बिर्ता सट्टापट्टा

Share:
  
- ज्ञानमणि नेपाल
शुभ सेनले वि. सं. १७३१ मा गिरी, गोसाईंलाई दिएको बिर्ता ७८ वर्षपछि उनैका सन्तान विक्रम सेनले कसरी प्रद्युम्न पोख्रेललाई दिए ?

चौदण्डीका राजा विक्रम सेनले आफ्ना चौतरिया अजित राई र अनेखा राईलाई वि.सं. १८०९ मा लेखेको पत्रको सन्दर्भ हो, यो । चौदण्डीतिरको सेन राजाहरूले दिएका बिर्ताका स्याहामोहर, सनद जनतामा पुर्‍याउने राई चौतरिया हुन्थे । राजा र युवराज मुनिका अधिकारीमा लाग्ने पद हो, यो । शाह राजाका पालामा भने चौतरिया भन्ने पद राजाका भाइछोराले मात्र पाउँथे ।

अघि लिच्छविकालमा राजाले दिएका बिर्ता त्यति पाइँदैन । राजाले आफ्नी बहिनीलाई दिएको बिर्ता दाइजोको एक संस्कृत अभिलेख प्राप्त छ । अरू जनतालाई कर छूट गरेका, देवतालाई गुठी दिएका, कर्मचारीले जनतालाई पीरपिराउ गर्न निषेध गरिएका, गोष्ठी, पाञ्चालीका गुठियार सदस्यलाई अधिकार दिएका संस्कृतका सनद पत्रहरू छन् । तिनका दूतक युवराज, राजपुत्र वा अरू उच्च अधिकारी हुन्थे । शाहकालमा यस्ता रुक्का, लालमोहरहरूमा रुजु रहने प्रायः ६ थरी भारदार, काजी, सरदार हुन्थे ।

सेन राजाका स्याहामोहरमा प्रमानगी (प्रमाङ्गी) गराउने उच्च अधिकारीमा मकवानपुर राज्यमा बानियाँ, कार्की आदि थरका व्यक्ति छन् भने चौदण्डीमा प्रायः राई चौतरिया । महीपति सेनको स्याहामोहरमा रुजु रहने सुखदेव राई करीब २० वर्ष मुख्य राजकाजी पदमा रहेका र चौतरिया पनि भएका देखिन्छन् । तल दिइएको विक्रम सेनका पत्रमा अजित राई र अनेखा राई चौतरिया सम्बोधित छन् । पछि सं. १८१८ को मुकुन्द सेन (द्वितीय) को स्याहामोहरमा पनि अजित राई चौतरिया छन् । त्यसबाट राजा बदलिए पनि चाँड्चाँडै चौतरिया बदलिंदा रहेनछन् भन्ने देखिन्छ ।

विक्रम सेनले सं. १८०९ मा भोजपुर खिकामाछाको घडेरी, खर्क पाखो र पिखुवा गढतिरको खेत र पाखाको खेत समेत ६ खला खेतको एक बिर्ता तथा पहिलेको ओखलढुंगाको रावाथुमको मध्य कल्लेरी र टारखोला खेत तथा पाडरीबोटे, तीनपाटने, जलजले र खार्पा घडेरी, खर्कसहितको कुशबिर्ता दिएका थिए । घडेरी, घरबारी र खर्क भनिएको छ, खेतको माटो उल्लेख छैन । एक ठाउँमा कल्लेरी औ टारखोला खेत भनेको छ । पाडरीबोटे, तीनपाटने, खार्पा र जलजले आफ्नो अंश भनेको छ ।

खार्पा गाउँ त प्रसिद्धै छ, जलजले खेत हुनुपर्छ । कल्लेरी जलजले पनि सुनिएकै नाम हुन् । ‘प्रद्युम्न उपाध्याय तिम्रो बिर्ता जानी भोग्य गर’ भनिएको छ । उल्लिखित खर्क, खेत कुन–कुन हुन्, माटो कति हो, खुल्दैन । सिमाना दुई किल्ला मात्र उल्लेख छ– लंगुरखोलाबाट इशान, हंगचुर खोलाबाट नैऋत्य । पूर्वको सीमा डाँडैसम्म र पश्चिम रावाखोला होला । घ्याम्पाखर्क, ऐंसेलुखर्क पोख्रेलले भोग गरेकै खर्क हुन् । पाडरीबोटे, तीनपाटने खेतकै नाम हुनुपर्छ । तीनपाटने चाहिं महाभारतको दक्षिण भित्री मधेशमा पर्छ । बीचमा खोला, वारिपारि खेतै खेत भएको दुन हो, त्यो । सिन्धुलीको त्यो ऐतिहासिक स्थल हो । यसको कथा अर्कै छ ।

