२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

निर्वाचनको केन्द्रविन्दु

Share:
  
- सन्त गाहा मगर
देशभरका सबै निर्वाचन क्षेत्र समान महत्वका हुँदाहुँदै पनि केही खास क्षेत्रहरू पनि छन्, जहाँबाट उम्मेदवारी दिएका शीर्ष नेताको पराजयले पार्टीहरूको शत्तिाm–सन्तुलन मात्र नभई सिंगो मुलुकको राजनीतिमा फेरबदल ल्याउन सक्छ।

राजेन्द्र कार्की
रोल्पाको सुलिचौरमा भएको कांग्रेसको चुनावी र्‍याली ।
२३ कात्तिकदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान शुरू गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नारा छ– ‘नेपाली राजनीतिका केन्द्रविन्दु, आशा र भरोसाका केन्द्रविन्दु’ । समर्थक बाहेकको नजरमा दाहाल आशा र भरोसाका केन्द्रविन्दु हुन्, होइनन् भन्न सकिन्न, तर उनी आसन्न आम निर्वाचनको केन्द्रविन्दु भने अवश्य हुन् ।

चितवन क्षेत्र नंं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री दाहाल मात्र होइन, नेपाली कांग्रेसका सभापति रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गगन थापा, संघीय समाजवादी फोरम (संसफो) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालगायतको जितहार राष्ट्रिय राजनीतिकै लागि अर्थपूर्ण हुने विश्लेषकहरू बताउँछन् ।

चुनौती र अवसर

पहिलो पटक चितवनबाट उम्मेदवार बनेका माओवादी अध्यक्ष दाहाललाई चुनौती दिन लोकतान्त्रिक गठबन्धनबाट वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उठेका छन् । गत स्थानीय निर्वाचनको मत परिणाम हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष रहेका पाण्डेलाई समर्थन गरेको लोकतान्त्रिक गठबन्धनको भन्दा चितवन क्षेत्र नं. ३ मा दाहाल पक्षधर वाम गठबन्धनको करीब सात हजार मत बढी छ ।

स्थानीय तह निर्वाचनमा सबभन्दा बढी स्थानमा जित हासिल गरेको एमालेको समर्थन, भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर माओवादीले जित्नु, प्रधानमन्त्री भइसकेका दाहालको राष्ट्रिय व्यक्तित्व, पाण्डेको पार्टी राप्रपा (प्र) को कमजोर संगठन, माडीमा राप्रपा (प्र) ले एउटै वडा पनि नजित्नु, पाण्डेको व्यावसायिक पृष्ठभूमि आदि दाहालको जित सुनिश्चित गर्ने आधार हुन् । उनले निर्वाचन हार्न सक्ने आधारहरू पनि उत्तिकै बलिया छन् ।

जाजरकोटको चुनावी कार्यक्रममा वाम गठबन्धनका उम्मेदवार ।
दशवर्षे सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुडेमा यात्रुवाहक बसलाई बमले उडाएको घटना र गत स्थानीय निर्वाचनमा भएको भरतपुरको मतपत्र प्रकरणले दाहाल मतदाताका बीचमा आलोचित छन् । उनले चुनावी भाषणको क्रममा बाँदरमुडे घटनाका दोषीलाई कारबाही गर्ने आश्वासन पनि दिएका छन्, तर ४३ जनाको ज्यान गएको त्यो आततायी घटनाका पीडितहरूलाई भेटेका छैनन् ।

दाहालले मतपत्र प्रकरणको भने उच्चारणसम्म गरेका छैनन् । त्यस प्रकरणबाट पीडित देवी ज्ञवाली र दाहाल सँगसँगै देखिए पनि मतदाताको मन माझ्नि नसकेको एमाले कार्यकर्ताहरू बताउँछन् । एमालेले माडी क्षेत्रबाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवार मागेको थियो । तर, वाम गठबन्धनबाट माओवादीका रामलाल महतोलाई उम्मेदवार बनाइएपछि एमालेका कार्यकर्ता असन्तुष्ट देखिएका छन् । एमालेका एकजना चितवन जिल्ला सदस्य गठबन्धन भए पनि एमालेको दुईहजारदेखि तीन हजार भोट दाहाललाई नजाने बताउँछन् । मतपत्र प्रकरणकै कारण कांग्रेस समर्थकको धेरै भोट राप्रपा (प्र) का पाण्डेले पाउने देखिन्छ । सांगठनिक आधार कमजोर भए पनि कांग्रेसको समर्थन, २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनु जस्ता कारणले आफ्नो जित सुनिश्चित भएको पाण्डेको भनाइ छ ।

निरन्तर आमसभा र घरदैलो कार्यक्रम गरेको हेर्दा दुवै नेता मिहिनेत नगरी जितिंदैन भन्ने निष्कर्षमा पुगेको बुझन गाह्रो छैन । एक लाख २५ हजार मतदाता रहेको यो क्षेत्रमा सानो अन्तरको हारजित हुने देखिन्छ । चुनावी प्रचारको क्रममा दाहाल भन्दा पाण्डे नै आक्रामक देखिएका छन् । “यद्यपि यो क्षेत्रबाट यसैले जित्छ भन्न सक्ने अवस्था छैन” नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडा भन्छन्, “कसैले फलानाले नै जित्छ भनेर ठोकुवा गर्छ भने त्यो कार्यकर्ताको बोली हो ।”

आफ्नै गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस सभापति देउवालाई पनि चुनाव जित्न विगतमा जस्तो सहज छैन । १६ कात्तिकमा वारेसमार्फत मनोनयन दर्ता गरेका उनी २४ कात्तिकसम्म पनि निर्वाचन क्षेत्रमा पुगेका छैनन् । २०४८ देखि २०७० सालसम्म लगातार पाँच पटक चुनाव जितेका उनी स्थानीय नेता–कार्यकर्ताको ‘राम्रै छ, जितिहाल्छौं’ भन्ने रिपोर्टका आधारमा ढुक्क भएर बसेको देखिन्छ । “तर, कांग्रेसलाई पहिलेजस्तो सजिलो छैन, कम्युनिष्टहरू बलिया भएर आइसकेका छन्” जोगबुढा नगरपालिका­–१२, डडेल्धुराका पदम भट्ट भन्छन् ।

नवदीप श्रेष्ठ
नुवाकोट क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार डा. रामशरण महत ।
२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा देउवासँग पराजित नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट यसपटक पनि प्रतिस्पर्धी छन् । एमालेसँगको गठबन्धनले उनलाई बलियो बनाएको छ । गत ३१ वैशाखको स्थानीय तह निर्वाचनका लागि गाउँ पसेका भट्ट त्यसयता लगातार गाउँ–गाउँ डुलिरहेका छन् । १६ कात्तिकमा उम्मेदवारी दर्तासँगै उनी एमालेसँगको संयुक्त घरदैलो अभियानमा छन् । मतदाताको घरदैलोमा पुगेर भट्टले ‘पाँच पटक देउवालाई हेर्नुभयो, यस पटक मलाई दिनुस्’ भन्ने गरेका छन् ।

अर्कातिर, स्थानीय तह निर्वाचनका वेला चर्किएको कांग्रेसको डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्ट समूहको विवाद साम्य भइसकेको छैन । दुवै समूह एकअर्कालाई असहयोग नै गरिरहेका छन् । मल्लले स्थानीय तहमा आफ्नो समूहकालाई टिकट नदिएको भन्दै डडेल्धुरा सदरमुकाममा देउवा विरुद्ध जुलूस नै निकालेका थिए । त्यसवेला सदरमुकामकै अमरगढी नगरपालिकामा कांग्रेस हारेको थियो । कांग्रेस नेता–कार्यकर्तामा त्यसको तूष बाँकी नै छ । डडेल्धुरा ‘क’ मा प्रदेश सभा उम्मेदवार भट्टको चुनावी प्रचारमा मल्ल समूह सहभागी हुने गरेका छैनन् । त्यस्तै, डडेल्धुरा ‘ख’ का उम्मेदवार मल्लको चुनावी अभियानमा भट्ट समूहका नेता–कार्यकर्ता सहभागी भइरहेका छैनन् । यसको असर प्रतिनिधिसभाका उम्मेदवार प्रधानमन्त्री देउवालाई पर्ने अनुमान छ । “प्रदेशमा यसै भन्न सकिन्न” कांग्रेसका एकजना जिल्ला नेता भन्छन्, “प्रतिनिधिसभामा देउवाले जित्छन्, तर पहिले जस्तो सजिलो छैन ।”

