३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

फोकल्यान्ड युद्घको तथ्य

Share:
  

नेपाली साहित्यमा युद्धसाहित्य विधा लामो समयसम्म इतिहासकै गर्भभित्र रह्यो । यसैको निशाना बन्यो, बेलायती सेनामा काम गर्ने गोर्खा रेजिमेन्ट (लाहुरे) को साहसिक र त्रासदीपूर्ण जीवन कथा । विभिन्न युद्धमा प्रमाणित भएको गोर्खाली वीरताको गाथा धेरै ढिलो गरी मात्र नेपाली साहित्यमा प्रवेश गर्‍यो । तर, ढिलै सही कतिपय सेवानिवृत्त गोर्खाली सैनिक नयाँ सिद्धान्त र प्रयोग गरेर नेपाली साहित्यलाई उन्नत बनाउने कसरतमा छन् ।

तिनैमध्येका हुन्, खोटाङका गणेश राई । र, फोकल्यान्ड जर्नल युद्धसाहित्यको उनको पाँचौं कृति हो । यस कृतिमा लेखकले १९८२ अप्रिल २ देखि अक्टोबर १२ सम्मको यात्रानुभव समेटेका छन् । बेलायतको अधीनमा रहेको बेलिज र ग्वाटेमालाको सिमानाबाट शुरू भएको यात्रा दैनिकीलाई लेखकले फोकल्यान्ड युद्ध जितेर प्रधानमन्त्री मार्गरेट थ्याचरसँग विजयोत्सव मनाउँदासम्मको रोचक अनुभूति प्रस्तुत गरेका छन् ।

पुस्तक फोकल्यान्ड जर्नल (बेलायती गोर्खा सैनिकको युद्ध–अनुभव)

लेखक गणेश राई

प्रकाशक वि रिड

पृष्ठ १५०+१०,

मूल्य रु. ३२५

झन्डै १८०० स्कट र वेल्स बसोबास गर्ने बेलायतबाट ८ हजार माइल टाढा रहेको फोकल्यान्ड टापुमा अर्जेन्टिनाले १९८२ अप्रिल २ मा आक्रमण गर्‍यो । त्यसदिनदेखि नै लडाईं त चलिरहेकै थियो, तर जून १ मा पहिलोपटक गोर्खाली सैनिक फोकल्याण्डको भूमि टेके । वीर गोर्खालीलाई फोकल्यान्ड पुनः बेलायतको नियन्त्रणमा फर्काउन १४ दिन मात्र लाग्यो । लेखकले त्यसैको वर्णन गरेका छन् । लेखकका अनुसार, लडाइँ अवधिमा ३० हजार बेलायती सेनाले भाग लिएका थिए, जसमध्ये २५८ बेलायती सैनिकले शहादत प्राप्त गरे । तर, यत्रो लडाइँमा एक जना मात्रै गोर्खा सैनिक लान्स कर्पोरल बुद्धबहादुर लिम्बूले ज्यान गुमाए, त्यो पनि युद्ध सकिएपछि ट्रेन्च पुर्ने क्रममा । लेखकले गोर्खाहरू युद्ध कौशलले सिद्धहस्त साहसी जाति भएकै कारण मृत्युवरण गर्नु नपरेको तर्क गरेका छन् । युद्धभूमिमा देखिएको सिपाहीविहीन क्याम्पलाई ‘बैंससँगै लोग्ने मरेकी आइमाई’ सँग तुलना गर्ने लेखकले घरपरिवार, आफन्त र आफ्नो देशबाट टाढा रहेर युद्धको भुङ्ग्रोमा हामफाल्दाको पीडा, छटपटी र एकान्तलाई कारुणिक उत्तेजनामा प्रस्तुत गरेका छन् ।

युद्धमा सिपाहीहरू लडाइँ मात्रै लड्दैनन्, उनीहरूको मानवताको परीक्षण पनि हुन्छ भन्ने दृष्टान्तलाई लेखकले जोड दिएका छन् । युद्ध अवधिभर रिजर्भ सेक्सनमा बस्ने डरपोक कर्पोरलले आत्मसमर्पण गरिसकेका अर्जेन्टिनी सेनालाई खुकुरीले छप्काउन आदेश दिंदा आफूले ‘शरणको मरण नगर्ने’ भन्दै आदेश अस्वीकार गरेको उनले लेखेका छन् । खुकुरीको भरमै पनि ठूला र अप्ठेरा युद्ध लड्न सक्ने क्षमता गोर्खालीहरूसँग भएको अतिरञ्जनापूर्ण मनोविज्ञान अर्जेन्टिनी सेनामा परेको लेखकलाई फोकल्यान्ड पुगेपछि मात्र बोध हुन्छ । युद्धपछिको बेलायत र अर्जेन्टिना बीचको सन्धिपत्रको हस्ताक्षरलाई लाशको चाङमाथिको हिसाबकिताब मात्रै हो भन्ने लेखकको ठहर छ । १९८२ जून १ देखि जून १४ सम्म फोकल्याण्डमा भएको भीषण लडाइँमा गोर्खाली सैनिकको अमानवीय व्यवहारको आरोप मिथ्या मात्र भएको भन्दै राईले थुप्रै प्रमाण प्रस्तुत गरेका छन् ।

कवितात्मक शैलीमा लेखिएको पुस्तकमा जनजिब्रोको भाषा छ । युद्धको त्रासदी र कारुणिक उत्तेजना एकैपटक उद्वेलित कृतिले पाठकलाई फोकल्यान्डमै प्रत्यक्ष पुगेको अनुभूत गराउँछ ।

पूर्ण इन्फादा

comments powered by Disqus

रमझम