पोथीप्रधान जल–अप्सरा

Share:
  
- कमल मादेन
जल–अप्सरा चरामा भालेको होइन, पोथीको मर्जी चल्छ।

पानीमाथि तैरिएका पातमाथि हिंडडुल गर्न रुचाउने चरा समूह ‘ज्याकाना’ का दुई प्रजाति नेपालमा पाइन्छन् । यो समूहको विरलै पाइने एक प्रजाति ‘पिजन्ट टेल्ड ज्याकाना’ हो । बिक्रम ग्रेवाल तथा अरुहरु लिखित ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बर्डस् अफ नेपाल’ (सन् २०१७) शीर्षक पुस्तकमा यसका तीनवटा फरक रुपमा तस्वीर छन् । नेपालका चरा सम्बन्धी केही पुस्तकमा यसको नाम जल–अप्सरा लेखिएको छ ।

तस्वीर : बिशप ताम्राकार/यात्रा थुलुङ राई

वन्यजन्तुमा पोथीभन्दा भाले ठूलो र सुन्दर हुने गरेकोमा जल–अप्सराका भाले र पोथीको रुपरंग उस्तै देखिन्छ भने आकारमा पोथी ठूलो हुन्छ । प्रजनन्को मौसम आएपछि भाले, पोथी दुवैको पुच्छरमा तीन–चार वटा लामा प्वाँख थपिन्छन् । पोथीले वर्षमा १० वटा जति भालेसँग संसर्ग गर्छे । एउटा भालेसँग अण्डा पार्दासम्म मात्र बस्छे र अर्को छिमल बचेराको लागि अर्कै भालेको खोजीमा लाग्छे । भाले चाहिं अण्डा कोरल्ने र बचेरा हुर्काउने काममा व्यस्त हुन्छ । इटालीका जी.ए. स्कोपोलीले सन् १७८६ मा विश्वलाई यो चरा चिनाएका हुन् । द स्टेट्स अफ नेपाल्स बर्डस् : द नेशनल रेड लिष्ट सेरिज (२०१६) अनुसार, ब्रायन हड्सनले १८२९ मा काठमाडौं उपत्यकामा लामाऔले फेला पारेका थिए । फोटोग्राफर बिशप ताम्राकारले चार वर्षअघि सुनसरीको पकलीमा यो चराको संसर्गरत दुर्लभ तस्वीर खिचेका थिए । त्यसअघि अर्का फोटोग्राफर यात्रा थुलुङले विराटनगरको बरगाछी पश्चिमको पोखरीमा बचेरा (पहेंलो घेराभित्र) चराउँदै गरेको अर्को दुर्लभ तस्वीर खिचेका थिए ।

comments powered by Disqus

रमझम