३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

जहिल्यैको ‘काल’

Share:
  
तराईमा घट्दो तापक्रमसँगै उत्पन्न शीतलहरका कारण मानिसले ज्यान गुमाइरहँदा सरकार भने सत्ता र स्वार्थको ‘न्यानो’ मा मस्त छ।

सुरेश बिडारी
वीरगञ्जको घण्टाघर चोकमा नेपाली सेनाले उपलब्ध गराएको दाउरा बालेर ताप्दै स्थानीय ।
२० पुस दिउँसो बाराको कलैयाबाट सिम्रौनगढतर्फ गइरहेको बसमा पचरौता नगरपालिका–२ का गयासुद्दिन अन्सारी (५०) मृत भेटिए । बसका सहचालकले ‘झ्र्ने बेला भयो’ भन्नुअघि नै कठ्यांग्रिएर उनको ज्यान गइसकेको थियो ।

राति सकुशल सुतेका जिराभवानी गापा–१ महादेवपट्टीका कमल खवास थारू (६०) २६ पुस बिहान मृत भेटिए । महादेवपट्टी नै बस्ने शम्भु महरा चमार (३५) को पनि सोही दिन मृत्यु भयो । आर्थिक अवस्था अत्यन्त कमजोर दुवै जनाले न्यानो कपडाकै अभावमा ज्यान गुमाएको स्थानीय बताउँछन् ।

मौसमविद्का अनुसार, राति पृथ्वीको तापक्रम र सापेक्षिक आर्द्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यो जलकणलाई बोलीचालीको भाषामा कुहिरो भनिन्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजिकको वायुमण्डल झ्न् चिसो हुन्छ ।

दिन छिप्पिंदै जाँदा तापक्रम बढ्दै जान्छ र जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । तर कुहिरोको तह बाक्लो भएमा आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सक्दैन र, कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ । यही शीतलहर वर्षेनि सयौंको मृत्युको कारण बनिरहेको छ ।

लगातारको शीतलहरपछि २४ पुसमा रौतहटमा थोरै घाम लागेको थियो । तर, त्यही राति राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका अलकबहादुर सिंह (७०) र पर्रोहा नगरपालिका ९ रामपुर टोलका नसुरुल्ला खातुन (७०) ले अर्को बिहान देख्न पाएनन् । चिसोकै कारण सुतेकै अवस्थामा उनीहरूको मृत्यु भयो ।

दुई सातादेखि राम्रोसँग घाम लाग्न नसक्दा तराईमा विगत तीन वर्षयताकै सबैभन्दा चिसो महसूस गरिएको छ । वीरगञ्जको रानीघाटस्थित अटोमेटिक वेदर स्टेशनका कामेश्वर राउतका अनुसार, स्टेशन स्थापनाको तीन वर्षयता यस वर्ष सबैभन्दा कम तापक्रम मापन गरिएको छ । गत सातायता वीरगञ्जको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम १० डिग्रीसम्म झ्रेको छ । कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको संख्या घटेको छ । सार्वजनिक स्थलहरूमा मानिसहरू आगो तापिरहेका छन् ।

चिसोबाट खुला स्थानमा दैनिक ज्यालादारी गर्ने मजदूर, रिक्सा र ठेला चालकहरू बढी प्रभावित छन् । बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलमा नियमित उडान हुनसकेको छैन । बिहान बाक्लो हुस्सुसँगै शीत पर्ने र दिनभरि कुहिरो लाग्ने गरेपछि मध्य तराईका पर्सा, बारा, रौतहट, सप्तरीलगायत जिल्लाका विद्यालय दुई सातादेखि बन्द छन् ।

रौतहटमा १० जनाले कठ्याङ्ग्रिएर ज्यान गुमाइसकेका छन् भने पर्सामा तीन जना र बारामा एक जनाको ज्यान गइसकेको संघीय प्रहरी एकाइ कार्यालय, वीरगञ्जले जनाएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जका डा. निरज सिंह अत्यधिक चिसोले शरीरमा विभिन्न समस्या आउने र मृत्यु समेत हुने गरेको बताउँछन् । “धेरै चिसोमा हृदयघात पनि हुन सक्छ, दम बढेर अक्सिजनको कमीले पनि ज्यान जान सक्छ”, उनी भन्छन् । चिसोमा कडा खालको पक्षघात र लामो समय चिसोमा बसेका कारण हाईपोथर्मिया भएर पनि अकालमा ज्यान जाने गरेको उनी बताउँछन् ।

कपिलवस्तुमा विगत ३० वर्ष यताकै चिसो छ । जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय हावापानी कार्यालयअन्तर्गत तौलिहवा रामनगरकी प्रतिनिधि सुष्मा आचार्यका अनुसार, जिल्लामा दैनिक न्यूनतम ६ र अधिकतम १० डिग्री सेन्टिग्रेड तापक्रम मापन गरिएको छ ।

तौलिहवा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. किशोर बन्जाडे निमोनिया, दम, पखालालगायतका समस्या लिएर अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा आउने बिरामीको संख्या बढेको बताउँछन् । चिसोको असर कम गर्न चोक र गल्लीमा आगो ताप्न बस्दा कुकुरले टोकेर अस्पतालमा आउने संख्या पनि बढेको उनी बताउँछन् ।

यता शीतलहरले आलु र तरकारी बाली नष्ट भएका छन् । यशोधरा गापा–३ का योगराज मिश्रा शीतलहरले ४ कट्ठामा लगाएको आलु र १० कट्ठामा लगाएको तोरी पूरै नष्ट भएको बताउँछन् ।

पछिल्लो दुई साता लगातारको शीतलहरले पूर्वी तराईको सप्तरीमा मात्र दुई दर्जन भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसो त प्रत्येक वर्ष शीतलहरका कारण ज्यान गुमाउनेको संख्या सप्तरीमै बढी हुने गर्दछ ।

राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव तथा सप्तरी २ ‘ख’ का प्रदेश सभा सदस्य मनिष सुमन प्रदेश २ मा करीब ४८ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका कारण शीतलहरले ज्यान गुमाउनुपर्ने अवस्था आएको बताउँछन् । “नत्र किन माइनस डिग्री तापक्रममा पनि कर्णालीमा मान्छे मरेको खबर आउँदैन ?” सुमन भन्छन्, “शीतलहरको दीर्घकालीन समाधान आर्थिक समृद्धि नै हो ।”

संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र साह पनि राज्य पक्षको उदासीनताकै कारण जाडोबाट तराईवासीको मृत्यु भइरहेको बताउँछन् । “जाडो आइरहेको कुरा सरकारलाई थाहा हुन्छ तर ऊ मान्छे मरेपछि मात्रै जाग्छ”, सप्तरी २ ‘क’ प्रदेश सभा सदस्य समेत रहेका उनी भन्छन् । यससम्बन्धी प्रधानमन्त्रीलाई आफूले ज्ञापनपत्रसमेत पठाइसकेको उनी बताउँछन् ।

यत्रो शीतलहरको प्रकोप हुँदा नवनिर्वाचित जनप्रतिनिधिले समेत केही गर्न नसकेकोमा सामाजिक संजालमा व्यापक असन्तुष्टि देखिएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहिसकेकी एमाले नेतृ रञ्जु ठाकुर चुनावका बेला गर्ने खर्चको थोरै अंश पनि यतिबेला दिने हो भने थुप्रै पीडितले राहत पाउने बताउँदै भन्छिन्, “नेताहरूको भोटमुखी रवैयामा पनि परिवर्तन हुनुपर्छ ।”

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे भने गरीबीकै कारण मानिसको मृत्यु भएको मान्न तयार छैनन् । “बाहिर चर्चामा आएजस्तो गरीबीका कारण मृत्यु भएको होइन, रोगलाई थामेर राख्ने र जनचेतना अभाव प्रमुख हुन्”, उनी भन्छन् । विभिन्न किसिमका रोगी भए पनि समयमै उपचार नगराउँदा, घरको न्यानो कपडा प्रयोग नगर्दा र अत्यधिक मदिरा सेवनले पनि धेरैको ज्यान लिएको आफूले देखेको पाण्डेको भनाइ छ ।

अत्यधिक चिसोका कारण २१ पुसमा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा विराटनगरकी अढाइ महीनाकी लक्ष्मी साह र सप्तरीकी ६ महीनाकी गंगा चौधरीको मृत्यु भयो । प्रदेश १ को ठूलो सरकारी अस्पताल कोशीको आकस्मिक कक्षमा शिशु र बालबालिकाको संख्या बढेको छ । “समग्रमा चिसोका कारण हुने समस्याले अस्पताल आउने बालबालिकाको संख्या ५० प्रतिशतले बढेको छ”, अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झ भन्छन् ।

चिकित्सकका अनुसार, यस्तो बेला बच्चालाई न्यानो कपडा लगाएर तातो, झेलिलो खाना खुवाउनुपर्छ । झयालढोका बन्द गरेर कोठा न्यानो पार्नुपर्छ । “कोठामा आगो बालेर न्यानो बनाउन खोजिए बच्चा निस्सासिने र बढी तापक्रम भए मृत्यु पनि हुनसक्ने प्रति पनि सचेत हुनुपर्छ”, डा. झ भन्छन् ।

राहतले परनिर्भर !

चिसोको असर कम गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठक बसेर राहतका विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । सर्वसाधारणलाई राहत दिन महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले पनि आगो ताप्न काठको प्रबन्ध मिलाउने र अति विपन्न सर्वसाधारणलाई कम्बल बाँड्ने काम समेत भइरहेको छ । तर, जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय तहसँग समन्वय गरेर मात्र राहत वितरण गर्न निर्देशन दिइए पनि पालना हुनसकेको छैन ।

रेडक्रस पर्साका सभापति फूल मोहम्मद मियाँ पछिल्लो समयमा मानिसमा ‘आफूले केही नगर्ने तर अरूको आश गर्ने प्रवृत्ति’ बढेको बताउँछन् । “चिसोबाट अरूले नै बचाउँछन् भन्ने जस्तो देखिएको छ”, उनी भन्छन् ।

रौतहटका सामाजिक अभियन्ता प्रकाशप्रसाद थारू चिसोले तराई मधेशका मुसहर, डोम, चमारलगायतका दलित विपन्न समुदाय बढी प्रभावित हुने गरेको बताउँछन् । प्रभावित समुदायलाई कम्बल र न्यानो कपडा बाँड्ने भन्दा पनि आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा उनको जोड छ ।

सुरेश बिडारी वीरगञ्ज, श्रवण देव सप्तरी, सञ्जय मित्र रौतहट, गोपाल भण्डारी कपिलवस्तु, कमल रिमाल विराटनगर

comments powered by Disqus

रमझम