खिकामाछा बिर्ता भोजपुर जिल्लाभरिमा पायक परेको बस्नलायक ठाउँ हो । यो बिर्ता पहिले बाहुनकै थियो । माथितिर पाखामा टम्म सल्लाघारी सुसाइरहेको, फेदमा गलल्ल बग्ने मूल छ । अहिले यसलाई बाँडागाउँ भनिन्छ । बिर्ता पाउनुभन्दा पहिले यहाँ सबै जातको बस्ती थियो । भोटबाट व्यापारका सामान लिएर चौदण्डी जाने बाटामा पर्ने हुनाले खिकामाछा बजार बन्दै गयो । सं. १८७२ मा पैसा काट्ने टक्सार बसेपछि त कसनतमनको काम गर्ने, पैसा काट्ने, भाँडा कमाउने नेपाल दुनका कालिगड, बाँडा, नेवारहरू पनि यहाँ ओइरिए । त्यसपछि खिकामाछा टक्सार र बाँडागाउँको नामले प्रसिद्ध हुन पुग्यो । यस सम्बन्धमा वडा कवि वैयाकरण नेपालको ‘टक्सार वर्णन’ का एक–दुई पद्य यस्ता छन्– विक्रमसंवतको अठाह्र शयका साल भो बहत्तर जहाँ ।

पैसा काटन भनेर श्रीनृपतिले टक्सार बनाया तहाँ ।

कासो पित्तल धेर कमाइ घरघर् भाँडा हजारौं धरी ।

टङ्टङ् टङ्टङ शब्द हुन्छ दिनदिन् सारा बजारै भरी ।

टक्सार माथिको डाँडाछेउमा सिद्धकालीको स्थान भएबाट यसलाई अघि सिद्धपुर भनिन्थ्यो । यहाँ धनकुटा गौंडाको एक शाखा थियो । पूरा अड्डा बसेपछि भोजपुर भनियो । भोजपुर नाम चल्नमा अर्को अनुश्रुति पनि छ । पृथ्वीनारायण शाहको पूर्व विजयकै सिलसिलामा उनका सैनिकहरू यहाँ आई सिद्धकालीको स्थानमुनि ठूलो टारमा भतेर लाएर भोज खाएका, जीतबाजीको खुशियालीमा अरूलाई पनि खुवाएको हुँदा यो भतेरे टार हुँदै भोजपुर भयो । खिकामाछा बिर्ताको प्रसङ्ग यति हो ।

सं. १७३१ मै हलेसी महादेवस्थानका पुजारी गिरी, गोसाईंहरूलाई शुभ सेनले खार्पा बिर्ता दिएको स्याहामोहरबारे पहिलै उल्लेख भयो । (हे. http://nepalihimal.com/article/14924) पछि विक्रम सेनले खिकामाछा र खार्पाका गोसाईंलाई पहिले दिएको बिर्ता आफ्ना चौतरियामार्फत प्रद्युम्न उपाध्याय पोख्रेललाई दिएका छन् । प्रश्न उठ्छ, पहिले शुभ सेनले गिरी, गोसाईंलाई दिएको बिर्ता ७८ वर्षपछि उनैका सन्तानले कसरी प्रद्युम्न पोख्रेललाई दिए ? अरूले दिएको दानदातव्य त हर्नुहुँदैन भने आफ्नै पुर्खाले दिइसकेको जग्गा विक्रम सेनले फेरि अर्कोलाई पक्कै दिएनन् । पोख्रेल वंशावलीमा यसको समाधान यसरी गरिएको छ–

