पाटनढोकामा पौभा

Share:
  
- सविता श्रेष्ठ
पाटन शहरको मुख्य प्रवेशद्वार पाटनढोकाका भित्ता अष्टमातृका देवीका मौलिक पौभाकलामार्फत रङ्गिदैछन्।

नेपाल संवत् शुरु हुने हरेक वर्ष ललितपुरस्थित पाटनढोका रङरोगन गरिन्थ्यो । ‘न्ह्यूदया भिन्तुना’ लेखेर पाटनवासीलाई शुभकामना दिइन्थ्यो । तर, अब पाढनढोका पौभाकलाबाट सजिनेछ । स्थानीय शान्ति युवा क्लबको सक्रियतामा चित्रकार लोक चित्रकार आफ्नो टोलीसहित यस कार्यमा खटिइसकेका छन् । “अब पहिला पहिला जस्तो संवत् फेरिने बित्तिकै लेख्नुपर्ने बाध्यता रहँदैन” चित्रकार भन्छन्, “वर्षौं वर्ष परिवर्तन गर्नु नपर्ने गरी पौभा चित्र बनाउन लागिएको हो ।”

पौभा चित्रकार लोक चित्रकार ।

पाटनढोकामा बन्ने पौभा चित्रको खास विशेषता छ । ढोकाका वरिपरि एक होइन, आठ देवीका चित्र बनाइनेछ; जसमा महालक्ष्मी, महाकाली, वाराही, कौमारी, रुद्राणी, ब्रह्माणी, इन्द्राणी र वैष्णवी छन् । ती सबैलाई अष्टमातृका देवी भनी पुकारिन्छ । नेवारी संस्कृतिमा हिन्दू र बौद्ध धर्म दुवैको प्रभाव छ । अष्टमातृकामा पनि दुवै धर्मावलम्बीको समान आस्था पाइन्छ ।

आध्यात्मिक सुरक्षा

पाटनढोका कसरी सजाउने ? स्थानीय शान्ति युवा क्लबका पदाधिकारीबीच सधैंको छलफलको विषय यही हुन्थ्यो । यही क्रममा क्लबले गत कात्तिक महीना शहरका प्रबुद्धहरूसँग छलफल पनि गर्‍यो । त्यहीं निस्कियो– पौभा चित्रकलामार्फत अष्टमातृका बनाउने सोच । पाटन संयुक्त क्याम्पसका नेपाल भाषा केन्द्रीय विभाग पूर्व प्रमुख तुलसीलाल सिंहले यो प्रस्ताव गरेका थिए । “नेवारी संस्कृतिमा भित्ताहरूमा चित्र कोर्ने प्रचलन हराउँदै गएको छ” क्लबका अध्यक्ष शेखर महर्जन भन्छन्, “त्यसको संरक्षणका लागि पनि यो प्रस्तावमा सबै सकारात्मक देखिए ।”

विभागका पूर्व प्रमुख सिंहका अनुसार मल्लकालदेखि नै देशको सुरक्षाका लागि आध्यात्मिक र भौतिक दुवै विधि उपयोग गरिंदै आएको थियो । “भौतिक रुपमा चारैतिर पर्खाल, पर्खाल बाहिर पानीको खाल्डो, किल्ला बनाइन्थ्यो भने आध्यात्मिक रुपमा अष्टमातृका देवीको मूर्ति स्थापना गरिएको हुन्थ्यो”, उनी भन्छन् । सिंहका अनुसार, श्रीनिवास मल्लको शासनकालमा कुनु शर्माले लेखेको कीर्तिपटाका पुस्तकमा पाटनमा भएका ढोकाहरूबारे उल्लेख छ । दुईतिर पिलर भएका ढोकाहरू प्रत्येक सीमा क्षेत्रमा बनाइएको थियो, जसमध्ये अधिकांश मासिइसकेका छन् ।

