३-९ मंसिर २०७४ | 19-25 November 2017

‘विद्युतीय सवारीको विकल्प छैन’

Share:
  

स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले मुलुकलाई संक्रमणकालबाट राजनीतिक स्थिरताको मार्गमा डोर्‍याउने संकेत देखिन थालेको छ । राजनीति सामान्य हुँदा स्वाभाविक रुपमा अर्थतन्त्र गतिशील हुन्छ र यसले विकास बढाउँछ ।

विकासले गति लिंदा अटोमोबाइल्स क्षेत्रमा कस्तो प्रभाव पर्ला ? अर्थात् समग्र अर्थतन्त्रमा यो क्षेत्रको भूमिका र योगदानको भविष्य कस्तो होला ? आईएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीसँग मस्त केसीले गरेको कुराकानीः

बिक्रम राई
कपिल शिवाकोटी

प्रमुख कार्यकारी अधिकृत

आईएमई मोटर्स प्रा.लि

अहिले गाडीको व्यापार कस्तो छ ?

गाडीको व्यापारलाई छुट्याएर हेर्नुपर्छ । यात्रु कार र निर्माणमा प्रयोग हुने सवारी साधन (कन्सट्रक्टिभ भेहिकल) को व्यापार शतप्रतिशतले बढेको छ । तर, ट्रक र बसको व्यापार करीब ५० प्रतिशतले ओरालो लागेको छ । बसको व्यापार घट्नुको एउटा कारण मुग्लिङ–नारायणघाटको खराब बाटो हो । बाटोकै कारण बस चाँडै बिग्रन्छ । ट्रकको व्यापार घट्नुको कारण चाहिं ट्रक समितिहरूले एक वर्षदेखि नयाँ ट्रक दर्ता बन्द गर्नाले हो ।

राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा विकास र समृद्धिले प्राथमिकता पाएको छ । अटोमोबाइलको व्यापारमा यसको कस्तो प्रभाव पर्ला ?

केही सकारात्मक प्रभाव त पर्छ नै । तर, अहिले नै मूल्यांकन गरिहाल्नु हतार हुनेछ । त्यसो त अब समृद्धिको विकल्प पनि छैन । अहिले बनिरहेका सडक, जलविद्युत् आयोजना, विमानस्थललगायतका साना ठूला आयोजनाहरूकै कारण पनि निर्माण सवारीको व्यापार बढेको हो । जुन अझै बढ्छ ।

राष्ट्र ब्यांकले मौद्रिक नीतिमार्फत अटो लोनको सीमा ६५ प्रतिशत पुर्‍याएपछि व्यापारमा कस्तो प्रभाव परेको छ ?

यो सीमा व्यावसायिक सवारी साधनमा लागू हुँदैन । निजी कारको व्यापारमा भने केही सकारात्मक असर गरेको छ ।

राष्ट्र ब्यांकले अनुत्पादक क्षेत्र भन्दै निजी कारमा भइरहने लगानी नियन्त्रण गर्न खोज्नु कत्तिको तर्कसंगत छ?

सोझो हिसाबले हेर्दा यो अनुत्पादक हो । तर, अहिले कार आवश्यकता बनेको छ । राष्ट्र ब्यांककै कर्मचारीहरू किन कार चढिरहेका छन् त ? यस्ता कारको प्रयोगले उत्पादकत्व बढाउँछ । अर्थतन्त्र चलायमान पनि बनाउँछ ।

स्थानीय तहको निर्वाचनपछि यसै महीना प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन गइरहेको छ । तारन्तारका निर्वाचनले पनि त व्यवसायमा बल दिइरहेको होला नि ?

त्यस्तो छैन । सबैको ध्यान चुनावमा भएकाले व्यापार घटेको छ । तर, यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्छ । चुनावपछि स्थिर सरकार बनेमा, उपयुक्त नीति ल्याइएमा व्यापार त्यसै उकालो लाग्छ ।

पछिल्लो समय निजी गाडीका प्रयोगकर्ता धमाधम बढेका छन् । यसले के संकेत गर्छ ?

निजी गाडीको व्यापार राम्रो छ । यसले मानिसको आम्दानी बढेको देखाउँछ । निजी कारको व्यापारको पनि ‘सिजन’ हुन्छ । कुल व्यापारको ४० प्रतिशत त चाडबाडमै हुन्छ ।

विशेषगरी काठमाडौंमा सडक सुविधाको तुलनामा सवारी सधानको चाप धेरै भयो भन्ने सुनिन्छ । दोष सवारीको हो या अव्यवस्थाको ?

