२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

उहिले र अहिले

Share:
  

निमेषभरमै खिचिने तस्वीरले त्यो कालको कथा भन्छ । तर, समयको अन्तरालमा त्यही ठाउँको तस्वीर दोहोर्‍याएर खिच्ने हो भने त्यसले परिवर्तनलाई समेत प्रतिनिधित्व गर्छ । तस्वीरले संसार कसरी बदलियो र बदलिरहेको छ भन्ने छर्लङ्ग पार्छ ।

पर्वतीय भूगोलविद्, संरक्षणकर्मी र पर्वतारोही अल्टन बायर्स अहिले जलवायु परिवर्तनले उच्च भौगोलिक क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गरिरहेका छन् । खुम्बु क्षेत्रको वनस्पतिमा आएको परिवर्तनको विषयमै विद्यावारिधि गरेकाले पनि बायर्स यस भेगमा पर्यटन, सुध्रिएको जीवनस्तर र पछिल्लो समय देखिएको विश्वव्यापी तापमानका असरहरूबारे राम्रैसँग जानकार छन् । हेर्दा नाटकीय जस्तो लाग्ने पहिले र पछिका यी फोटोग्राफीहरूले जलवायु परिवर्तन, शहरीकरण र द्रुतगतिमा भइरहेको सांस्कृतिक रुपान्तरणका दृश्य प्रस्तुत गर्छ ।

फ्रित्ज मूलर
फेरिचे (सन् १९५६) ।

अल्टन बायर्स
फेरिचे (सन् २००६) ।

फ्रित्ज मूलर
कोङमलास्थित पोखाल्दे हिमनदी (१९५६) ।

अल्टन बायर्स
पोखाल्दे हिमनदी (२००६) ।
परिवर्तन अभिलेख गर्ने उपयुक्त माध्यमका रुपमा बायर्सले पुनरावृत्ति फोटोग्राफी (रिपिट फोटोग्राफी) रोजेका हुन् । “यी तस्वीरहरूले हिमनदी, वन र सांस्कृतिक भूदृश्यमा द्रुततर गतिमा आएको परिवर्तनबारे चेतना फैलाउन मद्दत गर्नेछन्”, उनी भन्छन् ।

वास्तवमै, बायर्सको खुम्बु सिन्स १९५० फोटो पुस्तकले खुम्बुको ७० वर्षको परिवर्तनको कथाव्यथा भन्छ । त्यसो त यो क्षेत्रको दृश्य अभिलेख नेपालका अन्य कुनै पनि भागको तुलनामा बढी छ र यसको श्रेय सन् १९५० को शुरुआतीतिर पहिलोपटक थालिएको सगरमाथा आरोहणलाई जान्छ ।

छोटो समयमै विश्वव्यापी तापमान यसरी बढेको छ कि हामी हिमनदीको संकुचन, माथि सरेको हिम–रेखा, बाढीको खतरा, केही भागमा वन क्षेत्र बढेको सहजै देख्न सक्छौं । आरोहणको आम्दानीका कारण नाम्चेबजार, तेङबोचे र अन्य क्षेत्रहरूको जीवनस्तरमा आएको परिवर्तन त झनै प्रष्ट देखिन्छ ।

बायर्सले पुराना तस्वीरहरू चाल्र्स हफ्टन, जोन गान्ट र चाल्र्स इभेन्सबाट लिएका हुन् । हफ्टन दक्षिणी मोहडाबाट १९५० मा सगरमाथा आरोहण गर्ने पहिलो पश्चिमा हुन् । उनी १९५३ को बेलायती आरोहण दलमा सहभागी थिए ।

दुवै तस्वीरः अल्टन बायर्स
नाम्चेबजार (१९७३) ।

नाम्चेबजार (२०१५) ।
यसबाहेक बायर्सले अष्ट्रेलियाली आरोही–कार्टोग्राफर इर्विन स्नाइडरले १९५५ मा खिचेका हिमनदीका पानोरामा तस्वीरहरू पनि प्रयोग गरेका छन् ।

रोचक चाहिं, स्नाइडरले सगरमाथा क्षेत्रमा त्योवेला खिचेका हिमनदीका ठाउँमा अहिले इम्जाजस्ता ठूला हिमताल छन् । सन् १९५६ मा सगरमाथा आरोहण गरेका स्वीस–क्यानेडियन हिमनदीविद् फ्रित्ज मूलरको खुम्बु हिमनदीको अर्को दुर्लभ तस्वीर पनि पुस्तकमा समावेश गरिएको छ । त्यसो त बायर्स स्वयंले १९७३ मा खुम्बु क्षेत्र भ्रमण गरेका ताकाका तस्वीर पनि छन् ।

रिपिट फोटोग्राफी प्रक्रिया आफैंमा सहज भने छैन । यसका लागि पुरानो तस्वीर खिचिएको उही स्थान मात्र होइन, मौसम र समय पनि उस्तै हुनुपर्छ । बायर्सले यही विधि पालना गरेका छन् र अनौठा तथ्यहरू अगाडि राखिदिएका छन् । अनुमान गरिए झैं हिउँ र बरफ पातलिंदै गएको तस्वीरमा प्रष्ट देखिन्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज स्थापना र स्थानीय संरक्षण अभियानका कारण वन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको पनि देखिन्छ ।

पुस्तक खुम्बु सिन्स १९५०– कल्चरल, ल्याण्डस्केप, एण्ड क्लाइमेट चेञ्ज इन द सगरमाथा (माउण्ट एभरेष्ट) नेशनल पार्क, खुम्बु, नेपाल लेखक अल्टन सी बायर्स, पीएचडी

प्रकाशक बज्र बुक्स्

पृष्ठ १२० मूल्य रु.१०००

आउँदो जनवरीमा सार्वजनिक गरिने पुस्तकको बिक्रीबाट उठेको रकम खुम्बु क्षेत्रका विद्यालय र गुम्बाहरूलाई प्रदान गरिनेछ । बायर्स दुई नेपाली र एक अमेरिकी विद्यार्थीलाई रिपिट फोटोग्राफीबारे प्रशिक्षण दिन अर्को वर्ष नेपाल आउने तयारीमा छन्, जसबाट परिवर्तनका थप आयाम थाहा पाउन सकिने उनको विश्वास छ ।

comments powered by Disqus

रमझम