२४ मंसिर - १ पुस २०७४ | 10-16 December 2017

बढ्दै बिरालो प्रेम

Share:
  

कुन्द दीक्षित
नेहा डंगोल ।
मुसाबाट अन्न जोगाउन घरमा बिरालो पाल्ने चलन पुरानै हो । तर पछिल्लो समय धानका भकारी नभएका घरहरूमा पनि बिरालो पाल्न थालिएको छ ।

तीन वर्षअघि घुम्दै आएको बिरालो घरमै बस्न थालेपछि भक्तपुर, सूर्यविनायककी समीक्षा भट्टराईलाई बिरालो मन पर्न थाल्यो । तर, एक वर्षअघि त्यही बिरालो अचानक हरायो । यतिञ्जेलसम्म उनलाई बिरालोको बानी परिसकेको थियो । बिरालो विना बिरानो लाग्न थाल्यो । त्यसैले बिरालोको सानो बच्चा ल्याएर पाल्न थालिन् । “सधैं सँगै बसिरहन्छ, बिरालो साथी भएको छ”, भट्टराई भन्छिन् ।

त्यसो त नेपाली समाजमा बिरालोले बाटो काटे, देखे अशुभ हुने, घरमा बिरालो ल्याउनै नहुने जस्ता थुप्रै अन्धविश्वास छन् । यस्ता अन्धविश्वास हटाउँदै सबैमा बिरालोप्रेम बढाउन ललितपुर, पुल्चोककी नेहा डंगोलले दुई वर्षदेखि बेवारिसे बिरालाका बच्चाको उद्धार र हेरचाह अभियान थालेकी छन् । यसका लागि क्याटमाण्डु लभर्स संस्थासमेत खोलेकी छिन् । डंगोल स्वयंले बिरालो पाल्न थालेको चार वर्ष भयो ।

सजिलै हेरचाह

डंगोलको अनुभवमा, घरपालुवा अन्य जनावरको तुलनामा बिरालो पाल्न सजिलो छ । समय समयमा खानेकुरा दिने र घाउचोट लाग्दा बाहेक बिरालोको लागि विशेष हेरचाह नचाहिने उनी बताउँछिन् । भन्छिन्, “धेरै हेरचाह गर्नुपर्दैन, मान्छेको बच्चा जस्तै खेलिरहन मन पराउँछ, एक्लोपन अनुभव हुन दिंदैन ।”

क्याटमाण्डु लभर्सले सडकबाट उद्धार गरेका बिरालो स्वस्थ बनाई अरुलाई पाल्न दिने गरेको छ । संस्थाबाट लगेर बिरालो पाल्नेमा स्वदेशी विदेशी सबै छन् । अधिकांशले स्थानीय जातकै बिरालो पालेका छन् । केहीले भने आयातीत प्रजाति पनि भिœयाएका छन् । “पहिले कालो बिरालो अशुभ मानिन्थ्यो तर अहिले कालो बिरालो नै पाल्न खोज्नेहरू बढेका छन्”, उनी भन्छिन् ।

बिरालोको बच्चाले जन्मिएको ७ देखि ९ दिनभित्र मात्र आँखा खोल्छ । आवाज ननिकाल्दासम्म यसको अवस्था थाहा पाउन सकिंदैन । बिरालो फोहोर ठाउँमा बस्न रुचाउँदैन । आफ्नो दिसापिसाब पनि खाल्डो बनाएर पुरिदिन्छ ।

त्यसो भन्दैमा घरमा बिरालो पालेपछि केही गर्नै नपर्ने भन्ने होइन । उपयुक्त बासस्थान, पोषणयुक्त खाना र सरसफाइमा ध्यान त दिनु नै पर्छ ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम