२९ असोज - ११ कार्तिक २०७४ | 15-28 October 2017

फूलमा आत्मनिर्भर

Share:
  
- मस्त केसी
तिहारका लागि आवश्यक सामग्रीमध्ये फूलमा नेपाल आत्मनिर्भर बनेको छ।

गोपेन राई
दशैंअघि शुरू भएको किनमेललाई तिहारले फेरि तताएको छ । तिहारमा कपडा र गरगहनादेखि पूजा सामग्री र फूलसम्मको किनमेल हुन्छ । तिहारका लागि विविध सामग्री आवश्यक भए पनि फूललाई विशेष मानिन्छ ।

तिहारलाई धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फूलको पर्वको रूपमा लिने गरिन्छ । यही कारण यो पर्वमा पूजा सामग्री, झिलिमिली बत्ती र फूलको व्यापार आकाशिने गर्छ । तिहारमा विशेष प्रयोग गरिने सयपत्री, मखमली, गोदावरी फूल फुल्ने मौसम पनि यही हो । सयपत्री, मखमली र गोदावरी फूलको व्यापार शतप्रतिशत उकालो लाग्छ ।

तिहारमा फूलको बहुआयामिक प्रयोग हुन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै मखमली, गोदावरी र सयपत्री फूलको माला लगाइदिन्छन् । यो पर्वमा काग, कुकुर, लक्ष्मी (गाई), गोरु र भाइको पूजा गरिन्छ । ती सबै पूजाका साथै घर सजाउन समेत फूल र माला प्रयोग गरिन्छ । त्यसले गर्दा तिहारमा फूलको माग आकाशिन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु भन्छन्, “यो तिहारमा सयपत्री, मखमली र गोदावरीका मात्र करीब १५ लाखवटा माला बिक्री हुने अनुमान गरिएको छ ।”

नेपालमा वर्षेनि १५ देखि २० प्रतिशतले फूलको माग बढिरहेको छ । कसजुका अनुसार गत वर्ष नेपालमा रु.१ अर्ब ७० करोड बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये रु.६ करोडको फूल आयात गरिएको थियो । यो वर्षको तिहारमा रु.५० करोडभन्दा बढीको फूल कारोबार हुने अनुमान एसोसिएसनका अध्यक्ष कसजुले गरेका छन् । यो वर्ष तिहार छिट्टै परेको र सबै सयपत्री फुली नसकेको कारण रु.९० लाख जतिको आयात गरिएको कसजु बताउँछन् । “तिहार अलि पछि भएको भए हामी सयपत्रीमा पनि आत्मनिर्भर भइसक्थ्यौं” उनी भन्छन्, “नेपालमा उत्पादन नहुने केही सिजनल फूल चाहिं आयात नै गर्नुपर्छ ।”

उनका अनुसार, नेपालमा उत्पादन भइरहेको फूल त निर्यात समेत भइरहेको छ । गत वर्ष यूरोपका साथै अमेरिका, चीन, भारतलगायतका मुलुकमा रु.३ करोड ५० लाखको फूल निर्यात भएको थियो । यो वर्ष निर्यातको आँकडा बढ्ने पुष्प व्यवसायीहरूको भनाइ छ । वनस्पति विभागका अनुसार नेपालमा ६ हजार ५०० भन्दा बढी प्रजातिका फूल फुल्ने बिरुवा पाइन्छन् । तीमध्ये ४५० प्रजातिका बिरुवाहरू फूलको रूपमा प्रयोग हुँदै आएका छन् ।

“आन्तरिक उत्पादनले नेपालको माग धान्ने भनेको फूलले मात्र हो।”

कुमार कसजु

अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

फूलको बहुउपयोग र बढ्दो मागका कारण नेपालमा मौसमी, आलंकारिक र कट फ्लावरलगायतको व्यावसायिक खेती फस्टाएको छ । मुलुकभर १५३ हेक्टर जमीनमा व्यावसायिक रूपमै फूल खेती भइरहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार, हाल नेपालमा ४२० प्रजातिका फूल उत्पादन भइरहेका छन् । काठमाडौं उपत्यकाबाट शुरू भएको व्यावसायिक पूmल खेती धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सुनसरी, झपा, कपिलवस्तुलगायत ४१ जिल्लामा विस्तार भएको छ । ७०० भन्दा बढी कृषक व्यावसायिक फूल खेतीमा लाग्दा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा १४ हजारभन्दा बढी व्यक्ति यो व्यवसायमा जोडिन पुगेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

चलायमान अर्थतन्त्र

तिहारको धार्मिक–सांस्कृतिक महत्व त छँदैछ, यो समयमा हुने किनमेल पनि देशको अर्थतन्त्रमा प्रभाव पार्ने गरिको छ । तिहारको वेला छोटो समयमा हुने ठूलो किनमेलले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ । हुनेखानेले कमाएको केही प्रतिशत र नहुनेले ऋण गरेरै भए पनि तिहारमा मन फुकाएर खर्च गर्ने चलन पुरानै हो । व्यवसायीहरूका अनुसार दशैंतिहार जस्ता ठूला चाडबाडमा व्यापार २०० प्रतिशतले बढ्छ । त्यसले अर्थतन्त्रलाई चलायमान त बनाउँछ नै राजश्व संकलनमा पनि उल्लेख्य वृद्धि ल्याउँछ ।

तिहारमा प्रयोग हुने फूल बाहेकका अधिकांश सामग्री आयात भइरहेका छन् । आयातले मुलुकलाई परनिर्भर बनाउँदै लैजान्छ । आयातीत सामग्रीको बढ्दो प्रयोगले तत्कालका लागि अर्थतन्त्र चलायमान देखिए पनि दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ । अर्थशास्त्री डा. डिल्लीराज खनाल स्वदेशी उत्पादनको प्रयोगले मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । उनी भन्छन्, “आयातीत सामग्रीको प्रयोगले चाहिं व्यापार घाटा बढाउँदै समग्र अर्थतन्त्रलाई समस्यातिर धकेल्छ ।”

थरीथरीका किनमेल

तिहारमा विशेषगरी लक्ष्मी पूजाको अवसरमा बत्तीहरूले घर, पसल, कार्यालयलाई झिलिमिली पार्ने गरिन्छ । केही वर्षयता झिलिमिलीका लागि माटोका पालाकोे साटो पाला जस्तै देखिने विद्युतीय बत्तीको प्रयोग बढ्दो छ । स्वदेशमै तयार पाला र मैनबत्तीको स्थान विदेशी झ्लिमिले बत्तीले ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष रु.३ अर्ब ८५ करोड बराबरका इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिसबाजी आयात गरिएको छ ।

“उत्पादनभन्दा व्यापारमा केन्द्रित योजनागत नीतिकै कारण दशैं–तिहारलगायतका परम्परागत चाडमा समेत आयातीत सामग्रीको प्रयोग बढ्दो छ।”

डा. डिल्लीराज खनाल

अर्थशास्त्री

त्यस्ता सामग्रीहरू चीन र भारतबाट आयात हुन्छन् । अहिले नेपाल भित्रिने त्यस्ता कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात हुने गरेको नेपाल विद्युतीय महासंघले जनाएको छ । यस्ता सामग्री विगतमा भारतबाट धेरै आयात हुन्थ्यो । पछिल्लो समय आकर्षक र सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले भारतीय सामग्रीलाई विस्थापित गरेको व्यवसायीहरू बताउँछन् । तिहारमा रु.८० करोडदेखि रु.९० करोडसम्मको विद्युतीय सामग्रीको कारोबार हुने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ । समाजशास्त्री प्रा.डा. तुल्सीराम पाण्डे आकर्षक, सस्तो र कति त टिकाउ समेत हुने भएकोले चाडबाडमा परम्परागत सामग्रीभन्दा चिनियाँ वा भारतीय सामग्रीको प्रयोग बढेको बताउँछन् । (हे. बक्स)

तिहार धनको पनि पूजा गर्ने पर्व भएकाले सक्नेले सुनचाँदीका सामग्री पनि किनेर लक्ष्मी पूजा गर्छन् । तिहारमा सुन, चाँदीको मात्र हैन, काँसका थाली, घण्टी, तामाको पूजा थाली, पित्तलको दियो आदि पनि धेरै बिक्री हुन्छ । तिहारमा चाँदीका टीकादानी, करुवा, गिलास, दियो, प्लेट आदि धेरै बिक्री हुने ललितपुरको महालक्ष्मीस्थानमा सुनचाँदीको व्यवसाय गरिरहेका रामकृष्ण सुनार बताउँछन् । उनका अनुसार, तिहारको व्यापारले करीब ६ महीनाको कारोबार धान्छ । “दशैं सकिएलगत्तै शुरू भएर लक्ष्मी पूजाको दिनसम्म करीब २०० प्रतिशतले व्यापार बढ्छ” उनी भन्छन्, “चाँदीको धेरै व्यापार हुने लक्ष्मी पूजाकै दिन हो ।”

फूल, बत्तीलगायत सजावटका इलेक्ट्रोनिक सामान, गरगहना र भाँडाकुँडामा मात्र नभई सबभन्दा धेरै मौसमी फल बिक्री हुने समय पनि तिहार नै हो । नेपालमै मनग्गे उत्पादन हुने केरा, निबुवा, बिमिरो, ओखर, हलुवावेद, स्याउ, अनार, बदामदेखि आयातीत काजु–किसमिस र अन्य फलको ठूलो व्यापार हुन्छ, तिहारमा । गत वर्ष रु.१० अर्ब ८१ करोडको फल र बदाम आयात भएको भन्सार विभागको तथ्यांक छ । तीमध्ये ३० प्रतिशत तिहारमा खपत भएको थियो । विभागको तथ्यांक अनुसार गत वर्ष रु.४ अर्ब ८८ करोडको त चकलेट र मिठाइका कच्चा पदार्थ भित्रिएका थिए ।


बदलिंदो तिहार

आधुनिकीकरण र विश्वव्यापीकरणबाट तिहार प्रभावित भएको छ। तिहार यही समाजको एउटा गतिविधि हो। समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि बदलिंदै जानु स्वाभाविक हो।

प्रा.डा. तुल्सीराम पाण्डे

परिवर्तित परिवेशसँगै समाजसँग जोडिएका हरेक गतिविधि बदलिंदै जान्छन् । तिहार यही समाजको एउटा गतिविधि हो । यो गतिविधिमा पनि समयको परिवर्तन देखिएको छ । तिहारको सार भने बदलिएको छैन । हिजो जसरी र जुन महत्व दिएर तिहार मनाइन्थ्यो, त्यसले निरन्तरता पाएको छ । बदलिएको त तिहार मनाउने सामग्री मात्रै हो । यस हिसाबले सबै चाडबाड बदलिएका छन् । यो भनेको हाम्रो सामाजिक स्वरुप वा संरचना सञ्चालन प्रक्रिया नै बदलिएको हो ।

हिजो विकास थिएन । यातायात, सञ्चार थिएन । मानिसहरू एउटै समाजमा सीमित थिए । घुमघाममा निस्कने चलन नै थिएन । तिहार समाजभित्र सीमित थियो । आज यातायात, सञ्चारलगायतको विकास, आधुनिकीकरण र विश्वव्यापीकरणले तिहारलाई स्वाभाविक प्रभाव पारेको छ । आधुनिकीकरणको एउटा पाटो हो बदलिंदो तिहार । आधुनिकीकरणका कारण हामी विश्वसामु पुग्यौं, विश्व हामीसामु आयो । विश्वव्यापीकरणसँगै विदेशी अर्थतन्त्र नेपालमा प्रवेश गर्‍यो । उत्पादनभन्दा व्यापार बढेका कारण नेपाल कमोडिटी मार्केटको रुपमा विकसित भयो ।

शहरी इलाकामा पसेको विश्वबजार नेपालका गाउँघरसम्म पुगेको छ । शहरको देखासिकी गाउँहरूले गर्छन् । नेपालीको हातमा नगद भएकोले खर्च गर्ने प्रवृत्ति पनि बढेको छ । विश्वबजारमा चलेका सामग्रीहरूको उपलब्धता, आकर्षणलगायतका कारणले नेपाली समाजलाई लालायित बनाएको छ । यसको स्वाभाविक प्रभाव हामीले दशैं–तिहारलगायतका चाडबाडमा प्रयोग गर्ने सामग्रीहरूमा परेको छ ।

विश्वव्यापीकरण प्रक्रियामा शक्तिशाली सावित भएको समाजको संस्कृतिको प्रभाव संसारभरका समाजमा पर्दै गएको छ । नयाँ तौरतरीका र पद्धति आकर्षक भए, त्यसको प्रभाव सबैमा पर्‍यो । माटोको पालामा तेल राखेर बालिने बत्तीलाई इलेक्ट्रिक बत्तीले विस्थापित गर्दै लग्यो । दिदीबहिनीहरुले आफ्नै हातले बनाएका ओखर, कटुस, तिल मिसाएको मसलालाई बजारमा पाइने तयार ‘भाइ मसला’ र मिठाइले विस्थापित गर्‍यो । बदलिंदो तिहारमा परम्परागत लोक प्रविधि हरायो ।

अर्कोतिर सञ्चार र प्रविधिले तिहारलाई झन् फैलाएको छ । यसको धार्मिक–सांस्कृतिक महत्वमा ह्रास आएको छैन । तेलको मधुरो बत्तीको ठाउँ बिजुलीको उज्यालोले लिएको छ । सम्बन्धसँग जोडिएको तिहारको मान्यता र मनाउने शैली पनि बदलिएको छैन । दिदीबहिनी आउने, दाइ–भाइलाई टीका लगाउने, दाइभाइले दान–दक्षिणा दिने चलन उही छ ।

खानपान बदलिएको छ । पहिले सेलरोटी खाने भनेको दशैं र तिहारमा मात्रै थियो । हुनेखानेले चैते दशैं र माघे संक्रान्तिमा पनि पकाउँथे । खीर, ढकनी, केरा, ओखर, सेलरोटी, फिनी, अनरसा आदि तिहारमा प्रयोग हुन्थे । अहिले बजारले खानपानलाई विस्तार गरिदिएको छ । पुराना परिकार घटेका छैनन्, नयाँ थपिएका छन् । हिजोको दिनमा नयाँ लुगा किन्ने र लगाउने भनेको पनि दशैं–तिहारमा मात्रै हुन्थ्यो । मानिससँग नगद नै थिएन । अब त वर्षमा एकचोटि दशैं–तिहारमा मात्र नयाँ लुगा किन्ने कुरा सुन्दै अनौठो लाग्ने भइसक्यो ।

लक्ष्मी पूजाको दिन सुनचाँदी किनेर राखे वर्षभरि आम्दानी बढ्छ भन्ने परम्परागत विश्वास पनि कायमै छ । अहिले त सुनचाँदी किनेर देखाउने चलन पनि आएको छ । समाजमा देखाउनकै लागि सुन लगाउनेहरूको कमी छैन । गहना लगाउने चलन भारतीय नवाब खान्दानबाट भित्रिएको हो । सम्भ्रान्तहरूले विकसित गरेको देखासिकीको चलन विस्तारै सबैतिर फैलँदै गएको छ । यसले सामान्य वर्गमाथि मानसिक दबाब परेको छ ।

कतिपय मानिसहरू तिहारमा हुने रमाइलो घट्यो भन्छन् । तर, यो घटेको नभई विस्तार भएको छ । किनभने, आजकल रमाइलोको लागि तिहार नै कुर्नुपर्दैन । अर्को पक्ष के छ भने, नेपालीहरूले तिहारलाई संसारभर पुर्‍याएका छन् । विदेशमा तिहार मनाउने, भैलो–देउसी खेल्ने चलन बढेकै छ । विदेशमा तिहार लक्षित कार्यक्रमहरू हुन थालेका छन् । यसबाट पनि तिहारको गरिमा र महत्व बढेको छ । नेपालमा सीमित तिहारको अन्तर्राष्ट्रियकरण भएको छ । तिहारको मूल्य–मान्यता फेरियो, धर्म–संस्कृति बिग्रियो भन्नै पर्दैन । समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि पनि बदलिंदै जानु स्वाभाविक हो ।

comments powered by Disqus

रमझम