कागजबाट पाटनढोकाको भित्तामा उतार्दै अष्टमातृकाको चित्र।

पाटनका अरु ढोकाको नाम टोलकै नामबाट राखिएको तर, पाटनढोकाको नाम भने पाटन (तत्कालीन देश) कै नामबाट जुराइएकाले पनि यसको खास महत्व भएको बताइन्छ । नेपाल भाषामा भने पाटनढोकालाई ‘यलः ध्वाखाः’ भनिन्छ । ‘यलः’ ले पाटन र ‘ध्वाखाः’ ले ढोका जनाउँछ ।

सिंहका अनुसार, १९९० सालको भूकम्पमा भत्किनुअघि पाटनढोकामा बुर्जा, नागदेवता, लोकेश्वरमुनि, सिंहको मूर्ति समेत राखिएको थियो । तर, १९९१ सालको पुनःनिर्माणमा पहिलेको भन्दा भिन्न डिजाइनमा बनाइयो । पाटनढोकाको दुवैतर्फ गणेश र कुमारका मूर्ति छन् । सेतो र रातो मत्स्येन्द्रनाथको प्रतीकका रूपमा दुईवटा पद्मपाणि पनि राखिएको छ ।

पुनःनिर्मित पाटनढोका धेरै पछिसम्म सादा थियो । निकैपछि स्थानीयवासीले शुभकार्यमा प्रयोग गरिने सुगा, कलश, आँखाको चित्र बनाउन थालेका थिए ।

मौलिक कलाको जगेर्ना

पौभाकलामा भित्तेचित्र र ग्रन्थचित्र अन्तरनिहित हुन्छ । देशकै पुरानो र मौलिक शैली भएकोले पनि चिरकालसम्म स्मरण रहिरहोस् भनेर ढोकामा पौभाकला उतार्न लागेको कलाकार चित्रकार बताउँछन् । अहिले पनि कतिपय दरबार, मठमन्दिरका भित्ताहरूमा पौभाकला देखिन्छ ।

तस्वीरहरुः बिक्रम राई
पौभा चित्र कोर्नको लागि पाटनढोकामा रंगरोगन गरिंदै ।

यतिबेला ढोकाका दुई ठूला पिलरमा दुवैतर्फ चित्र बनाइँदैछ । एउटा पिलरमा एकातर्फ दुई देवीको चित्र कोरिनेछ । प्रत्येक चित्र चार फिट चौडा र साढे पाँच फिट अग्ला हुनेछन् । त्यसका लागि चित्रकारको टोलीले एक महीना अघिदेखि कागजमा चित्र कोर्न थालेको थियो । अहिले सोही चित्रलाई ढोकामा उतार्ने काम भैरहेको छ । चित्रकार ‘प्रतिमा लक्षण विधान’ अनुसार कुन देवी कसरी बसेकी छिन्, हातमा के समातेकी छिन्, वाहनादिलगायत साना साना कुरामा ध्यान दिने प्रयास गरिएको बताउँछन् ।

अष्टमातृकाको चित्र कागजमा तयार गर्दै कलाकारहरु ।

प्रवेशद्वारमा अष्टमातृका बाहेक दुवैतिर कुँदिएका गणेश, कुमारका मूर्ति, पद्मपाणिलाई सुहाउँदो रंग लगाइनेछ । यस्तै, कुमार र गणेशलाई पुष्पवृष्टि गरिरहेका चार परीको चित्र पनि थपिंदैछ । दुईतिरका साना ढोकामा तोरण बनाइनेछ । “अष्टमातृका देवीको प्रतिमा लक्षण बुझ्न खोज्नेले अब पाटनढोका आए पुग्छ” चित्रकार भन्छन्, “पर्यटकको आकर्षण पनि बन्न सक्छ ।” पौभाकलाका लागि रङ एशियन पेन्ट्सले सहयोग गरेको छ । चित्रकारहरूको टोलीले पनि पैसा नलिई काम गरिरहेको क्लबका अध्यक्ष शेखर महर्जन बताउँछन् । कलाकार चित्रकारसँगै यो टोलीमा रविन महर्जन, सुमन शाक्य, हनी श्रेष्ठ, लक्ष्मी शाक्य र प्रियंका बज्राचार्य छन् ।

comments powered by Disqus

रमझम