२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

ज्यान जोगाउँदै रक्तदाता

Share:
  
रूपन्देहीमा फैलिएको डेंगु महामारीको जोखिम घटाउन स्थानीय रत्ताmदाता जुटेका छन्।

रक्तदानमा सक्रिय युवा ।
रूपन्देहीमा डेंगु रोगबाट तीन जनाको ज्यान गइसकेको छ । भदौयता मात्र डेंगुका कारण अस्पताल भर्ना हुनेको संख्या ४५० नाघेको छ ।

बुटवलको लुम्बिनी अञ्चल अस्पतालसँगै बुटवल, भैरहवा, देवदहलगायतका सरकारी तथा निजी अस्पतालहरूमा डेंगुका बिरामीको चाप देखिन्छ । ‘रेफर’ हुनेको संख्या पनि उत्तिकै छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल (कीटजन्य रोग नियन्त्रण) प्रमुख केदारनाथ शाह विगतका वर्षहरूको तुलनामा डेंगुको संक्रमण अस्वाभाविक रूपमा बढेको बताउँछन् । उनका अनुसार, गत वर्ष डेंगुका १५४ बिरामी अस्पताल भर्ना भएका थिए ।

एडिस नामक लामखुट्टे प्रजातिको टोकाइबाट लाग्ने डेंगु नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको थियो । “फोहोर तथा पुराना टायरहरूको उचित व्यवस्थापन नगरिंदा लामखुट्टे बढेका छन्, त्यसैले पनि बिरामी बढेका हुनसक्छन्”, उनी भन्छन् । सामान्यतः वर्षाको मध्यदेखि अन्त्य हुने एक महीनामा डेंगु बढी देखिन्छ ।

डेंगुका बिरामी बढेपछि जनस्वास्थ्य कार्यालयले विद्यालयहरूमा रोगविरुद्ध चेतना फैलाउने र प्रभावित क्षेत्रमा सेना र प्रहरी तथा नगरपालिकासँगको सहकार्यमा ‘खोज र नष्ट अभियान’ को तयारी थालिएको छ ।

संक्रमण बढिरहँदा जाँच गर्ने किट अभाव भएको छ । सरकारी अस्पतालमा निःशुल्क पाइने किट निजीमा रु.९०० देखि रु.३ हजारसम्म परिरहेको बिरामीको गुनासो छ ।

धन्न रगत छ

बुटवलका अस्पतालमा सामान्यतः दैनिक ३० युनिट रगत भए पुग्थ्यो । तर, डेंगु महामारीका कारण अहिले ८० युनिटसम्म रगत जुटाउनु परेको छ । तर, धन्न अहिलेसम्म रगतको कमीकै कारण बिरामीको मृत्यु भएको छैन । यसको श्रेय नेपाल स्वयंसेवी रक्तदाता समाजलार्ई जान्छ ।

चार वर्षअघि स्थानीय कृष्ण चौहानको नेतृत्वमा स्थापित यो संस्थाको सम्पर्कमा करीब ४०० युवा रक्तदाता छन् । स्थापनाकालयता संस्थाले जिल्लास्थित रक्तसञ्चार केन्द्रलाई ६ हजारभन्दा बढी युनिट रगत हस्तान्तरण गरिसकेको छ ।

“डेंगुको बिगबिगीका वेला दिनरात अस्पतालहरूबाट फोन आउ“छ । हामी रगत दिन तयार भएर बसिरहन्छौं”, समाजका अध्यक्ष चौहान भन्छन्, “छट्पटाइरहेका बिरामीलाई रगत दिन पाउँदा आनन्द लाग्छ ।”

लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मी समयमै पर्याप्त रगत पाएकै कारण डेंगुको महामारीमा पनि ठूलो क्षति नभएको बताउँछन् । “खचाखच बिरामीलाई बचाउन रातोदिन रक्तदान गरेका युवाले अतुलनीय योगदान दिइरहेका छन्”, रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक निरञ्जनराज भण्डारी भन्छन् ।

डेंगुका बिरामीका लागि ताजा र दुर्लभ (नेगेटिभ) रगत चाहिन्छ । रक्तसञ्चार केन्द्रका राजभण्डारीका भनाइमा यस्तो रगत सञ्चित राख्न पनि मिल्दैन । रक्तदाता समाजले दुर्लभ रक्त समूहका १५० जना युवालाई तम्तयार राखेको छ । १६ देखि ३५ वर्ष उमेर समूहका युवालाई जन्मदिनमा रक्तदान गर्ने जस्ता उत्प्रेरणा कार्यक्रम चलाइरहेको छ ।

समाजका अध्यक्ष चौहानका अनुसार, जिल्लाका हरेक अस्पतालहरूमा रक्तदाता युवाहरूका फोन नम्बरसहित ‘रगत चाहिए बुटवल जाऔं’ लेखिएका सूचनापाटी राखिएका छन् । यस्तै सन्देशको फेसबूक पेज पनि छ । बुटवलमा सबैभन्दा धेरै (५४ पटक) रक्तदान गरेका कारण चौहानलाई गत महीना एक लाख नगदसहित सम्मानितसमेत गरिएको थियो । उक्त रकम रक्तदाता उत्प्रेरणा कार्यक्रममा खर्च गर्न समाजलाई नै बुझएका छन् । महिलातर्फ भने रूपकिशोरी लाकौलले ५१ पटकसम्म रक्तदान गरेकी छन् ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम