाइमा पर्ने जेठोबूढो धान विस्तारै कम हुदै जाँदा पन्ध्र वर्षअघि कृषि वैज्ञानिक डा. भुवनरत्न स्थापितको नजरमा गर्‍यो । उनको टोलीले परिवर्तित हावापानीसँग मेल खाने गरी जेठोबूढो धानलाई ‘पोखरेली जेठोबूढो’ प्रजातिको रूपमा विकसित गर्‍यो । त्यसयता पोखरा र आसपासका खेतमा पोखरेली जेठोबूढो नै लहलहाउन थालेको छ ।

डा. स्थापित नेतृत्वको टोलीले जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) को मातहतमा पोखरेली जेठोबूढो धानको विकास गरेको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बायोभर्सिटी इन्टरनेशनलसँगको सहकार्यमा विकास गरिएको यो धानलाई सन् २००४ मा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता गरिएको थियो ।

पोखरेली जेठोबूढो धान मात्रै होइन, लिबर्डले स्थापनाको २२ वर्षे अवधिमा १५ वटा जातका खाद्य बालीको विकास गरेको छ । “सात वटा जातिका खाद्य बालीलाई बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता गरिसकेका छौं, आठवटा दर्ताको प्रक्रियामा छन्”, लिबर्डका कार्यकारी निर्देशक डा. बलराम थापा भन्छन् । पोखरेली जेठोबूढोसँगै बर्खे ३००४, सुनौलो सुगन्ध, बर्खे २०१४ र बर्खे १०२७ धानबाली तथा रेसुङ्गा कम्पोजिट र गुल्मी २ गहुँबाली दर्ता गरिएको छ ।

रोजाइमा लट्टे

खेतबारीमा आफैं उम्रने लट्टेमा खासै कसैको चासो हुँदैन । यो साग लिबर्डका वैज्ञानिकको नजरमा मात्रै परेन, उनीहरूले अनुसन्धान नै गरे । यसमा अन्य जातका सागमा भन्दा आइरन, क्याल्सियम जस्ता खनिज पदार्थको मात्रा बढी पाइयो । “गाउँघरतिर लट्टे साग अपहेलित छ तर हाम्रो अनुसन्धानले यसको महŒव बढी देखाएको छ” लिबर्ड कार्यक्रम अधिकृत रीता गुरुङ भन्छिन् । तराईदेखि हिमाली भेगसम्म खेती गर्न सकिने नेपालको स्थानीय जात भएकाले यसले दीर्घकालीन रूपमा उत्पादन दिन सक्ने गुरुङ बताउँछिन् ।

लट्टेको स्थानीय जात ‘रामेछाप हरियो’ को नामले बीउबिजन नियन्त्रण केन्द्रमा दर्ता गर्ने प्रक्रियामा रहेको लिबर्डले यसको बीउ उत्पादन र व्यावसायिक खेतीका लागि किसानलाई आह्वान समेत गरेको छ । अनुसन्धानबाट राम्रो देखिएको र हरियो सागका लागि उपयुक्त हुने भएकाले लट्टेको स्थानीय जात ‘रामेछाप हरियो’ लाई यस वर्ष दर्ता गर्न जातीय उन्मोचन तथा दर्ता समितिको स्थलगत अवलोकन गराई प्रक्रिया अगाडि बढाइएको लिबर्डका कार्यकारी निर्देशक डा. थापा बताउँछन् ।

नयाँ बालीलाई दर्ता गराउन लामो प्रक्रिया पार गर्नुपर्छ । अनुसन्धानको चरणदेखि नै कृषि मन्त्रालयअन्तर्गतको ‘भेराइटी रिलिज एण्ड रजिस्ट्रेसन कमिटी’ लाई जानकारी दिनुपर्छ । कृषि विकास मन्त्रालय, नार्कलगायतका विज्ञहरू रहने समितिले स्थलगत अध्ययन, नयाँ जातका खाद्य बालीको गुण–दोष, उत्पादन क्षमताको अनुसन्धानपश्चात मात्रै दर्ताका लागि सिफारिश गर्छ । लट्टेसँगै कोदो, फापर, चिनो, कागुनोलगायतका स्थानीय बालीको खोजी, विविधता विश्लेषण एवं छनोटमार्फत जातीय सुधार, बीउ उत्पादन र दर्ताको काम भइरहेको डा. थापा बताउँछन् ।

स्थानीयमै अनुसन्धान

१५ खाद्य बालीको विकास गरिसकेको लिबर्ड अहिले एक दर्जनभन्दा बढी खाद्य बालीको अनुसन्धानमा जुटेको छ । र, उसको प्राथमिकतामा स्थानीय खाद्य बाली नै परेका छन् । लिबर्डका बाली प्रजनन अधिकृत राजीव ढकाल भन्छन्, “हामी बाहिरका बीउलाई अनुसन्धानमा प्रयोग गर्दैनौं । कम अनुसन्धान भएका बाली र स्थानीय जातको अनुसन्धानमै केन्द्रित छौं ।” ढकालका अनुसार, धानमा कालो नुनिया, तिली, कचरोवा–४ र सिमीका विभिन्न प्रजाति अनुसन्धानको चरणमा छन् । त्यस्तै कागुनो, चिनो, काँक्रो, कोदोलगायतका बालीमाथि पनि कृषि विज्ञहरूको टोली अनुसन्धानरत छ ।

ग्रामीण भेगमा बसोबास गर्ने र खाद्यान्नको उच्च जोखिममा परेका समुदाय, जलवायु र प्राकृतिक प्रकोपको जोखिममा परेका समुदाय र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘अनुसन्धान तथा विकास रणनीति’ बनाएको लिबर्डले नार्क र कृषि मन्त्रालयसँग सहकार्य गरिरहेको छ । अब प्राकृतिक प्रकोपजन्य जोखिम कम गर्ने, दिगो जीविकोपार्जनका लागि जैविक विविधता तथा वातावरण संरक्षणमा केन्द्रित रहेर काम गर्ने योजना बनाइएको कार्यकारी निर्देशक डा. थापा बताउँछन् ।

अध्ययन तथा अनुसन्धानसँगै लिबर्डले बीउ ब्यांकमा पनि काम गरिरहेको छ । किसानले लिबर्डकै सहयोगमा स्थापना गरिएका २१ बीउ ब्यांकमा ६२ खाद्य बालीका एकहजार १७ स्थानीय जातको संरक्षण गरेका छन् । जसमार्फत देशका विभिन्न क्षेत्रका सातहजार ५२ घरधुरीलाई उन्नत तथा स्थानीय जातको बीउ उपलब्ध गराइँदै आएको लिबर्डले जनाएको छ । गत वर्ष बीउ ब्यांकमार्फत किसानले १८७ टन बीउ उत्पादन गरेर बिक्री गरेका थिए ।

युवराज श्रेष्ठ, पोखरा

comments powered by Disqus

रमझम