३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

भूकम्पपछि कौसी खेती

Share:
  

गोपेन राई
ललितपुर, बागडोलकी सम्झना घिमिरे ।
कंक्रिटका घरले शहरी क्षेत्रका अधिकांश ठाउँ ढाकिएका छन् । थोरै क्षेत्रफलका जग्गामा घर बनाइने भएकाले अधिकांशको घरमा करेसाबारी नहुन सक्छ । शहरी क्षेत्रको यो अवस्था मध्यनजर गरेरै कौसी खेतीको अवधारणा आएको हो ।

१२ वैशाख २०७२ को भूकम्पका बेला ललितपुर महानगरपालिका ४, बागडोलकी सम्झना घिमिरे (४०) चार आना दुई पैसा जमीनमा बनेको चारतले घरको कौसीमै थिइन् । कौसीमा कुखुरा पाल्न बनाइएको सानो कोठाको पर्खाल ढलेर कुखुराहरू मरे । त्यसपछि धेरैले उनलाई छतमा भार हुने भन्दै कौसी खेती नगर्न सुझाव दिए । तर, १० वर्षदेखि कौसी खेती गरिरहेकी उनले खेती छाडिनन् । बरु, छतलाई भार कम पार्नेबारे तालिम लिइन्, सिकिन् । छिमेकीलाई पनि सिकाउन थालेकी छन् ।

कौसीमा माटोको भार कम गर्न माटो, नरिवलको जटा, भुस, कम्पोष्ट मल, पातहरू प्रयोग गरी हलुका माटो तयार पार्नुपर्छ । “पहिले माटो धेरै प्रयोग गर्थें” घिमिरे भन्छिन्, “अहिले माटोसँगै, काठको भुस, पातपतिङ्गर, प्राङ्गारिक मलको अनुपात मिलाएर प्रयोग गर्छु ।” उनी मौसम अनुसार, लसुन, प्यास, मुला, भान्टा, खुर्सानी, भेडेखुर्सानी, टमाटर, विभिन्न प्रकारका साग लगाउँछिन् । रोजमेरी, ओरिगानो, लेमन ग्रास जस्ता हर्बल पनि लगाएकी छिन् । दूध, चाउचाउ लगायतका प्लाष्टिकका प्याकेटलाई बीउ उमार्न प्रयोग गर्छिन् । बिरुवा हुर्किएपछि कार्टुन, बोरा, प्लाष्टिक तथा टीनका भाँडामा सार्छिन् । घरकै फोहोरबाट कम्पोष्ट मल बनाउँछिन् । तरकारीलाई कीराबाट जोगाउन तितेपातीको झोल प्रयोग गर्छिन् ।

गार्डेन डिजाइनर तथा कौसी खेतीका प्रशिक्षक शेषनारायण महर्जन कौसी खेतीबाट घरमै विषादीरहित ताजा तरकारी खान पाइने बताउँछन् । “सानो परिवारका लागि तरकारीलगायतका अन्य कतिपय वस्तु कोसीमै उमार्न सकिन्छ, कस्तो समयमा के र कसरी लगाउने भन्ने ख्याल राख्नुपर्छ”, उनी भन्छन् । बागडोलकी घिमिरेको पाँच जनाको परिवारलाई पनि बेलाबखत बाहेक तरकारी किन्नुपर्दैन । “कुनै बेला त पाहुनालाई पठाउन समेत पुग्छ”, उनी भन्छिन् ।

मौसम अनुसार, ३०÷४० प्रकारका तरकारी घरमै उत्पादन गर्न सकिन्छ । कलमी गरेको बिरुवा कौसीमा लगाएर आँप, जुनार, सुन्तलालगायतका फलफूल पनि फलाउन सकिन्छ । उपत्यकाका तीन जिल्लामा ६० देखि ६५ प्रतिशत कुहिने फोहोर निस्किन्छ, जसबाट मल बनाइए घरमै फोहोर व्यवस्थापन गर्न सकिन्छ । कौसीमा तरकारी पखालेको, भाँडा धोएको पानी प्रयोग गर्न सकिन्छ । “कौसी खेतीबाट प्लाष्टिक, बोरा, भाँडाकुडालगायतका १०÷१५ प्रकारका फोहोर पनि पुनः प्रयोगमार्फत घटाउन सकिन्छ”, प्रशिक्षक महर्जन भन्छन् ।

त्यसो त कौसी खेतीका अनेक फाइदा छन् । समयको सदुपयोग र शारीरिक व्यायामका लागि पनि यो लाभदायक हुन्छ । यसले घरमा हरियाली हुने मात्र होइन, आनन्दित पनि तुल्याउँछ । त्यसैले शहरी क्षेत्रमा विभिन्न संस्था तथा स्थानीय तहले विभिन्न तालिममार्फत कौसी खेतीलाई प्रोत्साहन र प्रवद्र्धन गरिरहेका छन् ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम