२९ असोज - ११ कार्तिक २०७४ | 15-28 October 2017

बाढीको शिकार

Share:
  
- मुकेश पोखरेल
अविरल वर्षासँगै साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जमा मात्र एकहजारभन्दा बढी वन्यजन्तु मारिंदा समेत सरकारको ध्यान पुगेको छैन।

बाढीका कारण बिरामी परेको गैंडाको उपचार गर्दै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी ।
२७ साउनमा परेको अत्यधिक वर्षाका कारण चितवनको राप्ती क्षेत्रमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका तीनवटा गैंडा मरे । एउटा नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा मृत भेटियो भने अर्को निकुञ्जभित्रै हिलोको दलदलमा पुरिएको थियो । बाढीबाट सौराहा क्षेत्र डुबानमा परेपछि फोहोर पानी खाएर उपचारकै क्रममा अर्को गैंडा पनि मर्‍यो । लोपोन्मुख एकसिंगे गैंडा र घडियाल गोही संरक्षणका लागि यो निकुञ्ज महŒवपूर्ण मानिन्छ ।

गैंडा मात्र होइन, सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट यो निकुञ्जमा सारिएका १२ वटामध्ये दुई वटा अर्ना पनि बाढीकै कारण भदौको अन्तिम साता मरे । स्थलगत अवलोकन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोलीले पनि पोषणयुक्त खानाकै अभावमा अर्ना मरेको निष्कर्ष निकाल्यो । गोबर जाँच गर्दा अर्नाको पेटमा कीरा तथा जुका पाइएको थियो । “बाँकी अर्नाको स्वास्थ्य परीक्षण गरी पोषणयुक्त दाना–पानी खुवाउन शुरू गरिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन् ।

अर्ना संरक्षण गर्नका लागि भन्दै २०७३ माघमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र ललितपुरस्थित सदर चिडियाखानाबाट तीन गरी १५ वटा अर्नालाई निकुञ्जमा स्थानान्तरण गरिएको थियो । तर, चिडियाखानाबाट लगिएका अर्नाहरू भने गत जेठमै मरेका थिए । चिडियाखानाभित्र घरपालुवा जनावर जस्तै दाना–पानी खुवाएर राखिएका अर्ना प्राकृतिक वातावरणमा बाँच्न नसकेको कँडेल बताउँछन् ।

गैंडा र अर्नासँगै बाढीले कति वन्यजन्तु विनाश पर्‍यो यसको तथ्यांक निकुञ्जसँग छैन । निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्याल बाढीले एक हजारभन्दा बढी वन्यजन्तु बगेको अनुमान गर्छन् । बाढीपछि निकुञ्जको स्थलगत अध्ययन गरेका वन्यजन्तुविद् डा. शान्तराज ज्ञवाली पनि बाढीका कारण जनावरको बासस्थान र चरण क्षेत्र बगरमा परिणत भएको बताउँछन् । “६० प्रतिशतभन्दा बढी जनावरलाई क्षति पुगेको देखिन्छ”, डा. ज्ञवाली भन्छन् ।

बाढीले बगाएर भारतको वाल्मीकिनगर पुर्‍याएका सात वटा गैंडा निकुञ्जले फिर्ता ल्याएको थियो । एउटालाई भने नवलपरासीस्थित त्रिवेणीबाट ल्याइएको थियो । ल्याउन नसकेपछि अहिले पनि दुईवटा गैंडा वाल्मीकिनगरमा र एउटा त्रिवेणी क्षेत्रमा छ । यस बाहेक बाढीबाट हराएका र मृत्यु भएका जनावरको यकिन विवरण भेटिंदैन ।

सन् २०१५ मा गरिएको गणनामा निकुञ्जभित्र ६०५ वटा गैंडा रहेका थिए । तर, त्यसयता गत वर्ष कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा आठ वटा गैंडा स्थानान्तरण गरिएको थियो । निकुञ्जका अनुसार, हरेक वर्ष ५०–६० वटा गैंडाका बच्चा जन्मन्छन् ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको बटुकदल गणले बाढीपछि ११७ चित्तल, दुई रतुवा, ४६ मृग, पाँच जरायो, १२ हरिण र तीन बँदेल विभिन्न ठाउँमा मृत फेला पारेको थियो ।

झ्न् जोखिम

संरक्षणकर्मीहरू, वन्यजन्तु संरक्षणका लागि आगामी दिन झ्नै चुनौतीपूर्ण रहेको बताउँछन् । जलवायु परिवर्तनको असरले वर्षाको अवस्थामा परिवर्तन भएको छ । लामो समयसम्म खडेरी पर्ने र एकै पटक ह्वात्तै वर्षा हुन थालेका कारण तल्लो तटीय क्षेत्रमा बाढीको समस्या देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा २७ साउनमा चितवनको राप्ती क्षेत्रमा २४ घण्टामै ४९६ मिलिमिटर वर्षा भएको बताउँछन् । “एउटै स्थानमा १६० मिलिमिटर वर्षा हुँदा नै बाढी वा डुबानको खतरा हुन्छ”, उनी भन्छन् ।

वन्यजन्तुविद् डा. ज्ञवाली जलवायु परिवर्तनका कारण लामो समयसम्म पर्ने खडेरीले गर्दा लाग्ने डढेलो र अतिवृष्टिले आउने बाढी वन्यजन्तुका लागि ‘काल’ भएको बताउँछन् । उनका अनुसार, पहाडी क्षेत्रमा जथाभावी खनिएका सडकले पहाडमा बाढी र तराईमा डुबानको विपत् निम्त्याइरहेको छ । २०७१ सालमा बबई नदीमा आएको बाढीले बबई उपत्यका डुबानमा पारे पनि बर्दिया राष्ट्रिय निकुञ्जमा खासै क्षति पुगेको थिएन । “त्यो वेला अहिलेजस्तो अवैज्ञानिक रूपमा बाटा खनिएका थिएनन्”, उनी भन्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, प्राकृतिक विपत्तिको अनुमान गर्न नसकिए पनि यस पटकको बाढीले पाठ सिकाएको बताउँछन् । “विपत्बाट बढी जोखिम स्थानहरूमा पोष्ट खडा गर्ने सोच बनाएका छौं”, उनी भन्छन् । वन्यजन्तुविद् ज्ञवाली यसका लागि बर्खायाममा वन्यजन्तुलाई अलि अग्लो ठाउँमा स्थानान्तरण गर्न सुझव दिन्छन् ।


रुखमै तीन रात

सधैं जस्तै २७ साउन साँझ पनि निकुञ्जस्थित सेनाको एक टोली गस्तीमा निस्किएको थियो । एकनाश दर्किएको झरी रोकिएन । कसराभन्दा ७ किमी उत्तर जर्नेली इलाकामा रहेकै वेला राति नौ बजे बाढीमा फसे ।

चारैतिर बाढी पसेपछि ज्यान जोगाउन सैनिकहरू रुखमा चढे । बिजुली नभएपछि बोकेको सञ्चारसाधन चार्ज हुन सकेन । “चार दिनपछि बल्ल टोली सम्पर्कमा आयो”, बटुकदल गणका निमित्त गणपति सेनानी पुरुषोत्तम कार्की भन्छन् ।

साथमा बोकेको एक लीटर पानी र एक प्याकेट बिस्कुटका भरमा सैनिकहरूले दुई दिन तीन रात रुखमा बिताएका थिए । बाढी आधा घटेपछि फेला परेका उनीहरूका हातखुट्टा चाउरिएकाले हिंड्न सक्ने अवस्थामा थिएनन् । बाढीमा सेनाका १९ वटा पोष्टसमेत डुबानमा परेका थिए ।

comments powered by Disqus

रमझम