३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

यौटैका अनेक आतंक

Share:
  
- दीपक ज्ञवाली, बुटवल
रूपन्देहीमा ठूला अपराध हुने वित्तिाकै प्रहरीलाई फोन गरेर जिम्मेवारी लिने मनोज पुनको अहिलेसम्म अत्तोपतो छैन।

मनोज पुन ।
९ चैत २०७२ मा रूपन्देहीको देवदहमा नेकपा (एमाले) का कार्यकर्ता दुर्गा तिवारी (४०) माथि गोली प्रहार भयो । भाग्यवश उनी बाँचे । प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरेर घटनाका मुख्य योजनाकार देवदहकै मनोज पुन फरार रहेको बतायो । तिनै दुर्गामाथि ४ पुस २०७३ मा दोस्रो पटक गोली प्रहार भयो र उनी मारिए । यसपटक पनि उनै मनोजले प्रहरीलाई फोन गरेर हत्याको जिम्मेवारी लिए ।

त्यसको एक वर्षपछि २१ पुसमा देवदहकै फर्निचर व्यवसायी बसन्त पौडेल (४०) लाई गोली हानेर मारियो । यो पटक पनि हत्यालगत्तै मनोज पुनले सञ्चारकर्मीहरूलाई फोन गरेर सगर्व जिम्मेवारी लिए । उनले २० भदौमा मणिग्रामका व्यवसायी दीपक भण्डारीलाई पनि गोली हान्न लगाएको बताएका थिए । आफूले मागेको रु.४० लाख नदिएकाले भण्डारीलाई गोली हानेको उनको भनाइ थियो ।

रूपन्देहीमा यौटै व्यक्तिले शृंखलाबद्ध हत्या र आतंक मच्चाएर प्रहरीलाई निरीह बनाएको छ । मलेशियामा रहेको बताउने मनोज वास्तवमा कहाँ छन्, उनको निर्देशनमा गोली हान्ने गिरोहमा को–को छन् ? प्रहरीले पत्ता लगाउन सकेको छैन । रूपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली मनोज नेपालमा नरहेको र यो अन्तरदेशीय समस्या भएको बताउँछन् । “उसको खोजी भइरहेकै बेला अर्को हत्या भयो”, उनी भन्छन्, “प्रहरी ९० मिनेट मैदानमा खेल्यो, तर अन्तिममा गोल उसले हानेझ्ैं भएको छ ।”

प्रहरीले मनोजको परिवारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा समेत केही पत्ता नलागेको एसपी ज्ञवाली बताउँछन् । पौडेल हत्यापछि रूपन्देही आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) टोलीले मसिनो गरी अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

रूपन्देही प्रहरीले दुर्गा तिवारीको हत्यामा संलग्न भन्दै १५ फागुन २०७३ मा ११ जनाको नाम सार्वजनिक गरेको थियो । तीमध्ये सात जनालाई पक्राउ पनि गर्‍यो । एसपी ज्ञवाली त्यो घटनालाई लिएर अहिलेसम्म १६ जना पक्राउ परेको बताउँछन् । शुरूमा नाम सार्वजनिक गरिएकामध्ये देवदह–३ सेमरानाका बाबु भन्ने तुलबहादुर सिंजालीसहित पाँच जना अझै फरार छन् ।

२१ पुसमा हत्या गरिएका बसन्त पौडेल ।

४ पुस २०७३ मा हत्या गरिएका दुर्गा तिवारी ।

पक्राउ परेकाहरूको बयान अनुसार मनोजले जिम्मेवारी लिएजस्तै उनी नै मुख्य योजनाकार हुन् । काठमाडौंलगायत अन्यत्रका लुटपाट, असुली, धम्की र हत्याका घटनामा पनि उनी जोडिएका छन् । मलेशिया भएको बताए पनि मनोजलाई भारतीय भूमिमा सक्रिय कुनै ठूलो गिरोहले अपराध कर्म गराइरहेको प्रहरीको अनुमान छ ।

आतंकको राज

शान्तिका अग्रदूत बुद्धको मावली देवदह क्षेत्र आतंकित छ । एक वर्षको फरकमा दिनदहाडै दुई युवाको हत्या त भयो नै मनोज पुन र उसको नाममा चन्दा आतंक र ज्यानको धम्कीमा बस्नु परेको छ, देवदहवासीले । स्थानीय लीलाधर पौडेल प्रहरीले सुरक्षा अनुभूति गराउन नसकेको बताउँछन् ।

तीनतिरबाट जंगलले घेरिएको देवदहमा शान्ति सुरक्षा पुरानै माग हो । यहाँ घटना गराएपछि अपराधीहरू सजिलै भाग्न सक्ने बाटाहरू छन् । स्थानीयले क वर्गको इलाका प्रहरी कार्यालय राख्नुपर्ने माग गरेको धेरै वर्ष भयो । खैरेनीमा रहेको इलाका प्रहरी कार्यालयमा सईको नेतृत्वमा रहेका १९ जना प्रहरी राजमार्ग क्षेत्रमै व्यस्त हुन्छन् । “स्रोतसाधन सम्पन्न प्रहरी कार्यालय मागेको माग्यै छौं” स्थानीय नारायण भट्टराई भन्छन्, “तर, सरकारले बेवास्ता गरेकै कारण अपराध दोहोरिइरहेका छन् ।”

हत्याको जिम्मा लिने गरेका मनोज पुनकी श्रीमती लगायतका परिवार देवदहस्थित घरमै छन् । मनोजले धम्की दिन कसैलाई छाडेका छैनन् । उनले बसन्तको हत्या विरुद्ध आन्दोलन गरेका एमाले युवाहरूलाई पनि फोन गरेर धम्की दिए । धेरै असुरक्षित महसूस गरेका देवदहवासी मोबाइल फोनमा आउने धम्कीकै कारण मुख खोल्न डराउँछन् ।

गत वर्ष दुर्गा तिवारीको हत्या भएदेखि नै रूपन्देहीमा मनोज पुनको नामबाट रकम माग्ने फोन कल बढेको थियो । पछिल्लो समय मागेको रकम नदिए मारिने धम्की पाएका २० जनाले प्रहरीसँग सुरक्षाको माग गरेका छन् । धम्की पाएकाको वास्तविक संख्या योभन्दा निकै ठूलो रहेको अनुमान गर्ने एसपी ज्ञवाली भन्छन्, “डरकै कारण सबैले प्रहरीलाई सूचना दिएका छैनन् ।”

उनका अनुसार, बसन्त पौडेलको हत्यापछि जिल्ला प्रहरीले धम्की आएका सबै व्यवसायीलाई निवेदन दर्ता गराउन अनुरोध गरेको थियो । सबैको सूचना संकलनपछि थप सुरक्षा दिने प्रहरीको तयारी रहेको एसपी ज्ञवाली बताउँछन् । तर, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ रकम असुलीबाट हैरान हुँदा पनि व्यवसायीहरू प्रहरीकहाँ नपुगेको बताउँछन् । उनी भन्छन्, “प्रहरीले अपराधीलाई पक्राउ गर्छ र पीडितलाई सुरक्षा दिन्छ भन्नेमा पूरा विश्वास नहुँदा आतंककै राज कायम छ ।”

बसन्तको हत्या र त्यस विरुद्धको आन्दोलन पछि यसपटक पनि जिल्ला सुरक्षा समितिले देवदहमा शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय खैरेनीलाई क वर्गको स्थायी इप्रका बनाउने लिखित प्रतिबद्धता जनाएको छ । त्यो भएमा त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा २९ जना प्रहरी रहनेछन् । मुद्दा दर्ता र सहजीकरण त्यहींबाट हुनेछ ।

मनोज–दुर्गा–बसन्त ‘कनेक्सन’

बसन्त पौडेल र दुर्गा तिवारीको हत्याको जिम्मा लिने मनोज पुन पहिले माओवादीको योङ कम्युनिष्ट लिग (वाईसिएल) मा आबद्ध थिए । बुटवलमा एमालेको युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवको हत्यापछि ६ वर्षअघि उनी युथ फोर्समा प्रवेश गरेर क्षेत्रीय कमिटी कोषाध्यक्ष बनेका थिए । मनोजलाई दुर्गाले नै युथफोर्समा ल्याएका थिए । तर, फोर्सको नाममा पहिले जस्तै आपराधिक गतिविधि बढाएको भन्दै फोर्सले निष्काशन गरेको थियो । त्यसपछि उनी दुर्गासँग रुष्ट बनेका थिए ।

देवदहको करीब नौ बिघा सार्वजनिक जग्गा काण्डमा समेत उनीसँग मनोज रिसाएका थिए । आफ्नो समूहले बिक्री गरेको उक्त जग्गा फिर्ता गराउन दुर्गा सक्रिय भएको भन्दै त्यो बेला मनोजले बदला लिने धम्की दिएका थिए । युवासंघ, रूपन्देहीका अध्यक्ष रहिसकेका दुर्गा राजनीतिसँगै ईंटा व्यवसायमा संलग्न थिए । उनी र बसन्त नजिकका साथी थिए । दुर्गापछि अब तेरो पालो भन्दै मनोजले बसन्तलाई धम्की दिंदैआएका थिए । मनोजले बसन्तमाथि दुर्गाको हत्याको विरोधमा उत्रिएको, आफ्ना समूहका साथीहरूलाई पक्राएको र आफूले भनेको नमानेको जस्ता आरोप लगाउँदै आएका थिए । देवदहमा दुर्गा र बसन्त छिमेकी हुन् ।

comments powered by Disqus

रमझम