धातु कला

Share:
  

गोपेन राई
घर सजाउनु आफैंमा कला हो । घर सजावटमा अपनाइने तरिका र प्रयोग सामग्रीले यो कला उजागर गर्दछ । घर सजाउने पद्धति र प्रयोग गरिने सामग्रीमा विविधता आइसकेको छ । घर सजाउन हस्तकलाका साथै मेशीनबाट बनाइएका सामग्री प्रशस्त पाइन्छन् ।

नेपाली समुदायमा परम्परादेखि नै धातु (मेटल) बाट बनाइएका सामग्रीको प्रयोग हुँदै आएको छ । ललितपुरको पाटन क्षेत्र धातुबाट बनाइने यस्ता हस्तकलाका सामानका लागि प्रसिद्ध छ ।

३४ वर्षदेखि स्वदेशी हस्तकलाको कारोबार गर्दै आइरहेको महागुठी क्राफ्ट वीथ कन्साइन्सका समिर क्षेत्री परम्परादेखि नै प्रचलनमा भए पनि पछिल्लो समय मेटल क्राफ्टको प्रयोगमा उपभोक्ता आकर्षित भएको बताउँछन् । स्वदेशी हस्तकलाका सामानको प्रयोगले घरमा संस्कृतिको सुवास रहने भएकाले पनि मेटल क्राफ्टको खोजी हुन थालेको उनको भनाइ छ ।

सजावट सामग्रीमा धातुबाट बनेका मूर्तिको प्रयोग बढी हुने गरेको छ । यस्ता मूर्तिमा सुन तथा चाँदीको लेपनसमेत गरिएको हुन्छ ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको वास्तु शिल्पीकी इन्टेरियर डिजाइनर अनुजा शिल्पकार अचेल घर निर्माण, पार्टेसन, रेलिङ, फर्निचरलगायत ठाउँहरुमा धातु खोज्न थालिएको बताउँछिन् । “धातुलाई चाहेको आकार, डिजाइनमा ढालेर कलात्मक बनाउन सकिने भएकोले पनि यसको प्रयोग बढेको छ”, उनी भन्छिन् । धातुलाई काठ, पत्थरलगायतसँग जोडेर फरकपन दिन पनि सकिन्छ । पर्यावरण अनुकूल र दिगो डिजाइनका लागि पनि धातुको प्रयोग उपयुक्त हुने उनी बताउँछिन् ।

स्वदेशीलाई टेवा

बजारमा काँस, तामा, फलाम, पित्तल, आल्मुनियम, ह्वाइट मेटललगायतबाट निर्माण गरिएका सामग्री पाइन्छन् ।

विदेशी पर्यटकहरुको चासो देखिने धातुका उत्पादनमा पछिल्लो समय स्वदेशी नै मुख्य ग्राहक हुन थालेका छन् । कुपण्डोल, लाजिम्पाट र पोखरामा समेत आउटलेट सञ्चालन गरिरहेको महागुठीको उपभोक्तामा ६० प्रतिशत नेपाली नै रहेको क्षेत्री बताउँछन् । पुरानो तथा परम्परागत देखिने ह्वाइट मेटलमा अक्सिडाइज गरिएका मेटल क्राफ्ट रोजाइमा पर्न थालेको उनको भनाइ छ । घरमा सकारात्मक भाव पैदा होस् भनेर ठूला मूर्ति तथा घण्टी राख्न थालिएको छ । भित्ता, टेबल, कर्नर लगायतका सुहाउँदो ठाउँमा यस्ता सामग्री राख्न सकिन्छ । इन्टेरियर डिजाइनर शिल्पकार यस्ता सामग्री राख्दा घरभित्रको खुला ठाउँ र मौसमलाई ध्यान दिनुपर्ने बताउँछिन् ।

बजारमा डोर ह्याण्डल, डोर नकरसँगै क्यान्डल स्ट्याण्ड, मेटल मुकुण्डो, घण्टी, न्याप्किन होल्डर, सिङ्गिङ वाउलको कारोबार बढी हुने गरेको छ । ऐना, फोटो फ्रेम, लाइट्स स्ट्याण्ड, लाल्टिन, गमला, घडी, खुकुरी, सुराहीलगायतका साजसज्जाका वस्तु मात्र नभएर धातुबाट बनेका अन्य वस्तुहरु पनि प्रयोग गर्न सकिन्छ । भान्साका सामग्रीमा पनि धातुका सामान रुचाइन्छ । इयर रिङ, पेन्डान्ट जस्ता गहनाका रुपमा पनि मेटल क्राफ्टको माग बढिरहेको महागुठीका क्षेत्री बताउँछन् ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम