घातक ईक्लेम्पसिया

Share:
  
- डा. सुमनराज ताम्राकार
उच्च रत्तचापको जटिलताका कारण गर्भावस्थामा देखापर्ने कम्पन (ईक्लेम्पसिया) लाई कुनै पनि अर्थमा सामान्य रूपमा लिनुहुँदैन।

भानु भट्टराई
अहिले नेपालमा सुत्केरीपश्चात् अधिक रक्तस्रावका कारण हुने मातृमृत्युदरमा कमी आएको छ । नियमित गर्भजाँच गराउने, स्वास्थ्य संस्थामै सुत्केरी गराउने तथा सुत्केरी बेथाको व्यवस्थापनको क्रममा सही तरिका अपनाउँदा यस्तो राम्रो परिणाम आएको हो । यति हुँदाहुँदै पनि गर्भावस्थामा ईक्लेम्पसियाबाट हुने अकाल मृत्युमा कमी आएको छैन ।

गर्भावस्थामा उच्च रक्तचापसँगै कम्पन छुट्ने समस्यालाई मेडिकल भाषामा ईक्लेम्पसिया भनिन्छ । गर्भवतीको रक्तचाप १६०÷११० भन्दा घटी वा बढी भएको आधारमा रक्तचापको समस्या साधारण वा गम्भीर खालको भनेर छुट्याइन्छ । रक्तचापको समस्या गम्भीर भएका महिलालाई ईक्लेम्पसिया हुने सम्भावना बढी भए पनि कसै–कसैमा सामान्य मात्रामा रक्तचाप हुँदा पनि ईक्लेम्पसिया हुन्छ । यस्ता बिरामीलाई प्रायः अस्पताल ल्याइन्छ । अस्पतालहरूको तथ्यांक अनुसार, ३०० देखि ५०० मध्ये एकजनालाई ईक्लेम्पसिया भएको पाइन्छ । गर्भवती महिलामा उच्च रक्तचापको अलावा गोडा सुन्निने, टाउको दुख्ने, निद्रा गडबड हुने, पेटको माथिल्लो भाग पोल्ने, आँखा धमिलो हुने, असामान्य तवरले तौल बढ्ने जस्ता लक्षण ईक्लेम्पसिया हुन लागेको अर्थात् कम्पन आउन लागेको पूर्वसूचक हुन् ।

उच्च रक्तचापको कारण गिदीमा रगतको बहाव कम हुनु, गिदी सुन्निनु वा गिदीको इलेक्ट्रिकल चालमा गडबडी हुनुलाई गर्भवतीलाई कम्पन छुट्नाको कारण मानिन्छ । करीब ५० प्रतिशत गर्भवतीलाई सुत्केरी बेथा शुरू नहुँदै यस्तो कम्पन हुन्छ । ३० प्रतिशतमा सुत्केरी हुँदाहुँदै र २० प्रतिशतमा बच्चा पाएको ७ दिनभित्र यस्तो हुन्छ । छारेरोग, हिस्टेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस, गिदीको रक्तनलीमा रगत जम्नु, गिदीलाई असर गर्ने खालको औलो रोग, विष सेवनको असर गर्भवती महिलामा कम्पन छुट्न सक्ने अन्य कारण हुन् । ईक्लेम्पसियामा छारेरोगमा जस्तै काम्नुपूर्व बिरामीको व्यवहारमा परिवर्तन आउने, शरीर कडा हुने अनि बेहोश हुने पनि हुन्छ ।

ईक्लेम्पसियाले पनि गर्भवती महिलाको मिर्गौला, रक्तनली, कलेजो, गिदी, मुटु, फोक्सोलगायतका अंगमा असर पुर्‍याउँछ । कम्पन आएपछि गर्भवती र गर्भे शिशुको स्वास्थ्य जोखिममा पर्छ । उपचारमा ढिलाइ भयो, सुत्केरी हुन बढी समय लाग्यो, १० पटक भन्दा बढी कम्पन आयो, ज्वरो १०२ डिग्रीभन्दा बढी आयो, नाडीको चाल १२० भन्दा बढी भयो, माथिल्लो रक्तचाप २०० भन्दा बढी भयो, पिसाब कम भयो, मेडिकल उपचारले छोएन वा जण्डिस पनि देखा पर्‍यो भने स्थिति काबुभन्दा बाहिर गयो भन्ने बुझनुपर्छ ।

मुटु फेल खाएर, फोक्सो सुन्निएर, बेहोशीमा बान्ता गर्दा सर्किएर, गिदीमा रक्तस्राव भएर, पिसाब नभएर, अचेत भएर वा संक्रमण भएर ईक्लेम्पसिया भएका महिलाको अकालमा मृत्यु हुनसक्छ । त्यस्तै, कम्पनको कारणले साल छुट्टिएर रगत (अक्सिजन) आपूर्ति नपुगेर, कम्पन रोक्न आमालाई दिइएको औषधिको नकारात्मक असर परेर गर्भे शिशुको मृत्यु हुने सम्भावना हुन्छ । चाँडै नै खराब परिणाम देखिनसक्ने भएकोले दुर्गमका स्वास्थ्यकर्मीहरूले ईक्लेम्पसिया भएका गर्भवतीलाई प्राथमिक उपचारको प्रक्रिया पुर्‍याएर शीघ्रातिशीघ्र विशेषज्ञ सेवा भएका अस्पतालमा रेफर गर्नुपर्छ । त्यसक्रममा बाटोमा देब्रे कोल्टे सुताउने, चिउँडो अलिकति तान्ने, श्वासप्रश्वास क्रिया सहज हुने गरी राख्ने, अक्सिजन दिने, सलाइन चलाउने, पिसाबको पाइप राखिदिने गर्नुपर्छ । गर्भको शिशुलाई असर गर्ने भएकोले डाइजेपाम र अन्य निद्रा लाग्ने औषधि दिनुहुँदैन । ईक्लेम्पसिया भएको १२ घण्टाभित्र सुत्केरी गराइसक्नुपर्ने हुनाले चाँडोभन्दा चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

ईक्लेम्पसिया भएका गर्भवतीलाई सुविधाजनक अस्पताल पुर्‍याइसकेपछि मिर्गौला र कलेजोको कामगराइ, प्लेटलेट्स, रगत जम्ने पदार्थको मात्रा, युरिक एसिड, पिसाबमा एल्बुमिन छ, छैन वा कति बढी छ भनेर फटाफट हेर्नुपर्छ । आँखाको पर्दाको जाँच, अल्ट्रासाउण्ड (भिडियो) एक्सरेलगायतका ल्याब टेस्टहरू पनि तुरुन्त गराउनुपर्छ । कम्पन छुटेका गर्भवतीलाई त्यतिकै पनि सुत्केरी बेथा लागिसकेको हुने भएकाले अस्पताल पुर्‍याइसकेपछि गर्भ अवधि र पाठेघरको मुखको प्रकृति हेरिकन बच्चा योनीद्वारबाट पाउन सक्ने वा सिजेरियन जरुरत पर्ने निक्र्योल तुरुन्त गरिन्छ । पाठेघरमा साल रहुन्जेल रक्तचाप घटाउन गाह्रो हुने भएकोले जिउँदो वा मृत बच्चा निकाल्न ढिलाइ गर्नुहुँदैन । सुत्केरी पछि पनि संक्रमणलगायतका समस्या देखापर्ने र पछिका गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्ने हुनाले बिरामी डिस्चार्ज हुने बेलामा राम्ररी परामर्श दिनुपर्छ । त्यसक्रममा दुईहप्तापछि फिजिसियनकहाँ रक्तचाप जाँच र ६ हप्तापछि अनिवार्य रूपमा अस्पताल आउन भन्नुपर्छ ।

comments powered by Disqus

रमझम