जोखिममा मानव बस्ती

Share:
  
- मुकेश पोखरेल, मुस्ताङ
विश्वव्यापी तापक्रम वृद्घिको असरले हिमाली जिल्ला मुस्ताङका बस्तीहरूमा जोखिम बढाएको छ।

मुकेश पोखरेल
बाढीले क्षति गरेको आफ्नो स्याउबारी देखाउँदै तिरीगाउँकी मेहन्दा गुरुङ
३ असार २०७० अपराह्न पाँच बजे । मुस्ताङको बराहगाउँ मुक्ति क्षेत्र गाउँपालिका–४ तिरीमा एकाएक मुसलधारे पानी पर्न थाल्यो । त्यसको आधा घण्टामै माथिबाट ओइरिएको गेग्रानको बाढीले गाउँमा वितण्डा मच्चायो । घर, गोठ, अन्नपात सबै पुरियो ।

अहिले वडा सदस्य रहेका नोर्बु गुरुङका अनुसार गेग्रानको बाढीमा लमजुङ घर भएका एकजना कामदारको मृत्यु भयो, गाउँमा रु.१ करोड भन्दा बढीको धनमाल, अन्नपात र चौपाया क्षति भयो । “यो ठाउँमा मैले त्यस्तो झ्री र बाढी कहिल्यै देखेकी थिइनँ” कर्मा गुरुङ (८०) भन्छिन्, “अहिले त लटरम्म स्याउ, उवा र फापर फल्ने सबैका बारी गेग्रानले भरिएको छ ।”

सबैतिर उस्तै

ठूलो झ्री र बाढी–पहिरोको अनुभव नगरेका मुस्ताङवासी अहिले बाढी–पहिरोको चपेटामा परेका छन् । २०७२ भदौमा एक्कासी झ्री दर्केर गाउँ माथिको नाङ्गो डाँडाबाट आएको गेग्रान सहितको बाढीले झेङको खेतबारी पुर्‍यो । त्यसबेला झेङका ३६ मध्ये आधा घर क्षतिग्रस्त भएको छिरिङ पेम्बा गुरुङले बताए । बाढीले उनकै पाँचरोपनी खेत पुर्‍यो, दुई वटा गाई र ३५ मुरी अन्न बगायो ।

त्यसअघि १८ जेठमा आधा घण्टा दर्केको पानीले ल्याएको लेदो माटो र गेग्रान मार्फा गाउँमा पस्यो । त्यसले कृष्ण, माया र ओमप्रकाश नेपालीलगायतका १० घर भत्किएका; अन्य २५ घरमा क्षति पुगेको भक्ति हिराचन (७७) सम्झ्न्छन् । उनका अनुसार, घरको भुईंतलामा दुई फिटसम्म लेदो जमेको थियो । “मैले थाहा पाउँदासम्म मुस्ताङमा पानी पर्दैनथ्यो, हावाले ढुंगा उडाउँथ्यो” हिराचन भन्छन्, “अहिले त पानी परेर घर बनाउने पुरानो तरिका नै फेर्नुपर्ने भयो ।”

यो हिमाली जिल्लामा माटोकै जोडाइ भएका ढुंगाका मुण्डा घर बनाउने चलन थियो । छानो माटाकै हुन्थे । तर, पछिल्ला वर्षहरूमा पानी दर्किन थालेर परम्परागत घर नधान्ने भएपछि ढलान घरहरू बनाइँदैछ । यातायात सुविधा पुगेकाले यसमा सजिलो भएको छ । यहाँ पानी पर्ने दर लगातार बढिरहेको छ । मार्फास्थित समशीतोष्ण वागबानी केन्द्रको रेकर्ड अनुसार, यो जिल्लामा सन् १९९६ को जूनमा ३७.३ मिलिमिटर वर्षा भएकोमा २००१ को त्यही महीनामा १२७.७० मिलिमिटर पानी पर्‍यो ।

वर्षाका कारण भत्किएको झोङस्थित घर ।
जलवायु विश्लेषक ङमिन्द्र दाहालका अनुसार जलवायु परिवर्तनमा वृद्धि भएको तापक्रमले दक्षिणबाट वहने मनसुनी हावालाई बढी उचालेपछि मनसुनी हावा र बादल हिमालपारि गएर पानी पर्न थालेको हो । पहिला मनसुनको पानी नजाने क्षेत्र हो, मुस्ताङ । हिउँदे पानीले हिउँ मात्रै पर्दथ्यो । मनसुनी सिजनमा पानी पर्न थालेपछि त्यहाँको भौगोलिकतामा उथलपुथल आउन थालेको दाहाल बताउँछन् । “पहिरो र भूक्षयका घटना बढ्न थाले, मनसुनी बाढी र त्यहाँका स–साना पोखरी भरिएर फुट्न थाले” मुस्ताङको जलवायुको क्षेत्रमा अध्ययन अनुसन्धान समेत गरेका दाहाल भन्छन्, “यो त शुरूआत मात्रै हो, भविष्यमा बाढी पहिरोले बस्तीहरू विस्थापित हुने सम्भावना छ ।”

जीविका प्रभावित

तिरी गाउँकी कर्मा गुरुङका लागि कहिले लामो समय पानी नपर्ने, कहिले एक्कासी पर्ने, हिउँ नपर्ने समयमा पर्ने, पर्ने समयमा नपर्ने कुरा नौलो हो । नौलो लाग्दालाग्दै ३ असार २०७० को मुसलधारे पानीले झ्ण्डै ज्यान लिएको उनी बताउँछिन् । उनको अनुभवमा, बर्खामा सिमसिम पानी त पहिले पनि पथ्र्यो, गाउँलाई नै बाढी–पहिरोले छोप्ने गरी दर्के पानी परेको चाहिं पहिलो पटक ७० सालमै हो । मार्फाका भक्ति हिराचन चाहिं २० वर्षयता मौसम बदलिन थालेको बताउँछन् । उनी भन्छन्, “बिजुली चम्किने, गड्याङगुडुङ गर्ने र गाग्रोबाट पानी खनिएजस्तो हुने क्रम बढ्दै गएको छ ।”

वर्षात् हुने र हिउँ पर्ने प्रक्रियामा आएको परिवर्तनले स्थानीयको जीविकोपार्जनमा समस्या ल्याएको छ । हिउँ कम परेर पहिला जस्तो घाँस पाइन छाडेको तिरिका सानाकान्छा गुरुङ बताउँछन् । यसको असर पशुपालनमा परेको छ । ५–६ वर्षअघिसम्म २०० च्याङ्ग्रा पाल्ने तिरिकै कोन्जु गुरुङसँग अहिले ८० वटा मात्र च्याङ्ग्रा छन् । सोही ठाउँका टासी गुरुङले पनि च्याङ्ग्राको संख्या घटाएर ४६ बनाएका छन् । पशुपालन घट्दा बाली बिरुवामा मल अभाव हुन थालेको छ ।

त्यसो त, ठीक समयमा हिउँ नपर्दा वा कम पर्दाको सोझे असर अन्न र तरकारी उत्पादनमा परेको छ । झेङका छिरिङ पेम्वा गुरुङले ८० पाथी उवा छरेर ४०० पाथी फलाउँथे । अहिले बीउ जोगाउन पनि मुश्किल परेको उनी बताउँछन् । उनका अनुसार, पहिला मंसीरदेखि हिउँ पथ्र्यो, अहिले कहिले पर्दै पर्दैन, कहिले बाली सखाप हुने गरी बढी पर्छ । “पोहोर हिउँ नपरेर उवा भएन, परार बढी परेर बिग्रियो”, झेङका नोरु गुरुङ भन्छन्, “जमिन बाँझे नराख्न मात्र खेती गरिंदैछ यतातिर ।”

स्याउको ठाउँ सर्‍यो

पहिले मुस्ताङमा एककिलो घाँसलाई रु.१२ र त्यति नै स्याउलाई ५ रुपैयाँ पथ्र्यो । १० वर्षअघि बेनी–जोमसोम सडक खुलेपछि मुस्ताङको स्याउले बजार पायो । अहिले व्यापारीहरू बोटमै प्रतिकेजी रु.१०० दिन आउँछन्, तर कागवेनी भन्दा तलतिर स्याउ उत्पादन नै घटेको छ । ठिनीका जितबहादुर थकाली रोगकीराको प्रकोपबाट स्याउका बोट जोगाउनै मुश्किल पर्न थालेको बताउँछन् । स्याउको बोट बचाउन वर्षमा तीन पटकसम्म विषादी प्रयोग गर्नु परेको मार्फाका भक्ति हिराचनले बताए ।

वागबानी केन्द्र मार्फाका प्रमुख बालकृष्ण अधिकारीका अनुसार पछिल्लो समय स्याउमा जरा कुहिने रोग बढेको छ । जति राम्रो व्यवस्थापन गर्दा पनि यो रोगको प्रकोप कम गर्न नसकिएको उनले बताए । “स्याउको बोक्रा खुइलिने पेपरी, रातो सुलसुले, सेतो भुवादार लाई र खुम्रे कीराको प्रकोप पनि बढेको छ” अधिकारी भन्छन्, “वागबानीभित्रै वर्षमा दुई–चार वटा स्याउका बोट मर्न थालेका छन् ।”

विश्वव्यापी जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण कागवेनीभन्दा माथिका ठाउँमा भने स्याउ सप्रन थालेको छ । त्यही कारण झेङका पेम्बा छिरिङ गुरुङले उवा छर्नुको साटो स्याउ रोप्न थालेका छन् । स्याउका बिरुवा थपेर २०० वोट बनाएका उनी आउँदो वर्ष थप १०० बिरुवा लगाउने योजनामा छन् । १५ वर्षअघि बिरुवा हुर्काउन नसकेपछि स्याउ रोप्न छोडेका उनले ८–१० वर्षयता गाउँमा अरूले लगाएको बिरुवा राम्ररी फलेको बताए । “पहिला धेरै चिसो भएर स्याउ हुँदैनथ्यो, अहिले मजाले फल्न थाल्यो” उनी भन्छन्, “झेङ, कुटाक, चराङ र लोमान्थाङलगायतका उच्च ठाउँमा स्याउ फल्न थालेको छ ।”

मुस्ताङको तल्लो भाग लेते, कोवाङ स्याउका लागि प्रख्यात ठाउँ हुन् । तर, ती ठाउँमा अहिले स्याउ फल्नै छाड्यो । बागवानी केन्द्रका अधिकारी तल्लो भेगमा बढ्दो आद्र्रता र वर्षात्ले स्याउ बिगारेको बताउँछन् । उनका अनुसार, स्याउ फल्नका लागि १००० देखि १६०० घण्टासम्म ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम चाहिन्छ । उनी भन्छन्, “मुस्ताङको तल्लो भागमा त्यो तापक्रम हराउँदै गएपछि स्याउ हुन छाडेको हो ।”

comments powered by Disqus

रमझम