बिर्ता सन्यासिको रहेछ पहिले खार्पा भनेको स्थल

फार्सा निज्हरूबाट ल्याउनुभयो पक्का लिखत् झ्लझ्ल

फार्सा कायम सेनबाट हुन गो बिर्ता सदर् वासथान्

बिर्ता फेर् अरू मिल्न गो नृपहुँदा दाता करुणा निधान् ।

यो वंशावलीले गिरी, गोसाईंबाट पोख्रेलले बिर्ता किनेर राजाबाट राजीनामा गराए भन्ने बुझउँछ, परन्तु यो कुरा मिल्दोजुल्दो देखिंदैन । आफैं किनेर राजीनामा लिएको जग्गा कसरी राजाले दिएको बिर्ता भन्न मिल्छ ? यहाँ त राजा स्वयंले बिर्ता भनेर दिएका खिकामाछा र रावाथुमको बिर्ता छन् । बेहोरा पनि अरू स्याहामोहरको जस्तो छैन । राज्यको शासनभार सम्हाल्ने अजित राई र अनेखा राई दुई चौतरियालाई सम्बोधन गरेर बिर्ता दिएको वर्णन छ । सोझै बिर्तावारलाई सम्बोधन गरिएको छैन । यी कुशबिर्ता वितलपको रूपमा प्रद्युम्न पोखे्रललाई दिइएको भनिएको छ । यस बिर्ताभित्रका गाउँमा अपुताली, फौजदारी मुद्दा मामिलाको दण्ड जिताउरी, घरैपिच्छे लाग्ने ठेकीबेठी, चाकचकुई सबै बिर्तावारले लिन पाउँछन्, कसैको लागवादी हुने छैन, राजपरिवारका कुनै सदस्यले बाधा व्यवधान गर्न पाउने छैनन्, जो कोहीले जबर्जस्ती गरी खायो भने हिन्दू भएर गाईको मासु खाएको पाप लाग्नेछ, त्यसका उपर बराह भगवानको कुदृष्टि पर्नेछ, त्यसको सन्तान नष्ट हुनेछ, उसको जलपिण्ड दिने कोही हुने छैन भनिएको छ ।

यो बेहोरा पढ्दा के बुझ्न्छि भने यी कुशबिर्ता शुद्ध ऐलानी, पर्ती, पाखो, वनजंगल अथवा कन्ने बिर्ता थिएनन् । यिनमा बस्ती बसिसकेका थिए । सं. १७३१ मा शुभ सेनले गिरी, गोसाईंलाई दिएको खार्पा बिर्ताको रामसिंह कार्कीका खायल मध्येबाट लिएका तीन खला खेत पनि थिए । गिरीले पाउनुभन्दा पहिले खार्पामा कार्की बसिसकेको यसबाट स्पष्ट हुन्छ ।

सेन राजाहरूले दिएका बिर्तामा केही तलमाथि वा केही उजुरबाजुर पर्‍यो भने सट्टापट्टा गरिदिने, मिलाइदिने चलन पनि थियो । बिर्तावारले छाडेर हिंडे त्यो बिर्ता रैकरमा परिणत भएको पनि देखिएको छ । गिरी, गोसाईंलाई अन्तै सट्टापट्टा दिएर खार्पा बिर्ता सरकारी रैकर भएको बुझ्न्छि । खिकामाछा बिर्ता बिर्तावारले छोडेर वा बेचेर हिंडेकाले सरकारी भएको अनुमान हुन्छ ।

यी दुवै बिर्ता चौतरिया अजित राई र अनेखा राईका खान्कीमा परेका थिए । अघि सरकारी जागिरदारलाई खान्कीमा जग्गै दिने चलन थियो । पृथ्वीनारायण शाहले कालु पाँडेलाई मुख्य काजी बनाउँदा खान्कीमा जग्गै दिए । अतिरिक्त रकम महीनामा २० रुपैयाँ दिएका थिए । अरू सिपाही, कर्मचारीले पनि तलबमा जग्गै पाउँथे, कमाएर खान्थे । जग्गा पाएका जागिरदारहरूले लडाइँ पर्दा आफ्ना गाउँ क्षेत्रका जवानहरू उठाएर ल्याउँथे ।

सेनको समयमा चौतरियाले आफ्ना खान्कीभित्रका जग्गाका अपुताली, मुद्दामामिला छिन्दा लागेको दण्ड, जिताउरी, ठेकीबेठी, करकोसेली, सिसार लिने, खाने भैहाले । बेठी भनेको वर्षमा पाँच खेताला हो । अघि जार काट्ने चलन हुँदा काट्ने चाक, पोइल गएकी महिला चकुई कहिन्थे । तिनले तिर्ने दस्तुरलाई चाकचकुई भनिन्थ्यो । शाहकालमा चाकले रु.१५ तिर्नुपथ्र्यो । असुलउपर गर्ने अमालीले रु.५ सरकारलाई बुझएर बाँकी खान्थे । हकवालाले रु.३५ तिरेर चकुई निखन्न पाउँथ्यो । चकुईले अरूसँग घरजम गरी बस्ने भई भने लानेले रु.१२ तिर्दथ्यो । त्यसको आधा अमालीको, आधा सरकारको हुन्थ्यो ।

आफ्ना चौतरियाले भोगचलन गरेका यी पुराना बिर्ता राजाले प्रद्युम्न पोख्रेललाई चौतरियामार्फत नै दिए । उनले खाएपाए बमोजिम नै ब्राह्मणले पनि खानेपाउने व्यवस्था गरिदिए । चौतरियालाई अन्यत्र त्यही बमोजिमको खान्की दिएको बुझ्न्छि ।

प्रद्युम्न पोखे्रल माथि भनेजस्तो घरघडेरी, जल, जङ्गल, खर्क, खेत लहरै मिलेको त्यति राम्रो खिकामाछा बिर्ता छाडेर सं. १८०९ मा खार्पाको विरह लाग्ने खुरखुरे पाखामा केका स्नेहले बसोबास गर्न रमाए होलान् ! त्यहाँ त गोरस ल्याउन दिनभर हिंडेर ऐंसेलुखर्क पुग्नुपर्ने, धान बोक्न सावाखोलै झ्र्नुपर्ने । खिकामाछा त घरबारीमै जोडिएको त्यत्रो टार खेत, जहाँ अहिले विमानस्थल छ । घरबारीमा बजारै बसेको छ ।

पोख्रेल वंशजले यस बिर्ताको कति जग्गा राजीनामा र बन्धकी समेत गरेर रणध्वज कार्कीहरूलाई दिएका रहेछन् । बाँकी जग्गाको रहलपहल उठाउन पछिसम्म पनि आइरहन्थे । भूमिसुधार लागेपछि दानबहादुर, खड्गबहादुर कार्कीहरू मिलेर पोखे्रल वंशजको चित्त बुझई सबै बिर्ताको लागदावी मेटाएर आ–आफ्ना नाममा दर्ता गराएर सो लहनतहन मेटाए ।


राजा विक्रम सेनले चौतरिया अजित राई

अनेखा राईलाई लेखेको पत्र

श्री

वाराहजी

स्वस्तिश्रीरुपनारायणेत्यादि विविधविरुदावलीविराजमान–मानोन्नत–महाराज श्रीहिन्दुपती–राजराजेश्वर–मन्महाराजाधीराज रीपुदलभंजन

श्रीश्रीश्रीमद्विक्रमसेनजीदेवदेवानां सदा समरविजयीनाम्

स्वस्ति श्रीसर्वोपमाजोगे राजभारा सामर्थ चौतरीया श्रीअजीतरायवोश्रीअनेखारायेके आसीस पूर्वकपत्रमिदं आगे श्रीपर्दुमन उपाध्याक कुसविर्ता तर्फ खेकामाछा मध्ये वारहविस्या खेत औ बालुवा खेत आनीहरीया खेत औ गाउक मास्र्याखेत औ येकलेपा खेत औ खारखेत औ वारी घरआडी लगापात खरक समेत औ तरफ रावामध्ये कल्ल्याहारी औ टारखोलाखेत औ पाडरीवोटेया औ तिनपाटनेया औ खारपा आपना अंश औ जलजलीया आपना अंस औ सहीत वारी घरेयाडी लगापात खरक समेत लंगुरखोलासै इसान हंगचुरखोलासै नैरत्य यतनाको जो मामीला अपुताली बाजे मामीला खुन मामीला चाकचकुइ औ नेवार घर गनी सुध्धा ठेकी बेठी इ सवसमेत कुश विर्ति जानी वेतलप पट्टाकै दिहल है रौरा सव कोेही अर्थ कौनो वात मोजाहीम मती होइ येतवापर जे केउ जोरदारि कै खायेसे हिन्दु खाये तो गाए खाए औ तेकरापर श्री वाराहजी क कुदृष्टि होये तेकर संतान भष्मकरो तेकरा जलदाता मति हो इति सम्वत् १८०९ साल आषाड वदी १० रोज २ मुकाम सिद्धपुर शुभम्

(कमलापति पोख्रेल, इनरुवाबाट प्राप्त)

comments powered by Disqus

रमझम