दोहोरीका किंवदन्ती

Share:
  
फरक विधाका संगीत पारखीहरूले नचिनेका पनि हुन सक्छन्, तर लोकदोहोरी सुन्नेहरूका लागि भने अमर विरही गुरुङ आफैंमा इतिहास हुन्।

भदौरे झरीले भिजेको काठमाडौंमा एक बिहान भेट हुँदा अमर विरही गुरुङ हाँसीखुशी देखिन्थे । धेरैलाई अतीतप्रति गुनासो हुन्छ, तर गुरुङ भने अतीत सम्झिएरै वर्तमानमा रमाइरहेका रहेछन्, भविष्यको चिन्ता अन्त कतै छाडेर । ‘मेरो माया काँबाट आउनुभो, मेरो लागि के दुःख पाउनुभो’, ‘मै गीत गाउँ कि, सुनखानीमा पितलु मिसाऊँ कि’, ‘मायासँग भेट भयो बेलुकी, रेशम–गोली धागोले जेलुम् कि, सलल बग्यो गण्डकी, गोगनपानीमा’ ‘यो मायालाई देखने बित्तिकै, लाग्यो मलाई झुल्केघाम जत्तिकै’ जस्ता दोहोरीले कुनैबेला सुन्नेहरूलाई हुरुक्कै पारेका गुरुङ यतिबेला शान्त छन् । ६३ वर्षको उमेरले पनि उनलाई यो अवस्थामा ल्याइपुर्‍याएको हुनुपर्छ । तर, जसै कसैले विगत सम्झाइदिन्छ, उनी रौसिन्छन् ।

“त्यो जमानाको कुरै बेग्लै । परालको टौवामुनि बसेर तीन दिनसम्म गाइन्थ्यो । सम्झँदा कथाजस्तो लाग्छ” ५० भन्दा बढी लोकदोहोरी अल्बममा स्वर भरेका उनी भन्छन्, “अहिलेका भाइबहिनीहरू ‘तीनदिनसम्म पनि गीत गाइन्छ र !’ भन्छन् ।”

गुरुङका भनाइमा, मनोरञ्जनका धेरै विकल्प नभएको त्यतिबेलाको समाजमा लोकगीतले उच्चस्थान ओगटेको थियो । प्रतिभा पनि प्रशस्त थिए । “मलाई त अझै गाउँघरकै पुराना गायिकाहरूसँग गाउन मन छ, कालो अक्षर नचिनेका उनीहरूको स्वरमा सरस्वतीको बास छ”, उनी भन्छन् । गायिका भनेर नचिनिएका गाउँका गायिकाहरूको श्लील, सरल, विनयशील र भावुक व्यवहारबाट आज पनि उनी प्रभावित छन् ।

“गीतको खालबाट छुट्टिएर बिदावारी हुने बेला असाध्यै मुश्किल हुने । केटीहरू आँशुले भरिएका हुन्थे । गीत सुनेर बसेका केटीका आमा–बा पनि सँगसँगै रुन्थे” उनी सम्झन्छन्, “नजाउन् भनेर बाटो छेक्थे । परपरसम्म छोड्न आउँथे । कहिलेकाहीं त छुट्टिन नसकेर फेरि उतै फर्किन्थ्यौं ।”

गुरुङ स्वयंलाई पनि मनपर्ने ‘मेरो माया छ भने बोल, शिला–पत्थर ठोकेको मन खोल’ भन्ने गीतिकालमा आफ्ना छोरी, बुहारीहरूलाई आमा–बा,सासू–ससुराले नै पुरुषसँग गाउन प्रेरित गर्ने उदार समाज पनि उनले धेरै देखे । मेलापातमा सुनेको यो गीत उनले जस्ताको तस्तै रेडियो नेपालमा रेकर्ड पनि गराएका थिए । जुन गीत निकै चल्यो पनि ।

अर्को गीतको रेकर्डको प्रसंग रोचक छ । २०४१ सालमा रेडियो नेपालमा ‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’ बोलको गीत स्वराङ्कन गराए । श्रोताले निकै मन पनि पराए । तर गीतको शब्द त्रुटिपूर्ण रहेछ । उनले आमा धनमायाबाट यस्तै सुनेर रेडियोमा गाएका थिए । तर पछि थाहा पाए, आमाले ‘प्याउली’ भनी गाउँदा उनले स्याउली सुनेछन् ।

गुरुङसँग यस्ता संस्मरण र किस्साको त खात नै छ । तर, एउटा घटना छ जुन सुन्दै उदेक लाग्न सक्छ । लगभग दुई दशकअघिको प्रसंग । गुरुङसँग धीत मरुञ्जेल गाउन नपाएका महिला गायिकाहरू मौका पर्खेर बसेका रहेछन् । यस्तैमा एकाबिहानै पाँच गायिकाले झुक्याएर उनलाई नगरकोट पुर्‍याए । ”पाँच दिनसम्म गायनको कठघरामा राखेर उनीहरूसँगै लगातार दोहोरी गाउनुपर्‍यो, सम्झँदै अनौठो लाग्छ“, गुरुङ भन्छन् ।

रामरमितामा भुल्ने रौसे स्वभावका गुरुङले थरअघि भने नसुहाउने विरही थपे । किन त ? “अमर गुरुङ मात्र भन्दा अरुसँग नाम जुध्ने भएकाले यसो गरें, मेरो नाम र स्वभाव मिल्दैन”, उनी स्वयं भन्छन् ।

अहिले समय बदलिएको छ । परिवर्तनको प्रवाहसँगै लोकगीतले पनि बाटो फेरेको छ । यसबारे उनी बेखबर छैनन् । हिजो स्वच्छ मनोरञ्जनका लागि गाइने लोकगीत अहिले बजारु सूत्रमा बाँधिएकोमा उनी चिन्तित छन् । “हिजोका लोकगीतको ध्येय माया र सद्भाव साट्नु थियो, अहिले जसरी पनि बिक्रीयोग्य बनाइएको छ”, उनको विश्लेषण छ ।

२०५७ सालमा स्थापित ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’ को संस्थापक अध्यक्षसमेत रहेका उनी रोदीघर, मेलापात र सामाजिक जमघटमा बाहेक व्यावसायिक गायनमा प्रवेश गरेकै ३५ वर्ष नाघेको छ । तर, उनको सक्रियतामा विराम लागेको छैन । ३१ भदौमा उनै गुरुङ राजधानीमा ‘अमर विरही गुरुङ एकल साँझ’ मा गुञ्जिए । उनको गलाबाट उही धुन सुनेर श्रोता÷दर्शक पुनः विगततिर फर्किए । “बाँकी समय लोकगीतकै विकासमा खर्चन्छु”, लमजुङको घनपोखरामा जन्मिए पनि हाल परिवारसँग लमजुङको गैंडाकोटमा बसिरहेका गुरुङ भन्छन् ।

यमबहादुर दुरा

comments powered by Disqus

रमझम