चितवनदेखि चियोडासम्म

Share:
  
- कुन्द दीक्षित, टोकियोबाट
रोजगारीका लागि जापान पुगेका धेरै नेपालीले अध्यागमन कानूनको फाइदा उठाइरहेका छन्।

तस्वीरहरु: कुन्द दीक्षित
दीपकबाबु नेपाल, टोकियोको चियोडा वार्डस्थित भारतीय रेस्टुराँका सेफ ।
जापानमा विगत एक दशकमा नेपाली आप्रवासीको संख्या दश गुणाले बढेको छ । ७० हजार नाघिसकेको यो संख्या अन्य देशका आप्रवासीको तुलनामा छैटौं ठूलो हो ।

नेपालीको संख्यामा यतिविधि उछाल आउनुको मुख्य कारण जापानी अध्यागमन कानूनको छिद्रको दुरुपयोग हो । यसले श्रमशोषण र मानव तस्करी बढाएको मात्र छैन, जापानीमाझ् नेपालीको छवि समेत धमिल्याइरहेको छ ।

“जापान सरकार अध्यागमनको मुख्य ढोका खोल्न चाहँदैन, त्यसैले सस्तो श्रमशक्ति आपूर्तिका लागि जस्केलोबाट भित्रिनेहरूप्रति आँखा चिम्लिदिएको छ” टोकियोस्थित सोफिया विश्वविद्यालयका प्राध्यापक मासाको तानाका भन्छिन्, “रोजगारीको खोजीमा रहेका नेपालीले यसको फाइदा उठाइरहेका छन् ।”

सन् २००० को शुरूआतमा जापानमा खुलेका रेस्टुराँका लागि ‘कुक’ बनेर थुप्रै नेपाली ‘दक्ष कामदार भिसा’ मा भित्रिए । यसले अवैधानिक नेपाली आप्रवासीको संख्यामा गिरावट आयो । अहिले नेपालीहरूमा विद्यार्थी, ‘डिपेन्डेन्ट’ र प्रशिक्षार्थी भिसामा जापान आउने नयाँ लहर चलेको छ ।

राम्रो कमाइ, दक्षिणकोरियामा जस्तो भाषा परीक्षा दिनु नपर्ने र कामदार भिसा लागेपछि परिवार पनि ल्याउन पाइने हुँदा जापान नेपालीको रोजाइमा परेको हो । विद्यार्थी र ‘डिपेन्डेन्ट’ हरूले पनि साताको २८ घण्टा काम गर्न पाउने हुनाले मासिक रु.१ लाखभन्दा बढी त आम्दानी नै गर्छन् । यसरी ‘डिपेन्डेन्ट’ भिसामा भित्रिएका कैयन् श्रीमतीहरूले श्रीमान्भन्दा धेरै आम्दानी गरिरहेका पनि छन् ।

अहिले जापानमा नेपाल र भियतनामबाट ठूलो संख्यामा विद्यार्थी ओइरिएका छन् । सन् २००३ मा १६४ जना नेपाली विद्यार्थी जापान आएका थिए भने २०१५ मा १० हजार । जापान आउने नेपाली विद्यार्थीको संख्या अष्ट्रेलिया, भारत र अमेरिका जानेभन्दा बढी छ । तर, विद्यार्थी भिसामा पुगे पनि अधिकांशको उद्देश्य भने रोजगारी नै हुन्छ । जापानको भिसा मिलाइदिए बापत नेपाली कन्सल्टेन्सीहरूले रु.१५ लाखसम्म असुलिरहेका छन् ।

जापानमा अहिले १५०० भन्दा बढी नेपाली रेस्टुराँ छन्, जुन यहाँका थाई रेस्टुराँ भन्दा बढी हो । भारतीय रेस्टुराँमा पनि नेपाली कुक प्रशस्त भेटिन्छन् । प्रत्येक रेस्टुराँले तीनदेखि चार जनासम्म कुक विदेशबाट ल्याउन पाउने भएकाले भिसाका व्यापारीलाई जापानमा रेस्टुराँ खोल्नु आकर्षक खेलो नै बनेको छ । किनभने एक जनालाई जापान बोलाउँदा रोजगारदाता वा बिचौलियाले रु.२० लाखसम्म असुल्छन् ।

