घरको रेट्रोफिट

Share:
  
- ई. हिमा श्रेष्ठ

तस्वीरः सौजन्यः एनसेट
पुरानै अवस्थाका संरचनामा नयाँ सुविधा थप गर्नुलाई रेट्रोफिट भनिन्छ । विशेषतः कमजोर तथा चर्केका घरलाई भूकम्पीय जोखिममुक्त बनाउन यो प्रविधि अपनाइन्छ । नयाँ बनेका तर भूकम्प प्रतिरोधात्मक क्षमता नभएका घरमा पनि रेट्रोफिट गर्न सकिन्छ ।

२०७२ सालको भूकम्पपछि धेरैले घरको रेट्रोफिटबारे सुने । तर, यसको आवश्यकता र फाइदाबारे थाहा पाउने भने कमै छन् । भूकम्पको अति जोखिममा रहेका नेपालीले त यसबारे नजानी सुखै छैन ।

कतिपयले घरको मर्मतलाई नै रेट्रोफिट भन्ने गरेका छन् । तर, यसमा धेरै भिन्नता छ । चर्केको घरलाई दुरुस्त बनाउन मर्मत गरिन्छ तर रेट्रोफिट गर्दा भूकम्प थेग्ने गरी बलियो हुनैपर्छ ।

भवन निर्माण संहिता अनुसार नबनेका घरलाई मापदण्ड भित्र समेट्न पनि रेट्रोफिट गर्न सकिन्छ । घरको बनावट, प्रयोग गरिएका सामग्री अनुसार रेट्रोफिट गर्ने तरिका फरक फरक हुन्छ । डण्डी, सिमेन्ट, रोडा, काठ, तार, जालीलगायतका सामग्री प्रयोग गरी रेट्रोफिट गरिन्छ । पुरातात्विक महत्वका मानिने १०० वर्ष पुराना घरलाई जोगाइराख्न पनि रेट्रोफिट गरिन्छ ।

रेट्रोफिट गर्नुअघि घर कति कमजोर छ भनेर अध्ययन (भल्नर्बिलिटी एसेस्मेन्ट) गर्नुपर्छ । अध्ययनमा भूकम्प प्रतिरोधात्मक क्षमता, बिम, पिलर र जगको अवस्था, तला लगायतबारे अध्ययन गरिन्छ । गारो कस्न बन्धन बनाउनुपर्ने कि नपर्ने, गारो र पिलरलाई बाहिरबाट आड दिनुपर्छ कि पर्दैन, कुन भागमा कति लागतमा कसरी रेट्रोफिट गर्ने भन्ने निष्कर्ष निकाल्नुपर्छ । हचुवाको भरमा रेट्रोफिट गर्नुहुन्न, प्राविधिकको सल्लाह र नियमित रेखदेख नै चाहिन्छ । घरको अवस्था अनुसार रेट्रोफिट गर्ने÷नगर्ने अन्तिम निर्णय प्राविधिकमै छाडिदिनुपर्छ ।

घरको परीक्षणपछि नयाँ घर निर्माणमा लाग्ने कुल खर्चको ३० प्रतिशत भन्दा बढी लागत लाग्ने देखिएमा रेट्रोफिट नगर्न सुझाव दिइन्छ । रेट्रोफिट गर्न घरको संरचना अनुसार २ देखि ६ महीनासम्म लाग्छ ।

निर्माणमा प्रयोग सामग्री र बनावट अनुसार, प्रायःजसो घरको ‘इकोनोमिक लाइफ’ ३० देखि ५० वर्षसम्मको हुन्छ । सबै घरलाई रेट्रोफिट गरी बलियो बनाउन सकिन्न । जोडिएका घरहरू भए दुवैलाई एकैपटक रेट्रोफिट गर्नुपर्छ । बाहिरबाट ‘सपोर्ट’ राखेर रेट्रोफिट गर्नुपरे घर वरिपरि खुला ठाउँ हुनुपर्छ । रेट्रोफिट नयाँ घर बनाउनेभन्दा फरक हुने भएकोले साना साना कुरामा ध्यान दिनुपर्छ । दक्ष कामदार प्रयोग गर्नुपर्छ ।

रेट्रोफिट गर्दैमा जत्रोसुकै भूकम्प आए पनि घर सुरक्षित हुन्छ भन्ने धारणा गलत हो । यसले घरको भूकम्पप्रतिरोधात्मक क्षमता बढाउँछ । रेट्रोफिट गरेकै छ भन्दै भूकम्पमा ढुक्क भएर घरभित्र बसिरहनु भने हुँदैन ।

(भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट) की स्ट्रक्चरल इन्जिनियर श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रस्तुतिः सविता श्रेष्ठ

comments powered by Disqus

रमझम