अव्यवस्था नै हो, जसको कारण नियम पालन नगर्नु हो । यहाँ सर्वसाधारणले आकाशे पुल, जेब्रा क्रसिङ प्रयोग गर्दैनन् । ‘हाईप्रोफाइल’ ले नै जथाभावी चलाउँछन् । ट्राफिक लाइटको व्यवस्था नै छैन । बाटो अस्तव्यस्त छ । गाडी बढी भएर चाप देखिएको होइन । नेपालमा जम्मा दुई प्रतिशतले मात्रै निजी गाडी प्रयोग गरिरहेका छन् । यो निकै कम हो ।

वित्तीय संस्थाबाट ऋण लिएर सवारी साधन खरीद गर्ने क्रम बढ्दा मोटो रकम विदेशिएको छ । यसलाई कम गर्न सकिन्न ?

हो; अहिले निजी सवारीका लागि प्रयोग हुने ८० प्रतिशतभन्दा बढीले र व्यावसायिक सवारीमध्ये शतप्रतिशतले वित्तीय सुविधा लिएका छन् । गाडी किन्दा प्रत्यक्ष लगानी त बाहिरियो नै । सँगै २०औं वर्षसम्म चाहिने पेट्रोल, डिजलदेखि मर्मत उपकरणका लागि समेत ठूलो रकम विदेश पुगिरहेको छ । यो अर्थतन्त्रका लागि राम्रो होइन । तर, निर्यात व्यापार बढाएर ‘चेक एण्ड ब्यालेन्स’ मा राख्ने बाहेक तत्कालका लागि अर्को उपाय देखिन्न ।

मुलुकमा बिक्री हुने व्यावसायिक सवारी साधनमा आईएमई मोटर्सको हिस्सा कति छ ?

समग्रमा बजारको लगभग १२ प्रतिशत हिस्सा ओगटेका छौं । क्रुजर र अफरोड बाइकमा हामी निकै अगाडि छौं । भारतको अशोक ले–ल्याण्डको नेपालको लागि आधिकारिक बिक्रेता आईएमई नै भएकाले पनि हाम्रो सम्भावना ठूलो छ । अहिले टू–ह्विलर्स, पिकअप भ्यान, ट्रक, साना ठूला बस र निर्माणका सवारी साधनको व्यापारमा छौं । अब छिट्टै प्यासेञ्जर कार र स्पोर्टस् बाइक पनि भिœयाउँदै छौं । एक, दुई वर्षमा हामी निकै अगाडि जानेछौं ।

नाकाबन्दीपछिको पेट्रोलियम पदार्थको संकट र वातावरणीय क्षतिका कारण विद्युतीय सवारी साधनलाई विकल्पका रुपमा ठानिएको छ । दलहरूले पनि घोषणापत्रमा यसलाई प्राथमिकता दिएका छन् । यसतर्फ के सोच्नुभएको छ ?

घोषणापत्रको कुरा सस्तो लोकप्रियताका लागि हो । अहिलेको विद्युत्ले आधारभूत आवश्यकता नै धान्न मुश्किल छ । पहिले यो समस्या समाधान गर्नुपर्छ । त्यसपछि भने जाने त विद्युतीय सवारी साधनतर्फ नै हो । संसारका धेरै मुलुकमा विद्युतीय सवारी साधनलाई अनिवार्य बनाउन थालिसकिएको छ । भविष्यको बजार विद्युतीय साधनकै हो । हामी साना होइन ठूला र लामो दूरीका विद्युतीय बस चलाउनेबारे सोचिरहेका छौं ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को अधिवेशनको तयारी पनि भइरहेको छ । अटोमोबाइल क्षेत्रको विकासमा संस्थाको भूमिका कस्तो छ ?

समग्रमा नाडाका क्रियाकलाप सन्तोषजनक छन् । तर, सुधारका ठाउँ पनि प्रशस्त छन् । नाडाले निजी कारलाई मात्र होइन, स्पेयर्स पार्टस्, कन्सट्रक्टिभ भेहिकललगायतका क्षेत्रलाई महत्व दिनुपर्छ ।

comments powered by Disqus

रमझम