२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

नखुलेका मतदाता निर्णायक

Share:
  
- सन्त गाहा मगर
युवा र मध्यमवर्गीय मात्र नभई अनुपस्थित मतदाताले पनि निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने देखिन्छ।

बिक्रम राई
२०७० सालको संविधानसभा निर्वाचनमा वसन्तपुर दरबारस्क्वायर परिसरमा मतदान गर्दै एक युवती ।
“मैले त घरमा फोन गरेर ‘...’ चिह्नमा भोट हाल्न भनिसकें, तपाईं पनि फोन गरिहाल्नुस् ।”

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा एउटा पार्टीले तयार पारेको यो प्रचार सामग्री रोजगारीलगायतका कारणले विदेशमा रहेका नेपालीप्रति लक्षित छ । मंसीर १० र २१ गते हुने निर्वाचनमा उपस्थित भएर भोट खसाल्न नसक्ने यस्ता मतदाता करीब ४० लाख छन् । कुन उम्मेदवार वा दललाई भोट दिने वा नदिने भन्ने निर्णयमा यी अनुपस्थितहरूको महŒवपूर्ण भूमिका हुने देखिन्छ । “उनीहरूले घरमा रहेका एक वा त्योभन्दा बढीको मत प्रभावित पार्न सक्छन्” राजनीतिशास्त्री हरि शर्मा भन्छन्, “त्यसबाट निर्वाचन परिणाम प्रभावित हुन्छ ।”

आर्थिक वर्ष २०७३/७४ मा रु.६९५ अर्ब ४५ करोड रेमिटेन्स नेपाल भित्रियो । रेमिटेन्स नै आम्दानीको मुख्य स्रोत भएको परिवार संख्या ठूलो छ । समाजशास्त्री चैतन्य मिश्र घरको कमाउने सदस्यले भनेको परिवारका मतदाताले सहजै स्वीकार्ने बताउँछन् । उनका अनुसार, कमाएर पठाउने श्रीमान् वा छोराले भनेकै चिह्नमा भोट हाल्ने धेरै हुन्छन् ।

त्यसमाथि, वैदेशिक रोजगारीमा जानेहरू आफैं वालिग मतदाता हुन् र उनीहरू भौगोलिक रूपमा टाढा भए पनि फेसबूक, ट्वीटर, इमो, ह्वाटस् एप, मोबाइल आदिमार्फत घरपरिवारसँग निरन्तर संवादमा छन् । यसले नेपालमा रहेका एक करोड ५४ लाख मतदाताको ठूलो हिस्सालाई प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । समाजशास्त्री मिश्र भन्छन्, “समाजका अन्य तन्तुहरूसँगै ‘भोट स्विङ’ को ‘ट्रेन्ड’ फेरिएको छ ।”

विदेशमा रहेका नेपाली युवाले देशमा भोट हाल्न वा नहाल्न मात्र होइन मन परेका उम्मेदवारलाई आर्थिक सहयोग समेत पठाउने गरेका छन् । उनीहरूको रोजाइ आर्थिक र सामाजिक दुवै कारणले प्रभावकारी हुने देखिएको डा. गणेश गुरुङ बताउँछन् । अर्को निर्वाचनमा उम्मेदवारहरू सामाजिक सञ्जालमा मात्र भोट माग्न सीमित नभएर कतार, मलेशियालगायतका ठाउँमै पुग्ने अवस्था आउने वैदेशिक रोजगार विषयका जानकार डा. गुरुङको भनाइ छ ।

विगतको अनुभव

नेपालको ६ दशक लामो आमनिर्वाचनको इतिहासमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबभन्दा बढी मतदातालाई आकर्षित गरेका छन् । २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सीट जितेको थियो । त्यतिवेला जम्मा ४ स्थानमा विजयी नेकपाले कांग्रेस पछि दोस्रो धेरै भोट पायो ।

रोचक के छ भने, नेपाली मतदाताले २०४८ सालयताका आम निर्वाचनहरूमा कसैलाई पनि लगातार दुईपटक ठूलो दल बनाएर पठाएका छैनन् । मतदाताले हरेक पटक विकल्प खोजेको देखिन्छ । २०४८ मा कांग्रेसले २०५ मध्ये ११० स्थानमा जित हासिल गर्‍यो भने नेकपा (एमाले) ले ६९ सीट जितेर दोस्रो भएको थियो । २०५१ को आम निर्वाचनमा त्यही एमाले ८८ सीट जितेर पहिलो र ८३ सीटमा झ्रेको कांग्रेस दोस्रो ठूलो दल बन्यो । २०५६ मा १११ सीट जितेर कांग्रेस फेरि पहिलो र ७१ सीट जितेको एमाले दोस्रो ठूलो दल बन्यो । त्यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको २४० मध्ये १२० सीट जितेर नेकपा (माओवादी) पहिलो दल बन्यो भने कांग्रेस दोस्रो (३७ सीट) र एमाले तेस्रो (३३) दल बन्यो । २०७० को संविधानसभामा १०५ सीट जितेर फेरि कांग्रेस पहिलो दल बन्यो भने एमाले (९१) दोस्रो र माओवादी (२६) तेस्रो भयो ।

“विदेशमा रहेकाहरूले घरका एक वा त्योभन्दा बढीको मत प्रभावित पार्न सक्छन्। त्यसबाट निर्वाचन परिणाम प्रभावित हुन्छ।”

हरि शर्मा

राजनीतिशास्त्री

क्षेत्रगत रूपमा हेर्दा पनि नेपाली मतदाताले हरेक निर्वाचनमा फरक दल वा उम्मेदवार रोजेको देखिन्छ । २०६४ को चुनावमा काठमाडौं–१० मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले २३ हजार, कांग्रेसका राजेन्द्रकुमार केसीले १२ हजार र एमालेका सानुकुमार श्रेष्ठले ८ हजार मत पाए । २०७० सालमा त्यही क्षेत्रमा कांग्रेसका केसीले २० हजार, एमालेका सुरेन्द्र मानन्धरले १३ हजार र माओवादीका दाहालले जम्मा १२ हजार मत पाए ।

मतदाताको मन

निर्वाचनमा मतदाताले कसलाई भोट दिने वा नदिने भनेर गर्ने निर्णयमा विभिन्न पक्षले प्रभाव पार्छ । मत प्राविधिक विषय नभई दृष्टिकोण भए पनि नेपाली मतदाता आर्थिक अवस्था र चेतनास्तर अनुसार अन्य पक्षबाट प्रभावित हुन्छन् । परिवारका सदस्य, छरछिमेकी, नातागोता, साथीभाइ, उम्मेदवार वा पार्टीका क्रियाकलाप, उनीहरूका मुद्दा, सञ्चारमाध्यम आदिले मतदाताको दृष्टिकोणमा प्रभाव पारिरहेको हुन्छ ।

मतदाताले दल र उम्मेदवारहरूका निर्वाचनअघि र पछिका गतिविधि हेरेर पनि भोट दिने वा नदिने निर्णय गर्छन् । विगतका नतिजाहरू केलाउँदा निर्वाचनमा बढी राजनीतिक लहर ल्याउने पार्टीले धेरै भोट पाएको देखिन्छ । राजनीतिक परिवर्तनपछिको निर्वाचनमा आन्दोलनको नेतृत्व गरेको पार्टीतर्फ मतदाता आकर्षित भएका छन् । २०१५, २०४८ र २०६४ सालको निर्वाचन त्यसका उदाहरण हुन् ।

