अनलाइनहुँदै पसल

Share:
  
सामाजिक सञ्जाल र अनलाइनमा चर्चित डिजाइनरहरू बजार विस्तारसँगै व्यवसाय विश्वसनीय बनाउन पसल नै खोल्न थालेका छन्।

जियू लिन

तस्वीरहरुः जियु लिन
बोरा एक्स नेपामोड को वर्कसपमा मीना र आकाश (तल) ।
आकाश श्रेष्ठ र मीना गुरुङको चिनजान चार महीनाअघि इन्स्टाग्राममा भएको थियो । इन्स्टाग्राममा आ–आफ्ना फेसनका डिजाइन पोस्ट गरिरहेका उनीहरूको कुराकानी भने फेसबूकमार्फत भयो । उस्तै सोच भएका साथी खोज्ने क्रममा भएको यो भेटकै प्रतिफल हो, काठमाडौंको गैह्रीधारामा खोलिएको बोरा एक्स नेपामोड पसल ।

आकाश र मीना इन्टरनेटमार्फत फेसन प्रवद्र्धन र बिक्री गरिरहेका नयाँ पुस्ताका प्रतिनिधि हुन् । फ्रान्सको पेरिसमा एक वर्ष फेसन डिजाइन अध्ययन गरेका आकाशलाई सन् २०१४ मा इन्स्टाग्राम अकाउण्ट शुरु गर्दा यति चाँडै रु.५५ हजारसम्मका डिजाइन ‘अर्डर’ आउलान् भन्ने कल्पनासम्म थिएन । तर, अहिले उनी इन्स्टाग्राममा मात्रै एकसय भन्दा बढी ग्राहकसँग कारोबार गरिरहेका हुन्छन् ।

इन्टरनेटमा सहज पहुँच, स्मार्ट फोनको बढ्दो प्रयोग र सामाजिक सञ्जालको लोकप्रियताका कारण इ–कमर्स परिपक्व बजार बनिरहेको छ । अनलाइन किनमेल साइट पनि बढिरहेका छन् । आफ्नो डिजाइन प्रवद्र्धन गर्न चाहनेहरूका लागि सामाजिक सञ्जाल त ‘वरदान’ नै बनेको छ । अहिले करीब २०० घरेलु ब्रान्डहरूले फेसबूक र इन्स्टाग्राममार्फत उत्पादन बेचिरहेका छन् । तर, सामाजिक सञ्जाल र वेबसाइटमा चर्चा कमाएका डिजाइनरहरू पनि पसल खोल्न थालेका छन् । पहिल्यै पसल भएकाहरू अनलाइनमा जाने र अनलाइनमा भएकाहरू पसल खोल्ने क्रम बढेको छ ।

स्वदेशी डिजाइनरका थरीथरी कलेक्सन प्रवद्र्धन गरिरहेको लिटलथिङ्सकेटिएम ले डिजाइनर र कलाकारका उत्पादनको समीक्षा समेत गरिरहेको छ । “तीन जनाको रिभ्यू टीममा दुई जना डिजाइनर र एकजना सोसल मिडिया म्यानेजर छन्”, लिटलथिङ्सकेटिएम का संस्थापकमध्येका सविन भण्डारी भन्छन् । “कहिलेकाहीं हाम्रो टीमले डिजाइन चोरी गरी बनाइएका उत्पादनहरू थाहा नपाउँदा अप्ठ्यारो परेको छ, बरु ग्राहकले नै हामीलाई त्यसबारे जानकारी दिन्छन् । त्यस्तो पाइएमा कि ती डिजाइन हटाउँछौं, कि डिजाइनरलाई श्रेय दिन्छौं”, सविन भन्छन् ।

परम्परागत तरिका भन्दा बेग्लै उत्पादन प्रवद्र्धन र बिक्रीका लागि सामाजिक सञ्जाल नै पसल बनिरहेका बेला नयाँ अनलाइन साइटहरू पसल/शोरुम पनि खोलिरहेका छन् । उनीहरूका अनुसार यसरी ‘शोरुम’ खोल्दा ग्राहक विश्वस्त हुन्छन्, ट्रेन्डिङ डिजाइनरलाई अझ ‘एक्सपोजर’ को अवसर पनि मिल्छ । लिटलथिङसकेटिएम ले आफ्नो पहिलो स्टोर हालै सानेपामा शुरु गरेको छ । जहाँ ‘ट्रेन्डी’ नेपाली र विदेशीले समेत रुचि देखाइरहेका छन् । नेपाली डिजाइनहरूका ब्याज, कार्ड, झोला, मग र टिसर्ट जस्ता उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिएका छन् । गत असोजदेखि वेबसाइटमार्फत बिक्री थालेको लिटलथिङसकेटिएम ले इन्स्टाग्राममा पनि विज्ञापन गरिरहेको छ ।

विभिन्न डिजाइनरका उत्पादन बिक्रीका लागि भाडामा ठाउँ उपलब्ध गराउने सोच अनुसार द लोकल प्रोजेक्ट नेपाल र तिम्रो कन्सेप्ट यसै वर्ष स्थापना भएका हुन् । द लोकल प्रोजेक्ट नेपाल मा डिजाइनरहरूले कम्तीमा तीन महीनाको करार गरी स्थान भाडामा लिन सक्छन् । स्टोरले कमिशनमा पनि अरुका डिजाइन बेच्ने गरेको छ । “आफ्नै स्टोर खोलेर व्यवसाय शुरु गर्न नसकिरहेका डिजाइनरका लागि हामी स्थान उपलब्ध गराउँछौं”, प्रोजेक्टका संस्थापक विनम शाक्य भन्छन् । यदि कुनै ब्रान्ड चलेन भने डिजाइनरलाई केही समय विश्राम लिएर नयाँ कलेक्सन साथ आउन सुझाव दिने गरेको पनि उनी बताउँछन् ।

सानेपास्थित लिटिलथिङ्सकेटिएम को स्टोर ।

सामाजिक सञ्जाल र वेबसाइटका समयमा पनि कतिपय ग्राहकहरू डिजाइन हेर्न, छुन र लगाएर परीक्षण गर्न चाहने हुन्छन् । “त्यस्ता ग्राहकका लागि वास्तविक पसल नै खोल्नुपर्ने हुन्छ,” विनम भन्छन् ।

अहिले पाँचवटा ब्रान्डको प्रवद्र्धन गरिरहेको द लोकल प्रोजेक्ट नेपालले शहरका अन्य भागमा पनि ‘स्टोर’ खोल्ने तयारी गरिरहेको छ । नयाँ कलेक्शनको तयारी गरिरहेका आकाश र मीना नयाँ स्टूडियो र इन्स्टाग्राम पनि व्यवस्थापन गर्दैछन् ।

comments powered by Disqus

रमझम