दलाई लामाको बुझाइ

Share:
  
- बसन्त महर्जन
लुम्बिनी र कपिलवस्तुबारे नेपालीको गलत बुझाइका कारण यसपालि पनि दलाई लामाको गौतम बुद्घ सम्बन्धी भनाइ विवादित बन्न पुग्यो।

मीनरत्न बज्राचार्य
कसैले गौतम बुद्ध र ‘कपिलवस्तु’ को सन्दर्भमा केही बोल्दा एकथरी नेपाली त्यसलाई ‘लुम्बिनी’ बुझछन् र बुद्ध लुम्बिनीमा जन्मेको भन्न थाल्छन् । अनि, जवाफ वा प्रतिक्रियामा ‘बुद्धको जन्मस्थल लुम्बिनी भएकोमा कुनै शंका छैन’ भन्ने मन्तव्य आएपछि चित्त बुझउँछन् । वास्तवमा यो लुम्बिनी र कपिलवस्तु एउटै हो भन्ने गलत बुझइकै परिणाम हो । बुद्धको जन्मस्थल (लुम्बिनी) र गृहनगर (कपिलवस्तु) फरक भूगोलमा पर्छन् र बेग्लै अर्थ राख्छन् । यसबारे सामान्य जानकारी नहुँदा नेपालका सर्वसाधारणदेखि विशिष्ट व्यक्तित्वसम्मले व्यर्थै टाउको दुखाएको एउटा दृष्टान्त हो, यो ।

भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक नेता दलाई लामाले केहीअघि मेरठमा बोलेको भनिएको एउटा भिडियो फुटेजले नेपालीलाई निकै उत्तेजित बनायो । एक प्रश्नको जवाफ दिने क्रममा दलाई लामाले बुद्ध नेपाली हुन् भन्ने कुरालाई ‘ननसेन्स’ भनेका छन् । बस्, नेपालीलाई पुगिहाल्यो, उनले ‘बुद्ध लुम्बिनीमा जन्मेका होइनन्, लुम्बिनी भारतमा पर्छ भनेको’ भन्दै तथानाम गर्न थालिहाले ।

नेपाल, भारत दुवैतर्फका मान्छेहरू दलाई लामालगायतसँग बारम्बार यसखाले प्रश्न किन गर्छन् भन्ने कुरा नै ताज्जुब लाग्दो छ । संभवतः यस्ता प्रश्नहरूले वाक्कदिक्क बनाएकैले दलाई लामाले ‘ननसेन्स’ भनिदिएको हुनसक्छन् । उनले यस अघिजस्तै बुद्ध कहाँ जन्मे त्यो ठूलो कुरा होइन, के शिक्षा दिए त्यो महŒवपूर्ण हो पनि भने । तर, त्यसमा कसैको ध्यान गएन, विभिन्न माध्यमबाट विरोध बढाइयो । अन्ततः लामाले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भनेपछि उनले आफूलाई सच्याए भन्दै आक्रोश साम्य भएको देखियो । खासमा, यस प्रकृतिका प्रत्येक प्रकरणमा दलाई लामालगायत कसैको पनि बुझइमा केही फरक आएको हुँदैन । बदलिनुपर्ने त नेपालीहरूमा रहेको लुम्बिनी र कपिलवस्तु उही हो भन्ने बुझइ हो ।

दुवैतिर कपिलवस्तु

इ.पू. ५६३ को वैशाख पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भयो । तिनै सिद्धार्थ गौतम इ.पू. ५२८ मा बुद्धत्व प्राप्तिपछि आजपर्यन्त गौतम बुद्धको नामबाट चिनिएका छन् । उनको जन्मस्थल बौद्ध अनुयायीहरूका लागि त संवेजनीय स्थल बन्यो नै, संयुक्त राष्ट्रसंघीय निकाय यूनेस्कोको विश्वसम्पदा सूचीमा पनि पर्‍यो । गौतम बुद्धको गृहनगर प्राचीन कपिलवस्तु भने विल्कुलै फरक कुरा हो ।

प्राचीन कपिलवस्तु लुम्बिनीबाट पश्चिममा पर्ने कुरा पक्का हो । पक्का कुरा के पनि हो भने, कपिलवस्तुमा पाइएको जस्तो पुरातात्विक अवशेषहरू नेपाल र भारतका अन्य ठाउँहरूमा पनि पाइएका छन् । यही आधारमा नेपालीहरू नेपालमा र भारतीयहरू भारतमा प्राचीन कपिलवस्तु पर्छ भन्ने दाबी गर्छन् । उहिलेको कपिलवस्तु गणराज्य आजको नेपाल, भारत दुवैतिर पर्ने यथार्थ स्वीकार्न नसक्नु यो समस्याको जड हो ।

वास्तविकता के हो भने, नेपालको तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान, सगरहवा आदि जस्तै भारततर्फको पिपरहवा, गनवरियालगायतका स्थलले पनि प्राचीन कपिलवस्तुको अवस्थिति जनाउँछ । भारतीय भूमिमा त ‘कपिलवस्तु’ नामै अंकित तीनवटा अभिलेख फेला परेका छन् । यसको अर्थ, नेपालको कपिलवस्तु होइन भन्ने विल्कुलै होइन । अहिले नेपाल–भारत दुवैतिर परेबाट प्राचीन कपिलवस्तुलाई साझ सम्पदा मान्नुपर्ने हुन्छ ।

कसैले बुद्धलाई भारतीय भन्दा जन्मस्थल (लुम्बिनी) नभएर गृहनगर कपिलवस्तुको आधारमा भनिरहेको हुन्छ । त्यसबाहेक बुद्धसँग सम्बन्धित स्थलहरू नेपालमा भन्दा बढी भारतमा छन् । बौद्ध धर्मसम्बन्धी गतिविधि पनि भारतमै नै बढी हुने हुनाले नेपाली दाबी प्रायः फितलो हुने गरेको छ । बुद्धलाई भारतीय हुन् भन्नेहरूले पनि बुद्धको जन्मस्थल नेपालको लुम्बिनीलाई नै मान्छन् । नेपालमा भने बौद्ध स्थलहरूबारे सामान्य जानकारी राख्नुभन्दा भावना र उत्तेजनामा तथानाम गर्ने प्रवृत्ति बढी छ । सर्वसाधारणदेखि राष्ट्रियस्तरको बौद्ध संस्था धर्मोदय सभा र पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीसम्म यो प्रवृत्तिमा लतारिएको देखिन्छ (हे. http://www.zoomnp.com/9096/) । यसले के पनि देखायो भने, नेपालीहरू नेपालकै विषयवस्तुमा हल्काफुल्का जानकारी राख्छन् ।

बौद्ध समाजमा सामान्य भिक्षुलाई पनि संघको प्रतिनिधि मानेर आदर–सम्मान गर्ने समान स्वभाव हुन्छ । त्यही कारण, दलाई लामाप्रति जनाइएको प्रतिक्रियालाई अन्य बौद्ध सम्प्रदायहरूले पनि निको मान्न सकेन । बौद्ध समाजमा गहनाको रूपमा लिइने ‘चतुब्र्रह्म बिहार’ अन्तर्गतको मैत्री, करुणा, मुदिता र उपेक्षामध्ये यस प्रकरणमा बौद्धहरूले उपेक्षा भावलाई बलियो बनाएको देखिनु सुखद पक्ष हो ।

comments powered by Disqus

रमझम