प्रदीप थापा, प्रिन्सिपल, एभरेष्ट इन्टरनेशनल स्कूल ।
कुनै बेला ‘लिटल कोरिया’ भनिने टोकियोको शिन–ओकुबो वार्ड अहिले ‘लिटल काठमाडौं’ नामले चिनिन थालेको छ । करीब १५ हजार नेपाली बसोबास गर्ने यहाँका गल्लीमा ‘नाङ्लो’, ‘आँगन’ जस्ता नेपाली नामका रेस्टुराँहरू लहरै छन् । नेपाली रेस्टुराँ ‘साकुरा’ मा ५०० येन तिरेपछि दालभात सल्याकसुलुक पारेर कलेज दौडने विद्यार्थीको घुइँचो नै लागेको हुन्छ ।

कुनै कुनै साँझ् भने फरक तमासा पनि देखिन्छ । रक्सीले मातेका नेपाली युवाको होहल्ला, छेडछाड र तोडफोडले प्रशासनलाई दिक्क पार्छ । त्यसैले सरकारले यस्ता नेपाली नियन्त्रण गर्न नेपाली भाषा बोल्ने सुरक्षाकर्मी खटाउन थालेको छ । “कडा श्रम र इमानदारीका कारण नेपालीहरू मन पराइएका हुन्, तर नयाँ पुस्ताका केहीको व्यवहारले भने नेपाली समुदायकै बदनामी भइरहेको छ”, नेपाली समाचार पोर्टल ‘समुद्रपारि’ का सञ्चालक तिलक मल्ल भन्छन् ।

दीपकबाबु नेपाल टोकियोको चियोडा वार्डस्थित भारतीय रेस्टुराँका सेफ हुन् । नेपालको छविबारे चिन्तित उनी स्थानीयलाई टोकियो सफाइ अभियानमा जुटाउँछन् र चितवनमा पनि यस्तै अभियानमा सक्रिय छन् । उनी यस्तो कार्यलाई ‘सोसल रेमिटेन्स’ ठान्छन् । “दश वर्ष अघिसम्म यहाँ नेपालीलाई निकै सम्मान गरिन्थ्यो, अहिले त नेपाली हुँ भन्न पनि लाज मान्नुपर्ने अवस्था छ” नेपाल भन्छन्, “तर यसलाई बदल्ने पनि हामीले नै हो ।”

धेरै नेपालीले राजनीतिक शरणका लागि निवेदन पनि दिएका छन् । उनीहरू निवेदनको टुंगोे नलाग्दासम्म महीनाको २८ घण्टाभन्दा बढी काम गर्न पाउँछन् । गत वर्ष मात्रै १५०० नेपालीले यस्तो आवेदन दिएका छन् । शरणार्थी निवेदन दिनेमा इन्डोनेसियालीपछि दोस्रो ठूलो संख्या नेपालीको छ ।

जापानका नेपालीमा ४० प्रतिशत महिला छन्, जसमध्ये अधिकांश डिपेन्डेन्ट भिसामा भित्रिएका हुन् । कतिपय किशोरीले कोठाभाडा जोगाउन पनि पुरुषहरूसँग एउटै आवास ‘शेयर’ गरिरहेका छन् । यसको नकारात्मक प्रभाव कस्तो छ भने शिन्जुकुमा हालै भित्रिएका महिलाहरूको गर्भपतनको दर देशकै उच्चमध्येमा पर्छ । गुन्मा र तोचिगी जस्ता ठाउँका सार्वजनिक स्थान र शौचालयमा फोहोर व्यवस्थापन र स्वच्छता कायम राख्न नेपाली भाषामै निर्देशनात्मक पोष्टर पनि टाँसिएका छन् ।

अभिभावकसँगै सन्तान पनि आउन थालेपछि जापानमा नेपाली बालबालिकाको संख्या ४ हजार नाघिसकेको छ । नेपाली बालबालिकालाई नै लक्षित गरी सुगिनामी वार्डमा अंग्रेजी माध्यममा पढाइ हुने एभरेष्ट इन्टरनेशनल स्कूल पनि खुलेको छ । “अधिकांश अभिभावक सन्तानले नेपाली भाषा संस्कृति बिर्सन लागेकोमा चिन्तित छन्, तर अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्ना नानीहरू अंग्रेजीमा पोख्त होउन् भन्ने पनि चाहना छ । पहिचानका लागि नेपाली र करिअरका लागि अंग्रेजी”, प्रिन्सिपल प्रदीप थापा भन्छन् ।

