महिन्द्रा को गस्टो आरएस

Share:
  

नेपालमा महिन्द्रा टु ह्वीलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले नयाँ गस्टो आरएस सार्वजनिक गरेको छ । गस्टो आरएसमा १०९.६ सीसीको सिंगल सिलिण्डर इन्जिन छ ।

गस्टो आरएस रातोमा सेतो र नीलोमा सेतो रंगको संयोजनमा उपलब्ध छ । एयर कुल्ड इन्जिन रहेको गस्टो आरएसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिने कम्पनीले जनाएको छ । यसमा १२ इन्चको टायर र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । ६ लीटर इन्धन क्षमता भएको गस्टो आरएसमा फ्रन्ट स्टोरेज पनि छ । यसको मूल्य रु.१ लाख ६७ हजार ५०० तोकिएको छ ।

किन्ले बोटल वाटर नेपालमा

कोकाकोला नेपालले किन्ले बोटल वाटर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको किन्ले आठ चरणमा प्रशोधन गरिएको कम्पनीको दाबी छ । एक लीटरको किन्ले बोतलको मूल्य रु.२५ तोकिएको छ ।

हिमस्टार का नयाँ राइस कुकर

गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्सले १ देखि २.८ लीटरसम्मका सात वटा मोडलका नयाँ राइस कुकरहरू बजारमा ल्याएको छ । सबै कुकरमा अटोमेटिक सिस्टम छ । यिनको बजार मूल्य रु.१,७७० देखि रु.३,००० सम्म तोकिएको छ ।

‘पेट्रोल बाहेक सबै खर्च हाम्रो’

बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘पेट्रोल बाहेक सबै खर्च हाम्रो’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत बजाज डिस्कभर बाइक खरीदमा ग्राहकले दुई वर्षसम्म निःशुल्क स्पेयर पार्टस्, इन्जिन आयल र सर्भिसिङ पाउने छन् । श्रमिक शुल्क पनि लाग्ने छैन ।

ग्राहकहरूले बजाजको कुनै पनि सिरिजको डिस्कभर बाइक किन्दा निःशुल्क कुपन भएको बुकलेट प्राप्त गर्नेछन् । बुकलेटका आधारमा दुई वर्षसम्म योजना अनुरुप लाभ लिन सक्नेछन् । यो योजना डिस्कभर बाइकमा मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

नेबिकोको सुगर फ्रि बिस्कुट

नेबिको प्रा.लिले क्यालोरीको मात्रा अत्यन्तै कम रहेको सुगर–फ्रि क्रेकर बिस्कुट बजारमा ल्याएको छ । बिस्कुटलाई चिनीको साटो फुड ग्रेड स्विटरले गुलियो बनाइएको कम्पनीले जनाएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर ल्याइएको सुगर–फ्रि बिस्कुटलाई मधुमेहका बिरामीले समेत प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ । ३५० ग्राममा उपलब्ध बिस्कुटको बजार मूल्य रु.१०० तोकिएको छ ।

एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्ज हुने भएका छन् । एनआईबीएल क्यापिटलको तर्फबाट संचालक समितिका अध्यक्ष सचिन टिब्रेवाल र एस क्यापिटलको तर्फबाट संचालक समितिका अध्यक्ष रविन सिजापतिले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी रु.२७ करोड पुग्नेछ । एस क्यापिटल लिमिटेडको मुख्य कम्पनी एस डेभलपमेन्ट ब्यांक यसअघि नै नेपाल इन्भेष्टमेण्ट ब्यांकमा गाभिएको छ ।

यसैगरी एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले ललितपुरको लगनखेल र कास्कीको चिप्लेढुङ्गा (पोखरा)मा शाखा विस्तार गरेको छ । एनआईबीएलले सेवाग्राहीलाई मर्चेन्ट ब्यांकिङअन्तर्गतका सेवा सरल र सहज तरिकाले प्रदान गर्न शाखा विस्तार गरेको जनाएको छ । एनआईबीएल क्यापिटल मार्केट्स नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडको सहायक कम्पनी हो । एनआईबीएलले ब्यांक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा होटल गरी जम्मा ३१ कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी काम गर्दै आएको छ ।

लुम्बिनी विकास ब्यांक लिमिटेडले मोरङको सुन्दर–हरैचा नगरपालिकामा ५७औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन नगरपालिकाका मेयर शिवप्रसाद ढकालले गरेका हुन् ।

नयाँ शाखाबाट मोबाइल ब्यांकिङ, निक्षेप तथा कर्जा लगायतका सुविधा दिइने ब्यांकले जनाएको छ । शाखा उद्घाटन समारोहमा ब्यांक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले ग्राहकलाई सहज आधुनिक ब्यांकिङ सुविधा दिन ग्रामीण भेगमा शाखा विस्तार गर्दै जाने बताए ।

सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेड र कतारको दोहा ब्यांंकबीच रेमिटेन्स आदानप्रदानको सम्झौता भएको छ । सम्झौतापत्रमा सिटीजन्स ब्यांकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा ब्यांकका प्रमुख कार्यकारी अधिकृत डा. आरसी थारमणले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बाङ्लादेशलगायतका राष्ट्रहरूबाट दोहा ब्यांकको रेमिटेन्स प्रणालीमार्फत नेपालमा पैसा पठाउन सकिनेछ । उक्त रकम सिटीजन्स ब्यांकको नेपालभर रहेका ६६ शाखा र करीब चार हजार केन्द्रबाट भुक्तानी लिन सकिने ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम