तीनजुरेका गुराँस

Share:
  
- कमल मादेन
संविधानले वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, वातावरण, पर्यावरण, जल, जैविक विविधता आदिको संरक्षण र उपयोगमा संघ, प्रदेश र स्थानीय तहको अधिकार साझा बनाएपछि संरक्षण क्षेत्र बनाउन नयाँ ऐन आवश्यक छ, छैन ? छलफल जरूरी छ।

धोक्रे लहरे गुराँस (रोडोडेन्ड्रन डाहालहाउसी) ।
स्थानीय तह निर्वाचन अघिसम्म तेह्रथुमका अर्जुन माबुहाङ सरकारद्वारा नियुक्त वसन्तपुर नमूना नगर विकास समितिका अध्यक्ष थिए । अहिले वसन्तपुर नगर विकास समितिमा केही गाविस गाभिएर लालीगुराँस नगरपालिका बनेको छ भने माबुहाङ त्यसका मेयर निर्वाचित भएका छन् । उनले लालीगुराँस नगरपालिकालाई प्रदेश–१ को प्रमुख पर्यटकीय स्थल बनाउने बताउँदै आएका छन् । नगरपालिकाभित्रको तीनजुरे क्षेत्रलाई ताकेर उनले यसो भनिरहेको बुझन सकिन्छ ।

तीनजुरे आफैंमा प्राकृतिक पर्यटकीय स्थल हो । तीनजुरेको तीन जुरोमध्ये सबभन्दा अग्लोको उँचाइ ३ हजार ३० मिटर छ । चुचुरोमा विभिन्न प्रजातिका लालीगुराँससँगै मालिङ्गो, खसु्र, अँगेरीलगायतका वनस्पति भेटिन्छन् । चैत–वैशाखमा गुराँस फुल्दा तीनजुरे क्षेत्रका वन र नागीहरू अति नै चित्ताकर्षक बन्छन् । तीनजुरेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायत हिमालका मनमोहक शृंखला देखिन्छ । यी विशेषताका कारण तीनजुरे पर्यटकीय क्षेत्र बन्नेमा दुईमत छैन । तर, यसको लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धताले मात्र पुग्दैन, गुरुयोजनासहितको इच्छाशक्ति चाहिन्छ ।

विदेशको अभ्यास र टीएमजे

४० प्रजातिका गुराँस रहेको बताइने सिक्किमले युम्थाङ उपत्यकामा ‘शिङ्बा रोडोडेन्ड्रन वाइल्डलाइफ स्याङचुरी’ बनाएको छ । गान्तोकबाट १४० किलोमिटर उत्तरमा रहेको त्यो ठाउँमा बंगाल, बिहार मात्र नभई उडिसा र केरलादेखि बाङ्लादेशसम्मका पर्यटक पुग्छन् । राम्रो सडक सुविधा पुर्‍याइएको त्यस क्षेत्रमा सबै स्तरका पर्यटकलाई हुने मनग्गे होटल र लज छन् । यो पंक्तिकारले भने सन् २००५ मेमा त्यहाँको पर्यटकीय बाटो वरपर ५–६ प्रजाति मात्र देखेको थियो ।

उता, रोयल बोटानिकल गार्डेन इडिनबर्ग (स्कटल्याण्ड) मा गुराँसका चारवटा उद्यान बनाइएका छन् । संसारभर गुराँसका एक हजारभन्दा बढी प्रजाति पाइन्छन् भने ती चार उद्यानमा ५०० प्रजाति संकलन गरिएको बताइन्छ ।

बुखानन् ह्यामिल्टनले सन् १८०२ मा काठमाडांै उपत्यकाबाट लगेको लालीगुराँस पनि त्यहाँ रोपिएको छ । प्राकृतिक रूपमा नेपालमा मात्र पाइने रोडोडेन्ड्रन लोन्डेसी पनि त्यहाँ छ । त्यसको बीउ जेडिए स्टेन्टनले १९५४ मा अन्नपूर्ण क्षेत्रबाट लगेका हुन् । यूरोपमा प्राकृतिक रूपमा गुराँस खासै हुँदैन । त्यहाँ भएका सबैजसो गुराँसका प्रजाति चीन, नेपाल, भूटान र सिक्किमबाट लगिएको हो । यूरोपका प्रकृतिप्रेमीहरू गुराँस हेर्न इडिनबर्ग नगई एशिया नै आउनुको कारण यही हो ।

