छहारी छानो

Share:
  

बिक्रम राई
बस्नका लागि अत्यावश्यक भए पनि घरको परिभाषा यतिमा मात्र सीमित छैन । घर मानिसको सोखसँग पनि जोडिन्छ । बदलिंदो समयसँगै विकसित प्रविधि र आधुनिक सामग्रीसँगै घरको बनावटमा विविधता आएको छ । घरको हरेक भाग विशेष ध्यान दिएर बनाउन थालिएको छ । तीमध्ये छानो पनि विशेष छ ।

छानोले घरको बनावटलाई पूर्णता मात्र दिंदैन, स्वरुपसमेत झल्काउँछ । हावाहुरी, पानी, हिउँ, घामलगायतबाट जोगाउन पनि छानोको उत्तिकै महत्व हुन्छ । इन्जिनियर अनुप गौतम भूगोलको बनोट अनुसार छानोको बनावट र निर्माण सामग्रीको प्रयोग फरक–फरक रहेको बताउँछन् ।

छानो बनाउन खर, टीन, स्लेट, टायल, माटो, सिमेन्टलगायतका सामग्री प्रयोग भइरहेका छन् । समतल, भिरालोसँगै डोम, गेबल, हिप पनि प्रचलनमा छन् । सिमेन्टबाट भने चाहेजस्तो विभिन्न आकारमा छाना बनाउन सकिन्छ । धेरै पानी पर्ने, हिउँ पर्ने ठाउँमा भिरालो र शहरी क्षेत्रहरूमा ज्यादातर समतल छाना बनाइन्छ ।

थरीथरीका छाना

छानो सुरक्षासँगै घरको सुन्दरतासँग पनि जोडिएको हुन्छ । त्यसैले छानो समतल नै बनाए पनि विभिन्न डिजाइनमा बनाउने गरिन्छ । “छानाले घरको ‘एस्थेटिक भ्यू’ झल्काउँछ”, गौतम भन्छन् ।

समर ग्रुपका सञ्चालक आर्किटेक्ट सुन्दर केसी छानालाई बहुउपयोगी बनाउन सकिने बताउँछन् । भिरालो छानो बनाउँदा वर्षात्मा पानी संकलन गर्न सकिन्छ । शहरी क्षेत्रमा थोरै जग्गामा घर बनाइने भएकाले भिरालो छानो बनाउँदा पानी खस्ने ठाउँका लागि समेत जमीन छुट्याउनुपर्छ ।

ढलान घर बनाए पनि त्यसमाथि टीनले छाएर अर्को छानो ‘ट्रस’ पनि बनाउन सकिन्छ । घरलाई लामो समयसम्म बलियो बनाउन पनि ‘ट्रस’ राखिन्छ । समतल छानो जाडोमा घाम ताप्ने तथा गर्मीमा शीतल हावाका लागि उपयोगी हुन्छ । यसबाहेक छानामै फूल, तरकारी, बगैंचा र बालबालिकालाई खेल्ने ठाउँ पनि बनाउन मिल्छ ।

आर्किटेक्ट केसी ‘स्ट्रक्चरल एनालाइसिस’ गरेर मात्र घर निर्माण गरिने भएकाले आवश्यकता र प्रयोग अनुसार छानो बनाउन सकिने बताउँछन् । उनका अनुसार, अस्थायी प्रकृतिको बनाउँदा खर्च कम लाग्ने हल्का र दीर्घकालका लागि कंक्रिट छाना बनाउने गरिन्छ । त्यसो त छोटो समयका लागि प्रिफ्याबको छानो पनि उपयुक्त मानिन्छ । बलियो छानाले घरभित्रका सामग्री र घरमा गरिएको लगानीलाई सुरक्षित राख्छ । त्यसैले छानाको मर्मत, सम्भार पनि गरिराख्नुपर्छ ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम