व्यंग्यको बेहाल

Share:
  
- बच्चु विक
खुला समाजसँगै झांगिएका विकृतिविरुद्घ हस्तक्षेप गर्नुपर्ने व्यंग्य लेखन स्वयं नराम्ररी थला परेको छ।

इन्टरनेट तस्वीर
बायाँबाट क्रमशः भैरव अर्याल, केशवराज पिंडाली, श्याम गोतामे र वासुदेव शर्मा लुइँटेल ।

रोज् रोज् दर्शन पाउँछु चरणको, ताप् छैन मनमा कछु ।

रात् भर नाच् पनि हेर्छु खर्च नगरी, ठूला चयनमा म छु ।।

लामखुट्टे उपियाँ उडुस इ सँगी छन्, इनकै लहरमा बसी ।

लामखुट्टेहरू गाउँछन् इ उपियाँ नाच्छन्, म हेर्छु बसी ।।

पाल्पा दरबारका खरिदार भानुभक्त आचार्यको काम सैनिकलाई तलब बाँड्ने पनि थियो । तर, हिसाबकिताब बुझउन नसकेको अभियोगमा उनी १९०९ सालमा काठमाडौंमा थुनामा परे । तत्कालीन राणा शासक र प्रशासकलाई सोझ्ै लामखुट्टे, उपियाँ, उडुस भन्दा ज्यानै जाने डर भएकाले आचार्यले व्यंग्य कविताको सहारा लिए ।

आदिकवि शैलीलाई थोरबहुत महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण समलगायत साहित्यकारले पनि पछ्याए । तर, व्यंग्य साहित्यकारकै नामबाट भने केशवराज पिंडाली, भैरव अर्याल, वासुदेव शर्मा लुइँटेल, श्याम गोतामेलगायत चिनिए । यी साहित्यकारहरू बाँचिरहेको वि.सं. २०२० देखि ४० सम्मको दुई दशकलाई नेपाली व्यंग्य साहित्यको ‘स्वर्णिम काल’ मानिन्छ ।

तर २०३३ को दशैंमा कवि भैरव अर्यालको मृत्युसँगै व्यंग्य साहित्यको ओरालो यात्रा शुरू भयो । विडम्बना, त्यसको चार दशकपछि पनि व्यंग्य साहित्य पुरानो लयमा फर्किन सकेको छैन । “व्यंग्य साहित्यमा न गतिला रचना आएका छन् न नयाँ अनुहार, एक हिसाबले शिथिल जस्तो देखिन्छ”, भाषाविद् एवं लेखक प्रा.डा. माधवप्रसाद पोखरेल भन्छन् ।

समयसँगै गति समात्न नसकेको व्यंग्य साहित्य पछिल्लो समय भुत्ते बन्न थालेको छ । गाली या अश्लील लेखनलाई व्यंग्य भन्ने जमात पनि नभएको होइन । व्यंग्य लेखकहरूको संस्था सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे यतिबेला व्यंग्य साहित्य कमजोर बनेको स्वीकार्छन् । किन त ? उनी वाक्स्वतन्त्रता यसको एउटा कारण हुनसक्नेतर्फ इङ्गित गर्छन् । “सीधै गाली गर्न पाइने समयमा व्यंग्य त्यसै कमजोर हुँदोरहेछ”, गाम्नागे भन्छन् ।

इसाको ४०० वर्ष पूर्व प्राचीन ग्रीसमा तानाशाही शासकहरू जनताका कुरा सुन्दैनथे । त्यस्तोबेला एरिस्टोफेनिसले सर्वसाधारणको आक्रोश र पीडालाई समेटेर नाटक लेखे, ‘युनानी’ । त्यही नाटकलाई व्यंग्य साहित्यको पहिलो रचना मानिन्छ ।

नेपालमा भने व्यंग्य साहित्य लोक–साहित्यसँगै जोडिएर आएको पाइन्छ । यसबारे अध्ययन गरेका प्रा.डा. पोखरेल भन्छन्, “बिहे, जन्ती जाँदा बेहुला–बेहुली पक्षकाले एक–अर्कालाई छेड हान्ने चलन छ, त्यो पनि व्यंग्य नै हो ।”

व्यंग्य साहित्यको शुरूआत भने विक्रमको १९औं शताब्दीबाट भएको मानिन्छ । १९औं शताब्दीको मध्यतिर कवि शुभानन्द दासले ‘साँड्याको कवित्त’ नामक कविता लेखेका थिए, जसमा तत्कालीन शासकहरूलाई साँढेका रूपमा चित्रित गरिएको थियो । त्यसपछि शक्तिबल्लभ अज्र्यालको ‘हास्य कदम’ व्यंग्य कविता प्रकाशित भएको देखिन्छ । त्यसपछि मात्रै भानुभक्तको पालो आउँछ । तर पनि व्यंग्यलेखनको शुरूआतकर्ताको श्रेय भानुभक्तलाई नै दिने गरिन्छ । “व्यंग्यका आदि लेखक पनि आदिकवि भानुभक्त आचार्यलाई नै मान्ने गरिन्छ”, गाम्नागे भन्छन् ।

पश्चिमी लेखनमा ‘हास्य’ र ‘व्यंग्य’ लाई एकसाथ लिने गरेको भए पनि पूर्वीय लेखनमा फरक रूपमा लिइन्छ । ‘हास्य’ सँग हास्यरस जोडिएर आउँछ भने ‘व्यंग्य’ सँग कटाक्ष, घोचपेच । कवि एवं व्यंग्यकार विमल निभा पनि हास्य र व्यंग्यलाई अलग रूपमा हेर्नुपर्ने बताउँछन् । “दुवैलाई एकसाथ राख्नु गलत हो । ‘हास्य’ मा हास्यरस हुन्छ, तर ‘व्यंग्य’ मा त्यो नहुन पनि सक्छ”, निभा भन्छन् ।

स्वर्णिम काल

लोकसाहित्यसँगै जोडिएर आएको व्यंग्य साहित्य नेपाली भाषामा लेखिन थालेको २०० वर्ष पुगिसकेको छ । दासको ‘साँड्याको कवित्त’, अज्र्यालको ‘हास्य कदम’ कवितादेखि शुरू भएको व्यंग्य लेखनलाई भानुभक्तले विस्तार गरे । त्यसपछिको लामो समय सुषुप्त रहेको व्यंग्यले भैरव अर्यालको उदयपछि भने नयाँ जीवन पायो । अर्यालले ‘नयाँ जीवन’ कवितामार्फत साहित्यमा पाइला राखे पनि व्यंग्यकै विचरणमा रमाए । काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), इतिश्री (२०२८), दश औतार (२०३३) निबन्ध संग्रहसम्म आइपुग्दा अर्याल अग्रस्थानमा रहे । “भैरव अर्याल निर्विवाद र एक्ला त्यस्ता व्यंग्यकार हुन्, जसको नजिकसम्म पनि कोही पुग्न सकेका छैनन्”, लेखक÷समीक्षक हरि अधिकारी भन्छन् ।

त्यतिबेला व्यंग्य साहित्यमा अर्यालबाहेक आठ जनाको नाम चर्चित थियो, केशवराज पिंडाली, वासुदेव शर्मा लुइँटेल, श्याम गोतामे, बालमुकुन्द पाण्डे, श्रीधर खनाल, दाताराम शर्मा, घटोत्कच शर्मा र रामकुमार पाँडे । लुइँटेलले त २०२३ मा ‘कौवा प्रकाशन’ पनि खोलेका थिए, जसले व्यंग्य साहित्य मात्र प्रकाशन गथ्र्यो । “कौवा प्रकाशनबाट नौ जनाकै कृति प्रकाशन हुन्थ्यो । त्यो समय नै व्यंग्य साहित्यको स्वर्णिम काल हो”, सिस्नुपानी नेपालका गाम्नागे भन्छन् ।

अर्यालसँगै पिंडालीका खै खै, फेरि उल्टै मिल्यो, व्यंग्यै व्यंग्य, लुइँटेलका भूत छैन, जयनेपाल, काकाका कुरा, कुराउनी, गोतामेका मपाइँ, जदौ, कायेनवाचा, पाण्डेको दमाहा, खनालका नमरी संसार देखिन्न, बाह्र बजेको घण्टी, ६ औंले मान्छे, मुर्कट्टा लास, शर्माको सिस्नु, पाँडेका ख्याल ख्याल, खप्पर, बाबुको बिहे, सिङ न पुच्छर चर्चित कृति हुन् ।

कवि एवं व्यंग्य लेखक निभा पनि २०३३ अघिको समय व्यंग्य साहित्यका लागि उत्कृष्ट रहेको बताउँछन् । प्राडा पोखरेलका नजरमा पनि अर्यालसहितको त्यो समय स्वर्णिम काल थियो । त्यो बेला व्यंग्य लेखनमा उत्कृष्ट रचना र कृति जन्मिएको उनी बताउँछन् । समीक्षक अधिकारी पनि त्यतिबेलाको व्यंग्यको प्रभाव अन्य साहित्यिक विधाहरूमा समेत परेको तर्क गर्छन् ।

संकटको विधा

भैरव अर्यालको प्रेरणा र प्रभावले व्यंग्य लेखन झ्नै परिष्कृत हुने आशा गर्नु स्वाभाविक थियो । तर, भइदियो उल्टो । गाम्नागे त अहिले व्यंग्य लेखन छँदै छैन भन्दा पनि हुने अवस्थामा आइपुगेको बताउँछन् । “वर्षमा मुश्किलले दुई/तीन वटा कृति प्रकाशन हुन्छन्, यो निकै निराशाजनक अवस्था हो”, उनी भन्छन् ।

समीक्षक अधिकारी युवा लेखकमा व्यंग्यको रुचि नदेख्दा अचम्म लागेको बताउँछन् । “छिट्टै लोकप्रिय हुने विधा नभएर पनि व्यंग्यमा आकर्षण देखिएको छैन”, उनी भन्छन् । साहित्यका अन्य विधामा भने यो संकट देखिंदैन ।

प्रा.डा. पोखरेलको भनाइमा, व्यंग्य लेखन कठिन भएकैले धेरैले लेख्न हिम्मत नगरेका हुन् । कवि एवं व्यंग्यकार निभा पनि अन्य विधाभन्दा गाह्रो हुने भएकोले नै यस्तो अवस्था आएको बताउँछन् । “भाषा पढ्न लायक हुनुपर्छ, विश्लेषण पनि विशिष्ट हुनुपर्छ” उनी भन्छन्, “अन्य विधाभन्दा व्यक्तिपरक कटाक्ष बढी हुने भएकोले पनि जोकोहीले जोखिम मोल्न नचाहेका हुनसक्छन् ।”

राणाकाल र पञ्चायत जस्तो कसैलाई केही भन्न वा लेख्न व्यंग्यकै भर पर्नुपर्ने अवस्था नरहेकाले पनि व्यंग्य लेखन ओझेल पर्दै गएको गाम्नागेको अनुभव छ । “खुला समाजमा व्यंग्य नफस्टाउने रहेछ”, उनी भन्छन् ।

comments powered by Disqus

रमझम