रानीपोखरीमा मेयरको मूर्खता

Share:
  
- बसन्त महर्जन
काठमाडौं महानगरपालिकाका मेयरले रानीपोखरी पुनःनिर्माणमा देखाएको ‘कास्टिङ’ ले उनका कामहरू ‘झूर’ हुने संकेत देखाएका छन्।

बिक्रम राई
वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनःनिर्माण गर्दा यसअघिका कमी–कमजोरीको पनि सुधार गर्न सकिएला कि भन्ने सोच सम्पदाविद् एवं सम्पदाप्रेमीहरूमा रहेको पाइन्छ । तर, यिनै सम्पदाको संरक्षण गर्नुपर्ने निकायमा रहेका व्यक्तिहरूको सम्पदासम्बन्धी बुझइ समस्याग्रस्त देखिएको छ ।

क्षतिग्रस्त सम्पदाहरूको गतिलो पुनःनिर्माण अभियान चलाउने भावना झ्ल्कने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ माघ २०७२ मा काठमाडौंको रानीपोखरीमा शिलान्यास भएको थियो । त्यही रानीपोखरीमा इतिहास, संस्कृति, हाम्रो मौलिक प्रविधिलगायत सम्पूर्ण पक्षलाई तिलाञ्जली दिंदै सम्पदालाई बेग्लै स्वरुप दिएर व्यापारिक प्रयोजनमा लगाउने काठमाडौं महानगरपालिकाको ‘दृढता’ ले सम्पदा पुनःनिर्माण अभियानको ‘कास्टिङ’ लाई नै झूर बनाइदिएको छ । अब ‘फिल्म’ कति भयावह हुने हो, सबै आ–आफ्नै अड्कलबाजीमा छन् ।

भूकम्पले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मात्रै भत्काएको हो । त्यसैको मात्र पुनःनिर्माण गरे पुग्नेमा काठमाडौं महानगरपालिकाले पोखरीको डिलको संरचनालाई समेत आधुनिक बनाउन हात धोएर लागेको छ ।

महानगरपालिका पुनःनिर्माणको नाममा सम्पदाको मर्ममाथि डोजर चलाइरहेको छ । पुनःनिर्माणमा ढंग पुर्‍याइयोस् भनिरहेका सम्पदाप्रेमीहरूले लगाएको ताला तोड्न मेयर विद्यासुन्दर शाक्यले देखाएको जाँगरले विनाशलाई नै वरण गरिने जनाउ दिएको छ ।

सम्पदाहरूको ‘कन्जर्भेसन’ र ‘प्रिजर्भेसन’ मा बेग्लै दृष्टिकोण र मापदण्ड अपनाउनुपर्ने हुन्छ । आधुनिक प्रविधिको विकास हुनुभन्दा सयौं वर्षअघि प्रचलनमा रहेका नेपाली रैथाने प्रविधिको गुणस्तर व्यावहारिक प्रयोगबाट सिद्ध भइसकेको छ । काठमाडौंका मेयर भने ‘आधुनिक’ कहलाउने वा अन्य लोभमा नेपाली रैथाने ज्ञान तथा प्रविधिलाई विस्थापित गर्न दृढ संकल्पित देखिन्छन् । उनले उपदेशात्मक ढंगले भनेका पनि छन्– पुरानो भनेर मात्र हुँदैन, नयाँ जे बनायो त्यही सम्पदा हुन्छ ।

शाक्य मेयर हुनुअगावै महानगरपालिकाले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा कंक्रिट ठड्याउन थाल्दा सम्पदाप्रेमीहरूले आपत्ति जनाएपछि पुरातŒव विभागले महानगरपालिकाबाट त्यो काम खोसेर आफैं गर्ने जनाएको थियो, तर सम्झैता रद्द नगरी राखिएको रहेछ । त्यसैको आडमा मन्दिर पुनःनिर्माणको काम पुरातŒव विभागले गरे पनि पूरै रानीपोखरीको जिम्मा आफ्नै भएको भ्रममा महानगरपालिका देखिन्छ । सम्पदाविद्हरूको विरोधका बाबजूद रानीपोखरीको स्वरुप परिवर्तन गरेर व्यापारिक प्रयोजनमा लगाउन तत्पर देखिनु आफैंमा उदेकलाग्दो छ ।

११ पुस बिहान पुनःनिर्माणस्थल पुगेकी उपमेयर हरिप्रभा खड्गीले ‘गलत काम हुँदै गरेको’ भनेपछि सम्पदा संरक्षणका अभियन्ताहरूले गलत काम रोक्न ताला लगाएका थिए । त्यसको केही घण्टापछि दलबलसहित आएका मेयरले ताला तोड्दै यथा रूपमा काम जारी राख्न निर्देशन दिए । मेयर शाक्य नेकपा (एमाले) र उपमेयर खड्गी नेपाली कांग्रेसका हुन् । रानीपोखरीको द्वन्द्वलाई दुई दलको मनमुटाव भनेर अथ्र्याउनु र राजनीतिक रूप दिनु सम्पदा संरक्षणको सवालमा अर्को ठूलो भूकम्प सावित हुन सक्छ । उपमेयरको प्रयासमा समेत जण्ड रूपले हस्तक्षेप गरेर यो प्रकरणलाई छताछुल्ल पारेका मेयर तत्काल काम रोकेर विशेषज्ञ टोलीले १५ दिनमा दिने प्रतिवेदन अनुसार पुनःनिर्माण गर्न बाध्य भएका छन् ।

काष्ठमण्डप पुनःनिर्माणमा पनि महानगरपालिका विवादित बनेको छ । स्थानीय बासिन्दा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणमा काठमाडौं महानगरपालिकाको भूमिकालाई शंकास्पद भनिरहेका छन् । उनीहरूको त्यो भनाइमा सत्यता छ भन्ने कुरा रानीपोखरी प्रकरणबाट सावित भएको छ । मेयर शाक्य ‘आजको जमानामा पनि पुरानो कुरा गरेर हुन्छ र ?’ भन्दै अरूलाई उल्लु बनाउने शैलीमा लागेका देखिन्छन्; तर इतिहास, संस्कृति, सभ्यता जस्ता विषयको यस्तो बुझइले उनलाई नै सिल्ली बनाइरहेको छ । मेयरले काठमाडौं महानगरपालिकाको पहिचान पुरानो जमानाको निर्माण शैलीमा निहित छ भन्ने कुरा नबुझ्ेको वा कुनै कारणले बुझ्पचाउन उद्यत भएको देखिन्छ ।

काठमाडौंमा मेयरले देखाएको ‘आफ्नै खुट्टामा बन्चरो हान्ने प्रवृत्ति’ अन्यत्रका सम्पदा संरक्षणका लागि पनि एउटा पाठ भएको छ– जनताले आफ्ना प्रतिनिधि चुनेर पठाउँदैमा नपुग्ने रहेछ, तिनबाट हुनसक्ने बिगारमाथि निरन्तर आँखा लगाइरहनुपर्ने रहेछ ।

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले काठमाडौंका स्वयम्भू, पशुपतिनाथ, चाँगुनारायण, खास्ति (बौद्ध), हनुमानढोका, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखेको छ । यसअनुसार रानीपोखरी युनेस्कोको चासोको विषय होइन । तर, राजा महेन्द्रको पालामा सिमेन्ट, रड चलाएकोले आफूले पनि त्यस्तै गरेको भन्ने काठमाडौं महानगरपालिकाको ढिपी देखेर युनेस्कोले ६ महीनाअघि विज्ञप्ति प्रकाशित गरेर रानीपोखरीमा पनि गम्भीर सरोकार जनाएको थियो । रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दा अपनाइएको ‘घुँडामा बन्चरो हान्ने’ तरिकाको फेसन नेपालका अन्यत्र पनि चल्ला र अनर्थमाथि अनर्थ होला भन्ने युनेस्कोको चिन्ता बुझन सकिन्छ ।

comments powered by Disqus

रमझम