हिमाली धुन

Share:
  
विश्वमै चर्चित आनी छोइङले बलिउड संगीत टोलीलाई काठमाडौं भित्र्याएर कन्सर्ट गर्दैछिन्।

बिक्रम राई
१२ वैशाख २०७२ मा भुइँचालो जाँदा आनी छोइङ डोल्मा काठमाडौं, बाँसबारीस्थित १२ तले अपार्टमेन्टको कोठामा थिइन् । कस्तो भने, भुइँचालोले उनको तन मात्र होइन, मन पनि दह्रैसँग हल्लायो । जीवनमा धेरै गर्न बाँकी रहेको सम्झायो । जेठ २०६० मा नेपाली टाइम्स मा प्रोफाइलका लागि भेट्दा उनी अहिलेजस्तो चर्चित भइसकेकी थिइनन् । उनले गाएका बौद्ध मन्त्रहरू भर्खर चर्चामा आउन थालेका थिए, अन्तर्राष्ट्रिय प्रतिष्ठा मौलाउनै लागेको थियो, उनले आफ्नो जीवनी ‘सिंगिङ फर फ्रिडम’ लेखेकै थिइनन् जुन अहिले विश्वका १४ भाषामा अनुवाद भइसकेको छ ।

अहिले आफ्नो सांगीतिक करिअरको शिखरमा रहेकी यी चर्चित भिक्षुणीले यो १५ वर्षमा आफ्ना अधिकांश चाहना पूरा गरेकी छन् । उनी आनीहरूका लागि फर्पिङमा स्थापना गरिएको विद्यालय, मिर्गौला अस्पताल र अन्य सामाजिक कामका लागि रकम संकलन गर्न विश्वभर सांगीतिक यात्रामा व्यस्त हुन्छिन् । नेपालीका घर–घरमा परिचित उनी, आफ्नो चाँदी रंगको एसयूभी हाँकेर सडकमा हुँइकिरहेको देख्नेले हात हल्लाइरहेका हुन्छन् ।

“भुइँचालोले मलाई ब्यूँझाइदियो, आफूसँग धेरै कुरामा आग्रह, लगावहरू भएको महसूस भयो । म बाहिर–बाहिरको यात्रा धेरै गरिरहेकी थिएँ । अब अन्तरमनको यात्रा गर्न चाहन्छु, आफैंमा फिर्ता हुन चाहन्छु”, बेइजिङ र लगत्तै क्यालिफोर्निया यात्रामा निस्कनुअघिको छोटो कुराकानीमा आनीले भनिन् ।

स्वास्थ्य चिन्ताले पनि आनीलाई चित्त शुद्धि र मनको शान्ति खोज्न आवश्यकता बोध भएको हुँदो हो । आनीहरूलाई पनि यस्तो आत्मनिरीक्षणको आवश्यकता हुँदो रहेछ । वितेको करीब डेढ दशक त गायकी, लेखन र लगातारको कोष संकलनलगायतको दौडधूपमै उनको रातोदिन बित्यो । तथापि आफ्ना गीतहरूमार्फत लाखौं नेपाली र विदेशीहरूलाई आध्यात्मिक सुख र शान्ति प्रदान गर्न सकेकोमा एक प्रकारको सन्तोषको आभास उनमा छ ।

कवि दुर्गालाल श्रेष्ठको गीत र न्ह्यू बज्राचार्यको संगीत रहेको ‘फूलको आँखामा’ ले आनीको करिअरमा ठूलो सफलता दिलायो । उक्त अल्बमकै बिक्रीबाट उठेको रकमले फर्पिङमा आर्यतारा विद्यालय निर्माणमा सहयोग पुग्यो । यो गीतको चर्चा नेपालमा मात्रै सीमित रहेन हिन्दी र जर्मन भाषामा पनि यसको अनुवाद र गायन भएको छ । भियतनाम, थाइल्याण्ड र स्वीट्जरल्याण्डका प्रशंसकहरूले नेपालीमै यो गीत गाइरहेका छन् ।

“शुरुमा गायन मेरा लागि सोख मात्रै थियो” आनी छोइङ भन्छिन्, “मेरो गीत विश्वभर पुग्छ भन्ने कल्पनासम्म गरेकी थिइनँ ।”

यी ‘सिंगिङ नन्’ यात्राका क्रममा प्रशंसकहरूले उनका गीत–संगीतले जीवनमा सकारात्मक परिवर्तन आएको सुनाउने गरेको बताउँछिन् । अफगानिस्तानको युद्धमा सहभागी एक अमेरिकी मुसलमान सैनिक मानसिक तनावले रातभर निदाउन सक्दैनथे । एकदिन न्यूयोर्कको सडकमा हिंडिरहँदा उनको ध्यान एउटा सुमधुर संगीतले तान्यो । पछ्याउँदै जाँदा उनी नेपाली हस्तकलाका सामानको पसलमा पुगे । त्यहाँ आनीले गाएको ‘करुणा मन्त्र’ बजिरहेको थियो । भर्खरैको भेटमा ती सैनिकले आनीलाई भनेछन्, “अचेल राम्रो निद्रा पर्न थालेको छ, शान्त छु ।” चिनियाँ सामाजिक सञ्जाल वीच्याटका मालिकले केहीअघि सांघाईमा आयोजना गरेको डिनरमा एक महिलाले प्रसवका वेला आफूले ‘करुणा मन्त्र’ सुनेकाले दुखाइ आधा कम भएको सुनाइछन् ।

अचेल प्रत्येक कन्सर्टपछि प्रशंसकको भीडले आनीलाई घेरिरहेको हुन्छ, उनको संगीतले आधुनिक जीवनशैलीको तनावबाट आफूहरूलाई कसरी मुक्त गराइरहेको छ भन्ने सुनाउनकै लागि । कतिपय महिला त पारपाचुकेको तनाव व्यवस्थापनमा समेत उनको संगीतले सहज बनाएको बताउँदा रहेछन् ।

ओस्कारबाट सम्मानित भारतीय संगीतकार एआर रहमानसँग कोक स्टूडियोमा गरेको कन्सर्टपछि भारतमा आनीको चर्चा चुलियो, विमानस्थलमा समेत उनी परिचित बन्न थालेकी छन् । अहिले उनलाई बलिउडले पनि चिन्न थालेको छ, फलस्वरुप बलिउडका चर्चित संगीत निर्देशक शान्तनु मोइत्रा, शास्त्रीय गायिका कौशिकी चक्रवर्ती, बाँसुरीवादक अश्विन श्रीनिवासन र सितारवादक पूर्वायन चटर्जी जस्ता हस्तीसँगै ३ मंसीरमा काठमाडौंमा ‘सङ्स अफ दि हिमालयज्’ कन्सर्ट हुँदैछ । कन्सर्टबाट संकलित रकम आरोग्य स्वास्थ्य केन्द्र निर्माणमा खर्चिइनेछ । “बलिउड संगीतकारहरूले देखाएको रुचि र सहयोगबाट म धन्य भएकी छु”, युनिसेफकी सद्भावना दूत समेत रहेकी उनी भन्छिन् ।

कुन्द दीक्षित

comments powered by Disqus

रमझम