अमेरिकी मनोचिकित्सक नादिन रोजर्स जस्ता गायिकाका लागि यो साप्ताहिक आकर्षण हो । उनी भन्छिन्, “दिनभर जति थाके पनि, बेलुका समूह गायनमा पुग्दा हलुंगो महसूस हुन्छ । समूहमा मिलेर केही नयाँ सृजना गर्दा गज्जबको अनुभूति हुन्छ ।”
आन्दोलन, हड्ताल, नाकाबन्दी, ब्ल्याक आउट र कहिलेकाहीं भएको गोलीप्रहारका बीच साप्ताहिक अभ्यास र द्विवार्षिक कन्सर्ट गर्दै आएको ‘काठमाडौं कोरल’ यो साल ३५ वर्ष पुग्दैछ ।
सन् १९८२ मा पाटनस्थित आफ्नो निवासमा गायकहरूको एउटा सानो समूहलाई आमन्त्रित गर्दा करिन मेसर्सस्मित कोरलले ३५ वर्षसम्म अनवरत चल्छ भन्ने सोचेकी पनि थिइनन् । “त्यसबेला मैले चिनेजानेकामध्ये राम्रो पियानो हामीकहाँ बाहेक अरुसँग थिएन”, युनाइटेड मिसन टू नेपाल (यूएमएन) मा काम गरेकी करिन सम्झिन्छिन् । त्यो समूहमा मिसनका कर्मचारी र उनका श्रीमान मात्रै थिए ।
विशद् परम्परागत संगीतको पृष्ठभूमिका यूरोपेलीसहित प्रत्येक वर्ष नयाँ सदस्य थपिंदै गए । गोरखाको आमपिपल अस्पतालमा कार्यरत मिसनकी चिकित्सक डाक्टर सिन्थिया हल कन्सर्ट पियानोवादका रुपमा गाँसिइन् ।
कोरलले काठमाडौंमा पश्चिमा शास्त्रीय संगीतको मिश्रण ल्यायो, जसमा मोजार्टको रेक्वियम, ह्याण्डलको मस्साया र रबर्ट शको अमेरिकी लोकगीत सामेल थिए । करिनपछि यो समूहमा डच संगीतकार एनेट डन्करलगायत १५ जना सञ्चालक आइसकेका छन् ।
अमेरिकी ब्रायन वारेनकाम्प पनि यो समूहमा लामै समय सञ्चालक रहे जसले बिटल्स मिडलेज र अन्य थुप्रै लोकप्रिय संगीत बजाए । उनीपछि २०११ मा लिंकन स्कूलकी शिक्षिका केटी लिनोउ आइन् । अहिले केटी कोरलमा क्रिसमस गीत गाउन नेपाल आएकी छन् । यस वर्षको शुरुदेखि हन्ना डोरनन्को ठाउँमा अमेरिकी संगीत शिक्षक कोलोडजी आएकी छन् ।
कोरलमा ३५ वर्षयता धेरै परिवर्तन भइसकेको छ, तर केही कुरा भने उस्तै छन्ः कोरलको खर्च सदस्यता शुल्कबाट उठाइन्छ र निःशुल्क कन्सर्टका बेला च्यारिटीका लागि सहयोग संकलन गरिन्छ । कोरल विभिन्न देश र पृष्ठभूमिका व्यक्तिहरूको गज्जबको मिश्रण भएको छ । यसले नेपाली गायकहरूलाई पनि पश्चिमा संगीतको प्रस्तुतिमा उभ्याएको छ ।
“कोरल विश्वका विभिन्न देशका मानिसहरू भेट्न सकिने दुर्लभ अवसर पनि हो”, नादिन रोजर्स भन्छिन्, “यो संगीतको प्रेम र वैश्वीकरणमा आधारित सामूहिक मित्रता हो ।”
लुसिया डि भ्रिज