अध्येताहरूका अनुसार, निर्वाचनमा मतदातालाई सबभन्दा बढी प्रभाव पार्ने तीन पक्ष छन्– विश्वास, आश र त्रास । आस्था वा विश्वासको आधारमा भोट दिनेको संख्या अधिक हुन्छ भन्ने मानिन्छ । यो वर्गका मतदाता तत्कालको स्वार्थ नहेरी मतदान गर्छन् । अर्काथरी मतदाता जागिर, नियुक्तिलगायतका अवसर पाइने आशले भोट खसाल्छन् । चुनावपछि आफ्नो काम नबन्दा सबभन्दा बढी निराश हुने यही वर्गका मतदाता हुन् । कतिपय मतदाता त्रासले भोट दिन्छन् । २०६४ मा माओवादीले धेरै भोट पाउनुमा एउटा कारण त्रास पनि थियो । दलहरूले यो वर्गका मतदातालाई लक्षित गरेरै निर्वाचनमा बाहुबल प्रयोग गर्छन् । आश र त्रासबाट भोट दिने मतदाता स्थिर हुँदैनन् । आस्थावान मतदाताले मात्र लामो समयसम्म एउटै पार्टीलाई निरन्तर भोट दिने गर्छन् ।

“अर्को निर्वाचनमा उम्मेदवारहरू सामाजिक सञ्जालमा मात्र सीमित नभएर कतार, मलेशिया लगायतका ठाउँमा पुग्ने अवस्था आउन सक्छ।”

डा. गणेश गुरुङ

निर्वाचनको नतिजालाई निर्णायक रूपमा प्रभावित पार्ने चाहिं तटस्थ मत हुन्छ । त्यसैले, निर्वाचनका वेला दल र उम्मेदवारहरू त्यो १०–१५ प्रतिशत ‘साइलेन्ट भोटर’ लाई आफ्नो पक्षमा पार्न लागिपर्छन् । एमाले नेता सुरेन्द्र पाण्डे पार्टीमा महŒवपूर्ण पदमा नभएका तर समाजमा प्रतिष्ठित रहेका व्यक्तिहरूले भनेको मान्ने मतदाता संख्या ठूलै हुने बताउँछन् । त्यस्तो ‘साइलेन्ट भोटर’ लाई स्थानीय शिक्षक, व्यापारी, सामाजिक कार्यकर्ता, भद्रभलाद्मीलगायतले कुनै न कुनै रूपमा प्रभाव पारिरहेका हुन्छन् । पटक–पटक उम्मेदवार बनेका नेता पाण्डे चुनावको वेला परिचालन हुने युवा जमातले भने जनमतमा प्रभाव नपार्ने बताउँछन् । उनी भन्छन्, “पैसाको खोलो बगाउँदा भोट बढ्छ भन्नु गलत हो ।”

जात, धर्म, क्षेत्र आदि हेरेर भोट दिने मतदाता पनि हुन्छन् । यस्ता मुद्दा दीर्घकालीन भने हुँदैनन् । जस्तो, २०६४ सालको चुनावमा जात, धर्म, क्षेत्र आदि मुद्दा उठाएर १२० सीट जितेको माओवादी २०७० मा २६ सीटमा खुम्चियो । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ अतिवादी कुराले भन्दा ‘मोडरेट’ शक्तिले जनसमर्थन पाउने बताउँछन् । उनका अनुसार, निर्वाचनमा मतदातालाई धेरै पक्षले प्रभावित पारे पनि मुख्यतः सरकारमा पुग्दा गरेको काम, राष्ट्रिय अजेण्डामा लिएको नीति, समाजमा खेलेको भूमिका आदि हेरेर नै भोट दिन्छन् । युवा मतदाताको भोट बढी अस्थिर मानिन्छ । समाजशास्त्री डिल्लीराम दाहाल ४५ वर्षभन्दा कम उमेरका मतदाताले नयाँ उम्मेदवार/पार्टी रोज्ने र पाका उमेरकालाई ‘कन्भिन्स’ गर्न गाह्रो हुने बताउँछन् ।

comments powered by Disqus

रमझम