कृषि कर्मका प्रारम्भिक ज्ञान

Share:
  
- दीपक अर्याल
झण्डै शताब्दीअघिको कृषि–पशु क्षेत्र विश्लेषण गर्न अनन्तशमशेर थापा क्षेत्रीलाई नपढी धर छैन।

[
नेपाली भाषाका पुस्तक प्रकाशन इतिहासमा कृषिसँग सम्बन्धित मकैको खेती चर्चित छ । यो पुस्तक कृषि सामग्री र कृषि प्रणाली÷परम्पराका हिसाबले भन्दा पनि राजनीतिक कारणले महत्वपूर्ण रह्यो । लेखक कृष्णलाल अधिकारी (१९४४ माघ २४— १९८० मंसीर २५) लाई १९७७ साउन ११ गते मुद्दा चलाइयो । उनका सबै कृति जफत गरिए, जलाइए । अन्ततः जेलमै उनको ज्यान गयो ।

यही पुस्तक अधिकारी पक्राउ परेकै साल चैत ४ गते केही अंश फेरेर, नयाँ नाम कृषि शिक्षावली (१९७७) का नाममा गोरखा भाषा प्रकाशिनी समितिले पुनः प्रकाशित ग¥यो भन्ने दाबीमा भने थप अध्ययन गर्नुपर्ने देखिन्छ (दीक्षितः २०१७; सुवेदीः २०३२; अधिकारीः २०६८) । कृषि शिक्षावलीलाई मकैको खेती को पुनः प्रकाशित रूप माने पनि नमाने पनि यो पुस्तकलाई कृषि क्षेत्रको सबैभन्दा पुरानो मध्येको मान्नुपर्ने हुन्छ । २००७ साल अगाडि वाहन सर्वस्व (१९८४), कपास खेतीको साधारण सूचना (१९८६), केसरको खेती (केसर पुष्पाञ्जली)–(१९८७), पशु प्रबन्ध (१९९०), फल विज्ञान (१९९४), व्यावसायिक खेतीबाट लाभ (१९९६), फूल खेती (१९९९), सुन्तला खेती र यसका कुटुम्ब (१९९९), साग खेती भाग–१ र २ (१९९९), मलको विषय (२०००), भटमास खेती र आहार (२०००), कपास खेती (२००२), आलुको खेती (२००३) आदि पुस्तक प्रकाशित भएको देखिन्छ ।

कृषिको विगत सम्झ्ँदा तथा पुराना किताबहरूको चर्चा गर्दा कृषि–पशु क्षेत्रमा विशेष काम गरेका अनन्तशमशेर थापा क्षेत्रीलाई सम्झ्नुपर्छ । थापाको वाहन सर्वस्व, केसरको खेती (केसर पुष्पाञ्जली), पशु प्रबन्ध तीन वटा पुस्तक प्रकाशित भएको देखिन्छ । कुल २४२ पृष्ठको वाहन सर्वस्व किताबका प्रकाशक स्वयं थापा नै थिए । केसरको खेती गोरखापत्र छापाखानाबाट मुद्रित पुस्तक हो भने पशु–प्रबन्ध ६७२ पृष्ठको ठूलो कृतिका रूपमा परिचित छ ।

वाहन सर्वस्व अर्थात् नेपाली भाषाको अश्वशास्त्र । यो पुस्तकले घोडाका लक्षण, सत्व, वर्ण, गन्ध, आवर्त, दोष, उत्पादन र पालनको विधि, चिकित्सा, औषध आदिको विषयमा जानकारी दिन्छ । आधुनिक यातायातका साधनहरू नहुँदा राजादेखि रङ्कसम्मका लागि घोडाको महत्व कति थियो भन्ने बुझनका लागि लेखकले भूमिकामा विशेष जोड दिएका छन् ।

फाल्हालौं कि उडें भनेर हिलिने घोडाहरू देखँदा,

ईषत् हास्य निकालने रवि गरून् कल्याण हाम्रो सदा

केसर–पुष्पाञ्जली केसरको खेती कुन तरिकाले, कस्ता जमीनमा, कुन याममा गर्नुपर्दछ र केसर पूजनादिमा, व्यवहारमा औषधिका काममा कुन कुन तरहले चलेको छ आदि विषयमा जानकारी दिने उद्देश्यले लेखिएको छ । यी जानकारीहरू लेख्दा प्राच्य तथा पाश्चात्य विद्वानजनहरूले लेखेका पुस्तकहरूबाट संग्रह, उद्धृत र अनुवाद गरेको मेजर थापाले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् ।

थापाको अर्को पुस्तक पशु–प्रबन्ध गाई, भैसी, राँगा, साँढे, गोरु, बाख्री, खसी, बोका, भेडा, बनेल, सुँगुर, घोडा, हात्ती, ऊँट, खच्चड, कुकुर, बिराला आदि पशुहरूको पालनपोषण, लक्षण, सन्तानोत्पत्ति र इलाज औषधिका बयान–विवेचन विधि–विधानसँग केन्द्रित छ । १९९० सालमा यो पुस्तक प्रकाशित हुँदासम्म थापा मेजरबाट लेफ्टिनेन्ट कर्णेल बनिसकेका थिए । तीन वटा पुस्तक प्रकाशित भए पनि यिनै लेखकको गहुँको खेती भन्ने पुस्तक भने प्रकाशित हुन सकेन (मदन पुरस्कार पुस्तकालयमा उपलब्ध छैन) ।

हस्तलिखित यो पुस्तक भने मपुपुमा सुरक्षित छ । पुस्तकमा थापालाई श्री कम्याण्डर कर्णेल केशरसिंह थापा क्षत्रीयका नाति, प्रेमामृत वर्षिणी–तत्वबोध इत्यादि ग्रन्थहरूका रचयिता लेफ्टिनेन्ट कर्णेल प्रेमशमशेर थापा क्षत्रीयका तृतीय पुत्रका रूपमा चिनाइएको छ । उनका बाबु प्रेमशमशेरको पुस्तक प्रेमामृत वर्षिणी आयुर्वेदीय उपचार पद्धतिसँग सम्बन्धित छ ।

१९८६ सालमा तयार भएको गहुँको खेती पुस्तकका प्रारम्भिक पृष्ठहरू १९८७ मा प्रकाशित केसरको खेती (केसर पुष्पाञ्जली) सँग मिल्छ । समर्पण, शुभकामना सन्देशका मिति तथा विवरण पनि एउटै देखिन्छन् । पुस्तकमा गहुँलाई विभिन्न भाषामा कसरी बुझ्न्छि भन्ने विवरण र नामावलीमा राम्रोसँग काम हुन नसकेको देखिन्छ । नेवारीमा सिसाकलमले ‘छो’ थपिएको छ भने टिवेटीलाई ‘तिब्बती’ भनेर सिसाकलमले नै सच्याएको देखिन्छ । अंग्रेजी, हिन्दी, संस्कृत भाषाका टिप्पणी तथा थप जानकारी पनि पाइन्छ, तर अपुरो । पुस्तकको सम्पूर्ण काम पूरा नभए पनि यो लेखनीले तत्कालीन समयमा सक्रिय लेखकहरूका रुचि, पाठकको माग र बजारका विषयमा जानकारी दिन सक्छ ।

अग्रजहरूले लेखेका यस्तै अप्रकाशित पुस्तकहरू आज पनि परिवार, पुस्तकालयमा सुरक्षित छन् । अब यस्ता सामग्रीको अभिलेख, संरक्षण गर्दै अध्ययन–अनुसन्धान गर्ने, गराउने समय आइसकेको छ ।

(मदन पुरस्कार पुस्तकालयमा संरक्षित सामग्रीमा आधारित)

comments powered by Disqus

रमझम