अबको बाटो

Share:
  
- पुरञ्जन आचार्य
पार्टीको विचार, संगठन र नेतृत्वमा सुधार नगरी नेपाली कांग्रेसमा पुनर्ताजगी सम्भव छैन।

भानु भट्टराई
गणतान्त्रिक संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनमा लज्जाजनक पराजय भएसँगै नेपाली कांग्रेसको नीति, संगठन र नेतृत्वबारे कांग्रेस वृत्तमा बहस चुलिएको छ । कांग्रेसलाई नयाँ अवतार दिन उत्साही युवापंक्ति मुखरित भएर आएको छ ।

राजधानीमा यो साता कांग्रेसको पुरानो र नयाँ पुस्ताबीच जुहारी नै चल्यो । पुरानो पुस्ताको नेतृत्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाबाट भयो भने नयाँ पुस्ताबाट गगन थापा अगाडि आए । थापा शालीन, सभ्य र संभावनायुक्त देखिए भने देउवामा आक्रामक र वृद्ध हुँदै गएको शरीरलाई सम्हाल्न गाह्रो भएको हाउभाउ प्रष्ट देखिन्थ्यो ।

नयाँ पुस्ताका थापासँगको जुहारीमा देउवा पछाडि पर्नु अस्वाभाविक होइन । युवावस्थामा उनी पनि गगनभन्दा कम थिएनन् । नेपालका सबै लोकतन्त्रवादी युवा उनकै पछि लागेका थिए, संघर्ष गर्न । अहिले अस्ताउँदो देउवाले पार्टी र देश हाँक्न सकेनन् भनेर आरोप लगाउनुको खासै तूक रहेन । कुनै पनि कार्यकारिणी प्रमुखले पटक–पटक देशको नेतृत्व गर्ने अवसर पाए भने पहिलो कार्यकाल भन्दा दोस्रो अनि तेस्रो क्रमशः गिर्दोस्तरको हुन्छ । त्यसले राष्ट्रलाई संस्थागत विकास गर्न दिंदैन र त्यो व्यक्तिको व्यक्तित्व पनि तल झ्र्छ भनी विश्वप्रसिद्ध पुस्तक ह्वाई नेशन फेल मा सविस्तार लेखिएको छ । पुस्तकमा कुनै देश किन समृद्ध बन्छ ? कुन समय, किन कुनै नेता प्रभावकारी हुन्छ र त्यही नेता पछि किन जनताको नजरमा झ्र्छ भनेर बुझउन विश्वका उदाहरण छन् । कांग्रेसका पुराना र नयाँ दुवै पुस्ताका लागि यो पुस्तक आँखा खोल्न पनि सहयोगी होला ।

यसपटक कांग्रेस हार्नुमा राष्ट्रिय–अन्तर्राष्ट्रियलगायत पार्टीको कार्य शैली, उम्मेदवारको आनीबानी, स्वार्थ र सुराकी चरित्र जिम्मेवार ठान्नेहरूको कमी छैन । पुराना पुस्ताका नेताहरू यिनै कुरामा बढी विश्वास गर्छन् र पराजयलाई स्वाभाविक ठान्छन् । २०५१ सालको मध्यावधि र २०६४ को संविधानसभा निर्वाचनमा पनि अहिले जस्तै भएको भनी आफ्नो नेतृत्वको रक्षा गर्न तम्सिन्छन् ।

नयाँ पुस्ता भने २०४८ पछिका निर्वाचनहरूमा कांग्रेसको जित वाम विभाजनले गर्दा संभव भएको तर यसमा नेतृत्वको दृष्टि कहिल्यै नपुगेको सोच राख्छ । पंचायत र राजतन्त्र विरुद्ध लडेको अहिलेको कांग्रेस नेतृत्व नेपालका वामपन्थीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता नै राख्दैन भन्ने सोच नयाँ पुस्ताका कांग्रेसीहरूमा देखिन्छ । यो पुस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, लोकतन्त्र, पार्टीलाई चलायमान बनाउने रणनीतिलगायत अनेकन् पक्षमा समयसापेक्ष र उदात्त सोच राख्छ ।

कांग्रेसको काम

कांग्रेसमा पुरानो पुस्ता को ? नयाँ पुस्ताभित्र को–को पर्छन् भनी छुट्याउने कसरी ? यसमा नयाँ पुस्ताका संभावनायुक्त नेता थापाले २०४६ पछि पार्टी र देशको नीतिनिर्माण तथा कार्यान्वयन तहमा निरन्तर देखिएकाहरूलाई पुरानो पुस्ता भनेका छन् । यस अनुसार, गत दुईदशकयता कांग्रेसका प्रभावशाली व्यक्तित्वहरूको घर र बालुवाटार जमघटमा सदावहार उपस्थिति जमाएको समूह पुरानो पुस्ता हो । थापाले आजको नेपालमा राम्रो/नराम्रो जे छ, त्यसको जस–अपजस लिंदै तीनदशकदेखि पार्टी÷राज्य संचालनमा प्रभावकारी भएका पुस्ताले राजनीतिबाट विश्राम लिनुपर्छ भनी अनुरोध गरेका छन् ।

निःसन्देह कांग्रेसका युवाहरू आक्रोशित छन्, आफ्नो भविष्य असुरक्षित ठानिरहेका छन् । लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्व गरेको पार्टी संविधान जारी भएपछिको प्रथम निर्वाचनमै बढारिनु कल्पनाभन्दा बाहिरको कुरा हो । भारतमा भारतीय राष्ट्रिय कंग्रेस र दक्षिण अफ्रिकामा अफ्रिकन नेशनल कंग्रेसले त्यहाँको मुक्ति आन्दोलन गरेपछि दशकौंसम्म देशको नेतृत्व गर्ने अवसर पाए, यस्ता उदाहरण प्रशस्त छन् । तर, नेपालमा किन उल्टो भयो भनी घोत्लिने फुर्सद अहिले कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक सबैले पाएका छन् ।

एकदशक अगाडिको गणतान्त्रिक आन्दोलन र दुई वर्ष अगाडि जारी संविधान निर्माणको नेतृत्व कांग्रेसले साँच्चिकै गरेको थियो कि यी दुवै कार्यको लागि निमित्त नायक मात्र थियो, सोच्ने बेला आएको छ । निर्वाचनमा त जनताले यी दुवै कार्यको जस वामहरूलाई दिएका छन् । भावी नेपालको सत्ता संचालनको जिम्मेवारी वामहरूले पाउनु र कांग्रेस सातै वटा प्रदेशमा कमजोर विपक्षमा पुग्नु नेपालको राजनीतिमा सामान्य घटना होइन ।

कांग्रेसका नेताहरू जनतालाई जनार्दन भन्छन् । जनता जनार्दनको आदेशले अब केन्द्रदेखि प्रदेशसम्म वाम वर्चश्वको सरकार हुनेछ । यो अवस्थामा कांग्रेसको बाटो कुन हुने ? अहिलेको फुर्सदको समयमा कांग्रेसले गर्नुपर्ने दुई वटा काम छन्– पार्टीको विचार, संगठन र नेतृत्वमा सुधार तथा वाम वर्चश्वको सरकारले लिने नीति, कार्यक्रम र दिशा नियाल्दै तदनुरूप प्रतिपक्षको रचनात्मक भूमिका खेल्ने रणनीति तय ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनको राजनीतिक दिशाबारे प्रश्न उठायो । वाम एकताले नेपाललाई ‘अधिनायकवाद’ तर्फको यात्रामा डोर्‍याउँछ भन्ने कांग्रेसको नारा थियो, तर त्यसमा जनताले विश्वास गरेनन् । आर्थिक–सामाजिक नीतिनिर्माणमा वाम पृष्ठभूमिकाहरू विश्वमा यतिखेर उदार नै देखिन्छन् । वाम सरकारहरू अत्यन्त नियन्त्रणमुखी राज्य व्यवस्थामा गएको उदाहरण चीनलगायत अन्यत्र पनि प्रशस्तै छन् ।

प्रभावकारी प्रतिपक्ष

यसैसाता नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औं स्मृति दिवसमा भावी प्रधानमन्त्री खड्गप्रसाद ओलीसम्मुख कांग्रेस नेता प्रदीप गिरीले गणेशमान सिंह र किशुनजीले कांग्रेस र कम्युनिष्टलाई दाजुभाइ बनाउन खेलेको भूमिकाबारे सारगर्भित विचार राखे । उनको विचारमा मेलामिलाप नीति नै आजको नेपालको स्थायित्वको मार्ग हो । तर, यतिखेर भूराजनीति र विश्व राजनीतिको आभामण्डलमा केही संशय उठेका छन् । नेपालमा त्यसको प्रभाव नपरोस् भनी सचेत हुनैपर्छ ।

सन् १९६० को दशकको अन्त्यतिर माओत्सेतुङले ‘चीनले विचार निर्यात गर्दैन’ भनेका थिए । त्यसको आधा शताब्दीपछि चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेसमार्फत राष्ट्रपति सी जिनपिङले असीमित अधिकार ग्रहण गर्दै राजनीतिक विचार निर्यातको संकेत दिएका छन् । चीनको यो नयाँ लाइनबाट नेपालका वामहरू हौसिने हुन् कि नेपालको बहुलवाद र विविधतालाई समेट्दै अगाडि बढेको उदार लोकतान्त्रिक धारलाई पछ्याउने हुन्, कांग्रेसले प्रभावकारी प्रतिपक्षको रूपमा नियाल्ने अवसर पाएको छ ।

कांग्रेसले वाम सरकारलाई नियाल्दै, उदार लोकतान्त्रिक विचार–व्यवस्थाको रखवाली गर्दै जनतालाई साथ लिएर लोकतन्त्र अगाडि बढाउने जिम्मेवारी पाएको छ । यो भूमिकाको नेतृत्व कांग्रेसबाट कसले गर्न सक्छ ? प्रतिनिधिसभामा प्रतिपक्ष नेताको प्रभावकारी भूमिका खेलेर देशलाई मेलमिलापको मार्गमा लैजान सक्ने क्षमतावान नेता यतिखेर कांग्रेसभित्र प्रदीप गिरी मात्र देखिन्छन् । कांग्रेसले संसद्को प्रतिपक्षी दलको नेतामा गिरीलाई सक्रिय बनाएर यो भूमिकाको शुभारम्भ गर्नुपर्छ । उनलाई ऊर्जावान् उपनेता चाहिन्छ, यसको लागि थापालाई साथ लिन सक्छन् ।

कांग्रेसका सांसद्हरूलाई साँच्चै ऊर्जावान् कांग्रेस चाहिएको छ भने गिरीलाई विवेक प्रयोगबाट संसदीय दलको नेता बनाउन सक्छन् । गिरी र थापाको ‘कम्बिनेशन’ बारे यहाँ लामो व्याख्या जरूरी छैन । हालैको आम निर्वाचनमा कांग्रेसमाथि लागेका आरोपहरूलाई यी दुई अनुभवी र युवकको ‘कम्बिनेशन’ ले नै नयाँ ढंगले बहस गरी चिर्न सक्छ ।

तीन तहको निर्वाचनमा वामहरूले लगाएको आरोप थियो– कांग्रेस राष्ट्रवादी–देशभक्त पार्टी होइन, कांग्रेस भ्रष्ट–अपराधीहरूको पार्टी हो र कांग्रेसले स्थिर सरकार दिन सक्तैन । गिरी र थापाले आफ्नो नैतिक शक्ति र युवा ऊर्जाबाट यी आरोपलाई गलत साबित गर्दै कांग्रेसलाई नवजीवन दिनसक्छन् । यसरी संसदीय फाँटमा अनुभवी र युवा ऊर्जाको साथै राजनीतिमा नैतिक शक्ति र विचार प्राधान्यको प्रादुर्भाव हुनसक्छ र कांग्रेस फेरि नयाँ ढंगले नेपाली जनतासँग जोडिन सक्छ ।

कांग्रेस पार्टीको ‘स्टक’ मा ‘लीडरसिप’ रित्तिएझैं भएको छ यतिखेर । सत्ता नजिक बसेकाहरूबाट कांग्रेसमाथि लागेका आरोपहरू चिरिन संभव छैन, किनभने जनताले तिनलाई ‘डेट एक्स्पायर्ड’ औषधि ठान्दछन् । ‘डेट एक्स्पायर्ड’ समूहबाट नैतिकता, प्राज्ञिकता र ऊर्जाका साथ जनतासँग सीधा संवाद गर्ने नेतृत्वको अपेक्षा गर्न सकिन्न । कांग्रेसले बुझनैपर्ने कुरा के छ भने, ‘राष्ट्रवादी–देशभक्त’ विपरीतको धारबाट निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न संभव छैन । अब प्रश्न उठ्छ– कांग्रेसको राष्ट्रवाद कस्तो हुने अनि देशभक्ति कहाँसम्मको र केमा भन्ने ?