वाम गठबन्धनका प्रमुख सूत्रधार रहेका एमालेका अध्यक्ष ओलीसँग झपा–५ मा कांग्रेसका डा. खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्दैछन् । भूमिगत जीवनबाट बाहिरिएलगत्तै पहिलोपटक २०४८ सालको आम निर्वाचनमा उम्मेदवार बनेका ओली त्यसयता चार पटक कम्तीमा सात हजारको मतान्तरमा कांग्रेसलाई पराजित गर्दै निर्वाचित भएका नेता हुन् । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले, माओवादी र राप्रपाका उम्मेदवारको ५१ हजार मत थियो भने कांग्रेसको २३ हजार ।

श्रवण देव
सप्तरी क्षेत्र नं. २ का संघीय समाजवादी फोरमका उम्मेदवार उपेन्द्र यादव
प्रधानमन्त्री भएका वेला भारतीय नाकाबन्दीको विरुद्धमा लिएको अडानका कारण पनि यसपटक झपा क्षेत्र नं. ५ मा ओली बलियो मानिएका छन् । राज्यपुनर्संरचनादेखि संविधान जारी गर्ने वेलामा देखाएको अडानले पनि ओलीलाई फाइदै पुग्ने देखिन्छ । आफ्नै पार्टीको मजबूत मत र माओवादीसँगको गठबन्धनले उनलाई थप सुरक्षित बनाएको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन् । ओलीको पहलमा पश्चिम झपामा विकास योजनाहरू शुरू भएका छन् । दमकमा बौद्धबिहार, हरित औद्योगिक क्षेत्र जस्ता योजना कार्यान्वयन र जितेमा प्रधानमन्त्री हुने अवस्थाले पनि ओलीको पक्षमा जनमत आउने एमाले कार्यकर्ताहरू बताउँछन् ।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दिए पनि कांग्रेसका दीपकप्रसाद कुईंकेलले नेता नेपाललाई पछ्याउने आकलन छ । विवेकशील साझ पार्टीका डा. सूर्यराज आचार्य यो क्षेत्रका अर्का चर्चित उम्मेदवार हुन् ।

पूर्व प्रधानमन्त्री नेपाल २०७० को संविधानसभामा काठमाडौं र रौतहटबाट निर्वाचित भएका थिए । त्यसपछिको उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं. २ मा कांग्रेसका कुईंकेलले बाजी मारेका थिए । आफ्नो उम्मेदवार नउठाएको राप्रपाको भोट कुईंकेलले पाउने आकलन छ । तर, माओवादीसँग गठबन्धन र राष्ट्रिय राजनीतिमा महŒवपूर्ण भूमिका खेलेका नेतालाई जिताउँदा विकास निर्माणका काम हुने मतदाताको बुझइका कारण नेपाल नै बलिया उम्मेदवार मानिएका छन् ।

आफ्नैसँग डर

१६ कात्तिकमा तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अनुहारमा कुनै चमक थिएन । यसको कारण थियो– आफू विरुद्ध अर्का नेता गोविन्दराज जोशीको उम्मेदवारी । निर्वाचन आयोगले भ्रष्टाचारको आरोप प्रमाणित भएका जोशीको उम्मेदवारी १८ कात्तिकमा खारेज गरिदिएपछि पनि उत्साहित हुनसकेका छैनन्, पौडेल । उनका लागि वाम गठबन्धन भन्दा पनि जोशीको असहयोग चुनौतीपूर्ण हुने कांग्रेस कार्यकर्ताहरू नै बताउँछन् ।

हुन पनि, जोशी आफूलाई कार्यकर्ताले नै निर्वाचन लड्न आग्रह गरेर उम्मेदवारी दर्ता गरेको तर पौडेल पक्षको प्रभावमा परेर आयोगले असंवैधानिक तरिकाले उम्मेदवारी खारेज गरिदिएको बताइरहेका छन् । चुनाव लड्न नपाउने भएपछि पनि उनले चुनावी रणनीति बनाउन छाडेका छैनन् । प्रष्टै छ, उनको रणनीति जित्न होइन, पौडेललाई हराउनको लागि हो ।

कांग्रेसको समर्थन पाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि पौडेलकै जस्तो समस्यामा छन् । स्थानीय तहमा मधेशकेन्द्रित दलले धेरै स्थानमा जितेको सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका यादवले अर्को मधेशकेन्द्रित दल राजपासँग पनि चुनावी तालमेल गरेका छन् । वाम गठबन्धनले माओवादीका उमेश यादवलाई उठाएको छ । २०७० को निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित उमेश यसपटक पनि मतदाताले आफूलाई जिताउने विश्वासमा छन् ।

नागरिक
काठमाडौं क्षेत्र नं. २ का एमाले उम्मेदवार माधवकुमार नेपाल ।
पूर्व सिंचाइ मन्त्री यादव भन्दा पनि वागी उम्मेदवार चुनौती बनेको उपेन्द्र यादव निकटहरू बताउँछन् । राजपाका सह–महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ठाकुरले यादवकै भोट काट्नेमा शंका छैन ।

सप्तरीमा प्रदेश सभा सदस्यका उम्मेदवारले पनि वागीको सामना गर्नुपरेको छ । सप्तरी क्षेत्र नं. १ ‘क’ मा एमाले पोलिटब्यूरो सदस्य सत्यनारायण मण्डलले राजपाका राजकुमार लेखी र कांग्रेसका सुबोध पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । वाम गठबन्धनका उम्मेदवार मण्डलविरुद्ध एमाले जिल्ला प्रचार विभाग प्रमुख प्रकाश खतिवडाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सप्तरी क्षेत्र नं. २ ‘ख’ बाट राजपाका महासचिव मनिष सुमनले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी विरुद्ध पनि राजपाकै क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सर्लाही छोडेर महोत्तरी–३ बाट उम्मेदवारी दिएका राजपा संयोजक महन्थ ठाकुरलाई पनि वागीले समस्यामा पारेका छन् । उनी विरुद्ध चन्देश्वर झले स्वतन्त्र उम्मेदवारी दिएका छन् । झ साविकको महोत्तरी क्षेत्र नं. ४ बाट २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । राजपाले टिकट नदिएपछि बागी उठेका उनको अवस्था मजबूत हुँदै गएको देखिएको छ । वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका विजयकुमार चौधरी पनि कमजोर मानिंदैनन् । उनलाई माओवादीले पनि साथ दिएको छ ।

गत स्थानीय निर्वाचनमा ७८ हजार ९०४ मत रहेको यो क्षेत्रका प्रमुख पदहरूमा राजपा विजयी भएको थियो । विगतको नतिजा र कांग्रेसको समर्थनले गर्दा ठाकुरको अवस्था मजबूत नै मानिए पनि केन्द्रको निर्देशनमा उम्मेदवारी फिर्ता लिएका कांग्रेस कार्यकर्ता कता ढल्कन्छन् भन्ने कुरा निकै महŒवपूर्ण छ ।

बौद्धिक भिडन्त

कतै वागी, कतै बाहुबलीको बोलवाला रहेको यो निर्वाचनमा बौद्धिक छविका नेताहरू पनि प्रतिस्पर्धामा छन् । जस्तो, कांग्रेस नेता गगन थापा र एमाले नेता राजन भट्टराई उम्मेदवार रहेको काठमाडौं क्षेत्र नं. ४ लाई बौद्धिकहरूको प्रतिस्पर्धाको रूपमा हेरिएको छ । कांग्रेसका प्रखर वक्ता थापा यो क्षेत्रबाट २०७० सालको संविधानसभामा निर्वाचित भएका थिए । वैदेशिक मामिलाविज्ञ भट्टराई पनि यो क्षेत्रका मतदातामा जँच्न लागिपरेका छन् ।

झपा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट उठेका राम कार्की र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माबीचको प्रतिस्पर्धालाई त्यही रूपमा हेरिएको छ । झपामा खासै राजनीतिक लगानी नभएका माक्र्सवादी दर्शनमा दक्खल राख्ने कार्कीलाई विपक्षीहरूले ‘पर्यटक उम्मेदवार’ भनी प्रचार गरेका छन् । वाम गठबन्धनका एकजना सूत्रधार मानिएका कार्की भने यसलाई अराजनीतिक र गैरजिम्मेवार आरोप भनिरहेका छन् । २२ कात्तिकमा झपाको काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा उनले आजको युगमा व्यक्तिको जन्म र बसोबासको ठेगानालाई मात्र आधार मानेर राजनीति सम्भव नहुने बताए । लाखौं युवा विदेशिएको मुलुकमा गरिखान आफ्नो जन्म ठेगाना छोड्नुलाई सामान्य रूपमा लिनुपर्ने कार्कीले आग्रह गरे ।

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएको यो क्षेत्रमा वाम गठबन्धनका कम परिचित उम्मेदवारका कारण यसपालि शर्माको जित सुरक्षित भएको कांग्रेसको दाबी छ । झपा जत्तिको सचेत ठाउँका मतदाताले विवेक प्रयोग गर्नेमा आफू ढुक्क रहेको शर्मा बताउँछन् । “मतदाता चलायमान हुनु राम्रो हो” शर्मा भन्छन्, “जनतालाई कसैले गढ वा किल्ला ठान्छन् भने त्यो सरासर गलत हो ।”

हार एक, सन्देश अनेक

शान्ति प्रक्रियामा उल्लेख्य भूमिका खेलेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई झपा क्षेत्र नं. ३ मा हिन्दू राष्ट्रका पक्षपाती राप्रपाका राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । बहालवाला गृहमन्त्री भएकै वेला २०६४ मा माओेवादीकी धर्मशिला चापागाईसँग पराजित भएका सिटौलाले २०७० मा भने लिङ्देन र चापागाई दुवैलाई हराएका थिए । आफ्नो उम्मेदवार नउठाएको वाम गठबन्धनको भोट कता जान्छ भन्नेमा सिटौलाको जित निर्भर हुने देखिन्छ ।

१७ असोजमा एमाले र माओवादी वाम गठबन्धनमा मिसिन आएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई एकाएक बाहिरिए । टिकट नपाएपछि वाम गठबन्धनबाट बाहिरिएका भट्टराईले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् । उनका प्रतिद्वन्द्वी छन्, माओवादी नेता नारायणकाजी श्रेष्ठ । भट्टराईलाई कांग्रेस र श्रेष्ठलाई एमालेको समर्थन छ । यो क्षेत्रमा जसले जिते पनि एउटा ‘हेभिवेट’ नेता प्रतिनिधिसभामा पुग्नबाट बञ्चित हुनेछ ।

राष्ट्रिय राजनीतिमा पहिचान बनाएका जुनसुकै दलका नेता पराजित हुँदा सम्बन्धित दल र मुलुककै राजनीतिमा प्रभाव पर्न सक्ने जानकारहरू बताउँछन् । एउटै व्यक्तिको जितहारबाट विभिन्न सन्देश प्रवाह हुने उनीहरूको भनाइ छ । जस्तो, चितवनबाट पुष्पकमल दाहाल पराजित हुँदा वाम गठबन्धनमा असर पुग्ने देखिन्छ । त्यस्तै, झपामा कृष्णप्रसाद सिटौला पराजित हुँदा पुरातनवादीले जितेको सन्देश जाने विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । विवेकशील साझ पार्टीका उम्मेदवारले एउटा पनि सिट नजित्दा नेपालमा वैकल्पिक पार्टीका लागि वातावरण तयार भएको रहेनछ भनेर बुझनुपर्ने उनको भनाइ छ ।

एउटा प्रभावशाली नेताको जितहारले पार्टीको आन्तरिक जीवनमा पनि असर पर्छ नै । जस्तो, दुई धारको संघर्ष चलिरहेको पार्टीमा एउटा पक्षको प्रभावकारी उम्मेदवार पराजित हुँदा अर्को पक्ष स्वतः हावी हुन सक्छ । अर्का विश्लेषक नीलाम्बर आचार्य सामूहिक नेतृत्वमा चलेको पार्टीमा भने एउटा नेताको पराजयले ठूलो हलचल नल्याउने बताउँछन् ।

साथमा बच्चु विक डडेलधुरा, लक्ष्मण केसी रुकुम, युवराज श्रेष्ठ कास्की, नवदीप श्रेष्ठ नुवाकोट, शर्मिला बुढाथोकी दोलखा, रञ्जन भण्डारी माली महोत्तरी, श्रवण देव सप्तरी, गोपाल गडतौला झपा र लक्ष्मी गौतम पाँचथर ।


पीडकलाई नै भोट !

मत माग्दै माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन ।
स्थानीय तह निर्वाचनमा रोल्पामा कांग्रेस र एमाले नजिक थिए भने माओवादी एक्लै । वाम गठबन्धन बनेपछि भने कांग्रेस एक्लिएको छ । यो समीकरणको असर दुई वाम दलमै पनि देखिएको छ । एमाले, माओवादीसँगै चुनावी प्रचारमा जाँदा अचम्म परेको सुकिदहका रैलबहादुर डाँगी बताउँछन् । उनी २०५४ सालमा एमालेबाट साविक जिनाबाङ गाविस– ९ का वडाध्यक्षमा निर्वाचित भएका थिए । कम्युनिष्ट एकताको कुरा राम्रो भए पनि माओवादी खराब पार्टी भएकाले जुनसुकै वेला एमालेलाई धोका दिन सक्ने डाँगीको बुझाइ छ । “अस्ति लडेकाहरू अहिलेको चुनावमा एउटै गाडीमा देखिए” उनी भन्छन्, “आखिर लड्ने भनेको हामी रहेछौं, नेताहरू त मिलिजाँदा रहेछन् ।”

स्थानीय तह निर्वाचनमा एमाले र माओवादीबीच भएका झडपहरूको समीक्षा र मेलमिलाप गर्ने निर्णय गरेको दुई पार्टीले जनाएका छन् । माओवादी कार्यकर्ताले एमाले कार्यकर्ता कुटेको विषय टुंगो नलगाई पार्टीका नेताहरू संयुक्त प्रचारमा लागेकोमा केही सदस्यहरूले एमालेको जिल्ला कमिटी बैठकमा नेताहरूको कडा आलोचना गरेका थिए । पहिले कुटाइ खाएका एमाले कार्यकर्ताले कसरी माओवादीकै पक्षमा भोट माग्न सक्छन् भन्ने उनीहरूको गुनासो थियो । माओवादी जिल्ला नेतृत्व पनि आफ्ना कमजोरीहरूको समीक्षा गर्र्ने अवस्थामा पुगेको माओवादी नेताहरू बताउँछन् ।

रोल्पाका हार्जङवासी दुई दशक पहिलेको एउटा घटना सम्झेर अझै झस्किन्छन् । त्यतिवेला राति माओवादीले घरको भित्तामा नारा लेखेर जाने र दिउँसो सेना आएर किन लेख्न दिइस् भनेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो । सेनाको दुव्र्यवहारबाट जोगिन गाउँलेहरूले नारा मेटाउन थाल्दा माओवादीले किन मेटाइस् भनेर वृद्ध–वृद्धा, बालबालिका, महिला सबैमाथि कुटपीट गर्थे । त्यसपछि हार्जङवासीले समिति नै बनाएर नारा मेटाउने निर्णय गरे । नारा मेट्ने समिति र लेख्न आएकाहरूबीच राति झडप हुँदा चारजना माओवादीको ज्यान गयो । त्यसपछि माओवादीले २७ फागुन २०५५ मा हार्जङका ९ जनालाई जिउँदै आगो लगाएर मारे । सामूहिक हत्या गरिएका तीमध्ये एक जना मात्रै नारा मेटाउने समितिका सदस्य रहेको हार्जङका एमाले कार्यकर्ता मनप्रसाद पुन बताउँछन् । सर्वसाधारण गाउँलेहरूको त्यो बीभत्स हत्यामा गाउँकै माओवादी संलग्न थिए । अधिकांश पीडित परिवार एमाले समर्थित थिए ।

