घर हुँदाको आनन्द

Share:
  
- सविता श्रेष्ठ
भूकम्पमा घर भत्किएर लामो समय टहरामा बसेका पीडितहरु एककोठे भए पनि घर बनाएर बस्न पाउँदा प्रफुल्ल देखिन्छन्।

तस्वीरहरुः बिक्रम राई
फूलमाया नेपाली ।
१२ वैशाख २०७२ को बिहान रसुवाको उत्तरगया गाउँपालिका–५ माझ्गाउँकी सरस्वती विक छिमेकीको मेलामा थिइन् । ११:५६ बजे महाभूकम्प गएपछि हतार–हतार घर आउँदा तीन सन्तान त सकुशल थिए, छाप्रोमा रहेका चारवटा बाख्रा चाहिं आडैको घर भत्किएर पुरिए ।

भूकम्पपछि उनका श्रीमान् भरत काठमाडौंको काम छाडेर फर्किए । विक दम्पतीले छोराछोरीलाई कहिले खुला चउर, कहिले सामूहिक टहरो गर्दै भत्किएको घरको थुप्रो हटाएर बनाएको टहरामा राखे । टहराको टीनको छानो दुई पटक हुरीले उडाएपछि घर बनाउन कस्सिए । बलियो गरी टीनले छाएको घर बनाएपछि बर्खामा पनि सजिलो भएको सरस्वती बताउँछिन् । उनी भन्छिन्, “प्लाष्टर विना दुईकोठे घर बनाउँदा अनुदानको रकमले नपुगेर डेढ लाख ऋण लाग्यो ।”

रसुवाकै कालिका गाउँपालिका–३ इटपारेकी फूलमाया नेपाली (५०) पनि टहरोबाट टीनले छाएको एककोठे घरमा सरेकी छन् । अनुदानको रकमले जत्रो बनाउन सकिन्छ त्यत्रै घर बनाएको उनी बताउँछिन् । घर सानो भए पनि बसाइ टहरामा भन्दा कति हो कति राम्रो भएको उनको अनुभव छ । चाहिने सामान ल्याउन नजिकै सडक आएपछि घर बनाउन आँट आएको उनले बताइन् । नत्र अनुदानको पैसा सबै सामान बोकाउँदा नै सकिन्थ्यो । सरस्वती र फूलमायाको परिवार घर बनाउँदा बालुवा, गिट्टी, ईंटा बोक्न आफै खटियो । “दुई महीनामा तयार भएको घरमा पोहोरको दशैं अघि सरें” फूलमाया भन्छिन्, “ज्याला, मजदूरी गरेर खानुपर्छ, सरकारले दिएको सबै पैसाले यत्रै घर बन्यो ।”

भूकम्पीय आवास पुनःनिर्माण आयोजना, रसुवाका अनुसार जिल्लाका ११ हजार ६२९ भूकम्पपीडित परिवारमध्ये गत मंसीरसम्ममा १ हजार ४४० परिवारले मात्र तेस्रो किस्ता अनुदान पाएका छन् । रसुवामा लुमन्ती आवासको लागि सहयोग समूहले ३८० घर बनाउने जिम्मा लिएकोमा ३७८ वटा निर्माण भएका छन् । लुमन्ती रसुवा परियोजना संयोजक प्रवेश खनालले भूकम्पपीडितको लिष्टमा परेका लाभग्राही नै सम्पर्कमा नहुँदा दुई वटा घर नबनेको बताए । लुमन्तीले कालिका गाउँपालिका–३ को कटुञ्जे, धारापानी र इटपारे तथा उत्तरगया गाउँपालिका–४ को ढुङ्गे र वडानम्बर ५ माझ्गाउँका घरहरू पुनःनिर्माण गरेको छ । तीमध्ये अधिकांश घर बनाउन परिवारकै सदस्य खटेको खनालले बताए ।

सुशीला परियार बलामी परिवारसँग ।

इटपारेकै सुशीला परियार बलामी (२१) एककोठे भए पनि सुरक्षित घरमा बस्न पाउँदा टहराको बसाइ सम्झ्नि चाहन्नन् । माझ्गाउँकी मीरा विक (३८) ले रु.२ लाख ७० हजारमा जग्गा किनेर दुईकोठे घर बनाइन् । उनको टीनले छाएको घरमा प्लाष्टर र रङरोगन गर्न बाँकी छ । “सबै कुरा हामीले नजान्ने भएकोले उहाँहरू (लुमन्तीका कर्मचारी) ले भने जस्तै गर्‍यौं” उनी भन्छिन्, “ऋण लागे पनि घर बन्यो, त्यसैमा खुशी छु ।”

माझ्गाउँकै ओमकुमारी न्यौपाने (३९) दुईकोठे घरको फिनिसिङ गराउँदैछिन् । भूकम्पपछि दुई छोरासँग टहरामा बसेकी उनका श्रीमान् कृष्णबहादुर साउदी अरबमा छन् । लुमन्तीले सहयोग गर्ने भएपछि पक्की घर बनाउने आँट गरेकी उनी फिनिसिङ हुँदासम्म रु.१४ लाख खर्च हुने बताउँछिन् । “लुमन्तीका प्राविधिकहरूले नियमित रेखदेख पनि गरिदिएकाले सजिलो भयो” उनी भन्छिन्, “यो पुसभित्रै नयाँ घरमा सर्न खोजेकी छु ।”

‘कलेक्टिभ अप्रोच’

लुमन्तीले माझ्गाउँको घर पुनःनिर्माणमा नमूनाको रूपमा ‘कलेक्टिभ अप्रोच’ अपनाएको परियोजना संयोजक खनाल बताउँछन् । गाउँमा समिति बनाएर काम गराउँदा पुनःनिर्माण छिटो र सहज भएको उनको अनुभव छ । यो अवधारणामा लाभग्राही (भूकम्पपीडित) को खातामा लुमन्तीले जम्मा गरिदिएको पैसा निर्माण सामग्री पठाएका सप्लायर्सलाई ‘ब्यांक टु ब्यांक’ पठाउने व्यवस्था गरियो । सप्लायर्स छान्ने, सामान जाँचेर त्यसअनुसार ब्यांकबाट भुक्तानी गराउने काममा समितिलाई सक्रिय बनाइयो । यो विधि अपनाउँदा लाभग्राहीले ब्यांकबाट पैसा झ्किेर घरायसी खर्च गर्न पाएनन् । “धेरै घरलाई चाहिने सामान एकैपटक ल्याउँदा सस्तो भयो” परियोजना संयोजक खनाल भन्छन्, “धेरै घरको जिम्मा एउटै ठेकेदारलाई दिंदा काम पनि सस्तो र छिटो भयो ।”

ओमकुमारी न्यौपाने ।

इटपारेका २७ भूकम्पपीडित परिवारले अनुदानको पहिलो किस्ता लिएको एक वर्षमा पनि घरको जग हाल्न सकेका थिएनन् । धेरैले घर खर्चमा रकम सिध्याएका थिए । कालिका गाउँपालिका वडा नम्बर ३ को आवास पुनःनिर्माण संयोजक समेत रहेका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने घर बनाउने अवस्थामा नै नरहेपछि लुमन्तीको सहकार्यमा काम अगाडि बढाइएको बताउँछन् । लुमन्तीले गाउँपालिकासँगको समन्वयमा इटपारेमा ३१ वटा घर बनाएको छ । पहिलो किस्ता सरकारी अनुदान (रु.५० हजार) बाहेकको रु.२ लाख ५० हजार एकमुष्ट लाभकर्ताको खातामा जम्मा गरिदिएर घर बनाउन माझ्गाउँमै अपनाइएको विधि यहाँ पनि अपनाइयो ।

सरस्वती विक ।

किस्ता–किस्ता गरेर अनुदान रकम दिएको र लाभग्राही आफैंले झ्किेर खर्च गरेको भए इटपारेमा घर नबन्ने संयोजक न्यौपाने बताउँछन् । उनका अनुसार, इटपारेमा परिवारकै सदस्य खटिएर राहत रकमले पुग्ने गरी एककोठे घर बनाएका छन् । आवास पुनःनिर्माण समिति इटपारे गाउँका संयोजक कुमार बर्देवा घरकै मान्छे धेरै खटिएकाको राहत रकमबाटै प्लाष्टर र रङरोगन समेत भएको बताउँछन् । त्यस्तै ज्यालामा धेरै रकम खर्च गर्नेले प्लाष्टर र रङरोगन गर्न नसकेको उनी बताउँछन् । “एककोठे भए पनि बलियो घर बनेको छ” उनी भन्छन्, “आफ्नै घरमा बसेर सुरक्षित महसूस गर्न पाइएको छ ।”

रसुवामा इन्जिनियर र सामाजिक परिचालकहरूको रेखदेखमा तीनकोठे, दुईकोठे र एककोठे मोडल अनुसार घरहरू बनाइएको छ । ऋण नथपियोस् भनेर धेरै घर एक कोठाको बनाइएको परियोजना संयोजक खनालले बताए । एकल महिला वा अशक्तका घर बनाउँदा ज्याला, ढुवानी र रङरोगनमा थप सहयोग जुटाइयो । लुमन्ती संस्थाबाट सहयोग लिएर बनेका सबै घरमा शौचालयको लागि थप रु.१५ हजार उपलब्ध गराइएको छ । कालिका गाउँपालिकाका उपाध्यक्ष न्यौपाने लुमन्तीले समुदायसँग बसेर पारदर्शी तरिकाले काम गर्दा पुनःनिर्माण छिटो भएको बताउँछन् । उनी भन्छन्, “अरू ठाउँमा पनि यो अवधारणा अपनाएर काम गर्नुपर्ने देखियो ।”

(‘लुमन्ति आवासका लागि सहयोग समूह’को सहकार्यमा)

comments powered by Disqus

रमझम