अंगोराको अवसर

Share:
  
- जीवनप्रसाद राई
नेपालमा योजनाबद्घ अंगोरा खरायो व्यवसायको राम्रो अवसर आएको छ।

२०५०–५५ सालताका इलाम र धनकुटामा अंगोरा खरायो पाल्ने लहर चलेको थियो । निजीस्तरको त्यो प्रयास व्यावसायिक रूपमा भने सफल भएन । नेपाली कृषिका ‘जान्नेहरू’ ले त्यसलाई नेपालमा अंगोरा कार्यक्रम असफल भएको उदाहरणको रूपमा प्रस्तुत गर्दै आएका छन् । तर, वास्तविकता त्यस्तो छैन ।

वास्तवमा केही युवाले नेपालमा राम्रो भविष्य देखेरै अंगोरा खरायो पालन शुरू गरेका थिए, तर व्यवस्थापकीय कमजोरीका कारणले निरन्तरता दिन सकेनन् । दक्ष जनशक्ति अभाव, तत्कालीन अवस्थामा नेपालभित्र बजार पनि नहुनु, विदेश निर्यातका लागि ठूलो स्तरको उत्पादन गर्न नसक्नु आदि कारणले अंगोरा उद्यम सोखमा सीमित भयो । त्यसको दुई दशकपछि अहिले स्थिति अंगोरा पालनका लागि एकदमै उपयुक्त छ ।

नेपालमा अहिले पनि सोखले खरायो पाल्नेहरू थुप्रै छन्, तर यसलाई व्यावसायिक रूप दिएर बजारमा मासु र ऊन पुर्‍याउने काम भएको छैन । नेपालको भौगोलिक अवस्था, हावापानी, वातावरण अंगोरा खरायो पालनको लागि सुहाउँदो छ । यहाँ अंगोरालाई चाहिने घाँस बाह्रै महीना उत्पादन गर्न सकिन्छ, दानाको पनि समस्या छैन । ऊन पार्ने बेलामा अंगोरालाई प्रशस्त मात्रामा प्रोटिनयुक्त घाँस र दाना दिनुपर्छ । अंगोरा मुख्यतः ऊनकै लागि पालिने खरायो प्रजाति हो, तर मासु पनि बेच्ने सोच बनाएर काम गर्दा यो व्यवसायबाट निराश हुनुपर्ने सम्भावना रहँदैन ।

एउटा वयस्क अंगोराले वर्षमा ५० ग्रामसम्म ऊन दिन्छ । यसरी एक किलो ऊन उत्पादन गर्न २० वटा खरायो पाल्नुपर्ने हुन्छ । २० वटा खरायोलाई दानापानी, मिहिनेत र ऊन बिक्रीबाट आउने अनुमानित रकमको हिसाब गरेर अलि फरक काइदा अपनाउने हो भने राम्रो फाइदा लिन सकिन्छ । खरायोको मासु पनि बजार पठाउने अनि ऊनबाट उद्योग समेत चलाउने हो भने फाइदै फाइदा हुन्छ । अंगोरा खरायोको ऊनबाट बनेका स्वेटर, टोपी, गलबन्दी, कोट आदि बिक्री नहोला कि भनेर कुनै चिन्ता लिनुपर्दैन । यसका प्रमुख ग्राहक विदेशी पर्यटक हुन् ।

मासु, ऊन र त्यसबाट बनेका आइटमहरू बिक्री गरिरहँदा बीउबाट पनि राम्रो आम्दानी भइरहेको हुन्छ । अंगोरा खरायोको बीउको ग्राहक सोखिन र व्यावसायिक दुवै खाले मानिस हुन्छन् । खरायो फार्मसँगै मजाको पारिवारिक होटल, रिसोर्ट वा होम–स्टे संचालन गर्न सकिन्छ । अंगोरा हेर्दैमा राम्रो खरायो भएकोले यसको फार्मले धेरै व्यावसायिक अवसर सिर्जना गरेको हुन्छ । पालेको खरायो हो, तर त्यसले धेरै चिज बेच्न मद्दत गर्छ ।

नेपालमा पछिल्लो समय महँगो लुगा लगाउने, हस्तकला झ्ल्कने वस्तुहरू प्रयोग गर्ने चलन आएको छ । नेपाली कृषि उद्यमीहरूलाई यो ठूलो अवसर र हौसलाको कुरा हो । क्रयशक्ति भएका नेपाली अहिले अल्लो, भाँगो र कोकटी (गुलाबी कपास) को कपडाप्रति निकै आकर्षित छन् । कोकटीको एउटै कोट रु.२०–२५ हजारमा हातहातै बिक्री भइरहेको छ । यो अवसर अंगोराको ऊनबाट स्वेटर बुन्नेहरूका लागि पनि हो । अंगोराको एउटा स्वेटरको मूल्य रु.१ लाखभन्दा माथि पर्छ । झ्ट्ट सुन्दा अपत्यारिलो लाग्ने यो कुरालाई वास्तविकता बनाउने राम्रो अवसर छ अहिले ।

अंगोरा संभावनाको कुरा गर्दा व्यावसायिक पालनको काइदा, ऊन कटिङ प्रविधि, प्रशोधन गर्ने तरीका, लुगा–कपडाको डिजाइन, सामग्रीको विविधीकरणलगायतको पक्ष महŒवपूर्ण हुन आउँछ । यससँगै खरायोको लागि दाना तथा घाँस उत्पादनको अर्थशास्त्र जोडिएर आउँछ ।

हाम्रो नेपालमा अवसरको कमी छैन, तर तिनको उपयोगको सन्दर्भमा सतही विश्लेषण, छलफल र कार्यक्रमहरू जारी छन् । एउटा खरायोको पालनले बृहत् संभावनाको कल्पना गर्न संभव छ । अष्ट्रेलिया, डेनमार्क, जर्मनी, इटली, न्यूजिल्याण्डलगायतका मुलुकहरू पशुपालनबाट समृद्ध भए । उनीहरू पशुपालनलाई विविधीकरण गरेर चाँडै आत्मनिर्भर बने । हामीले पनि अंगोरा व्यवसायलाई त्यस्तै विविधीकरणबाट अगाडि बढाउनुपर्छ ।

एसएलसी सक्दै गरेका र प्लस टु तहमा रहेका अधिकांश नेपाली विद्यार्थीको दिमागमा अहिले विदेश छ– अध्ययन र कामका लागि । यस्ता कल्पनामा स्वदेश नबसेसम्म देशमा विकास हुन सक्दैन । यस्ता साना लाग्ने कामहरू गरेर स्वदेशमै अवसर देखाउन सक्दा मात्र पनि हाम्रा निराश युवा पंक्तिको मन बदल्न सकिन्छ । पछिल्लो समय नेपाल बसेर वा नेपालमै फर्केर काम गर्ने युवा जमात पनि देखिएको छ । यस्ता उत्साही युवाले अंगोरा उद्यमलाई गतिलो अवसर बनाउन सक्छन्, सरकारले वातावरण तयार गरिदिनुपर्छ ।

comments powered by Disqus

रमझम