भनिनसक्नु दुःख सोचिनसक्नु पीडा

Share:
  
- उन्नति चौधरी
पारिवारिक विखण्डन र घरेलु हिंसाको समस्याले आवासगृहमा पुगेका महिला र बालबालिकाको दुःखको कथाले पीडाको हद नाघ्छ।

हिंसामा परेका महिला तथा बालबालिकाका लागि कैलालीको अत्तरियामा सञ्चालित महिला तथा बालबालिका आवास गृहमा चार महिला र १० जना बालबालिका छन् । तीमध्येका ७ र ६ वर्षका दाजुबहिनी रमेश र सुष्मा साउद त्यहाँ आएको डेढ वर्ष भयो ।

बाबुआमा दुवै बेपत्ता भएपछि उनीहरू कैलालीको साविक गोदावरी गाविस–८ मा बड्डीबज्यै (आमाकी हजुरआमा) सँग बसेका थिए । पनाति–पनातिनीलाई घरमा राखेर पाल्दा नातिनी बुहारी रिसाउन थालेपछि बड्डीबज्यैले उनीहरूलाई आवास गृहमा ल्याएकी हुन् । रमेश र सुष्मा अहिले अत्तरियाकै विद्यालयमा कक्षा दुईमा पढ्छन् ।

बड्डीबज्यै धौली साउदका अनुसार रमेश एक वर्ष नपुग्दै बाबुले घर छाडेका थिए । सबैतिर खोजतलास गर्दा पनि नभेटिएपछि गर्भवती आमा लक्ष्मी माइती (डोटी) गइन् । अनौठो के भयो भने लक्ष्मी माइत पुगेको केही दिनपछि उनकी आमा पनि हराइन् । सुष्मा डोटीमै जन्मिइन् । त्यसको दुई वर्षपछि लक्ष्मी पनि अचानक बेपत्ता भइन् । त्यसरी क्रमैसँग हराएका रमेश र सुष्माका बाबु, मावली हजुरआमा र आमा हालसम्म फेला परेका छैनन् ।

सहाराविहीन बालबालिकालाई शुरूमा बड्डीबज्यै धौलीले एकल महिला भत्ता र दाउरा बेचेको पैसाले हुर्काइन् । अहिले पनि अत्तरिया बजारमा तरकारी बेचेर गुजारा गरिरहेकी ७५ वर्षीया धौली रमेश र सुष्मालाई भेट्न आवास गृह आइरहन्छिन् र भन्छिन्, “यिनीहरूलाई अब यो घरबाट ननिकालिदिनुहोला ।” कञ्चनपुरको लक्ष्मीपुर गाउँपालिकाकी अस्मिना चौधरी (६) पनि अत्तरियाको आवास गृहमा बस्छिन् । उनका बाबु सुग्रिम चौधरी तीन वर्षअघि बितेपछि आमा सीता डगौरालाई परिवारले हेला गर्न थाल्यो । त्यही क्रममा उनी छोरीलाई कैलालीको गेटास्थित दिदीको घरमा छाडेर बेपत्ता भइन् । अस्मिनालाई ठूलीआमाले नै आवास गृहमा ल्याइदिएकी हुन् ।

ठूलीआमा सरस्वती अस्मिनालाई आवास गृहमा ल्याउनुको खास कारण रहेको बताउँछिन् । उनका अनुसार, अस्मिनाका बाबु सुग्रिमको नाममा एक बिघा जमीन छ । त्यो जमीन हडप्न बाजेबज्यैले बुहारीलाई सताएका हुन् । अस्मिनामाथि पनि खतरा भएकोले सुरक्षित हुने ठाउँ खोजेर राखेको सरस्वतीको भनाइ छ । दुई कक्षामा पढिरहेकी अस्मिना विदामा कहिलेकाहीं ठूलीआमाको घर जान्छिन् ।

आवास गृहमा रहेका सबै बालबालिका एउटै विद्यालयमा पढ्छन् । तिनैमध्येका गोपाल सिजापति कक्षा दुईमा पढ्छन् । उनी भारतको गाजियावादमा बाबुआमासँगै बस्थे । ४ वैशाख २०७३ मा गाजियावादमै बाबु छविलालको हत्या भएपछि उनको दुर्दिन शुरू भयो । कामबाट फर्किरहेका श्रीमान्लाई लुटेराले मारेपछि छोरालाई लिएर कैलालीको गौरीगंगा नगरपालिका–११ चौमाल फर्किएकी आमा लीलाको पनि २३ पुस २०७३ मा करेन्ट लागेर मृत्यु भयो । अनाथ गोपाललाई फुपाजूले आवास गृहमा ल्याएका थिए ।

आवास गृहमा रहेका दुई दाजुभाइ वसन्त र रितेश बैजाली पनि गौरीगंगा नगरपालिका–११ कै हुन् । उनीहरूको कथा पनि उस्तै कारुणिक छ । रितेश तीन महीनाको छँदा क्षयरोगबाट बाबु बिते । त्यसको केही समयपछि आमा दोस्रो बिहे गरेर हिंडिन् । अनाथ बनेका दाजु वसन्त र भाइ रितेशलाई हजुरआमाले ठूलो दुःखसँग पालिरहेकी थिइन् । त्यो बिजोग देखेका मानवअधिकारकर्मी मानबहादुर नेपालीले दाजुभाइलाई अत्तरिया ल्याएर सुरक्षित गृहमा जिम्मा दिए ।

पुनस्र्थापनाको पिरलो

सुरक्षित आवास गृह सञ्चालक जानकी मलासी बालबालिकालाई माध्यमिक तहको शिक्षा पूरा गराएर परिवार वा नजिकका संरक्षककहाँ पुनस्र्थापना गरिने बताउँछिन् । उनले ६ जना बालबालिकालाई त्यसरी पुनस्र्थापित गराइसकेकी छन् ।

दुई छोरीकी आमा मलासीले यसअघि घरेलु हिंसामा परेका महिलाहरूलाई आफ्नै घरमा राखेर सहयोग गर्थिन् । त्यसपछि उनले आफ्नै नेतृत्वमा ११ जनाको कार्यसमिति बनाई २०७२ जेठमा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेर आवास गृह चलाउन थालेकी हुन् । २९ वर्षको उमेरमा श्रीमान् गुमाएपछि आफैंले घरेलु हिंसा भोग्नु परेकोले पीडितहरूको लागि सुरक्षित गृह आवश्यक ठानेर काम गरेको उनी बताउँछिन् । “मुठी दानबाट गृह चलाएकी छु” मलासी भन्छिन्, “छोरी गीतासहित पाँच जनाले सघाइरहेका छन् ।”

पारिवारिक विघटन र विभिन्न किसिमको हिंसाबाट महिला र बालबालिकामाथि यति धेरै अत्याचार भइरहेको छ कि २०१७ को जनवरीयता महिला पुनस्र्थापना केन्द्र (ओरेक), कैलालीमा हिंसाका ६१, मानव ओसारपसारसम्बन्धी एक, बहुविवाहको एक, जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका तीन, यौन हिंसाका आठ, सामाजिक हिंसाका सात, बोक्सी आरोपमा भएको हिंसाका आठ र अपहरणका नौ घटना दर्ता भए । तीमध्ये घरेलु हिंसा २१, बहुविवाह २, जबर्जस्ती करणी ६, जबर्जस्ती करणी उद्योग १ र यौन हिंसामा परेका पीडितहरू ४ जना पीडितले ओरेकलगायत विभिन्न संस्थाका आवास गृहमा आश्रय लिएका छन् ।

तिनैमध्येकी हुन्, सानु चौधरी (१३) जो परिवारका संरक्षककै अपराधको शिकार भइन् । र अहिले ओरेकको धनगढीस्थित ‘सुरक्षित आवास गृह’ मा बसिरहेकी छन् । गत वर्ष उनको पेट अस्वाभाविक रूपमा बढेको देखेपछि आमाले अस्पताल लगेर जँचाउँदा डाक्टरले आठ महीनाको गर्भ रहेको जानकारी दिए । आमाले सोधीखोजी गर्दा ५५ वर्षका आफ्नै ससुराको बलात्कारबाट गर्भ बसेको थाहा भयो । बाजेको मारिदिने धम्कीबाट डराएकी सानुले कसैलाई नबताउँदा गर्भ आठ महीना पुगिसकेको रहेछ । त्यसपछि आमा प्रहरीमा गएपछि सानु ओरेकको आवास गृहमा पुगिन् । त्यहाँ पुगेको १५ दिनमै उनले बच्चा जन्माइन् । उनका बाजे अहिले कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

ओरेककी कैलाली जिल्ला संयोजक विनु राना बलात्कार गर्ने बाजेलाई कैद सजाय गरेर मात्र सानुले न्याय नपाएको बताउँछिन् । उनका अनुसार, जन्मेको साढे चार महीनामा पनि बच्चाको जन्मदर्ता भएको छैन भने आमा र बच्चा दुवैको पुनस्र्थापना गर्न गाह्रो भइरहेको छ । राना भन्छिन्, “केही समयपछि छोरीलाई परिवारमा फर्काउन तयार भएका पीडितका बाबुले बच्चालाई चाहिं कुनै हालतमा नलिने बताएका छन् ।”

(पीडित सबैको नाम परिवर्तन गरिएको छ ।)

(खोज पत्रकारिता केन्द्र)


कहिले सकिने यो भुत्तामान ?

मेरो नाम मनिषा श्रेष्ठ हो । १८ वर्षकी भएँ । म जन्मेको दुई महीनामै आमाले दोस्रो बिहे गरेको रे ! त्यतिबेला बुबा विदेशमा भएकोले मलाई हजुरआमाले पाल्नुभएछ । तीन वर्षकी हुँदा बुबा आएर मलाई पोखराको न्यू लाइफ बालगृहमा राखिदिनुभयो । विदेशबाट फोन गर्नुहुन्थ्यो, दुई पटक भेट्नु पनि भयो । आठ वर्षकी छँदा एक दिन मैले उहाँ विदेशमै बित्नुभएको खबर पाएँ । त्यसपछि ११ वर्ष हुँदासम्म बालगृहमा बसेर नजिकैको इन्द्र राज्यलक्ष्मी माविबाट कक्षा ७ पास गरें । बालगृहमा एकदमै मिल्ने साथी यशोदा गिरीलाई अमेरिकी दम्पतीले धर्मपुत्री बनाएर लगेपछि म एक्लिएँ ।

त्यसबेला बालगृहमा ३५ जना थियौं । बालगृह सञ्चालकले रातिराति बाहिरका केटा बोलाएर हामीभन्दा ठूला दिदीहरूको कोठामा पठाउँथे । पुसको एकदिन पुलिसले छापा मार्‍यो । सञ्चालक टेकबहादुर थापा कता भागे, थाहा भएन । शारीरिक रूपमा स्वस्थ बालबालिकालाई अन्तै लगे । छाडिएका चारजना तीन दिनसम्म रत्न चोकको बसपार्क छेउमा बस्यौं । धरानकी मुस्कान ठकुरी (११) र बाग्लुङकी रितु बराल (१०) जाडो र भोकले त्यहीं मरे । लास उठाउन पनि कोही आएनन् । त्यसपछि म र समीक्षा श्रेष्ठ त्यहाँबाट भाग्यौं ।

हाम्रो भेट अमृता गिरीसँग भयो । उनले हामीलाई लामाचौरको होटलमा लगिन् । पुगेकै दिन अमृताले समीक्षालाई एउटा केटाको जिम्मा लगाइन् । मलाई चाहिं भाँडा माझ्न राखिन् । त्यसको दुई वर्षपछि अमृताले मलाई पनि ‘मेरो भाइसँग जाऊ, राम्रो काम खोजिदिन्छ’ भन्दै एउटा केटाको जिम्मा लगाइन् । त्यतिबेला म १३ वर्षकी थिएँ । नयाँ काम पाउने आशाले खुशी नै भएँ । त्यो केटाले दिनभर महेन्द्रपुल बजार घुमाएर राति झ्याल नभएको कोठामा लगेर श्रीमतीलाई जस्तो गर्न थाल्यो । चिच्याएर रुँदा पनि सुन्ने कोही भएन ।

