ध्यान नपुगेको बाँस

Share:
  
- जीवनप्रसाद राई
नेपालमा प्रशस्त पाइने बाँसको व्यावसायिक सम्भावनामाथि ध्यान पुगेको छैन।

जीवनप्रसाद राई
बाँस हामी सबैको परिचित वनस्पति हो । बाँसको तामाको तरकारी वा अचार नखाएका र गाईबस्तुलाई बाँसको घाँस नखुवाएको नेपाली विरलै होलान् । अब भने बाँसको योभन्दा बृहत् उपयोगको समय आएको छ । नेपालको पहाडी भूभागमा समेत सडक सञ्जाल विस्तार भएकाले पनि बाँसको बृहत् उपयोगको समय आएको छ ।

हामी राज्यको पुनःसंरचनापछिका सबै चुनाव सकेर समृद्धितर्फको यात्रामा लागेका छौं । त्यसका लागि स्रोतसाधनको खोजी भइरहेको छ । गाउँघर छेउछाउका रूखोपाखो जमीनमा व्यावसायिक सोचका साथ बाँस हुर्काए पाँच वर्षमा आयको एउटा गतिलो स्रोत तयार हुनेछ । बाँसलाई गरीबको काठ भनिन्छ । जन्मेदेखि मृत्युसम्म चाहिने बाँस सबभन्दा सस्तो र भरपर्दो बस्तु हो । चिनियाँ कवि शुशीले भनेका पनि रहेछन्, “तिमी मासु नखाई बाँच्न सक्छौ, तर बाँस विना बाँच्न सक्दैनौ ।”

नेपालका तराईदेखि मध्य पहाडसम्म प्राकृतिक रूपमै बाँस सप्रन्छ । तीनदेखि ३० मिटरसम्म अग्लो हुने यो वनस्पतिका १४०० प्रजाति छन् । विश्वमा ५०० प्रजातिका बाँसको व्यावसायिक खेती गरिएको छ । कम लगानीमा हुर्काउन सकिने र चाँडो बढ्ने वनस्पतिमा पर्छ, बाँस । बाँस लगाउन खेती भइरहेका खेतबारी पनि चाहिंदैन । सिंचाइ नहुने र बाँदर लाग्ने ठाउँहरूमा पनि बाँस सप्रिन्छ, गोडमेल नगरेरै । दुई गेडा अन्न फल्न मुश्किल पर्ने जमीनमा पनि बाँसको व्यावसायिक खेती हुन्छ । बाढीपहिरो जाने ठाउँहरूमा बाँस रोपेर भूक्षय रोक्न सकिन्छ । नेपालमा यस्ता जग्गा लाखौं हेक्टर छन् । नर्सरीहरूमा ठूलो मात्रामा बाँसका बिरुवा बनाउन सकिन्छ ।

बाँस खेतीमा सबभन्दा सजिलो के छ भने यसलाई एकपटक रोपेर तामा टुसाउने बेलामा सामान्य रेखदेख गरे पुग्छ । स्वास्थ्यवद्र्धक तरकारी र अचारको लागि प्रसिद्ध बाँसको तामा गाईबस्तुले पनि असाध्य मन पराउने हुनाले वर्षामा यसको सामान्य रेखदेख हुनुपर्छ । तामा जोगाएपछि बाँस हुर्काउन न मल आवश्यक पर्छ न त सिंचाइ ।

नेपालमा डोको–डालो, थुन्से, नाङ्लो, चाल्नो, मान्द्रो, चित्रा, भकारी र बारबेरका लागि बाँस रोप्ने गरिएको छ, तर बाँसबाट नबन्ने चिज कमै छ । ठूलो स्तरमा बाँसको उपयोग गुणस्तरीय कागज उत्पादनमा हुन्छ । व्यापारीहरूका भनाइमा, नेपालमा वर्षेनि रु.५० अर्बभन्दा बढीको कागज आयात भइरहेको छ । त्यसकारण, बाँसलाई हाम्रो सीप र समृद्धिसँग कसरी जोड्ने भन्ने प्रश्न महŒवपूर्ण छ ।

बाँसबाट हस्तकलाका आकर्षक डोको, डालो, नाङ्लो, पाथी, खोगी, पेरिङ्गो, थुन्से, मान्द्रो, खेलौना, आलमारी, ह्याङ्गर, टेबुल–कुर्सी, सोफालगायतका फर्निचर बनाएर आय बढाउने त छँदैछ, निश्चित योजनाका साथ काम गर्ने हो भने पाँच–दश वर्षभित्र हामी कागज उत्पादन उद्योग स्थापनाको तहमा पुग्न सक्छौं । बाँसखेतीले कागज कारखाना स्थापनाको बाटो खुल्छ भने कारखाना स्थापनाले बाँस खेती बढाउँछ ।

‘प्रिन्टिङ बिजनेश’ मा रहेकाहरूका अनुसार, गुणस्तरीय कागज कारखाना खोल्न कम्तीमा रु.२५ करोडसम्मको मेशीन आवश्यक पर्छ । इच्छाशक्तिका साथ योजनाबद्ध काम गर्ने हो भने मेशीनको लागि यति नगद कुनै आइतबार पर्खनुपर्ने रकम होइन । नेपालमा निष्क्रिय पूँजी नै रु.५ खर्ब पुगिसकेको समाचार त पढिएकै हो । बाँस खेती र निर्यातमा जाने गरिको कागज उत्पादन कार्यक्रमका लागि सरकारले विदेशी कागजमा कर बढाउन सक्छ । पब्लिक कम्पनीलाई करारमा बाँस खेती गर्न र कारखाना स्थापना गराउन सरकारले निजी जमीनहरू लिजमा लिएर न्यूनतम मूल्यमा लिजमै दिनुपर्छ । नेपालमा डाबर नेपाल र युनिलिभर नेपालले लगभग यही मोडलमा काम गरेका हुन् ।

पब्लिक कम्पनीहरूले हजारौं हेक्टरमा बाँस खेती गर्न र प्रशोधनको क्षेत्रमा कामदारदेखि प्राविधिक र विज्ञसम्मका लागि रोजगारी सिर्जना गर्न सक्छन् । कम्पनीहरूमा संसारभर छरिएका नेपालीले लगानी गर्नेछन् । पछिल्लो समय पब्लिक कम्पनीमा शेयर हाल्ने होड हेर्दा यो सफल हुन्छ भन्न सकिन्छ । देश बाहिर रहेका नेपालीहरूले गाउँका बाँझे जमीन पनि बाँस खेतीका लागि त्यस्ता कम्पनीहरूलाई दिन सक्छन् । सफलताको आत्मविश्वास र प्रतिबद्धता चाहिं व्यवस्थापन पक्षले दिनुपर्छ ।

चीनमा बाँस सम्बन्धी विश्वविद्यालय नै छ । हामीले पनि यो तहको सोच राखेर काम गर्नुपर्छ । नेपालमा बाँस सम्बन्धी कम्तीमा एउटा राम्रो क्याम्पस अत्यावश्यक छ । बाँस सम्बन्धी अध्ययन–अनुसन्धानले यसका अनेक सिर्जनशील पक्षहरूलाई सैद्धान्तिक र व्यावहारिक दुवै रूपले अगाडि बढाउन मद्दत गर्नेछ ।

comments powered by Disqus

रमझम