३-९ मंसिर २०७४ | 19-25 November 2017

नेता नियाल्दै मधेशी मतदाता

Share:
  
मोरङका मधेशी मतदाता 'विकास ल्याउनेले भोट पाउँछ भन्दै' निर्वाचन पर्खिरहेका छन्।

कमल रिमाल
मोरङको जहदा गाउँपालिका–६ पोखरिया चोकमा पसल चलाएका रामदेव मण्डल यसपटक भोटका लागि मधेशी अधिकारको मुद्दा लिएर आउने नेताको पर्खाइमा छन् । मोरङको यो त्यही क्षेत्र नम्बर ५ हो, जहाँ मधेश आन्दोलनका सारथि उपेन्द्र यादवले दुई वटा संविधानसभा निर्वाचनमध्ये दोस्रोमा हारेका थिए । मण्डल भन्छन्, “त्यसयता मधेश मुद्दा लिएर कोही नेता आएका छैनन् ।”

पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवैतर्फबाट जितेका उपेन्द्र यादवले दोस्रो निर्वाचनमा सुनसरीमा मात्र जितेका थिए । जितेर गएपछि मुख देखाउन नआएकाले मोरङमा उनले हारेको मण्डलले बताए । मोरङमा अवस्था कमजोर भएकैले यादव यसपल्ट चुनाव लड्न सप्तरी पुगेका छन् । मोरङ क्षेत्र नं. ५ मा चाहिं भोट दिनुपर्ने नेता अझै निश्चित नभएको मण्डल बताउँछन् । उनी भन्छन्, “भोट हाल्ने दिनसम्मै पर्खेर निर्णय गर्नुपर्ने भएको छ ।”

चलेन जातीय नारा

विराटनगर–७ का श्रीलाल साह यसपटक मधेश मुद्दामा भोट माग्ने उम्मेदवार कोही नभएको बताउँछन् । उपेन्द्र यादव र विजयकुमार गच्छदारले दोस्रो संविधानसभा निर्वाचन हारेपछि यो अवस्था आएको उनको भनाइ छ । पहिलो संविधानसभा निर्वाचनमा मोरङ ७ मा गच्छदारसँग हारेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दोस्रो निर्वाचनमा गच्छदारलाई नै हराएका थिए । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गरेका गच्छदार यसपटक मोरङ छाडेर दोस्रो संविधानसभामा जितेकै क्षेत्र सुनसरी–३ पुगेका छन् ।

मोरङ–७ अहिले ६ नम्बर भएको छ, जहाँ कांग्रेसका कोइराला नै उठेका छन् । मधेशी बहुल यो क्षेत्रमा वाम गठबन्धनले भने मधेशी मूलकै लालबाबु पण्डितलाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारले मतदातालाई विकको नारामा आकर्षित पार्न खोजेका छन् ।

मधेश आन्दोलनपछि दुवै संविधानसभा चुनावमा जातीय नारा उरालिएको थियो । पहिलो निर्वाचनमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमले मोरङका चार वटा निर्वाचन क्षेत्रमा जितेको थियो । दोस्रो निर्वाचनमा पनि त्यही नारा लिएर नेताहरू घरघर पुगे, तर भोट पाएनन् । मधेशकेन्द्रित दलहरूले मोरङका कुनै क्षेत्रमा जित्न सकेनन् ।

त्यसवेला मोरङ–६ मा पराजित फोरमका नेता मृत्युञ्जय झ गत असोजमा एमालेमा प्रवेश गरेर १ नम्बर प्रदेश सदस्यको उम्मेदवार बनेका छन् भने सोेही क्षेत्रमा गच्छदारको लोकतान्त्रिक फोरमबाट उठेर नेपाली कांग्रेसका महेश आचार्यसँग हारेका पूर्व डीआईजी भक्तिनाथ माझी अहिले प्रदेश ४ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् । अहिले कांग्रेसका उम्मेदवार बनेका माझी भन्छन्, “नारा नै नलागे पनि जातीय अधिकार सुनिश्चित गर्ने मुद्दा कायमै छ ।”

त्यस्तै, राष्ट्रिय जनता पार्टी छाडेर संघीय समाजवादीका तर्फबाट मोरङ क्षेत्र नं. ४ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेदवार बनेका श्रीराम कामत विकासको नाराले गर्दा अहिले मधेशी जनता कसलाई भोट दिने भन्ने दोधारमा परेको बताउँछन् । उनी आफैंले चाहिं मधेशी अधिकारकै नारामा भोट मागेको बताए । उनको यो भनाइ पछाडिको कारण सहजै बुझ्न्छि– मधेशी बहुल मतदाता ।

विकासमा बल

जहदा–६ पोखरियाका विष्णुकान्त झ (८२) पक्की पुल, पीच सडक बनाउने, पानी–बिजुलीको सुविधा दिनसक्ने, बिहारका नागरिकलाई नेपाली नागरिकता नदिलाउने उम्मेदवार अझै चिन्न नसकिएको बताउँछन् । पटक–पटक एउटै नेतालाई जिताइरहँदा विकृति झ्न् बढ्ने उनको भनाइ छ । “हामीलाई विकास चाहिएको छ” झ भन्छन्, “विकृति बढाउने उम्मेदवारको काम छैन ।”

त्यस्तै, रंगेली–२ मोरियास्थित ऋषिदेव, सरदार, सन्थाल र मुस्लिम समुदायका १५० परिवारको सुकुम्बासी टोलको एउटै आवाज छ– ‘बाटो र बिजुली दिनेलाई भोट दिने ।’ टोलका अगुवा बुद्धिलाल सरदार (६८) ले यसअघि भोट दिएको माओवादीले काम नगरेको बताए । उनका अनुसार, स्थानीय चुनाव अघि माओवादीले बिजुलीको पोल गाड्यो, तर तार जोडेन । सरदार भन्छन्, “चुनावमा मोरिया टोलका सबै एक हुन्छौं, विकास दिनेलाई भोट दिन्छौं ।”

पहिलेका चुनावमा जस्तो मधेश प्रदेश बनाउने भन्दै भोट माग्न कोही नेता नआएको उनले बताए । कटहरी गाउँपालिका–४ का गजेन्द्रदास तत्माले मधेशवादी दलका नेताहरू आन्दोलन र चुनावमा मात्र आएको तर विकास नल्याएको बताए । फोरम नेपालका सबैले पार्टी छाड्दै गएको र आफूहरूले पनि छाडेको बताउँदै उनले भने, “अब जसले विकास ल्याउँछ, उसैले भोट पाउँछ ।”

कमल रिमाल, विराटनगर


पीडा बुझाउने धोको

झापाको कमल गाउँपालिका–६ स्थित सुकुम्बासी बस्तीका मतदाता यसपटक भोट माग्न आउनेहरूलाई ‘पीडा बुझाउन’ एक रात आफ्नो घरमा सुताउने धोको पालेर निर्वाचन पर्खिरहेका छन्।

गोपाल गडतौला
सुमी र जाम्पा मुर्मु ।
२८ कात्तिक २०७४ मध्याह्न १२ बजे । सात महीनाकी गर्भवती सुमी मुर्मुले साहूको धान काट्न गएका श्रीमान् सुनिल, बाबु चुडके र आमा जाम्पाको लागि भात–तिहुन पकाएकी छन् । उनको छाप्रोमा न पानीको कल छ न चर्पी । पराले छाप्रो नजिकैबाट बिजुलीको लट्ठा तन्किएर गएको छ, तर उनीहरू टुकीकै भरमा छन् । चारै जना एउटै कोठामा सुत्छन् ।

मजदूरी नगरी छाक नटर्ने मुर्मु परिवारका कसैको पनि नाम मतदाता सूचीमा छैन । डेढ किलोमिटर उत्तर दमक बजारभन्दा टाढा नपुगेकी जाम्पा बाहै्रमास ज्याला मजदूरी गर्न हिंड्दा मतदाता फारम भर्न नभ्याएको बताउँछिन् । करीब ५० वर्षकी निरक्षर उनलाई आफ्नो जन्ममिति पनि थाहा छैन ।

दिउँसो ६८ परिवार सुकुम्बासीका लस्करै छाप्रोमा पुग्दा बूढाबूढी, गर्भवती र स्कूल नजाने बालबालिका मात्र भेटिए । पूर्णनन्द भट्टराई (७९) अर्काको धान काट्न गएकी श्रीमती टुकादेवी (६३) ले बिहान पकाइदिएको जाउलो खाने सुरसार गर्दैथिए । उनलाई उभिन पनि कठिन हुन्छ, दमले च्यापेको छ । त्यसमाथि, शौच गर्न करीब पाँचसय मिटर पर रतुवा बगरमा पुग्नुपर्छ । सात महीना अघि मलेशिया गएकी छोरीले पठाउने पैसाले औषधि खानेगरेको पूर्णनन्द बताउँछन् । आसन्न निर्वाचनबारे सोध्दा उनी भन्छन्, “हामी गरीबलाई के को चुनाव ?”

दिउँसो घरमै भेटिएका धमासु ताजपुरिया (३४) हतार–हतार धान निफन्दै थिए । गिट्टीबालुवा मजदूरी गरेर पाँचजनाको परिवार चलाइरहेका उनले निर्वाचनबारे सोध्दा मुख बिगारे । अघिल्लो चुनावमा उम्मेदवारहरूले यो टोलमा धनीपुर्जा दिलाइदिने आश्वासन दिएका रहेछन् । जग्गाधनी बनाइदिन्छु भन्नेहरू चुनावपछि बेपत्ता भएको उनले बताए । धमासु चर्पी बनाउनेमा गनिंदा रहेछन् । बढेका छोरीहरूलाई खोला पठाउन नसकेर चर्पी बनाएको उनले बताए ।

पूर्णनन्द भट्टराई ।
घरमै भेटिएकी बसन्ता ढुंगाना (५१) रतुवा खोलाले २४ वर्षअघि लखनपुर–२ को घरखेत बगाएपछि विस्थापित भएर यहाँ आएको बताइन् । उनको पाँचजनाको परिवार छ । बिहानै ईंटा बोक्न गएकी उनी बाच्छालाई घाँस दिन घर आएकी रहिछन् । उनका श्रीमान् मदन पनि मजदूरी गर्छन् । चारमध्ये दुई छोराछोरी स्कूल पढ्छन् । हुर्केका दुई छोराछोरी गरिखान दमक पसेका छन् । यसपटक भोट खसाल्न दोधार भएको उनले बताइन् । “कुरा चाहिं रतुवाको पाता कस्ने, हातमा धनिपुर्जा राखिदिने गर्छन्” बसन्ताले भनिन्, “चुनाव सकिएपछि मुख देखाउँदैनन्, ढाँटहरू !”

२४ वर्षअघिको त्यही बाढीले लखनपुरमा रहेको १० कट्ठा जग्गा र घर बगाउँदा पवित्रा धिमाल ११ वर्षकी थिइन् । अहिले तीन सन्तानकी आमा भइसकेकी उनको परिवार पनि यही सुकुम्बासी टोलमा छ । उनका श्रीमान सन्तु ज्याला मजदूरी गर्छन् । हिउँद होस् या बर्खा, जुत्ता—चप्पल लगाएर हिंड्न सकिने बाटो, खानेपानी, चर्पी र घर अटाउने एकटुक्रा भए पनि जमीन— उनको नजरमा टोलका आवश्यकता हुन् । “ढिलो गरी बुझदैछु” ३ कक्षा पढेकी पवित्राले भनिन्, “हाम्रै भोटले जितेर गएकाहरूका घरमा पानीका धारा, चर्पी छन्, तर हाम्रो हालत सधैं यस्तै ।”

१४० मतदाता रहेको यो टोलमा २०५७ सालमा कोशीको बाढीमा ज्यान जोगाएर सुनसरीको चतराबाट आएका परिवारहरू पनि छन् । टोलका हरेकसँग पवित्रा धिमालका जस्ता कुरा छन् । कतिपयमा खोलाधारको भए पनि घर अटाउने जमीनको धनीपुर्जा पाइन्छ कि भन्ने आश छ । कसैलाई उम्मेदवारहरूसँग मुखको स्वाद फेर्ने धोको छ । “मैले चाहिं एउटा सोच बनाएको छु” मजदूरी गरेर ६ जनाको परिवार पालिरहेका मदन सेढाई (५५) भन्छन्, “यसपटक भोट माग्न आउनेहरूलाई एकरात हाम्रा छाप्रामा बसिदेऊ, भोलिपल्ट सञ्चै गएछौ भने भोट दिउँला भन्छु ।”

गोपाल गड्तौला, झापा


प्रमुख मुद्दा ‘प्रदेश राजधानी’

अन्यत्रका झ्ं प्रदेश–५ का प्रदेश सभाका उम्मेदवारहरूले थुप्रै ‘असम्भव’ आश्वासन बाँडेकै छन्, तर प्रमुख आश्वासन भने एउटै छ— प्रदेश राजधानी (केन्द्र) । एक वर्षअघि प्रदेश विभाजनको सरकारी प्रस्तावविरुद्ध काँधमा काँध मिलाई महीना दिन लामो आन्दोलन गरेका नेताहरू राजधानीको विषयमा भने विभाजित छन् । राजधानी बुटवल वा दाङ ? एकै पार्टीका उम्मेदवारको समेत फरक मत देखिन्छ ।

रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पालगायत जिल्लाका प्रायः सबैजसो पार्टीका उम्मेदवारले बुटवललाई प्रदेश राजधानी बनाउने नारा बनाएका छन् । कतिपयले बुटवलले शहर मात्र जनाउने भएकाले रूपन्देही जिल्लाकै नाममा राजधानी बनाउने आश्वासन पनि छरिरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी, प्रमुख सीमानाका बेलहिया, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) र कलकारखानाका कारण पनि राजधानीमा रूपन्देहीको विकल्प नभएको तर्क पनि गरिएको छ । स्वास्थ्य, शिक्षा, सडक, विद्युत्का साथै निर्माणाधीन राष्ट्रिय गौरवका ठूला आयोजनाका कारण पनि यो जिल्लाको सम्भावना बढी छ ।

तर, दाङ पुग्ने हो भने दृश्य वेग्लै देखिन्छ । प्रदेशका अधिकांश उम्मेदवारहरू दाङमै राजधानी बनाउने सपना बाँडिरहेका छन् । स्थानीयस्तरमा दबाबमूलक अभियानहरू पनि चलाइरहेका छन् । यसअघि नै उच्च अदालत, प्रहरीको प्रदेश प्रमुख जस्ता कार्यालय दाङमा स्थापना भइसकेका छन् । कतिपय दलहरूले दाङमै प्रदेश कार्यालयहरू पनि स्थापना गरिसकेका छन् ।

बुटवल कि दाङ ?

प्रदेश विभाजन प्रस्तावविरुद्ध आन्दोलनको अगुवाइ गरेका नेकपा (एमाले) का उपमहासचिव तथा रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलको प्रमुख नारा नै ‘प्रदेशको राजधानी बुटवल’ छ । “राजधानीका लागि चाहिने प्रशासनिक सुविधा, पूर्वाधार र दूरीका हिसाबले पायक पर्ने स्थान बुटवल नै हो । विकल्प खोज्नु प्रदेश–५ का नागरिकमाथि घात हो” उनी भन्छन्, “तर, यसको निर्णय गर्ने अधिकार प्रदेश सभाको हो ।”

एमालेका अर्का उपमहासचिव तथा रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषाल पनि रूपन्देहीमै राजधानी बनाउने आश्वासनसहित भोट मागिरहेका छन् । “बुद्ध जन्मेको जिल्ला र हरेक दृष्टिले सक्षम भएकाले यहीं नै राजधानी बनाइनेछ”, उनी भन्छन् । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उम्मेदवार तथा स्वास्थ्य मन्त्री दीपक बोहोराको तर्क र आश्वासन पनि उही छ । भन्छन्, “पूर्वाधार भएको ठाउँमा राजधानी जरूरी छ, त्यसैले राजधानीमा रूपन्देही नै उपयुक्त छ ।”

नेपाली कांग्रेसका उम्मेदवारहरूको चुनावी प्रतिबद्धता पत्रमा पनि बुटवललाई नै राजधानी बनाइनेमा जोड दिइएको छ । “बुटवलमा राजधानी बनाउन कांग्रेसले जित्नुपर्छ” कांग्रेस रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार युवराज गिरी भन्छन्, “पूर्वाधार नभएको र पायक नपर्ने स्थानमा राजधानी बनाउन दिंदैनौं ।”

मधेशकेन्द्रित दलहरू भने प्रदेशको नाम रूपन्देही राखिनुपर्ने पक्षमा छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नं. ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल प्रदेशको राजधानी लुम्बिनी क्षेत्रबाट टाढा जान नहुने बताउँछन् । “लुम्बिनी, रामग्राम र तिलौराकोटलाई केन्द्रमा राखेर रूपन्देही वा कपिलवस्तुको बीचमा राजधानी बनाउन सकिन्छ, अन्यत्र स्वीकार्य हुन्न”, उनी भन्छन् ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ क्षेत्र नं. २ ‘क’ बाट उम्मेदवार सदस्य बनेपछि उनी नै प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै कार्यकर्ताहरू मत मागिरहेका छन् । पोखरेल स्वयम् पनि चुनावी प्रचारमा प्रदेश प्रमुख भएपछि गर्ने कामको आश्वासन दिइरहेका छन् ।

“जनताको भावना र माग दाङमै राजधानी बनाउने छ” उनी भन्छन्, “यहाँ सुन्दर उपत्यका छ, राजधानी बनाउन अनुकूल स्थान छ ।” धेरैले राजधानी बनाउने आश्वासन दिइरहेको बुटवल–भैरहवालाई पर्यटकीय, नेपालगञ्ज–कोहलपुर औद्योगिक र घोराही–तुलसीपुरलाई राजधानीका रूपमा विकास गर्न सकिने उनको तर्क छ ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं दाङ क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महराको नारा पनि ‘दाङलाई राजधानी बनाउने’ नै छ । “दाङमै प्रदेश राजधानी बनाउने छौं”, उनी भन्छन् ।

कांग्रेसका दाङ क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार भरतबहादुर न्यौपानेले दाङलाई राजधानी नबनाइए जनता आक्रोशित हुने भाषण गर्दै आएका छन् । प्रदेश–५ का १२ जिल्लाबाट २६ जना प्रतिनिधिसभा र ५२ जना प्रदेश सभा सदस्यमा गरी कुल ७८ जना निर्वाचित हुनेछन् ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम