भिटामिनको भण्डार

Share:
  
- कमल मादेन
नेपालमा प्राकृतिक रूपमै पाइने सिबक्थर्न (डालेचुक) महत्वहीन बनेर बसेको छ।

तस्वीरहरुः डेबिड बफोर्ड
हिप्पोफी टिबेटाना ।
म्याग्दीको बेनीबाट उत्तर लागेपछि पश्चिममा धौलागिरि, नीलगिरि र अन्नपूर्ण प्रथम हिमालका मनोरम दृश्य देखिन्छन् । तिनै शृंखला मुनिका पहाडमा वनस्पतिको एक समूह जिनस् हिप्पोफीको जंगल भेटिन्छ । त्यहाँका बासिन्दाले तालिम लिएर गत कात्तिकमा हिप्पोफीको फलबाट पहिलोपटक डालेचुक बनाए । यस भेगका मानिसले युगौंबाट डालेचुक भन्दै आएका हिप्पोफीको बोटले संसारभर पाएको नाम चाहिं सिबक्थर्न हो । विश्व बजारमा सिबक्थर्नको जुसलगायतका पदार्थ उच्च मूल्यमा बिक्री हुने गरेको छ ।

चीन, भारत र नेपालमा सिबुक्थर्नको क्रमशः ७, ३ र २ प्रजाति छन् । समुद्री सतहबाट २२०० देखि ३५०० मिटरसम्मको उँचाइमा रहेका पश्चिम र मध्यपश्चिम नेपालका थुप्रै ठाउँमा सिबक्थर्नको हिप्पोफी स्यालीसीफोलिया प्रजाति पाइन्छ । त्यस्तै, ३८०० देखि ४५०० मिटरसम्मको उँचाइमा पूर्वी नेपालमा सिबक्थर्नको हिप्पोफी टिबेटाना प्रजाति पाइएको छ । अघिल्लो प्रजातिको बोट केही मिटर अग्लो र पछिल्लोको बोट एक मिटरभन्दा होचो हुन्छ ।

यो समूहको वनस्पतिमा हावाको माध्यमबाट परागसेचन प्रक्रिया सम्पन्न हुन्छ । चीन र भारतमा हिप्पोफी रोप्ने अभियान नै चलाइएको छ । यो पंक्तिकारले सन् २००४ मा सोलुखुम्बुमा पहिलो पटक हिप्पोफी टिबेटानाका फाट्टफुट्ट पोथ्रा भेटेको थियो । नेपालभर यसको जंगल कति छ, खोजतलाससम्म भएको छैन । चाँडै बढ्ने, माटोलाई नाइट्रोजनयुक्त बनाउने र भूक्षय रोक्ने हिप्पोफीमा अत्यधिक भिटामिन पाइन्छ । माइनस ३० डिग्री सेल्सियसको तापक्रममा पनि फस्टाउने यसको काँडादार बोटमा जेठ–असारमा फूल लाग्छ र असोज–कात्तिकमा पहेंलो, सुन्तले, खैरो र कुनै हल्का रातो फल पाक्छ । गाउँघरतिर यसको फलको रस सुन–चाँदी टल्काउन प्रयोग गर्ने परम्परागत चलन छ ।

गत कात्तिकमा म्याग्दीको जलथलेमा डालेचुकको सर्वत खाने अवसर जुर्‍यो । एक चम्चा डालेचुक र दुईचम्चा चिनी घोलेको सर्वतले एकै क्षणमा सारा थकान मेटेको अनुभूति भयो । त्यो एक विशेष टनिक नै थियो । यति असल डालेचुक त बनाइयो, तर बिक्री होला कि नहोला, गुण अनुसारको मोल पाइएला कि नपाइएला, बिक्री नभए कति महीनासम्म जोगाएर राख्न सकिएला भन्ने संशय चुक बनाउनेहरूमा थियो ।

मुस्ताङमा डालेचुकलाई चिचि र मनाङमा टिजीक्युन भनिन्छ । डोल्पा, मुगु, हुम्लामा चाहिं डालेचुक नै भनिंदोरहेछ । त्यस्तै, चीनमा सेबु, तिब्बतमा स्टार–बु वा ढार–बु, भारतको लद्दाखमा सेमाराङ, हिमाञ्चल प्रदेशमा छर्मा र उत्तराखण्डमा अमेस भनिंदोरहेछ ।

नेपालमा हिप्पोफी स्यालीसीफोलिया पाइन्छ भन्ने जानकारी दिने पुस्तक प्रोडोमस फ्लोरा नेपालेन्सिस् हो, जुन सन् १८२५ मा बेलायतबाट प्रकाशित भएको थियो । विश्वलाई हिप्पोफी स्यालीसीफोलियाबारेको पहिलो जानकारी त्यही थियो । नेपालको वनस्पति सम्बन्धी लेखिएको पहिलो पुस्तक पनि त्यही थियो, जसका लेखक डेभिड डन हुन् । बेलायतको एउटा वनस्पति संग्रहालयमा काम गर्ने उनी कहिल्यै नेपाल आएका थिएनन् । बुखानन् ह्यामिल्टन, इडवार्ड गार्डनर र नाथानियल वालिचले सन् १८२५ अगाडि संकलन गरेर बेलायत पठाएका वनस्पतिका नमूनाका आधारमा डनले पुस्तक तयार पारेका थिए । पुस्तकमा हिप्पोफी स्यालीसीफोलियाको नमूना ‘श्रीनगर, कामरूप’बाट संकलन गरिएको जनाइएको छ (पृष्ठः ६८) । त्यो नमूना वालिचले संकलन गरेको हुनुपर्छ, जसमा डनले ‘श्रीनगर, कामरूप’ पनि नेपाल भन्ठाने । त्यो वनस्पति नेपालमा पनि छ भन्ने अर्को जानकारी आउन करीब डेढ सय वर्ष लाग्यो ।

हिप्पोफी स्यालीसीफोलिया ।
नेपालमा हिप्पोफीको जंगल छ भन्ने जानकारी दिने पहिलो अनुसन्धानकर्ता बेलायतकै जेडिए स्टेन्टन हुन् । उनले आफ्नो पुस्तक फोरेष्ट अफ नेपाल (सन् १९७२) मा नेपाली वनजंगलको वर्गीकरण गर्दा उच्च हिमाली भेगमा हिप्पोफीको छुट्टै जंगल पाइन्छ भन्ने उल्लेख गरे । उनले हिप्पोफीको जंगललाई ‘हिप्पोफी स्क्रब’ नामकरण गरेका छन् (पृष्ठः १२६–१२७) । नेपालमा अहिलेसम्म डनकै वर्गीकरणको अनुसरण गरिएको छ ।

डालेचुकको पाकेको फल टिपेर यसै खाँदा केही स्वाद पाइन्न । तर, यसलाई भिटामिनको भण्डारै मानिन्छ । यसको १०० ग्राम जुसमा ११६० देखि १३०० मिलिग्रामसम्म भिटामिन सी पाइन्छ । जबकि, १०० ग्राम किवीमा १०० देखि ४७० मिलिग्रामसम्म मात्र भिटामिन सी हुन्छ । डालेचुकमा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी हुन्छ । त्यस्तै, प्रति १०० ग्राम जुसमा ५६ मिलिग्राम भिटामिन बी टु पाइन्छ । प्रति १०० ग्राम गाजर, सुन्तला र टमाटरमा क्रमशः ०.०५, ०.०३ र ०.०२ मिलिग्राम मात्र भिटामिन बी टु हुन्छ ।

डालेचुकमा भिटामिन बी वन भने सुन्तलामा भन्दा कम हुन्छ । भिटामिन ए भने सुन्तला, टमाटर र गाँजरमा भन्दा अत्यधिक बढी हुन्छ । प्रति १०० ग्राम फलको रसमा ११ मिलिग्राम भिटामिन ए पाइन्छ । त्यति नै सुन्तला र टमाटरमा क्रमशः ०.५५ र ०.३१ मिलिग्राम मात्र भिटामिन ए हुन्छ ।

तिब्बतमा हिप्पोफी स्यालीसीफोलियालाई जादुगरी वनस्पति भनेर जानिन्छ । ताङ वंशको पालामा लेखिएको एक पुस्तकका अनुसार एकहजार वर्ष पहिले तिब्बतमा यसलाई अत्यन्त गुणकारी वनस्पति मानिन्थ्यो । मंगोलियामा त १३औं शताब्दीमै यसबाट बनाइएको औषधि प्रयोग गरिने जानकारी पाइन्छ । रूसीहरूले पनि सन् १९३० ताका यसबारे बृहत् अनुसन्धान गरेका थिए । यसबाट बनाइएको शक्तिबद्र्धक पदार्थ विशेषतः अन्तरिक्ष यात्रीहरूले प्रयोग गर्थे ।

चीनले सन् १९८५ पछि हिप्पोफी स्यालीसीफोलिया रोप्ने अभियान चलायो । बिरुवा रोपेको डेढ दुई वर्षमै फल्ने यसको फललाई चीनले सन् १९९३ सम्म २०० किसिमका स्वास्थ्यबद्र्धक उत्पादनमा प्रयोग गरेको उल्लेख छ । भारत र पाकिस्तानले पनि यसको राम्रो उपयोग गर्दै आएका छन् । हिप्पोफीको फललाई ग्याष्ट्रिक, अल्सर, रक्तसंचार कम हुने, पोलेको, चिलाउने, मुख र पाचन प्रणालीका अंगहरू सुन्निने, छालाको अल्सर हटाउने आदि अनेकौं प्रकारका औषधिमा प्रयोग हुन्छ ।

डालेचुक अति महŒवपूर्ण जैविक सम्पदा हो, तर नेपालमा यसतर्फ खासै ध्यान गएको छैन । नीतिनिर्माताहरूले यसमा योजना बनाएर काम गर्ने वातावरण बनाइदिए सिबुक्थर्नबाट मनग्गे लाभ लिन सकिने देखिन्छ । नेपालको उच्च हिमाली भूभागमा सिबुक्थर्न रोप्न सकिने प्रशस्त खाली भूभाग छ । यसमा वन मन्त्रालयले देखिने गरिको काम गर्न सक्छ । त्यसपछि यसमा खाद्य प्रविधि सम्बन्धी निकायहरूले काम गर्न सक्छन् ।

comments powered by Disqus

रमझम