प्रष्ट पुनःनिर्माण

Share:
  
- सहिना श्रेष्ठ
१९९० सालको महाभूकम्पमा भत्किएको पाटनको भाइदेग मन्दिरको २०७२ सालको महाभूकम्पपछि वास्तविक पुनःनिर्माण हुँदैछ।

बिक्रम राई
पुरानो तस्वीर हेरेर त्यसै अनुसार काठमा नक्कल उतार्दै काष्ठ कलाकार ।
मन्दिर र चोकहरूले पाटन शहरको संस्कृति जीवन्त छ तर, यही पाटन दरबारस्क्वायरको उत्तरपश्चिम कुनोस्थित भाइदेग मन्दिरमा कोही नआउँदा ७० वर्षीया मोहन मैयाँ झालाई दुःख लाग्छ । झाको परिवारले पुस्तौंदेखि यो मन्दिरमा पूजा गरिरहेका छन् ।

नजिकैका मन्दिरमा भक्तको घुइँचो लागिरहँदा भाइदेगलाई भने एकादुईले मात्रै सम्झन्छन् । पर्व र सांस्कृतिक गतिविधिको जिम्मेवारी पाएको गुठी संस्थानले त मन्दिरलाई पहिल्यै बिर्सिसकेको छ ।

काठमाडौं उपत्यकाको अभौतिक सम्पदा (इन्ट्यान्जिबल हेरिटेज) संरक्षणका लागि भौतिक सम्पदा जोगाउनु किन जरुरी छ भन्ने उदाहरण हो, भाइदेगको कथा ।

अहिले भाइदेग मन्दिर यसको मौलिक तीनतले प्यागोडा शैलीमै पुनर्संरचना भइरहेको छ । योसँगै मन्दिरको महत्व पनि पुनस्र्थापित हुनेमा झा आशावादी छिन् । भन्छिन्, “अब मानिसहरू यहाँ आउन थाल्नेछन् र शायद भगवान शिवलाई स्मरण गर्दै ठूलो साउने मेला पनि लाग्ला ।”

राजा र राजपरिवारले बनाएका दरबार क्षेत्रका अन्य मन्दिरभन्दा भिन्न भाइदेग मन्दिर १७३५ सालमा एक सामान्य नागरिक भगिरथ भैयाले निर्माण गरे । बनारसको काशी विश्वनाथ मन्दिरको सम्झना गराउने यो मन्दिर निर्माण हुनुभन्दा ९ वर्षअघि त्यो मन्दिर मुगल सम्राट औरंगजेबले भत्काइदिएका थिए ।

१९९० को भुईंचालोले भत्काउनुअघिसम्म यो मन्दिर यसक्षेत्रकै दोस्रो अग्लो थियो । त्यसपछि पाटन दरबार क्षेत्रका अन्य संरचना मौलिक स्वरुपमै पुनःनिर्माण गरिए पनि यो मन्दिर भने मुगलकालीन गुम्बज शैलीमा बनाइयो ।

भाइदेग पुनःनिर्माणको आर्किटेक्चरल डिजाइन ।
“मन्दिरलाई मौलिक शैलीमै पुनःनिर्माण गर्नुपर्ने ठान्यौं, किनभने १९९० को भूकम्पपछि समयमै पुनःनिर्माण नहुँदा उपत्यकाका धेरै सम्पदा हामीले गुमाइसकेका छौं”, मन्दिर पुनःनिर्माणका लागि गठित सांस्कृतिक सम्पदा पुनःनिर्माण समूहका उपाध्यक्ष कनकमणि दीक्षित भन्छन्, “मन्दिर बनाउने व्यक्तिको सम्मान खातिर मात्र होइन शताब्दियौंदेखि मन्दिरको प्रशंसा गरेका मानिसहरूका लागि पनि यसलाई मौलिक रुपमै फर्काउनु जरुरी थियो ।”

भाइदेग पुनःनिर्माण २०७२ सालको भूकम्पको दुई महीनाअघि थालिएको हो । संरक्षणविद्, अभियन्ता, इतिहासविद् र शुभेच्छुकहरूको सहयोगमा गठित पुनःनिर्माण समूहले जर्मनीमा फेलिक्स ब्रान्टको संग्रहमा रहेको मन्दिरको तस्वीर पत्ता लगायो । १९७७ सालतिर खिचिएको उक्त तस्वीरबाट मौलिक भाइदेगको आकार र डिजाइनबारे बुझ्न सहयोग पुग्यो ।

मन्दिरका कतिपय काठ र खाँबा पनि पाटन दरबार संग्रहालयको स्टोरमा भेटियो । सन् १८५३ मा हेनरी ओल्डफिल्डले बनाएको पहिलो तलाको पानी रंगको चित्रकलाको मद्दतले ती खम्बा मन्दिरकै हुन् भन्ने प्रमाणित पनि भयो । पछिल्लो भूकम्पले पुनःनिर्माण केही ढिलो त भयो तर, यसले अझै राम्रो बनाउन अवसर पनि मिलेको संरक्षण आर्किटेक्ट रोहित रञ्जितकारको भनाइ छ । “भूकम्पअघि भएकै जगमा पुनःनिर्माण गर्ने योजना थियो तर भूकम्पपछि जग थप बलियो बनाएका छौं”, रञ्जितकार भन्छन् ।

काठ, माटो र ईंटाको प्रयोग गरिएको पुनःनिर्माण कार्यमा सकेसम्म परम्परागत शैली पछ्याइएको छ । जग र भुईंतलाको काम सकिएको छ । ढोका पनि राखिसकिएको छ । “अचेल संरक्षण र रेखदेखका लागि पहिले जस्ता गुठीहरू छैनन् । त्यसबेलाको जस्तो सीप, स्रोत र ज्ञान पनि छैन, त्यसैले दीर्घकालीन योजना बनाउनु जरुरी छ”, रञ्जितकार भन्छन् ।

१९९० सालको भुईंचालोले भत्काउनुअघिको मन्दिर र भत्किसकेपछि (तल)

पुनःनिर्माणका लागि अनुमानित लागत रु.६ करोडमध्ये आधा ललितपुर महानगरपालिका, नर्वेली दूतावास र नेपाल इन्भेष्टमेन्ट ब्यांकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सहयोग गरेका छन् । बाँकी रकम पनि संकलन गर्न सकियो भने यो आयोजना पूरा हुन तीन वर्ष पनि लाग्ने देखिंदैन ।

पुनःनिर्माणपछि भाइदेग फेरि पाटन दरबार क्षेत्रको दोस्रो अग्लो मन्दिर बन्नेछ । यसले आर्थिक उत्प्रेरक भूमिका निर्वाह गर्ने त छँदैछ, ऐतिहासिक हित पुनर्जीवित गर्ने, स्थानीय पहिचान बलियो पार्ने र अन्यत्र यस्तै परियोजनाका लागि प्रेरित गर्ने अपेक्षा पनि गरिएको छ ।

comments powered by Disqus

रमझम