संस्कार बन्दैआँखादान

Share:
  
- सविना देवकोटा
प्रत्यारोपणका लागि आँखाको नानी दान गर्नेहरूको संख्या बढ्दो छ।

गोपेन राई
विदुर लामिछाने ।
कालोपाटीमा लेखिएका शब्दहरू नै छिचोल्न गाह्रो भएपछि स्याङ्जाका विदुर लामिछाने (२७) ले चश्मा लगाउन थाले । तर, उमेर र पढाइ सँगसँगै आँखाको समस्या बढ्न थाल्यो । स्नातक अध्ययनका क्रममा लेखपढ गर्न नै गाह्रो भएपछि आँखामा लेन्स लगाउन थाले । चिकित्सकले देब्रे आँखाको नानी पातलो र चुच्चो हुँदै जाने केराटोकोनस रोग लागेको बताएपछि उनी झ्नै चिन्तित भए ।

तर, अहिले लामिछानेलाई कुनै समस्या छैन । एक वर्षअघि राजधानीको तिलगंगा आँखा अस्पतालमा केराटोकोनसग्रस्त आँखामा नानी प्रत्यारोपण गरेसँगै उनको जीवन बदलिएको छ । “लेखपढ गर्न निकै सहज भएको छ । आफैंमा आत्मविश्वास पलाएको छ”, लामिछाने भन्छन् ।

डाक्टर बन्ने सपना तर धमिलो आँखा । बन्दिता कार्की (२९) लाई आठ वर्षअघिसम्मको पीडा सम्झ्ँदै अत्यास लाग्छ । तर, तिलगंगा अस्पतालमै नानी प्रत्यारोपण गरिएपछि कार्कीको आँखाको अँध्यारो मात्र हटेन, सपनासमेत साकार भयो । “अहिले एकदमै राम्ररी देख्छु” बाङ्लादेशमा एमबीबीएस पढिरहेकी उनी भन्छिन्, “पीडा बिर्सिसकेकी छु ।”

नानी प्रत्यारोपणकै कारण पोखराका सविन बोगटी (२२) ले नयाँ जीवन पाएको महसूस गरिरहेका छन् । जन्मजात दृष्टिविहीन उनले ११ वर्षको उमेरमा दाहिने आँखामा नानी प्रत्यारोपण गरिएपछि मात्रै बुबाआमा देख्न सके । त्यसको चार वर्षपछि देब्रे आँखामा पनि नानी हालियो ।

तस्वीर सौजन्यः तिलगंगा आँखा अस्पताल
सविन बोगटी ।
“प्रत्यारोपित आँखाको नानीले मलाई बाहिरी संसार मात्र होइन, भित्री संसार देख्न समेत प्रेरित गरेको छ” बोगटी भन्छन्, “जीवन मानव कल्याणमा लगाउने योजना छ ।”

विदुर, बन्दिता र सविनजस्तै हजारौं नेपालीको ‘अँध्यारो जीवन’ मा उज्यालो छर्ने उपचार पद्धति हो– नानी प्रत्यारोपण । तर, यो उपचारमा वैज्ञानिक प्रविधिभन्दा बढी परोपकारी मन चाहिन्छ, जसले मरणोपरान्त आँखादान गर्न सकून् ।

यसरी सम्भव

नेपाल आँखा बैंकको स्थापनाकाल सन् १९९४ मा एक जोर आँखाको नानी संकलन गर्न हम्मे परेको नेपाल आँखा बैंकले हालसम्ममा ८ हजार २६ वटा आँखाका नानी संकलन गरिसकेको छ ।

आँखाका नानी संकलन तथा प्रत्यारोपण गर्ने लक्ष्यका साथ सन् १९९४ मै तिलगंगा अस्पतालले ‘नेपाल आँखा बैंक’ स्थापना गर्‍यो । तर, स्थापनाको वर्ष दुई वटा मात्र नानी संकलन भयो । “मरणोपरान्त आँखादान गर्छु भन्नेहरूको ‘इच्छापत्र’ सूची त थुप्रै हुन्थ्यो, तर मृत्युलगत्तै आँखाबाट नानी निकाल्न शोकाकूल परिवारलाई सहमत गराउन साह्रै गाह्रो”, दुई दशकअघिको अनुभव सम्झ्ँदै नेपाल आँखा बैंकका प्रबन्धक शंकरनारायण त्वाय्ना भन्छन् ।

तिलगंगाले १९९४ र ९५ मा प्रत्यारोपण गरेका १५८ नानीमध्ये ६ वटा मात्र आँखादानबाट संकलित थिए । बाँकी विदेशबाटै निर्यात गरिएको थियो । चिकित्सकका अनुसार, मृत्यु भएको १२ घण्टाभित्र आँखाको नानी (कोर्निया) निकालिसक्नुपर्छ भने झ्किेको १४ दिनभित्रमा उक्त नानी प्रत्यारोपण गरिनुपर्छ ।

दाताबाट संकलित आँखाको नानी (कोर्निया) ।
नानी नभेटिंदा प्रत्यारोपण कार्य नै प्रभावित हुन थालेपछि आँखा बैंकका पदाधिकारीले उपायको खोजी गर्न थाले । “धेरै छलफलपछि घाटेहरूसँगको समन्वयबाट नानी निकाल्न सहज हुने निष्कर्ष निकाल्यौं”, उनी भन्छन् । त्यसपछि बैंकले पशुपतिस्थित आर्यघाटका तीन जनालाई आँखादान सम्बन्धी तालिम र परामर्श दियो । दागबत्ती दिनुअघि ‘आँखादान गर्न चाहनुहुन्छ’ भनी नरम भएर सोधिदिन र अस्पताललाई खबर गर्न अस्पतालले घाटेहरूलाई आग्रह गर्‍यो ।

घाटेसँगको सञ्जालकै कारणले सन् १९९६ मा आँखादान गर्नेहरूको संख्या ह्वात्तै बढ्यो । ३८ जनाले आँखादान गरे । आँखादानलाई थप प्रभावकारी बनाउन पोस्टमोर्टम गरिने स्थलहरूमा पनि यस्तै तालिम सञ्चालन गरियो । सन् २०१३ मा तिलगंगा अस्पतालले उपत्यकाका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात जना परामर्शदाता खटायो । जसले आँखादान गर्नेको संख्या एकैपटक ६३७ पुग्यो । पाँच वर्षदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कार्यरत परामर्शदाता सुरज गौतम र शोभा कार्की परामर्श लिनेमध्ये करीब ८० प्रतिशत आँखादान गर्न राजी हुने गरेको बताउँछन् ।

२० चैत २०७२ देखि पशुपति आर्यघाटमा सञ्चालित विद्युतीय शवदाह गृह आँखादानमा थप सहायक बनेको छ । आँखा बैंकका प्रबन्धक त्वाय्ना विद्युतीय शवदाहका प्रयोगकर्ता परिवार परम्परागत नहुने हुँदा सामान्य परामर्शमा मात्र पनि आँखाको नानी संकलन गर्न सकिएको बताउँछन् ।

७६ हजार ‘इच्छापत्र’

दुई दशकअघिदेखि आँखा बैंक, नानी प्रत्यारोपण र आँखादान सचेतना कार्यक्रम सञ्चालन गरिरहेको तिलगंगा अस्पतालमा अहिले भने नानीको समस्या छैन । अहिलेसम्म आँखा बैंकले ८ हजार २६ वटा नानी संकलन र ६ हजार ४१३ जनामा नानी प्रत्यारोपण गरिसकेको छ ।

त्वाय्ना पछिल्लो समय जन्मदिन वा कुनै शुभकार्यको अवसर पारेर आँखा बैंकमै आएर आँखादानको इच्छापत्र भर्नेहरू बढेको बताउँछन् । उनका अनुसार, हालसम्म आँखादान गर्छु भनी प्रण गर्नेको संख्या ७६ हजार नाघिसकेको छ । “हेर्दाहेर्दै आँखादान संस्कार बनेको छ”, उनी भन्छन् ।

नानी संकलन तथा प्रत्यारोपण सेवा निःशुल्क दिने भएकाले पनि आँखादान गर्नेको संख्या बढिरहेको बैंकको ठहर छ । भारतमा नानी प्रत्यारोपण गर्न भारु ३५ हजारसम्म लिइन्छ । नानी संकलन तथा प्रत्यारोपणलाई विस्तार गर्न आँखा बैंकले देशभरका आँखा केन्द्रहरूमा समेत संकलित नानी पठाउने गर्दछ । आँखादान कार्यको महŒव झ्ल्काउन १० वर्षदेखि प्रत्येक वर्ष आँखादान गर्ने र लिने परिवारलाई एकैठाउँमा बोलाई सामूहिक श्रद्धाञ्जली सभा तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्दै आएको छ । “मेरो छोरा यो धर्तीमा नभए पनि उसको आँखाको नानीले कतै मलाई नै हेरिरहेको छ कि जस्तो लागिरहेको छ”, १५ पुसमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा (एमाले) केन्द्रीय सदस्य मनकुमारी केसीले भनिन् । केसीका १९ वर्षीय छोराको २५ भदौ २०७३ मा दुर्घटनामा मृत्यु भएको थियो । छोराको आँखाको नानी दानबाट दुई जनाले दृष्टि पाएका थिए । अस्पतालका प्रशासक प्रमुख भगीरथ बानियाँ नानी लिने र दिनेबीचको भावनात्मक अभिव्यक्तिले पनि आँखादान कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याएको बताउँछन् । त्यसो त आँखादानबारे बुझउन यसै वर्षदेखि सामुदायिक विद्यालयतर्फ कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा डा. सन्दुक रुइत र फ्रेड हलोज सम्बन्धी पाठ पनि समावेश गरिएको छ ।


त्यो पहिलो नानी

१५ नोभेम्बर १९९४ । काठमाडौं, ढोकाटोलकी चिनीमाया तुलाधर (४२) अन्तिम अवस्थामा पुगेको भन्दै आफन्तले नानी संकलनका लागि तिलगंगा आँखा अस्पतालको नेपाल आँखा बैंकमा फोन गरे । तर, जीवितैमा आँखादान नहुने भएकाले मृत्युपछि खबर गर्न आँखा बैंकका प्रबन्धक शंकरनारायण त्वाय्नाले अनुरोध गरे ।

आँखाको नानी संकलनका लागि तिलगंगालाई आएको पहिलो फोन थियो, त्यो । फोनले मात्र पनि तिलगंगामा खुशी छाएको थियो । “यसपालि आँखाको नानी नउम्कियोस् नि !” तिलगंगाका संस्थापक डा. सन्दुक रुइतले त्वाय्नालाई सतर्क पनि गराए ।

त्यसबेला अहिले जस्तो मोबाइल फोनको सुविधा थिएन । त्यसैले कहिले फोन आउला भनी त्वाय्नाले रातोदिन अस्पतालमै बिताए । तीन दिनपछि मात्र फोन आएपछि उनी तत्काल वीर अस्पताल पुगे । १९ नोभेम्बर १९९४ मा नेपाल आँखा बैंकले मात्र होइन, मुलुकले नै पहिलो एक जोर आँखाको नानी प्राप्त गर्‍यो ।

comments powered by Disqus

रमझम