विचारको विमर्श

Share:
  

साहित्यकार अमर गिरीको नयाँ कृति भूमण्डलीकरण र साहित्य मूलतः वैचारिक विमर्श हो । त्यसकारण पनि लेखनलाई ‘प्राज्ञिक दृष्टिले सकेसम्म गहिरो र खँदिलो बनाउने प्रयास’ गरेको उनको दाबी छ । पहिल्यै छापिएका रचना भए पनि पुस्तकाकारका रुपमा नयाँ देखिएको कृतिमाथि शार्दूल भट्टराईको २३ पृष्ठ लामो ‘विचारमाथि विचार’ भूमिकाले पनि यसको महत्व दर्शाउने प्रयत्न गरेको छ ।

लेखक गिरीको राजनीतिक पृष्ठभूमिका कारण स्वाभाविक रुपमा पुस्तकका ११ आलेख कार्ल माक्र्सको विचार वरिपरि केन्द्रित छन् । माक्र्सवादकै आलोकमा उनले नेपालको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासक्रम नियालेका छन् ।

जस्तो कि ‘भूमण्डलीकरण र सांस्कृतिक आक्रमण’ लेखमा उनी भूमण्डलीकरणले राष्ट्रिय र प्रगतिशील संस्कृतिमाथि आक्रमण गरिरहेको भन्दै त्यसविरुद्ध सांस्कृतिक प्रतिकार गर्नुपर्ने तर्क गर्छन् । ‘माक्र्सवादी साहित्य सिद्धान्त’ को वकालत गर्ने उनी साहित्यलाई पहिचानको राजनीतिसँग जोडिए भाषा, इतिहास बलियो बन्नेमा जोड दिन्छन् । ‘माक्र्सवाद, पहिचानको राजनीति र साहित्य’ मार्फत लेखकले पहिचानको राजनीति र साहित्यबारे माक्र्सको मत मनन गर्नुपर्ने धारणा पनि राखेका छन् । २१औं शताब्दीको साहित्यको रुप, बजारसँग यसको सम्बन्धबारे पनि उनी घोत्लिएका छन् ।

पुस्तक भूमण्डलीकरण र साहित्य

लेखक डा. अमर गिरी

प्रकाशक भृकुटी एकेडेमिक पब्लिकेसन्स

पृष्ठ ३२०+४

मूल्य रु.६९५

माक्र्सवादी र उत्तरआधुनिकतावादीको मतभेद नयाँ होइन । लेखकले यहाँ पनि उत्तरआधुनिकतावादलाई माक्र्सवाद विरोधी वैचारिक आन्दोलनका रुपमा अथ्र्याएका छन् । ‘रुप र सारमा उत्तरआधुनिकतावाद’ लेखमा उनले भाषा, कला, साहित्य, राजनीति, अर्थतन्त्रमा समेत उत्तरआधुनिकतावादले प्रभाव पार्दै लगेकोमा चिन्ता व्यक्त गरेका छन् । उत्तरआधुनिकतावाद अराजकतावाद भएका कारण यो शून्यतामा टुङ्गिने उनको दाबी छ ।

‘नारीवादी आन्दोलन र साहित्य चिन्तन’ लेखमा भने उनी माक्र्सवादको घेराबाट केही बाहिर निस्कन खोजेका छन् । नारीवादी आन्दोलनको विगत कोट्याउँदै उनी ‘नारी–पुरुष एकताबाटै नारी मुक्तिको सपना सार्थक तुल्याउन सकिने’ तर्क गर्छन् । आर्थिक पराधीनताको अन्त्य, स्वनिर्भरता, समान स्वामित्व र श्रमको समान ज्याला नारी मुक्तिको पहिलो आधार भएको बताउने लेखक यसका लागि पितृ सत्ता मनोविज्ञानविरुद्ध निरन्तर सांस्कृतिक संघर्ष जारी राख्नुपर्ने भनाइ व्यक्त गर्छन् ।

यसअघि ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौं’ र ‘दुःसाध्य समय’ कविताकृति तथा साहित्य एवं संस्कृतिसम्बन्धी विचारमूलक ‘समय, समाज र संस्कृति’ कृति प्रकाशित गरिसकेका लेखक गिरीको भावभूमि नै प्रगतिशील लेखन हो । माक्र्स, लेनिन, माओका विचार, व्याख्यान पटकपटक दोहोरिंदा कार्यकर्ताले त बुझ्लान् तर सामान्य पाठकलाई झर्को लगाउँछ । तर पनि, वाम विचारको बहुआयाम बुझाउने लेखकको प्रयास सकारात्मक मान्न सकिन्छ ।

बच्चु विक


फरक पुस्ताको सम्मान

पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार

साहित्यकार नगेन्द्रराज शर्माको नाममा महापुरुष र दिवास्वप्न उपन्यास, पीपलको बोटमुनि र एकान्तका आफन्तहरू कथासंग्रह पनि प्रकाशित छन् । तर, ‘अभिव्यक्ति का नगेन्द्रराज’ नै उनको चिनारी बनेको छ । उनी स्वयंलाई पनि २०२७ सालमा शुरु गरेको त्यही साहित्यिक पत्रिका नै आफ्ना कृतिहरूभन्दा प्यारो लाग्छ । अभिव्यक्ति कै कारण १९ असोजमा पद्मश्री साधना सम्मान थापेपछि ८० वर्षीय शर्माले भने, “अभिव्यक्ति शुरु गर्दा पुरस्कार, सम्मान पाइएला भन्ने सोचिएकै थिएन, निरन्तरको यात्राले गन्तव्यमा पुर्‍याउँदो रहेछ ।”

शर्मासँगै अर्को साहित्यिक पत्रिका रचना का प्रकाशक÷सम्पादक रोचक घिमिरेले पनि संयुक्त रुपमा यो पुरस्कार पाए । २०१८ देखि रचना निकाल्दै आएका ७६ वर्षीय घिमिरेका पनि ‘सम्झनामा फक्रिएका थुँगाहरू’ र ‘अनुहार र अनुभूति’ निबन्धसंग्रह प्रकाशित छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साहित्य सम्मान ‘सगरमाथाको गहिराइ’ कविता कृतिका लागि नवराज पराजुलीले पाएका छन् । २०६३ देखि वर्षभरि प्रकाशित उत्कृष्ट पुस्तकलाई यो पुरस्कार प्रदान गरिंदै आएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने दुवै पुरस्कारको नाम गैरआवासीय नेपाली व्यवसायी जीवा लामिछाने जन्मिएको चितवनको पदमपुर गाउँको नामबाट राखिएको हो । पुरस्कारको राशि रु.२/२ लाख रहेको छ ।

comments powered by Disqus

रमझम