२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

समाजभन्दा पर

Share:
  

भाषा र पहुँचको सन्दर्भमा साहित्यलेखनमा दुई थरीका धारणा सुन्न पाइन्छ । एकथरीको भनाइमा, अंग्रेजी भाषा विना रचनालाई वैश्विक र व्यवसायीकरण गर्न सकिन्न । छिमेक भारतमै हेरौं, भारतीय भएरै पनि सलमान रुश्दी स्थानीय साहित्यलाई खासै महत्व दिंदैनन्, उता अंग्रेजीमै लेख्ने भारतीय मूलका भीएस नयपालले नोबेल पुरस्कार नै पाइसके । तर, अहिले पनि अंग्रेजीमा लेखिनुलाई रैथाने तथा मौलिकतालाई तिलाञ्जली दिनु हो भन्ठान्ने साहित्यकारहरू पनि छन् । बेलायतको दुई सय वर्षको उपनिवेशबाट भारतले अंग्रेजी भाषा र ज्ञान लियो । उत्तर औपनिवेशिक समाज भएकाले भारतीय अंग्रेजी लेखनसँग हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो छ । तर, विस्तारै केही नेपाली अंग्रेजीभाषी साहित्यकार अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउन कस्सिएका छन् । सम्राट उपाध्याय तिनैमध्येका अग्रणी साहित्यकार हुन्, जसलाई विश्वले पत्याउन थालेको छ । उनै उपाध्यायको पछिल्लो कृति हो, म्याड कन्ट्री । कथासंग्रह र उपन्यास गरी पाँच कृति प्रकाशित गरिसकेका उपाध्याय समकालीन विश्वमा अंग्रेजी भाषामा लेखिरहेका सबैभन्दा सफल नेपालीमूलका साहित्यकार हुन् ।

अंग्रेजीमा सही, अमेरिकाको इण्डियाना विश्वविद्यालयमा सिर्जनशील लेखन विषयका गुरुसमेत रहेका उपाध्याय बरोबर नेपाल नै लेखिरहेका छन् । अर्थात् उनका अधिकांश रचनाको भावभूमि नेपाली परिवेश हुने गरेको छ । म्याड कन्ट्री त्यसैको पछिल्लो सिलसिला हो, जहाँ उनी विशेषतः राजधानी काठमाडौंमा केन्द्रित छन् ।

पुस्तक म्याड कन्ट्री (कथा संग्रह)

लेखक सम्राट उपाध्याय

प्रकाशक रुपा, भारत

पृष्ठ २५३+१५,

मूल्य २९५ (भा.रु.)

संग्रहको पहिलो कथा हो, ‘फास्ट फरवार्ड’ । यो कथा भ्रष्टाचार र राजनीतिक दुष्कर्म भण्डाफोर गर्ने सम्पादकमा आधारित छ । पत्रकारिताको यस्तो रुप नेपालमा पनि नहुने होइन तर कथा बढी नै काल्पनिक लाग्छ । ‘फ्रिक स्ट्रीट’ कथामा लेखक काठमाडौंको झोछेंमा बस्ने अमेरिकी हिप्पी महिलाको यौन सम्बन्ध केलाउँछन् । यो कथाले सन् १९६० र ७० को दशकमा काठमाडौंमा हिप्पीहरूको आगमन र प्रभावबारे प्रकाश पार्दछ । ‘ड्रिमिङ अफ घाना’ काठमाडौंमा अवतरित अफ्रिकी युवतीको कथा हो, जो नेपाली परिवेशसँग घुलमिल हुँदै जान्छिन् । यो कथा यथार्थभन्दा स्वैरकाल्पनिक लाग्छ । ‘एन अफेयर विफोर द अर्थक्वेक’ अर्को यस्तै प्रेम कथा हो ।

परिवेश नेपाली भए पनि उपाध्यायका अधिकांश पात्र उच्चवर्ग र पश्चिमीकरणको प्रभावमा परेकाहरू छन् । मध्यम र निम्न वर्गका आम नेपाली त विरलै भेटिन्छन् ।

संग्रहको शीर्ष कथा ‘म्याड कन्ट्री’ मा स्कूलबाट अनुशासनहीन काम गरेको आरोपमा हिरासतमा परेको छोरो छुटाउन जाँदा आमा आफैं थुनिएको घटना छ । नाटकीयताले भरपूर यो कथामा अन्य उपकथा पनि जोडिएको छ । शीर्षकले निम्नवर्गीय केटोका पीडा कहेको जस्तो लागे पनि ‘वेगर बोइ’ एक सम्पन्न परिवारको केटो पारपाचुके गरेकी आमाको मायाको अभावमा कसरी भिखारी बन्न खोज्छ भन्ने कथा हो । यीबाहेक संग्रहमा ‘ह्वाट विल ह्यापन टु दि शर्मा फ्यामिली’ र ‘अमेरिका, द ग्रेट इक्वलाइजर’ शीर्षकका कथा छन् ।

उपाध्यायले कथाहरूमार्फत नेपाली समाजका विडम्बना, विकृति र विसंगति पस्कने प्रयत्न गरेका छन्, तर ती टिप्पणी जस्ता मात्र छन् । कथा बुनाइमा यथार्थबाट ती धेरै टाढा लाग्छन् । टाढैबाट नेपाली समाज गोचर गरिरहेको पनि हुनसक्छ, उनले अनुमान र कल्पनाका भरमा कथा लेखिरहेको आभास पाठकले सहजै पहिल्याउँछन् । उदाहरणका लागि, दश वर्ष लामो माओवादी सशस्त्र संघर्ष, राजतन्त्रको अन्त्य, समावेशिता, संविधानसभाबाट नयाँ संविधानजस्ता राजनीतिक र सामाजिक उथलपुथलहरूले भरिएको वितेको दशकको चर्चा गर्न उनी चुकेका छन् । आम जनजीवनभन्दा परको चर्चा गरेजस्ता लाग्ने उनका कथाहरूमा पाठकले आफूलाई नपाउन सक्छन् ।