उसले मलाई होटलवाली अमृताले एक लाख रुपैयाँमा बेचेकोले जे भन्यो त्यो मान्नुपर्ने बतायो । उसको नाम सुवास थापा मगर रहेछ । घर धादिङ भन्थ्यो । ऊ दिनभरि डुलेर साँझ कोठा फर्किन्थ्यो । म चाहिं ज्यालामजदूरी गर्न थालें । केही महीनापछि उसले कोठामा केटीहरू ल्याउन थाल्यो । मैले विरोध गर्दा धेरै पिट्थ्यो । म दुई जीउकी भएको थाहा पाएपछि रिसाउँदै तीन महीनामा गर्भपतन गराइदियो । त्यसको केही दिनमै ऊ चोरी आरोपमा पक्राउ पर्‍यो । अदालतले थुनामुक्त हुन रु.२ लाख धरौटी मागेछ । मसँग ज्यालामजदूरीबाट कमाएको रु.३० हजार थियो । बाँकी रु.१ लाख ७० हजार ६ महीनामा तिर्ने कागज गरेर खोलाको ठेकेदार ज्ञानबहादुर गुरुङसँग लिएर उसलाई छुटाएँ ।

६ महीनापछि म फेरि गर्भवती भएँ । त्यो सुनाउँदा उसले नानाभाँती आरोप लगाउँदै कुटपिट गर्‍यो । त्यसको दुई महीनामा ऊ फेरि चोरी मुद्दामा जेल गयो । भेट्न जाँदा पैसा मागेर झगडा गथ्र्यो । त्यसपछि मलाई वास्ता गर्न छाड्यो । म ज्यालामजदूरी गरेर पालिन थालें । केही महीनापछि छोरी जन्मी । दुई वर्षमा जेलबाट छुटेर सुवासले अर्को बिहे गर्‍यो । एक दिन पोखरा औद्योगिक क्षेत्रको प्लाष्टिक कम्पनीमा काममा जाँदै गर्दा बाटोमा सीम कार्ड भेटें । कार्ड मोबाइलमा हालेर सेभ गरेको एउटा नम्बरमा फोन गरी सीमकार्ड आफूले भेटेको बताएँ । र, त्यही कारण जीवनमा अर्को संकट आयो ।

मैले फोन गरेको नम्बर कञ्चनपुर, गुलरियास्थित महुवाफाँटाको आशिष चौधरीको रहेछ । ऊ सीमकार्ड लिने बहानामा पोखरा आयो र प्रेम प्रस्ताव राख्यो । मैले मानिनँ तर उसले ढिपी नछाडेपछि बुटवल गएर विवाह गर्‍यौं । त्यसपछि पोखरामा सँगै बस्न थाल्यौं । तर, ५/६ महीनापछि आशिष भाग्यो । २०७३ फागुनमा छोरी च्यापेर उसलाई खोज्दै महुवाफाँटा पुगें । त्यसबेला मेरो पेटमा आशिषको चार महीनाको गर्भ थियो । उसको परिवारले नराम्रो व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा मिलापत्र गराइदियो । म त्यही घरमा बस्न थालें ।

एक महीना बस्दा मैले थुप्रै यातना सहनुपर्‍यो । मलाई बोक्सी भने । उनीहरू बसेको ठाउँमा जाँदा उठेर हिंड्थे । चरित्रमाथि प्रश्न उठाउँदै नराम्रो गाली गर्थे । तैपनि मेरो जाने ठाउँ कहीं थिएन । ज्वरो आएर थला परेपछि आशिष र सासूले धनगढीको सेती अञ्चल अस्पतालमा भर्ना गरे । त्यहाँ उनीहरूले के–के बहाना गरेर मेरो गर्भपतन गराए । रगत धेरै बगेपछि त्यहाँबाट आशा अस्पतालमा सारेर तीन दिन राखे । अस्पतालबाट फर्कंदा आशिष घरमा थिएन । सोधखोज गर्दा सासूससुराले मलाई घरबाटै निकालिदिए । त्यसपछि मैले जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको उजुरी दिएँ ।

अहिले तीन वर्षकी छोरी लिएर अत्तरियाको महिला तथा बालबालिका आवास गृहमा बसिरहेकी छु । ब्यूटीपार्लर चलाएर आत्मनिर्भर बन्ने सोचमा छु । तर, सीटीईभीटीबाट निःशुल्क तालिम लिन नागरिकता छैन । अझ कति पीडा भोग्नुपर्ने हो, सम्झँदै कहालिलाग्छ ।

comments powered by Disqus

रमझम