सान्दर्भिकता र भविष्य

देशको विविध राष्ट्रियता अंगीकार गरी अखण्ड र सार्वभौम नेपालको पक्षमा उभिंदा कांग्रेसको लागि निर्वाचन परिणाम अनुकूल भएन, यो पटक । कांग्रेसले आफू उभिएको राष्ट्रियता र देशभक्तिको धरातल जनतालाई बुझउन पनि सकेन । अब पार्टी नेतृत्व र संसदीय फाँट परिवर्तन नगरी यो संभव पनि छैन ।

कांग्रेसको चुनौती शंकारहित लोकतान्त्रिक विचारमा मात्र सीमित नरहेर संविधानले अंगीकार गरेको ‘देशको विविधता अनुकूलको राष्ट्रवाद’ को ‘च्याम्पेन’ हुन सक्नुमा पनि छ । कांग्रेस बाहिरकाले धेरै पछि मात्र बीपी कोइरालाको राष्ट्रवादबारे जान्ने, बुझने मौका पाए अनि बीपी गौरवशाली व्यक्तित्वको रूपमा स्वीकार्य भए । आज कांग्रेसले लिएको ‘अनेकतामा एकताको नीति’ असान्दर्भिक झ्ैं भएको अवस्थामा नेपालको भविष्य र कांग्रेसको ठीक लाइन यही हो भन्ने नेतृत्व खोइ ?

उत्पादनशील क्षेत्रमा कांग्रेसको नयाँ विचार के छ ? विगतमा कांग्रेसबाट किसान पीडित भए । यसलाई कसरी संबोधन गर्ने ? त्यस्तै, युवा रोजगारीको नीति ल्याउन नसकेर देश युवाविहीन हुँदैछ । प्रति वर्ष चारलाख रोजगारी सिर्जना कसरी गर्ने ? कांग्रेसको नेतृत्व र निर्णायक तह अहिले पनि दलित, मधेशी, आदिवासी जनजाति शून्य छ । पार्टीलाई अब कसरी समावेशी बनाउने ?

अहिलेसम्म कांग्रेस नेतृत्वमा कि बीपी कोइरालाको परिवार हावी भयो कि कोइराला विरोधीको छविले देउवा स्थापित भए । अहिले पार्टी सभापति देउवा छन् भने महामन्त्रीमा बीपी पुत्र डा. शशांक कोइराला । अर्थात्, लामो संघर्षबाट आएका देउवा र कार्यकर्ताले कोइराला परिवारप्रति विश्वास प्रकट गरेका डा. शशांक नेतृत्वमा छन् । कांग्रेसभित्र परिवारको ‘लिगेसी’ समातेर नेतृत्वमा पुग्ने होडबाजीमा प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि देखिन्छन् ।

महामन्त्रीमा डा. शशांकको निष्क्रियता र असफलतापछि कोइराला परिवारबाट डा. शेखरको पार्टीमा आकर्षण र देशव्यापी स्वीकार्यता पनि छ । उनलाई पार्टी नेतृत्वमा अवरोध हुने सम्भावना डा. शशांकबाट हुने आशंका गरिन्छ । डा. शेखरसामु बन्दै गरेको आफ्नो राष्ट्रिय छवि एउटा निर्वाचनको हारबाट प्रभावित हुँदैन भनी उदात्तभावबाट सक्रिय हुनुपर्ने आवश्यकता त्यत्तिकै छ । जनता र कार्यकर्ताले सबभन्दा बढी रुचाएका सक्षम व्यक्तित्व अगाडि आउँदा नै देशको सबभन्दा पुरानो दलको सान्दर्भिकता बढ्ने र भविष्य सुरक्षित हुने सम्भावना बढ्छ ।

comments powered by Disqus

रमझम