‘मधेशी जनताको अधिकार’ भन्दै आन्दोलनको अग्रपंक्तिमा भेटिने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ता मर्चवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का लागि भोट मागिरहेका भेटिए । राजपाका जिल्ला उपाध्यक्षसमेत रहेका उनी अहिले राप्रपा (प्रजातान्त्रिक) मा सोही पदमा छन् । उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य असुद्दीन खाँ पनि रूपन्देही क्षेत्र नं. ४ को प्रदेश ‘ख’ बाट कांग्रेसका उम्मेदवार बनेका छन् ।
मधेशी राजनीतिमा उथलपुथल सहेको रूपन्देहीको मर्चवार क्षेत्रमा राजपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ल उम्मेदवार छन् । पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने नीति लिए पनि मर्चवारमा स्थानीय नेता कार्यकर्तालाई स्वतन्त्र उम्मेदवार बनाएर निर्वाचन उपयोग गरेका उनी र गुल्जारीबीच यही विषयमा विवादसमेत भएको थियो ।
‘एक मधेश एक प्रदेश’ को मागदेखि संविधान बहिष्कारसम्मका आन्दोलनहरूमा रगत पसिना बगाएको मर्चवार यतिवेला अन्योलमा देखिन्छ । सरकारी कार्यालयहरूमा ‘नेपाल सरकार’ काटेर ‘मधेश सरकार’ लेखिएका साइनबोर्डहरू अझ्ै मेटिएका छैनन् तर नारा लेख्न लगाउनेहरू नै ती दलमा भेटिंदैनन् । अधिकांश नेता एमाले, कांग्रेस र राप्रपामा पसेका छन् ।
“हाम्रा दुःखहरू जस्ताका तस्तै छन्, गद्दार नेताहरू लाखापाखा लागे”, मर्चवारस्थित कोटहीमाई गाउँपालिका मंगहियाका हजरत अली (५७) भन्छन्, “मधेशी नेताहरूले हाम्रा नाममा हामीलाई नै ठगे ।”
गुल्जारी पनि मधेशकेन्द्रित दलले जनतालाई झूटा आश्वासन मात्र दिएको बताउँछन् । आफैंले ‘सराप्ने’ पार्टीको झ्ण्डा लिएर घरदैलो गरिरहेका उनी भन्छन्, “समय बदलिएको छ । अब मधेशकेन्द्रित पार्टीहरू संकटमा परेका छन् ।” रूपन्देहीको यो क्षेत्रमा मर्चवारी र समरीमाई गाउँपालिका पूरै र कोटहीमाई गाउँपालिकाको आधा भाग पर्दछ । मतदाता संख्या भने ८९ हजार ८३५ छ ।
बहिष्कारको असर
मर्चवार त उदाहरण मात्र हो, प्रदेश–५ तराईका सबै जिल्लामा राजपाका ठूला नेताहरू एकाएक एमाले र कांग्रेस भएपछि मधेशकेन्द्रित दलहरू संकटमा परेका छन् ।
राजपाका नेता हृदयेश त्रिपाठी स्वयं नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट सूर्य चिह्न लिएर एमालेको समर्थनमा चुनाव लडिरहेका छन् । राजपाले प्रदेश–२ लाई मात्र मधेश ठान्दै पश्चिमलाई बेवास्ता गरेको भन्दै उनीसहित केही प्रभावशाली नेताहरूले स्वतन्त्र विचार समूह स्थापना गरेका थिए । यो समूहले नवलपरासीदेखि बाँकेसम्म प्रतिनिधिसभाका चार सीट र केही प्रदेशमा एमालेसँगको सहकार्यमा तालमेलको सहमति गरेको थियो ।
कपिलवस्तुमा मधेश आन्दोलनको नेतृत्व गरेका पूर्वसांसद् बृजेश गुप्ता र ईश्वरदयाल मिश्र जिल्लाको २ र ३ नम्बर क्षेत्रमा सूर्य चिह्नबाट उम्मेदवार छन् । राप्रपा पृष्ठभूमिका गुप्ता तमलोपा हुँदै राजपाका सहमहामन्त्री बनेका थिए । राजपाका शीर्ष नेताको दोहोरो चरित्रका कारण आफूहरूले एमालेसँग सहकार्य गरेको गुप्ताको दाबी छ । पूर्व सांसद् मिश्र पनि तमलोपाहुँदै राजपाको केन्द्रीय सदस्य भएका थिए । राजपाका अर्का सहमहामन्त्री पशुपतिदयाल मिश्र पनि सूर्य चिह्नबाटै बाँके क्षेत्र नं. २ बाट उम्मेदवार छन् ।
राजपाका नेताहरू नै एमालेबाट निर्वाचनमा उठेपछि प्रदेशमा राजपाको जनाधार खस्किएको छ । यसो हुनुमा प्रदेश–२ बाहेकका स्थानीय तह निर्वाचन बहिष्कार गर्नुलाई पनि महŒवपूर्ण कारण मानिएको छ । निर्वाचन बहिष्कारको निर्णयपछि पार्टीमा असन्तुष्टि चुलिएको थियो । “अन्यत्र बहिष्कार, तर प्रदेश–२ मा उपयोग गर्ने पार्टीको दोधारे नीतिले ठूलो क्षति भयो” त्रिपाठी भन्छन्, “जित्न सक्षम थुप्रै साथीहरूलाई चुनावबाट बञ्चित गराइयो ।”
राजपामा मात्र होइन, अन्य मधेशकेन्द्रित पार्टीमा पनि पहिरो गएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नै कांग्रेस प्रवेश गरेपछि पार्टी नै छिन्नभिन्न भएको छ । रूपन्देहीमा रहेका पार्टीका दुई केन्द्रीय सदस्यमध्ये देवीप्रसाद चौधरी कांग्रेसबाट क्षेत्र नं. ३ ‘क’ बाट प्रदेश सभा उम्मेदवार बनेका छन् भने सन्तोष पाण्डे संघीय समाजवादी फोरम पुगेका छन् । यसअघिको निर्वाचनमा प्रदेश–५ का नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गरी मधेशकेन्द्रित दलहरू तीन स्थानमा विजयी भएका थिए ।
“स्थानीय निर्वाचन बहिष्कार गर्नाले धेरै जित्ने ठाउँ गुमे” राजपा उपाध्यक्ष शुक्ल भन्छन्, “निर्वाचनमा लडेको भए धेरै स्थानीय सरकारमा उपस्थिति हुनेथियो, अहिलेको निर्वाचनमा पनि बलियो भइन्थ्यो ।”