‘नेपाल’ बारे नयाँ बहस

Share:
  

दक्षिणएशियाको सबैभन्दा पुरानो देश हो, नेपाल । तर, यो देशको नाम ‘नेपाल’ नै किन र कसरी रहन गयो ? जवाफ खोज्न विद्वानहरू इस्वी संवत्को चौथो शताब्दीदेखि प्रयोगमा आउन थालेको ‘नेपाल’ शब्द वरिपरि घोत्लिन पुग्छन् । भलै उनीहरूबीच नै मतैक्य पाइँदैन । अधिकांशले प्राप्त तथ्य वा आफ्नो अध्ययनको क्षितिजभित्र रहेर ‘यो नै अन्तिम सत्य हो’ भनी व्याख्या गरेको देखिन्छ । दिवाकर आचार्य लिखित नीपजन र नेपालः एउटा छोटो आद्य—इतिहास त्यसैको पछिल्लो सिलसिला हो ।

पुस्तकमा ‘नेपाल’ सम्बन्धी कल्पना र अड्कलको सप्रमाण आलोचना गरिएको लेखकको दाबी छ । भारोपेली भाषाविज्ञान र संस्कृत व्याकरणको नियमका आधारमा नेपाल शब्दलाई भारोपेली शब्द मान्नुपर्ने पुस्तकको निष्कर्ष छ । लेखकका अनुसार तेस्रो–चौथो शताब्दीअघि देश र जनता दुवैलाई नीप भनिन्थ्यो । त्यही देशवाची नीप शब्दबाट देशकै अर्थमा आ+ल प्रत्यय भएर नेपाल शब्द बनेको पुस्तकमा उल्लेख छ । पुस्तकमा भनिएको छ, ‘–आल पदांश पूर्ववर्ती लेखकद्वय क्रिस्टियन लासेन र ज्ञानमणि नेपालले माने झैं कुनै शब्द होइन, प्रत्यय मात्र हो ।’

पुस्तक नीपजन र नेपाल एउटा छोटो आद्य–इतिहास

लेखक दिवाकर आचार्य

प्रकाशकः मार्टिन चौतारी

पृष्ठ ६८+१४

मूल्य रु.२००

नेपाल शब्दको व्युत्पत्ति सम्बन्धमा सन् १८४७ मा क्रिस्टियन लासेन, १८९३ मा लरेन्स वाडेल, १९०५ मा सिल्वाँ लेभी हुँदै कमलप्रकाश मल्ल, ज्ञानमणि नेपालसम्मले गरेका विश्लेषणलाई पुस्तकले सप्रसङ्ग खण्डन गरेको छ । ती विद्वानहरूले सही विश्लेषण नगरेको मात्रै होइन महत्वपूर्ण सामग्री छुटाएको, ठोस प्रमाण दिन नसकेको, भावनात्मक बहकाउमा लागेको आचार्यको धारणा छ । नेपाल शब्दको व्युत्पत्ति भोट बर्मेली भाषिक परिवारबाट सिद्ध गर्न खोजेका कमलप्रकाश मल्लको प्रयत्नलाई पुस्तकमा बौद्धिक व्यायाम र मनोविनोदको संज्ञा दिइएको छ । ठोस प्रमाण दिन नसके पनि धेरैले विविध कारणले मल्लको दृष्टिकोण अंगीकार गरेको भनिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयमा स्पाल्डिङ प्राध्यापक आचार्यले सबैभन्दा बढी शब्द ज्ञानमणि नेपालको ‘नेपाल निरुक्त’ र ‘नेपालको व्युत्पत्ति बराला उपपत्ति’ को खण्डनमा खर्चेका छन् । महत्वपूर्ण र उपयोगी सामग्री संकलन गरे पनि ज्ञानमणिले नेपाल शब्दको निर्वचन प्रक्रिया पूरै खुट्याउन नसकेको लेखकको जिकिर छ । ज्ञानमणिले प्रमाणाभास मात्रै प्रस्तुत गरेको, भ्रमोत्पादक प्रमाण अघि सारेको, पातञ्जल महाभाष्यको प्रसंग सम्बन्धी व्याख्यामा प्रशस्त त्रुटि गरेको लगायत दर्जनभन्दा बढी आरोप लगाइएको छ ।

नेपाल शब्दको व्युत्पत्ति विषयमा कलम चलाएका पूर्ववर्ती लेखक÷अनुसन्धानकर्तामाथि खनिएका लेखक स्वयंले पनि प्रमाणभन्दा बढी अनुमान र अड्कललाई नै जोड दिएका छन् । जस्तो पृष्ठ ७ मा लेखिएको छ, ‘...यसरी वाडेलले आफूले देखे–भोगेका कुरा नेपाल शब्दको अर्थमा खोजे । यी सबै अन्दाजका कुरा थिए ।’ तर के आधारमा वाडेलको भनाइ अन्दाज मात्रै थिए भन्ने कुरा पुस्तकमा खुल्दैन ।

जातिवाचक नीप शब्द र व्याकरण महाभाष्य शीर्षकको अन्तिम वाक्यमा भनिएको छ, ‘नीपहरूलाई पशुपालक गणजाति भन्नु नेवारजति सबैलाई व्यापारी वैश्य वा अहिले चलेको हौवाअनुरुप आदिवासी जनजाति भन्नुजस्तै हो ।’ देशको संविधान र संयुक्त राष्ट्रसंघले समेत स्वीकारेको आदिवासी जनजाति शब्द लेखकका लागि ‘हौवा’ बनेको छ । उनलाई पत्याउने हो भने संविधानमा समानुपातिकबाट प्रतिनिधित्व गराउन लागिएको ६ वटा समुदायगत ‘क्लस्टर’ लाई पनि औचित्यहीन मान्नुपर्ने हुन्छ ।

अर्को प्रसंगमा लेखक ‘नीपवंशका मूलपुरुष नीप र ऋग्वेदका मन्त्रद्रष्टा ऋषि नीपातिथि अलग–अलग व्यक्ति नभई एकै हुन् भन्ने मलाई लाग्छ’ (पृ. ४६) भन्छन् । यस्ता थुप्रै प्रसंगबाट भावना नभई प्रमाणका आधारमा मात्र बोल्ने लेखक स्वयंको दाबीमा खोट देखिन्छ । उनी आफैंमा प्रशस्त कुण्ठा रहेको आभास पाइन्छ ।

नेपाल शब्दको व्युत्पत्ति गर्दा विगतमा त्रुटि हुनसक्छन् र त्यसमा लगातारको गहन अनुसन्धान आवश्यक छ । नीपजनबारे उपलब्ध सामग्रीहरूको संयोजन, प्रस्तुति र तिनको विश्लेषण गर्ने लेखकको प्रयास प्रशंसनीय छ । यस सम्बन्धमा थप अध्ययन गर्न चाहनेका लागि पुस्तक नपढी नहुने बलियो सन्दर्भ सामग्री बनेकोमा पनि कुनै सन्देह छैन ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम