गणतन्त्रलाई बधाई

Share:
  
- शेखर खरेल
कतैकतै अहिले पनि ‘राजा आऊ, देश बचाऊ’ नारा सुनिए पनि जारी आम निर्वाचनसँगै गणतन्त्रको संक्रमण भने सकिएको छ।

१०६ वर्षको उमेरमा गत वर्ष दिवंगत मेरा हजुरबुवा गणेशबहादुरको हृदयको कोमल कुनामा राणा प्रधानमन्त्रीमध्येमा पनि कठोर मानिने जुद्धशमशेर बास गर्दथे । आफ्नो भर्भराउँदो उमेर राणाशासनमा बिताउनुभएका र जुद्धशमशेरकै हजुरियामध्येका एककी छोरीसँग लगनगाँठो कस्नुभएका हजुरबुवाका निम्ति जुद्धशमशेर कुशल शासक थिए । व्यस्त बानेश्वरमा गौ सेवा गर्दै शताब्दी लामो आयु आरोग्यताका साथ बिताउनुभएको उहाँका निम्ति राणाशासकहरू धर्मपरायणताका प्रतिमूर्ति थिए ।

गएको कात्तिकमा दिवंगत पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट आजन्म राजभक्त रहे । तीन शाह राजा, महेन्द्र र वीरन्द्रका शासनकालमा प्रधानमन्त्री र ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रिमण्डलका उपाध्यक्ष रहेका विष्टले एकदलीय पञ्चायतबाट उठेका अन्य पञ्च नेताहरू झैं बहुदल, लोकतन्त्र र गणतन्त्रको राजनीतिक ‘उपभोग’ गरेनन् । आजसम्म पनि मेरा हजुरबुवा र विष्ट जस्ता थुप्रै मानिस पाइन्छन्, जसका मनमा परिकथा जस्तै ‘राणा र राजा’ ले बास गरेका छन् ।

कुनै पनि शासन फालिंदा शासकभन्दा बढी छटपटी तिनका नातेदार, आसेपासे र सुविधाभोगीमा देखिन्छ । किनकि, उनीहरूले परिवर्तनसँगै शासकको अनुकम्पा गुमाउँछन्, अनायास अनिश्चित भविष्यको बाटो तय गर्नुपर्छ । यस्तो बेला अनुयायीहरू ‘वफादारी’ मुताबिक आफ्ना मालिकलाई पुनः शक्तिमा फर्काउने वा परिवर्तित परिवेशमा आफूलाई ढाल्ने प्रयत्न गर्छन् । राणाशाहीको अन्त्यपछि राणा खानदान र वफादार भारदार समूहले नेपाल राष्ट्रवादी गोरखा परिषद् दल नै बनाएका थिए, जसले आफूलाई २०१५ सालको आम निर्वाचनमा प्रमुख प्रतिपक्षमा स्थापित समेत गर्‍यो । तर रोचक चाहिं, यही अभिजात्य र भारदारी समूह २०१७ सालको राजा महेन्द्रको ‘कु’ पछि बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको समर्थक मात्र बनेन, समयक्रममा कांग्रेसमै समाहित भयो ।

तर, २०६४ सालको संविधानसभाको पहिलो बैठकले राजतन्त्र निर्मूल गर्दा राजतन्त्रको समर्थनमा खासखुस समर्थन बाहेक जोडदार प्रतिकार हुन सकेन । केहीको अनुमान विपरीत नेपाली सेना तटस्थ ब्यारेकभित्रै बसिदियो । अरू त अरू, स्वयं बाहिरिएका राजा ज्ञानेन्द्रले समेत सार्वजनिक रूपमा दलहरूको निर्णयलाई चुनौती दिने जोखिम मोलेनन् । बरू, नारायणहिटी राजप्रासाद खाली गरिदिए ।

मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि एक दशक पुग्दैछ । र, आसन्न आम निर्वाचनको परिणामसँगै गणतान्त्रिक राष्ट्रले तेस्रो राष्ट्रपति प्राप्त गर्दैछ । तर, यसबीचमा राजाको समर्थनमा हुँदै आएका गतिविधि पनि कम रोचक छैनन्, जसको एकछेउमा पूर्व राजा स्वयं छन् भने अर्कोमा उनका समर्थकहरू । रक्तपातरहित प्रस्थान भएकै संसारका अन्य मुलुकमा विरलै मात्र देख्न सकिने पूर्व शासकको स्वीकार्यता नेपालमा पाइन्छ । ‘धर्मनिरपेक्ष’ मुलुकमा पूर्व राजाका कैयन् सांस्कृतिक आवद्धताका विरासत राष्ट्रपतिले थामे पनि आफूले परम्परादेखि मान्दै आएका सांस्कृतिक कार्यमा संलग्न हुन उनी स्वतन्त्र छन् । आज पनि जन्मदिन र दशैंका बेला निर्मलनिवास (पूर्व राजाको आवास) मा समर्थकहरू शुभकामना र शुभाशिषका लागि पुग्छन् । जसले छेवैको राष्ट्रपति निवासमा लाग्ने त्यस्तै पंक्तिलाई गिज्याइरहेको पनि कतिपयलाई लाग्न सक्छ । तर, अगल–बगलका यी दुई संस्था एकअर्काको बर्खिलाप कहिल्यै उभिएका देखिंदैनन् ।

कतिसम्म भने, राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहोत्सवमा आमन्त्रण गर्दा पूर्व राजा सहर्ष शीतलनिवास पुगे । यसैगरी पूर्व राजाले नातिको व्रतबन्ध समारोहमा राष्ट्रपतिलाई आमन्त्रण गर्दा उनी यसैगरी सरिक भइन् । त्यसो त राजाका समर्थक पनि एकै थरीका छैनन् । मेरा हजुरबुवा वा विष्ट जस्ताले आफूले मानिआएको संस्थालाई मनको कुनामा मात्र राख्छन् । तर, अर्को समूह पनि छ, जसको मूल मुद्दा नै राजतन्त्रको पुनस्र्थापना देखिन्छ । खासगरी पूर्व पञ्चहरूबाट चोइटिएर बनेका समूह र केही हिन्दूधर्मवादी जमात दलगत रूपमा नै राजतन्त्रको समर्थनमा देखिएका छन्, जसले केही जनमतको बल पनि पाएका छन् । यो जमातमध्ये सबैभन्दा ठूलो कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी हो । हिन्दू ‘सेन्टिमेन्ट’ का कारण २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ उल्लेख्य मत पाएको यो पार्टी आसन्न निर्वाचनबाट भने त्यही हैसियतमा कायम रहन सक्छ, सक्दैन भन्नेमा संशय छ । चरम अवसरवादिताका कारण जनसमर्थन गुमाइरहेको यो पार्टीको पक्षमा पछिल्लो निर्वाचन जस्तो एकखाले उभार देखिंदैन । अन्य हिन्दूवादी दलहरूका निम्ति त जमानत बचाउन सके मात्र पनि ठूलो उपलब्धि ठहर्नेछ । कतिपयमा अझै पनि राजसंस्था फर्किने विश्वास पाइन्छ । हुन त पूर्वराजाले बेलाबखत राजनीतिज्ञको कटु आलोचना गर्न पनि छाडेका छैनन् । तर, लाग्छ उनीसँग फेरि श्रीपेच पहिरिने कुनै अचूक उपाय बाँकी छैन । प्राध्यापक चैतन्य मिश्रले भने झैं ‘सबै राजनीतिक संक्रमणहरूमध्ये, गणतन्त्रको संक्रमण चाहिं टुङ्गिसक्यो ।’ धर्मनिरपेक्षता र संघीयता भने कठोर परीक्षाबाट गुज्रिन बाँकी नै छ ।

comments powered by Disqus

रमझम