त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादी नेता वर्षमान पुन उम्मेदवार बनेका छन् । अर्थात् हार्जङ घटनाका पीडितहरूले पीडकलाई नै भोट हाल्नुपर्ने अवस्था आएको छ । चुनाव नजिकिंदै गर्दा दुई दशक पहिलेको त्यो दर्दनाक घटना ताजा भएको स्थानीयको भनाइ छ । एमालेका तर्फबाट प्रदेश सभाका समानुपातिक उम्मेदवार बनेका कुमार दसौंदी पार्टी नेतृत्वले त्यस्तो जघन्य अपराधको समेत समीक्षा नगरेको गुनासो गर्छन् । “पार्टी मिलेकोमा आपत्ति होइन” उनी भन्छन्, “तर, माओवादीले गाउँमा आएर पीडित पक्षसँग माफी माग्दै घटनाको समीक्षा गर्नुपर्छ ।”

जीवन डाँगी, रोल्पा


नयाँ चुनाव पुरानै अजेन्डा

२०७० सालमा चुनाव जितेर गएका माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवविक्रम शाहले त्यसवेला मतदातासँग गरेका बाचा पूरा भएनन् । उनीहरूले सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । जाजरकोट–डोल्पा, छेडा–कचाली–जुम्ला, छेडा–थलह–चाँदे–जुम्ला, खलंगा–पाँचकाटिया–पैक–जुम्ला र खलंगा–पाँचकाटिया–वारेकोट–जुम्ला सडकको ट्र्याक खोल्ने प्रतिबद्धता गरेका थिए । ती सबै सडक निर्माणको अवस्था अति सुस्त छ ।

त्यस्तै, नलसिंगाड जलविद्युत् आयोजना सम्पन्न गराउने, साना जलविद्युत् आयोजनामा सहयोग जुटाउने, जिल्लाका सबै ठाउँमा टेलिफोन विस्तार गर्ने, जडीबुटी प्रशोधन केन्द्र र प्राविधिक शिक्षालय स्थापना गर्ने बाचा पनि आश्वासनमै सीमित भयो । १५ शै®याको जिल्ला अस्पताल ५० शै®यामा स्तरोन्नति त भयो, तर सेवा प्रवाहको अवस्थामा सुधार आएन । भौतिक पूर्वाधार नहुँदा विशेषज्ञ सेवा शुरु हुनसकेको छैन । दियालो र मैनबत्तीका भरमा रहेको जिल्लाका गाउँहरूमा भएका टेलिफोनले काम गर्दैनन् ।

पहिला अलग–अलग क्षेत्रबाट निर्वाचित माओवादीका बस्नेत र कांग्रेसका शाह अहिले एउटै क्षेत्रबाट प्रतिस्पर्धी बनेका छन् । दुवै रोजगारी, विकास र सुशासनका कुरा गरेर भोट मागिरहेका छन् । त्यतिवेला विकास निर्माण भन्दा संविधान निर्माणमा व्यस्त भएको बस्नेत बताउँछन् । शाह पनि सबै बाचा पूरा गर्न नसकेको स्वीकार गर्छन् । दुवै नेतासँग मतदाता सन्तुष्ट छैनन् । भेरी नगरपालिका–३ का केशवजंग शाह जाजरकोटका जनप्रतिनिधिले केही गर्न नसकेको बताउँछन् । “यो चुनावमा पनि उही कुरा छ, सधैं आश्वासन मात्रै दिन्छन्” उनी भन्छन्, “नेताका कुरा कसरी पत्याउने ?”

राजेन्द्र कार्की, जाजरकोट

comments powered by Disqus

रमझम