कमल मादेन
तीनजुरे क्षेत्रमा काटिएका लालीगुराँस (रोडोडेन्ड्रन अर्बोरियम) का रूख ।
विदेशमा त्यसरी काम भएको छ भने २८–२९ प्रजातिका गुराँस पाइने तीनजुरे–मिल्के–जलजला (टीएमजे) क्षेत्रमा गुराँस पर्यटनको विकास गर्न नसकिने कुरै छैन । पंक्तिकारले सन् २००३ र २००४ मा टीएमजे क्षेत्रमा गुराँसको विविधता र अवस्था अध्ययन गर्ने अवसर पाएको थियो । त्यसबेला त्यहाँ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपाल (आईयूसीएन) ले जैविक विविधता संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको थियो । आईयूसीएन नेपालका धरान कार्यालय प्रमुख शैलेन्द्र पोख्रेलको समन्वयमा पंक्तिकार, हेमचन्द्र भण्डारी र विकास कार्कीको टोलीले गुराँस फुल्ने मौसममा केही पटक टीएमजे क्षेत्रका वनजंगलमा स्थलगत अध्ययन गरेको थियो । टोलीको अध्ययन र अरूले संकलन गरेका नमूनाका आधारमा टीएमजेमा गुराँसका २८ प्रजाति रहेको पुष्टि भएको थियो ।

पहिले तीनजुरेमा वसन्तपुर पूर्र्वका सुङनाम, सोल्मा, जिरखिम्ती र आम्बुङ गाविस तथा उत्तरपश्चिममा संखुवासभाको तामाखोप र मावादिन गाविसका केही भूभाग जोडिएका थिए । अहिले सुङनाम र सोल्मा लालीगुराँस नगरपालिकामा समावेश छन् । तीनजुरे पुग्न धरानबाट ८७ किलोमिटर उत्तरमा रहेको वसन्तपुर बजार पुग्नुपर्छ । धरानबाट अढाइ–तीन घण्टामा वसन्तपुर पुगिन्छ । त्यहाँबाट दुई–तीन किमी उत्तरमा रहेको टुटेदेउराली पुगेपछि गुराँसले ढाकेको तीनजुरेको वन शुरू हुन्छ । तीनजुरे टीएमजेको प्रवेशद्वार हो ।

मेयर माबुहाङले टीएमजेमध्ये तीनजुरेलाई पर्यटकीय केन्द्र बनाउने कुरा गरेको बुझ्न्छि । यसबारे धेरै पहिलेदेखि चर्चा हुँदै आएको हो । कामको थालनी गर्ने दह्रो सोचको कमी थियो । सिंगै टीएमजेलाई गुराँस संरक्षण क्षेत्र बनाउने कुरा उठेको बेला स्थानीय निकायहरू जनप्रतिनिधिविहीन थिए । र पनि, गैरसरकारी संस्थाहरूले गुराँस संरक्षण क्षेत्रको चर्चा चलाए । त्यसका निम्ति आईयूसीएन नेपालले केही काम गरेको थियो ।

विविधता र रणनीति

२०६६ सालमा बनेको ‘तीनजुरे–मिल्के–जलजला गुराँस संरक्षण क्षेत्र दिगो विकासका लागि रणनीति’ मा जैविक विविधता संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, जीविकोपार्जनका वैकल्पिक उपाय सिर्जना र पर्यावरणीय पर्यटनको विकास गर्ने उल्लेख छ । बढ्दो जनसंख्या र सडक विस्तारका कारण टीएमजे क्षेत्रमा गुराँसे वन विनाश जारी छ । जलजला र मिल्केमा मानिसको बसोबास छैन, तर गोठ र अनियन्त्रित चरिचरनबाट गुराँसको जंगल पातलिंदैछ ।

तीनजुरे क्षेत्रमा त सडक, बजार र होटलको विकासले गुराँसे वन जोगाउन निकै चुनौती खडा भएको छ । त्यस क्षेत्रमा विशेषतः लालीगुराँस (रोडोडेन्ड्रन अर्बोरियम) का ठूला रूखहरू प्रशस्त काटिएका छन् । चिर्न निकै सजिलो हुने, यसको काठमा रहने पोलिफिनोल्स र फ्लाभिनोइड्स नामक रसायनका कारण दाउरा काँचैमा पनि राम्ररी बल्ने जस्ता गुण लालीगुराँसको काल बनेका छन् ।

तीनजुरेभित्रको पाँचपोखरीमा लालीगुराँससँगै चिमाल (रोडोडेन्ड्रन बार्बाटम), सानो चिमाल ((रोडोडेन्ड्रन सिनाबारिनम), धोक्रे लहरे गुराँस (रोडोडेन्ड्रन डाहालहाउसी), भुईं गुराँस (रोडोडेन्ड्रन लेपिडोटम), सानो चिमाल (रोडोडेन्ड्रन ट्राइफ्लोरम), सेतो लहरे गुराँस (रोडोडेन्ड्रन लिन्डेयी) आदि पाइन्छन् ।

तीनजुरेको पूर्वी उत्तरतर्फ सेतो गुराँस (रोडोडेन्ड्रन ग्रिफिथीनियनम) र हल्का कलेजी रंगमा फुल्ने १०–१५ मिटर अग्ला ठूला पाते गुराँस (रोडोडेन्ड्रन ग्रान्डे) पनि पाइन्छन् । कतैकतै धुपी गुराँस (रोडोडेन्ड्रन भिरगाटम) पनि भेटिन्छ । दुई–तीन फिट अग्लो हुने धूपी गुराँसको पातको पछिल्लो भागमा खरानी रंगको रसायन (इन्डुमेन्टम) बाक्लो गरी बसेको हुन्छ ।

संरक्षण कसरी ?

‘संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३’ को परिच्छेद–३ मा कुनै निश्चित ठाउँको वन र वन्यजन्तु संरक्षणका लागि ‘संरक्षण क्षेत्र व्यवस्थापन समिति’ गठन गर्न सकिने व्यवस्था छ । त्यस्तो संरक्षण क्षेत्र सरकारले तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन हुनुपर्छ । तर, अहिले मुलुक संघीय संरचनामा गएर स्थानीय तह निर्वाचन समेत भइसकेको छ ।

पुरानो ऐनमा सम्बन्धित गाविस वा नगरपालिका प्रमुख ‘संरक्षण क्षेत्र व्यवस्थापन समिति’ को अध्यक्ष हुने व्यवस्था छ । यो भनेको जनसहभागितामा प्राकृतिक स्रोतको संरक्षण हो । त्यसका लागि गठित समिति, उप–समितिहरूले गरेका निर्णय लागू हुन्छन् । त्यस्ता निर्णय नेपाल सरकारका नियमको आधारमा लागू गर्नुपर्छ भनिएको छ । अब संरक्षण क्षेत्रमा उठेका प्रवेश शुल्कलगायत सबै किसिमका रकम संरक्षण क्षेत्रको संरक्षण र विकासमा खर्च गरिनुपर्छ । गुराँस पर्यटनको लागि तीनजुरे पक्कै उपयुक्त छ । यसका लागि गुराँस संरक्षणलाई केन्द्रमा राखेर पर्यटकीय पूर्वाधार विकासको गुरुयोजना बनाउनु आवश्यक छ । त्योसँगै नयाँ संविधानको अनुसूची ९ लाई ध्यानमा राखेर नयाँ ऐन आवश्यक छ, छैन भन्ने छलफल–बहस चलाउनु जरूरी छ ।

comments powered by Disqus

रमझम