आर्थिक अवस्था कमजोर भएका नेपाली अभिभावक भने निःशुल्क शिक्षा पाइने भएकाले सन्तानलाई जापानी विद्यालयमै पठाउँछन् । हनेदास्थित एउटा रात्रिकालीन विद्यालयका अधिकांश विद्यार्थी नेपाली नै छन्, उनीहरूका अभिभावक नजिकै लञ्चवक्स तयार पार्ने र कुरिअर कम्पनीमा काम गर्छन् । जापानमा काम गर्नका लागि न्यूनतम उमेर १४ वर्ष तोकिएकोले रात्रि विद्यालयमा पढ्ने धेरै किशोरकिशोरी नजिकैको विमानस्थलमा विमानका क्याविन सफाइको काम गर्छन् ।

‘डिपेन्डेन्ट’ भिसा दुरुपयोगका पनि प्रशस्तै उदाहरण छन् । केही नेपाली किशोरहरूले आफ्ना नक्कली अभिभावकलाई रकम बुझउन नसक्दा दुर्घटना समेत हुने गरेको छ । हालसालै एक किशोरले नक्कली बाबुलाई महीनाबारी ५०० डलर तिर्न नसकेर कामाता ट्रेन स्टेशनमा हामफालेर आत्महत्या गरे । पछिल्लो दुई वर्षमा मात्रै करीब एक दर्जन नेपाली युवाले आत्महत्या गरिसकेका छन् ।

टोकियोमा विद्यावारिधि गरिरहेका मनोपरामर्शदाता विजय ज्ञवालीले अपेक्षा र वास्तविकताको तालमेल नहुँदा थुप्रै नेपालीले ज्यान गुमाइरहेको भन्दै जापान टाइम्स मार्फत प्रधानमन्त्री सिञ्जो आबेलगायतलाई पत्र नै लेखेका छन् । जापानको कृषि र भौतिक संरचना निर्माणका क्षेत्रमा नेपाली प्रशिक्षार्थीलाई उपलब्ध हुने भिसाको पनि उस्तै दुरुपयोग भएको पाइन्छ । जापान अन्तर्राष्ट्रिय प्रशिक्षण सहयोग संगठन (जिट्को) ले व्यवस्थापन गर्ने यस्तो प्रशिक्षार्थी भिसाबाट अप्रत्यक्ष रूपमा श्रमशोषण भइरहेको जानकारहरू बताउँछन् । किनभने नेपाली बिचौलियाहरूले यस्तो प्रत्येक भिसा बापत रु.६ लाखसम्म असुलिरहेका छन् । प्रशिक्षार्थी भिसामा जापान आइपुगेका अनुमानित ७०० नेपालीमध्ये एकतिहाइ मकवानपुरको एकै गाउँका चेपाङ र तामाङ महिला हुनु पनि रहस्यपूर्ण छ ।

अहिले बल्ल जापानी अध्यागमन विभागले विद्यार्थी, प्रशिक्षार्थी र कुकको भिसामा कडाइ गर्न थालेको छ, तर नेपालीहरूले ओकिनावा टापु भएर जापान पस्ने अर्को उपाय भेट्टाएका छन् । जापानका नोगोया र अन्य शहर जान प्रयासरत नेपालीको संख्या ओकिनावामा चिनियाँ र अमेरिकीको भन्दा धेरै छ ।

प्राध्यापक मासाको तानाका नेपाली कामदारलाई श्रमशोषणको जोखिमबाट बचाउन र रोजगारीको ग्यारेन्टी गर्न जापान सरकारले श्रम स्वीकृतिलाई व्यवस्थित गर्नुपर्ने बताउँछिन् । “जापानको अध्यागमन नीति यथार्थभन्दा धेरै टाढा छ”, उनी भन्छिन् ।

निश्चय नै । तर, दीपकबाबु नेपाल जापान सरकार भन्दा नेपालीकै व्यवहारमा समस्या देख्छन् । आफ्नो रेस्टुराँको चूलोमा नान सेक्दै उनी भन्छन्, “नेपालीलाई नेपालीले नै ठग्नु यहाँको मुख्य समस्या बनिरहेको छ ।”


‘नेपाललाई ऋण तिर्दैछु’

अजुमा तोयोहिशा (बायाँ) र तोहरु ताकाहाशी ।
छोरीसहितको परिवार धान्न धौधौ भएपछि अर्जुन सिंह सन् २०११ मा जापान पुगे । पाँच वर्षपछि क्षयरोग लागेर अस्पताल भर्ना भएका उनी केही समयमै नेपाल फर्किए । तर उनले कुनै काम पाएनन्, उल्टै रु.२२ लाख ऋण लाग्यो र फेरि जापान गए ।

एक दिन साइतामाको सडकमा हिंडिरहेका सिंहले कसैको क्रेडिट कार्ड भेट्टाए, तर, चलाएनन् । त्यसको केही दिनपछि गत मार्चमा एउटा बेग्लै विषयमा सोधखोज गरिरहेको प्रहरीले उनको वालेटमा त्यो कार्ड देख्यो । शिन्जुकुमा तीन दिन हिरासतमा राखेपछि उनलाई टोकियोका सरकारी वकील सामु प्रस्तुत गरियो, त्यहीं उनको प्राण गयो ।

सोलिडारिटी नेटवर्क विथ माइग्रेन्ट्स जापान संस्थाका अभियन्ता तोहरू ताकाहाशीले घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिंहलाई हत्कडीसहित घण्टौं चिसो भुइँमा राखेको तथ्य फेला पारे । प्रहरी यातनाकै कारण सिंहको मृत्यु भएको हुनसक्ने भन्दै ताकाहाशीले अजुमा तोयोहिशालगायतको सहयोगमा शवलाई नोगोयास्थित जेन मन्दिरमा ‘पोष्टमोर्टम’ गराए । मन्दिरका प्रमुख पुजारी ताकाओका र नागोयामा रहेका नेपालीहरूको सहयोगमा सिंहकी श्रीमती अम्बिका बुढालाई जापान बोलाइयो । र, मन्दिर परिसरमै शवको अन्त्येष्टि गरियो । अम्बिका अहिले श्रीमान्को मृत्युबारे जापानी अदालतको फैसला पर्खिरहेकी छिन् । “मलाई अहिले पनि सपना हो कि विपना जस्तो लाग्छ” गतसाता काठमाडौंमा भेटिएकी उनले भनिन्, “शव काठमाडौं ल्याउन सहयोग माग्दा टोकियोको नेपाली दूतावासका कर्मचारीले सहयोग त परको कुरा, उल्टै धम्काए । तर, जापानीहरूले सहयोग गरेकै कारण अस्तुसम्म ल्याउन सकें ।”

हजारौं नेपालीले जापानमा प्रगति गरिरहेका र स्वदेशमा रकम पनि पठाइरहेका छन् । तर यस्ता दुर्दान्त कथाको पनि कमी छैन । अजुमा तोयोहिशा र अन्य सहृदयीले सन् १९९७ मा जापानी महिलाको हत्या र चोरीको झूटो आरोपमा फसाइएका गोविन्द मैनालीको रिहाइका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । झूटो आरोपमा मैनालीले योकोहामाको बन्दीगृहमा १५ वर्ष विताउनु परेको थियो ।

तोयोहिशा र उनका मित्र जुन्को हासुमीले नै मैनालीको परिवारलाई आफ्नै खर्चमा जापानसम्म पुर्‍याएका थिए । प्रतिवादी पक्षका वकीलले नयाँ डीएनए प्रमाण पेश गरेपछि उनी अपराधमा संलग्न नभएको प्रमाणित भएको थियो । जापानी अदालतले सन् २०१३ मा सरकारसँग मैनालीलाई रिहा गर्न र क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

५० वर्षीय मैनाली गत महीना आफूलाई सहयोग गर्नेहरूलाई धन्यवाद दिन टोकियोमा थिए । विमानस्थलमा विदाइका बेला भावुक हुँदै उनले भने, “तपाईंहरू विना मेरो स्वतन्त्रता सम्भव थिएन । परिवन्दले मजस्तै जेल परेका नेपालीको सहयोगमा आफ्नो जीवन समर्पित गर्दछु ।”

तोयोहिशा किन सधैं संकटमा फसेका नेपालीको उद्धारमा जुट्छन् ? “ट्रेकिङ गाइडका रूपमा नेपालमा रहँदा मैले नेपालीमा आत्मसम्मान र इमानदारी देखें । उनीहरूको उदारमना र परदेशीप्रतिको सम्मानले म नतमस्तक भएको छु” तोयोहिशा भन्छन्, “अहिले नेपाललाई आफ्नो ऋण तिरिरहेको मात्र हुँ ।”

comments powered by Disqus

रमझम