पुस्तकको पछाडिको कभरमा दि वासिङटन पोस्ट र दि न्यूयोर्क टाइम्स का समीक्षाका उद्धरण छाप्ने सौभाग्य पाएका उपाध्यायलाई जर्ज अरवेल र फ्रान्ज काफ्काको संसार बताउने भनिएको छ । तर, उपाध्यायमा न अरवेलजस्तो सर्वसत्तावादी समाज विरुद्धको राजनीतिक सचेतना पाइन्छ न काफ्काको जस्तो निस्सारता र अस्तित्ववादी सोच नै ।

के सिर्जनालाई विश्वव्यापी बनाउने लोभमा अंग्रेजी भाषाको कृतिले चाहिं स्थानीय यथार्थलाई न्याय गर्नुपर्दैन ? उपाध्यायका कथा पढेपछि मनमा यस्ता प्रश्न उब्जिनु स्वाभाविक लाग्छ । तर, अंग्रेजीभाषी पश्चिमाका लागि विश्वसामु कमै चिनिएको नेपाललाई सिर्जनाको ‘क्यानभास’ बनाउनुले अर्थ भने राख्छ । भाषामाथिको पकड र औसत कथा रचनाका अतिरिक्त यो संग्रहको ठूलो सफलता यही हो ।

रमेश केसी


अन्धविश्वास विरुद्घ

राष्ट्रपति डा. रामवरण यादवले प्रमाणीकरण गरेपछि १८ साउन, २०७२ मा ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२’ राजपत्रमा प्रकाशित भयो । ऐनको प्रस्तावनामै ‘कुनै व्यक्तिलाई क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिने जस्तो अमानवीय कार्यलाई दण्डनीय बनाई सामाजिक कुरीति तथा अन्धविश्वासको रुपमा रहेको त्यस्तो कार्य निवारण गर्न र सो कार्यबाट पीडित व्यक्तिको संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले’ ऐन बनाएको उल्लेख छ । तर, अहिलेसम्म पनि बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार रोकिएका छैनन् ।

पत्रकार एवं लेखक कमल रिजालको तेस्रो उपन्यास दृष्टिभ्रम यही कुप्रथामाथि केन्द्रित छ । उनी झारफुक, धामीझाँक्री, तन्त्रमन्त्र तथा टुनामुनाका बहानामा महिलामाथि भइरहेका हिंसाको चर्चा गर्छन् । बोक्सी किन अन्धविश्वास हो ? जवाफमा लेखकले प्रस्तुत गरेको धार्मिक तर्क पुस्तकको बलियो पक्ष बनेको छ । बोक्सीको आरोपमा आफन्त तथा छिमेकीको निर्घात कुटपिटमा परेर परिवार गुमाएर गाउँ निकाला गरिएकी युवती चन्द्रावतीको कथा हो । मौलाकालीको मन्दिरमा एक्लै विलाप गरिरहेकी उनलाई अर्की युवतीले देख्छिन् । पीडा सुनेपछि प्रहरी उपरीक्षक रेवतीरमण उपाध्यायलाई भेट्न सल्लाह दिन्छिन् । चन्द्रावती प्रहरी कार्यालयमा पुग्छिन् । त्यसपछि प्रहरीको छानबीन तथा अनुसन्धानको पाटो नै उपान्यासको मूल कथावस्तु बन्न पुगेको छ ।

पुस्तक दृष्टिभ्रम (बोक्सीप्रथा विरोधी सामाजिक उपन्यास)

लेखक कमल रिजाल

प्रकाशक सांग्रिला पुस्तक प्रा.लि.

पृष्ट २४७+५,

मूल्य रु.३५०

लेखकले चन्द्रावतीलाई नै कथावाचकका रुपमा उभ्याएका छन् । मौलाकालीको मन्दिरमा चन्द्रावतीले एकसुरले पीडा सुनाउँदा पाठक भावुक त बन्छन् तर उनले बोल्ने वाक्य पीडित महिलाले बोल्ने जस्तो सरल र सहज लाग्दैन । सम्पादन अभाव पनि देखिन्छ ।

लेखकले बोक्सीप्रथाका सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पाटो खोतलेका छन्, समाधानका सूत्र पहिल्याएका छन् । उपन्यासको अन्त्यमा चन्द्रावतीले न्याय पाएकी छिन् । उनलाई कथित ‘बोक्सी’ बनाउनेहरू कारबाहीमा परेका छन् । तर, समाजमा भने यस्तो न्याय कमै देखिएको छ । बोक्सी आरोपित महिलाका पीडाका समाचारमा कमि आएको छैन ।

अन्धविश्वास र सामाजिक कुप्रथाविरुद्ध साहित्य लेखिनु आफैंमा सार्थक कर्म हो । यसर्थ अध्यात्मदर्शनमा समेत गहिरो रुचि भएका रिजालले उपन्यासका माध्यमबाट सत्कर्म गरेका छन् ।

बच्चु विक

comments powered by Disqus

रमझम