बालबालिकाले खेलको माध्यमबाट धेरै कुरा सिक्छन्, उनीहरूको बुझ्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ । मनोविद् करुणा कुँवर खेलले बालबालिका रमाउने मात्र नभएर उनीहरूको शारीरिक र बौद्धिक विकासमा सहयोग हुने बताउँछिन् । “शारीरिक परिश्रमका खेलहरूले बालबालिकालाई ‘फ्रेस’ गराउँछ”, उनी भन्छिन् । बालबालिकालाई खेल्न अनेक प्रकारका खेलौना उपलब्ध छन् । प्लाष्टिक, रबरका साथै इलेक्ट्रोनिक खेलौना पनि पाइन्छन् । उमेर अनुसार गुडिया, ब्लक, बल, रेल–गाडी सेट हुँदै भत्काउन र जोड्न मिल्ने खेलौना, पजल्स दिनु राम्रो मानिन्छ । यसबाहेक ड्रइङ तथा पेन्टिङका सामग्री, स–साना कार, बिल्डिङ ब्लक सेट, किचेन सेट, ब्याट्रीबाट चल्ने इलेक्ट्रोनिक्स ट्रान्सपोर्ट खेलौनाबाट पनि खेलाउन सकिन्छ ।
अहिले शहरी क्षेत्रका अधिकांश बालबालिका ट्याब, मोबाइल, कम्प्युटर तथा टेलिभिजनमा भुलेका छन् । यसले उनीहरूलाई घरभित्रै सीमित राखेको छ । मनोविद् कुँवर यसले घरबाहिर जाँदा नबोल्ने, घुलमिल नहुने स्वभावको विकास गर्ने बताउँछिन् । “घरमा खुला ठाउँ नभए चउर, बगैंचा, पार्कमा लैजानुपर्छ”, उनी भन्छिन् । स्कूलबाट फर्किएलगत्तै आधादेखि एक घण्टासम्म बालबालिकालाई खेल्न दिनुपर्ने उनको सुझाव छ ।
मन्टेसरी तथा प्रि–स्कूलहरूमा रबरबाट बनेका हाउस, स्लाइडर जस्ता खेल सामग्री राखिन्छन् । तीमध्ये केहीलाई घरमै पनि राख्न सकिन्छ । प्रि–स्कूललाई खेल सामग्री बिक्री गरिरहेको काठमाडौं, कुलेश्वरस्थित इम्प्रेसन एण्ड मटेरियल्सका मोहनबहादुर श्रेष्ठ अचेल घरमै स्वीङ, स्लाइडर, रकर, साइकल, ट्रिसाइकल जस्ता सामग्री राख्न थालिएको बताउँछन् । खेलौना छनोट गर्दा खेल्न सक्ने तथा नकारात्मक असर नपार्ने सामग्री छनोट गर्नुपर्दछ ।
वरिपरिका बालबालिका सहभागी गराएर तथा अभिभावक आफैंले पनि बालबालिकासँग खेल्न सक्छन् । राम्रो खेलौना तथा खेलले बालबालिकामा सिर्जनशीलता बढाउँछ, कल्पनाशक्तिको विकास हुन्छ । यसका लागि कम्तीमा सातामा एक पटक पार्क तथा खेल्ने ठाउँमा लैजानु राम्रो मानिन्छ ।
सविता श्रेष्ठ